खसीबोकाको स्वास्थ्य परीक्षण : दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?
काठमाडौं । नेपालीहरूको महान चाड दशैं घर आँगनमै आइपुगेकाे छ । यसलाई खानपिन र रमाइलोको चाड पनि भनिन्छ । यो बेला माछामासु अन्य समयको तुलनामा बढी खपत हुने गर्छ । बजारमा माछामासुको माग बढिरहेको बेला ब्यापारीलाई पनि बढी मासु कसरी बिक्री गर्ने भन्ने होड चल्छ । यस्तो हुँदा विज्ञहरू भने स्वस्थभन्दा अस्वस्थकर मासु बढी बजारमा आउने सम्भवना हुने बताउँछन् । चाडबाडमा हुनसक्ने यस्तो कालोबजारी रोक्न विभिन्न निकायले अनुगमन गर्छ । तर, मासुको हकमा भने कुन स्वस्थ, कुन अस्वस्थ भन्ने विषयमा खासै छुट्याएको पाइँदैन । यसैको मौका उठाइ बजारमा अस्वस्थकर माछामासु हुनसक्ने भन्दै विज्ञहरू भने स्वस्थ्य माछा मासुमात्र खान आग्रह गर्छन् । चिकित्सकका अनुसार आजभोलि कुखुराको सानो बच्चामा विभिन्न किसिमका हर्मोनको प्रयोग गरी बजारमा ल्याउने गरेको पाइन्छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । ग्राण्डी इन्टरनेशनल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. प्रशान्त त्रिपाठी खसी बोकादेखि कुखुरामा सुइ लगाएर ठूलो पार्ने र त्यसैको मासु बजारमा ल्याउने गरेको बताउँछन् । ‘मासुले हाम्रो शरीरलाई प्रोटिन दिन्छ । तर, अस्वस्थकर खाँदा झन बेफाइदा गर्छ,’ उनी भन्छन्,‘ यो बेलामा मासु खाँदा निकै ध्यान दिनुपर्छ ।’ स्वास्थ्य परीक्षण चाडबाडमा नागरिकले अस्वस्थकर मासु खानसक्ने जोखिम हुने भन्दै पशुसेवा विभागले पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिरहेको छ । नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै पशुसेवा विभागले काठमाडौं उपत्यकालगायत देशभर पशुपंक्षीको स्वास्थ्य सुरु गरेको छ । विशेषगरी दशैंका लागि बजारमा ल्याएका पशुचौपाया र दोपायाको स्वास्थ्य परीक्षण गरिरहेको छ । काठमाडौं उपत्यकामा भने विभिन्न १० ठाउँमा अहिले स्वास्थ्य चौपायाको परीक्षण भइरहेको विभागका सूचना अधिकारी डा. सुधीरकुमार सिंहले बताए । उनका अनुसार कलंकी, टुकुचा, खाद्य संस्थान, धापाखेल, चापागाउँ, टोखा, कपनमा रहेका हाटबजारबाट चौपायाको स्वास्थ्य परीक्षण भइरहेको छ । यस्तै, सुकेधारा, बालाजु बाइपास, लोकन्थली,दक्षिणकालीको चाल्नाखेलमा राँगा-भैंसी, सल्लाघारीमा च्याङ्ग्रा र भेडा, बल्खु कालीमाटीमा माछा, कुखुरा र हाँसको स्वास्थ्य परीक्षण जारी रहेको छ । घटस्थापनादेखि सुरु भएको स्वास्थ्य परीक्षण नवमीसम्म चल्नेछ । सूचना अधिकारी सिंहका अनुसार अहिले देशका ७ सय ५३ वटै स्थानीय तह जहाँ हाटबजार लागेर चौपाया बिक्रीवितरण भइरहेको छ । १३ हजार बढी पशुपंक्षीको परीक्षण विभागको पशु क्वारेन्टाइन महाशाखाका प्रमुख वरिष्ठ पशुचिकित्सक डा. राजेश यादवका अनुसार आइतबारसम्म १३ हजार बढी पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा खसी ९ हजार ४ सय १३, बोका ४ सय २८, बाख्रा ४२, भेडा ३ सय ११,च्यांग्रा २ हजार ५ सय ९५,राँगाभैसी १ सय २८, कुखुराहाँस ८ सय १२ गरी जम्मा १३ हजार ७ सय २९ रहेका छन् भने माछा ५८.९२ मेट्रिकटन स्वास्थ्य परिक्षण गरिएको छ । यो अवधिमा एउटा पशुमात्र अस्वस्थ्कर भेटिएको छ । खसी, बोका बाख्रा, राँगाभैंसी, भेडा, च्याङ्ग्रा, हाँसकुखुरा र माछाको स्वास्थ्य परीक्षण जारी राखेको विभागले क्लस्टर छुट्याएर परीक्षण जारी राखेको छ । कसरी गरिन्छ जाँच ? खसी, बोका, बाख्रा, राँगा भैंसी र दोपाया कुखुरा, हाँस को स्वास्थ्य जाँच गर्दा विभिन्न किसिमले गरिन्छ । सबैभन्दा पहिले चौपायाको आँखा, छाला, नाक हेरिन्छ । एउटा स्वस्थ चौपायाको आँखा चम्किलो र स्पष्ट हुन्छ । उसको छाला सफा र चम्किलो र फुर्तिलो देखिन्छ । यस्तै, चौपायाको तौल र शरीरको संरचना सामान्य हुन्छ । डा. यादव पशु स्वस्थ वा अस्वस्थ थाहा पाउन कुनैपनि चौपायाका आँखा, नाकबाट केही बगिरहेको छ या छैन भनेर हेर्न सकिने बताउँछन् । यदि आँखा, नाकबाट केही बगेको छैन, पखाला पनि लागेको छैन भने त्यस्तो चौपायालाई स्वस्थ रहेको ठानिन्छ । कुनै चौपाया झोक्रयाएको छ, आँखा अनि नाकबाट पानी बगिरहेको छ, पखाला लागेजस्तो छ भने त्यसलाई अस्वस्थ मानिन्छ । अहिले विभागले चौपायाका लक्षणका आधारमा स्वास्थ्य जाँच गरिरहेको यादवले जानकारी दिए । परीक्षणका क्रममा अस्वस्थ भेटिएको चौपायालाई औषधी दिने गरिन्छ । डा. यादव भन्छन्, ‘सबै चौपाया र दोपायाको जाँच हेरेरै गरिन्छ, हेर्दै सद्यजस्तो छ, केही भएको छैन भने त्यसलाई स्वस्थ नै भनेर बजारमा पठाउँछौं ।’ यस्तै, दोपाया (कुखुरा, हाँस, आदि) जाँच गर्दा पनि यस्तै लक्षणहरू हेरिन्छ । स्वस्थ दोपायाकाे पखेटा सफा, चम्किलो, र टाँसिएको हुन्छ । पञ्जा मोटो र दुरुस्त देखिन्छ । आँखामा चमक र चोचो सफा हुन्छ । अस्वस्थ छ भने यसको फरक हुन्छ । स्वस्थ कुखुरा चलाख, उड्ने वा दौडने फुर्तिलो हन्छ, अस्वस्थ छ भने एउटै ठाउँमा बस्ने, खानेकुरा नखाने हुन्छ । स्वस्थ हरियो, अस्वस्थ रातो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष १ हजार ४ सय खसीबोका र तीन च्यांग्रा खरिद गर्ने योजना बनाएको छ । जसअन्तर्गत कम्पनीले अहिलेसम्म ६ सय ६८ खसीबोका र च्यांग्रा किनिसकेको छ । यस्तै, अन्य व्यवसायीहरूले पनि दशैंलक्षित चौपाया बजारमा ल्याएका छन् । बजारमा ल्याएका यिनै पशुचौपायाको स्वास्थ्य परीक्षण गरिरहेको पशुसेवा विभागले स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ चौपायाको सिङमा रातो लगाउने गरेको छ । पशु सेवा विभागका सूचना अधिकारी सिंहले सिङमा हरियो लगाएको खानयोग्य स्वस्थ र रातो लगाएको चौपायाको तत्काल खान अयोग्य वा अस्वस्थ भनी प्रमाण दिएकाले सिङमा हरियो स्प्रे लगाएको चौपाया मात्र खरिद गर्न आग्रह गरेका छन् ।
तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टर निर्माण थाल्ने
काठमाडौं । भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र सुविधासम्पन्न उपकरणसहितको भवन निर्माण थाल्न सम्झौता गर्ने प्रतिबद्धता जनाएको छ । भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो । त्यसक्रममा मन्त्री पौडेलले प्रस्ताव गरेको ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाए । यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयनका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा पनि भारतीय समकक्षी नड्डाले सघाउने प्रतिबद्धता जनाएका छन् । अब केही समयमा यसबारे दिव्पक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर विकास देवकोटाले जानकारी दिए । मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकारेका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ,’ भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’ विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि भारत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आज साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
सेवाग्राहीलाई स्त्रीरोग अस्पतालले भन्यो – दशैंतिहार बिदामा पनि उपचार हुन्छ
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ । सोमबार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन् । दशैं, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए । सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने जानकारी दिए । अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिर्ने गर्दछ । तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताए । ‘डयुटीमा कम्तिमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरु १२ जना डाक्टरहरूको टिम एभ्री डे २४ घण्टा नै बसिरहेका हुन्छन्’, उनले भने । दशैंको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेका अन्य सार्वजनिक बिदाहरुमा आधा दिन अस्पतालले बिरामीहरूका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा. अधिकारीले बिदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरूको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताए । ‘अर्को चाहीँ इमर्जेन्सीमा जुन विरामीले चाँडो सेवा पाउनुपर्ने हो, ओपीडीका बिरोमी जम्मा भईदिने बित्तिकै उक्त बिरामीले वा इमर्जेन्सीका बिरामीले सेवा ढिलो पाउन सक्छ’, उनले भने । अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए ।