तातोपानी कुण्डमा दैनिक २०० जना बिरामी आउने

गलेश्वर । यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दशैंसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए । ‘असोज २९ देखि यहाँ दैनिक दुई सयजना बिरामी तथा पर्यटक स्नान गर्न आइरहनुभएको छ,’ अध्यक्ष खड्काले भने । उनकाअनुसार बिरामीको चाप बढेपछि आजदेखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाई समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा अधिकतम् चार सय जनाले स्नान गर्न मिल्छ । छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ । तातोपानीको मूलबाट बिरेनुनको गन्धसहित ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा स्नान गरेपछि बाथ, ग्यास्ट्रिक, गानोगोला, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिरा, मर्केको, चर्मरोगदेखि प्यारालाइसिसजस्ता रोग निको हुने विश्वास गरिन्छ । देशका विभिन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय यहाँ आउन थालेका छन् । कुण्डमा हरेक सोमबार हुने सन्ध्याकालीन आरतीले बिरामीलाई आर्कषित गरेको छ । तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति तीनसय ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । उक्त टिकट खरिद गरेका बिरामीले पालोअनुसार एक हप्तासम्म स्नान गर्न पाउँछन् । मुख्य पोखरी बाहिरको पोखरीमा एक सय रुपैयाँको टिकटले दुई घण्टा स्नान गर्न पाइन्छ । तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरका संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलब÷भत्तामा खर्च गरी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ । कुण्डमा वार्षिक २० हजार बढी बिरामी स्नान गर्न आउने गरेका छन् । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापन गरी प्रचार गरेपछि अहिले प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।

जटिल डेंगुले निम्त्याउन सक्ने पूर्वसंकेतहरू

बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्वजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेंगु पो हो कि ? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए । त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेंगु लागेको शंका गर्दै थिए । यसबाट हाल समुदायमा डेंगु फैलिएको देखिन्छ । डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेंगुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने संकेतहरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ । सन् २०२२ मा अधिकांश डेंगुबाट मृत्यु भएकाहरु भर्ना हुँदा नै जटिल डेङ्गु लिएर आएका तथ्यांक देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरुमा डेङ्गुको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्दछ । यसर्थ डेंगु मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेंगु’ का पूर्वसंकेतहरुका बारेमा थाहा पाउनु पनि आवश्यक छ । अधिकांश डेंगु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा स–साना राता बिमारीहरु देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्दछ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ । तर खोकी डेङ्गुको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन । वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको सङ्क्रमण पनि सँगसँगै देखिएको छ । ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेंगु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ । ‘जटिल डेंगु’का पूर्वसंकेतहरु के के हुन् त ? तारन्तार बान्ता हुनु, असाध्य पेट दुख्नु, नाक वा गिजाबाट रगत बग्नु, बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि । माथि उल्लिखित लक्षण वा संकेतहरु घरमा सङ्क्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता संकेतहरु देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ । अस्पतालमा जाँच गर्दा थप संकेतहरु देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए/नभएको थाहा हुन्छ । रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ । डेङ्गुको सङ्क्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेंगु लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ । सन् २०२२ सालमा काठमाडौंमा देखिएको डेङ्गु प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो । यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरुभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो । काठमाडौंका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो । अनि नेपालको इतिहासमा नै ‘घातक डेङ्गु’ वर्षका रुपमा मैले सन् २०२२ लाई लिएको थिएँ । यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरु जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको सङ्क्रमण भएका व्यक्तिहरु बढी डेंगुको जटिलताबाट मृत्यु भएका थिए । मनसुनको समयमा डेङ्गु सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरुले डेङ्गु लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरुको नतिजाले देखाएको छ । नेपालमा डेंगु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप सङ्क्रमणहरु फैलने गर्दछ । यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेंगु’ का पूर्वसंकेततलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन  । यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ । डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ । दसैँ अगाडि डेंगुले गति लिँदै गइरहेको अवस्था थियो । दसैँलगत्तै अस्पतालमा जाँदा डेङ्गु पुष्टि भएका बिरामीहरुको सङ्ख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेंगु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौँ मात्र नभई देशका विभिन्न ठाउँहरुमा डेङ्गुले व्यापक प्रभाव पारेको जानकारीहरु आउने क्रम जारी छ । डेंगुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ । चाखलाग्दो कुरा के छभने अधिकांश डेङ्गु सङ्क्रमितहरु लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझ भनौँ धेरै मानिस ‘वाकिङ डेंगु’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेंगु’ भन्नाले डेंगु सङ्क्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो । चाडपर्वमा मान्छेहरु यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेंगुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरु सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरु अस्पताल पुग्दैनन् । अधिकांशलाई डेंगुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेंगुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेंगु’ का पूर्वसंकेततहरु सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् । हाल डेंगु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा  चुनौती रहेको भए तापनि ‘जटिल डेंगु’ का पूर्वसंकेतलाई ध्यान दिनसक्ने हो भने डेङ्गुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ । हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा डेंगु के हो, कसरी सर्छ र यसका लक्षणहरुका बारेमा जानकारीहरु दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरु ‘जटिल डेंगु’ का पूर्वसंकेतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेंगुबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो । (लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान

