बाढी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन अपनाइँदै छ यी उपाय
काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी-पहिरोले देश अहिले आक्रान्तमा छ । २ सय बढी नागरिकले ज्यान गुमाएका छन् भने २७ जना बेपत्ता भएकाे गृह मन्त्रालयले जनाएकाे छ । यस्तै, बाँचेकाहरूको पनि घरगोठ बाँकी छैन । कोही आफन्तको घरमा त कोही सामुदायिक स्थलमा आश्रय लिरहेका छन् । बाढीले विशेषगरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो क्षति पुर्याएकाे छ । खोला किनारमा बस्नेहरू अहिले घरभित्रको पानी र हिलो फाल्नमै व्यस्त छन् । विपदबाट सबैभन्दा ठूलो जनधनको क्षति काभ्रे जिल्लामा भएको छ भने ललितपुर, काठमाडौं लगायतका क्षेत्रमा पनि जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा अहिले थुप्रिएको फोहोरले दुर्गन्ध फैलन थालेको छ । जसबाट महामारी फैलने जोखिम बढेको चिकित्सकहरूले जनाएका छन् । विपद्को बेला दूषित खाना र पानीका कारण हैजा र झाडापखाला फैलन सक्ने जोखिम हुन्छ भने कीटजन्य रोगहरूको जोखिम पनि उत्तिकै रहन्छ । बाढीसँग हिलो घरभित्र पसेकाले पानीको मुहानमा पनि ढलको पानी हुनसक्ने भन्दै खानपानमा सतर्कता अपनाउन चिकित्सकले अनुराेध गरेका छन् । यो बेलामा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरू पनि फैलने जोखिम रहेको विज्ञहरू बताउँछन् । कुन पालिकाले के गरिरहेकाे छ ? गोदावरी नगरपालिका ललितपुरको दक्षिणी भेगमा धनजनको क्षति पुर्याएकाे छ । ललितपुरको गोदावरी नगरपालिकामा १९ जनाको मृत्यु भएको छ भने सडकहरू पनि अवरुद्ध भएका छन् । धेरै ठाउँमा खानेपानीको समेत समस्या भएकाे छ । केही पानीकाे मुहानमा बाढी पसेकाे छ । स्वास्थ्यकाे जोखिमलाई मध्यनजर गर्दे अहिले उद्धार राहतको कामसँगै स्वास्थ्यकर्मी पनि परिचालन गरिएको पालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले प्रत्येक वडा कार्यालयमार्फत सचेतनाका कार्यक्रम पनि सुरु गरेको बताए । पानी उमालेर र पिउस गरेर खान पनि सल्लाह दिएका छौं,’ प्रमुख महर्जन भन्छन्, ‘अहिलेसम्म स्वास्थ्य समस्या भएको देखिएको छैन, जोखिम हुनसक्छ भन्दै हामीले सचेत गराएका छौं । ’ ललितपुर महानगर ललितपुर महानगरले भने प्रभावित क्षेत्रमा अहिले डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ । डा. सवेन्द्र गैरेको नेतृत्वमा महानगरले हरेक वडामा डाक्टरसहितको टोली परिचालन गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले आवश्यक औषधि बोकेर टोली प्रभावित क्षेत्रमा गएको जानकारी दिए । काठमाडौं महानगर यता काठमाडौं महानगरले भने नियमित सरसफाइ कार्यलाई तीव्र पारेको जनाएको छ । बाढीले फोहोरको थुप्रो भएका क्षेत्रमा हटाउने, सरसफाइ गर्ने कार्यलाई जोड दिएको महानगरका सहायक प्रवक्ता नमराज ढकालले बताए । उनले प्रभावितहरूलाई केही दिन विद्यालयमा ल्याएर राखेको र अहिले अवस्था सामान्य हुँदा आ-आफ्नो घर फर्किसकेको जानकारी दिए । ‘अहिले जोखिम भनेको सरसफाइको कमीका कारण लाग्ने रोगहरूको हो, यो कार्य हामीले गर्दै आएका छौं,’ उनी भन्छन्, ‘महानगरभित्र अहिले स्वास्थ्यकर्मी नै पठाउनु पर्ने अवस्था छैन । यस्तो अवस्था आउन नदिन हामीले हाम्रा नियमित कार्यलाई जोड दिएका छौं । ’ कस्तो छ प्रभावित क्षेत्र ? डा. सवेन्द्र गैरे अहिले ललितपुर महानगरकाे प्रभावित घरघरमा पुगिरहेका छन् । उनीसँग नर्सलगायत अन्य स्वास्थ्यकर्मीको टोली पनि छ । मंगलबार उनको टोली ललितपुरको बागडोलमा पुगेको थियो । जहाँ क्रिस्चियनकाे एउटै चर्चमा दुई सयभन्दा बढी प्रभावितहरू बसिरहेका छन् । बाढीले उनीहरूको घर मात्र होइन, अन्नपात, भाँडाकुँडा सबै बगाएको छ । महानगरले खानबस्नको व्यवस्था गरे पनि यति धेरै मान्छे एकै ठाउँमा बस्दा जोखिम हुने सम्भावना रहेको छ । डा. गैरेको टोलीले सबैको स्वास्थ्य परीक्षण गरी पानी उमालेर खान र सरसफाइमा ध्यान दिन सल्लाह दिएको छ । उनीहरूलाई जाँच गर्दा गम्भीर समस्या नदेखे पनि कसैलाई ज्वरो, कसैलाई टनशिलको समस्या देखिएको डा. गैरेले जानकारी दिए । उनी भन्छन्, ‘हामीले सबैको जाँच गर्दा ठूलो समस्या देखिएन तर, बालबालिका, वृद्धवृद्धा सबै एकै ठाउँमा बस्दा जोखिम हुने सम्भावना छ ।’ डा. गैरेले यस्तो बेला हुन सक्ने जोखिमबारे जानकारी गराउँदै केही समस्या देखिनेबित्तिकै आफूलाई सम्पर्क गर्न भनेको बताए । उनले प्रभावितहरू अहिले घरभित्र पसेको पानी र हिलो फाल्नमा व्यस्त रहेको बताए । उनकाे टाेलीले जाँच गर्दै आवश्यक पर्नेलाई औषधि वितरण गरिरहेकाे छ । स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ ? बाढी-पहिरोले जोखिम निम्त्याएको क्षेत्रमा संक्रमण फलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग रहन आग्रह गरेकाे छ । खानेपानीमा ढलको दूषित पानी पसेको हुन सक्ने भन्दै पानी उमालेर मात्र पिउन भनेको छ भने सरसफाइमा पनि ध्यान दिन प्रभावितहरूलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका हरेक घाइते भएका नागरिकलाई निःशुल्क उपचार गरिरहेको जनाएको छ । यस्तै, बाढी-पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा फोन गर्न र एम्बुलेन्सको लागि १०२ मा फोन गर्न आग्रह गरेको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत एंव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले सरकारले पालिकासँग समन्वय गरेर स्वास्थ्य सेवा दिने काम गरिरहेको जानकारी दिए । उनले खाना र दूषित पानीबाट झाडापखाला, हैजा, आउँ, टाइफाइडलगायतका समस्या देखिनसक्ने सँगै कीटजन्य समस्या पनि देखिन सक्ने भन्दै सजग रहन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग निण्न्त्रण महाशाखाले संक्रामक रोग फैलन नदिन र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको जनाएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केन्द्रदेखि तलसम्मका सबै निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिसकेको बताउँदै संकटको अवस्था आउन नदिने बताए । बाढी प्रभावित क्षेत्रमा आउन सक्छन् यस्ता जोखिम बाढी प्रभावित क्षेत्रमा विभिन्न प्रकारका स्वास्थ्य जोखिमहरू आउने सम्भावना रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् । यस्तो बेलामा पानीजन्य रोगहरू जस्तै झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस फैलिन सक्ने सम्भावना धेरै हुन्छ । दूषित पानीको प्रयोगले यी रोग लाग्ने जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । बाढीपछि मानिसहरू अस्थायी शिविरमा बस्न बाध्य हुन्छन्, जहाँ पर्याप्त सरसफाइ र स्वास्थ्य सुविधाको कमी हुनसक्नाले संक्रमणको जोखिम बढाउँछ । बाढीका कारण पानी जम्नाले यो बेला मच्छरको संख्या वृद्धि हुन्छ, जसले डेंगु, मलेरिया, र चिकुनगुनिया जस्ता रोगहरूको प्रकोप फैलिन सक्छ । लामो समयसम्म पानीमा रहेर काम गर्दा छालासम्बन्धी समस्या जस्तै चिलाउने, घाउखटिरा, फंगस संक्रमण हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन यस्तो बेलामा बासी सडेगलेका खानेकुरा नखान र पानी पनि उमालेर, फिल्टर गरेर पिउस राखेर मात्र पिउन आग्रह गर्छन् । काँचो खानेकुरा फलफुल खाँदा पनि राम्रोसँग धोई पखाली खानुपर्नेमा उनले जाेड दिए । ‘यो बेलामा यस्ता सतर्कता अपनायो भने आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन मद्दत गर्छ,’ उनी भन्छन्, ‘यदि यति गर्दा पनि समस्या देखिहाल्यो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ, हामीले स्वास्थ्य संस्था जान लापरवाही गर्याैं भने ज्यान नै जोखिममा पर्न सक्छ ।’
अब सातै प्रदेशमा मुटु रोगको उपचार, काठमाडौं आउनुपर्ने बाध्यता हट्यो
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो ।अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ । बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्र्तगत क्यान्सर उपचार सुरु भैसकेको बताउँदै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टिकृत उपचार सेवा प्रादेशिक अस्पतालहरुमार्फत विस्तार गर्ने घोषणा गरेका थिए । मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।
आचार्य भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ढंगले समितिले काम सुरु गरिसक्यो
काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा गत आइतबार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रोडम्यापसहितको सुझाव तयार पार्ने काम सुरु गरिएको समितिका संयोजक डा. शम्भुप्रसाद आचार्यले जानकारी दिए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले कुन हदसम्म अघि बढाउन सक्ने भन्ने कुरापनि सुझावमा उल्लेख गरिने बताए । संयोजक डा. आचार्यले भने, ‘राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने स्वास्थ्यमन्त्री प्रदीप पाैडेलकाे एउटा ठूलो कमिटमेन्ट देखेकाे छु । त्यहीअनुसार कमिटी गठन भएको छ । कमिटीमा डा. भगवान कोइराला, डाक्टर रघुराज काफ्ले हुनुहुन्छ । मन्त्रीज्यूको जुन एक्सपेक्टेशन छ, त्यो एक्सपेटेशनलाई कमिटीले पूरा गर्छ भन्ने मैले विचार राखेको छु । यसलाई कसरी प्रभावकारी बनाउने, कसरी प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पुर्याओस् भन्ने कमिटमेण्ट छ । कमिटीले काम सुरु गरिसकेकाे छ ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही असोज ८ गते स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिने कार्यादेशसहित डा. आचार्यको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला, विकास अर्थशास्त्री डा. रघुराज काफ्ले, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत रहने गरी सो सुझाव समिति गठन गरेका थिए । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आवद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।