काठमाडौं । नेपाल मेडिकल कलेजमा फुटबल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटबल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् । उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् । ‘अत्याधिक ब्लिडिङका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटी स्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो ।’ कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा.वेश अन्सारीले भने,‘त्यसपछि तत्कार्ल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।’ मिर्गौलाको शल्यक्रियामा डा। अन्सारीलाई कलेजका रेजिडेन्ट डा. विधान र डा. हेमन्तले साथ दिएका थिए । असोज १७ गते बिहीबार विहान माकलबारीस्थित मनकामना फुटसलमा फुटबल खेल्ने क्रममा रोविन विपक्षी खेलाडीको घुँडाले करङ मुनी लागेर त्यही ढलेका थिए । त्यसपछि साथीभाईहरुले उठाएर घर पठाए । करङ मुनीको भागमा अत्याधिक दुखाई भइरहेपनि उनी सोही दिन मनकामना स्कुलमा परीक्षा दिन गएका थिए । परीक्षा सकेर घर पुग्दासमेत दुखाई कम नभएपछि उनको परिवारले दिउसो १ बजे नेपाल मेडिकल कलेजको इमरजेन्सीमा उपचारार्थ ल्याएका थिए । डा. अन्सारीका अनुसार रोविनको कम्मरमाथीको भागमा घुँडाले लाग्दा मिर्गौलामै चोट लागेको हो । ‘दुर्घटना हुँदा मिर्गौलालाई चोट लाग्ने संभावना हुन्छ । तर, फुटबल खेल्दा नै झण्डै मिर्गौला नै दुई टुक्रा हुने अवस्था हुनु नौलो विषय रह्यो ।’ उनका अनुसार रोविनको मिर्गौला पूर्णरुपमा स्वस्थ हुने केही महिना लाग्छ । ‘शल्यक्रिया राम्रो भएको छ । दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ ।’ डा. अन्सारीका अनुसार यदी शल्यक्रियामा ढिलाई भएको भए उनको मिर्गौलाले कामै गर्न नसक्ने अवस्था बन्दथ्यो । आफ्नो छोराको मिर्गौला नै सिलाउनु पर्ने भएपछि चिन्तित आमा रोजी तामाङले शल्यक्रिया सफल भएपछि उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद दिए । ‘मेरो छोराको अवस्था देखेर सारै डर लागेको थियो । किड्नी पनि सिलाउँछ र भन्ने थियो । तर, डा. साबहरुले गरेरै देखाउनु भयो । मेरो छोराको ज्यान बचाइदिनु भएकोमा उहाँहरु सबैलाई धन्यवाद दिन्छु ।’ कलेजले मिर्गौला विशेषज्ञका रुपमा डा। वेश अन्सारीलाई भित्र्याएपछि पछिल्लो समय नेपाल मेडिकल कलेजमा मिर्गौला र मुत्रासयका जटिल उपचारहरु सम्भव भइरहेका छन् । डा. वेश अन्सारीले दुई वर्षयता नेपाल मेडिकल कलेजमा युरोलोजिस्ट तथा मिर्गौला ट्रान्सप्लान्ट सर्जनका रुपमा सेवा दिइरहेका छन् ।