व्यवस्थित रूपमा आँखा उपचार गर्न सरकारी पक्षबाट लगानी बढाउन जरुरी : मन्त्री पौडेल
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा उपचारलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको शुक्रबार निरीक्षण गर्दै उनले सरकारी पक्षबाट पनि आँखा उपचारलाई व्यवस्थित रूपमा अघि बढाउन लगानी गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जनशक्ति व्यवस्थापन जरुरी छ, साथै जनशक्ति उत्पादनमा पनि काम गर्नुपर्नेछ ।’ नेत्रज्योति सङ्घले देशभरि आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचारलाई सहज बनाएको उल्लेख गरे । उनले भने, ‘नेत्रज्योति सङ्घका अग्रजहरुले मन्त्रालयमा आएर हामीलाई डाक्टर चाहियो भन्नुभएको छ । तर हामीले डाक्टर दिन सकिरहेका छैनौं ।’ उनले आवश्यक जनशक्ति उपलब्ध गराउनका लागि नेत्रज्योति सङ्घसँग सहकार्य गरेर सरकार अघि बढ्न तयार रहेको बताए । सरकारले यसलाई प्राथमिकतामा राखेर विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो । नेपाल नेत्रज्योति सङ्घ बागमती प्रदेश सभापति ऋषिराम पौडेल, सङ्घ जिल्ला उपसभापति तेजेन्द्रबहादुर खड्का, सचिव केशव अधिकारी, अस्पतालका प्रमुख मेडिकल निर्देशक डा पुष्पा गिरीले अस्पतालको बीमा रकम रु नौ करोडभन्दा बढी बीमा बोर्डले दिन बाँकी रहेको जानकारी गराए । आजै मन्त्री पौडेलले चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल र सिएमसी क्यान्सर इन्स्टिच्युटको निरीक्षण गरेका छन् । उनले अस्पतालका विभिन्न विभागको निरीक्षण गरेका हुन् । शिक्षण अस्पतालको आकस्मिक कक्ष, रेडियोलोजी विभाग, क्रिटिकल केयर युनिटलगायतको निरीक्षण गरेका छन् । मन्त्री पौडेलले अस्पतालले दिएको सेवा सुविधा, स्वास्थ्य बीमा, विपन्न उपचार लगायतका विषयमा चासो व्यक्त गरे । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले नेपाल सरकारले तोके बमोजिम विपन्नलाई उपचार सेवा दिएको र स्वास्थ्य बीमा प्रभावकारी भएको मन्त्री पौडेललाई जानकारी दिए । अध्यक्ष प्रा डा न्यौपानेले सरकारी क्यान्सर अस्पतालमा लाग्ने शुल्कमा नै आफूहरूले क्यान्सरको उपचार गर्दै आएको जानकारी गराए । अत्याधुनिक उपकरणसहित बोनम्यारो प्रत्यारोपण बाहेकका सम्पूर्ण क्यान्सर उपचार सेवा दिँदै आएको उनले बताए ।
दोस्रो एमआरसिपी युके पेसेस परीक्षा सम्पन्न
काठमाडौं । दोस्रो एमआरसिपी युके पेसेस परीक्षा शुक्रबार सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पतालाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा असोज २ गतेबाट सुरु भएको थियो । परीक्षा तीन दिनसम्म चलेको थियो । नेपाल मेडिसिटीले गर्त वर्षदेखि पेसेस परीक्षा सञ्चालन गर्दै आएको छ । बेलायतबाट आयोजना गरिने परीक्षामा यस वर्ष ४५ जना परीक्षार्थीहरू सहभागी भएका थिए । उक्त परीक्षाका लागि बेलायत, नेपाल, बंगलादेश, साउदी अरेबिया, टर्की, भारत, मलेसिया, नाइजेरीया, युएई, माल्दिभस, इराकबाट परीक्षार्थीहरू आएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १० जना परीक्षकहरूको उपस्थिति रहेको थियो । परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका कन्सल्टेन्ट डा.निरज जोसीका अनुसार युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्यांकन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परीक्षार्थीहरूकाे ज्ञान, सीप र क्षमताकाे मूल्याङ्कन गरिएको थियो । एमआरसिपी युके चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरूले एमआरसिपी युकेबाट अनुमति पाएका जुनैसुकै अस्पतालमा काम गर्न सक्दछन् ।
बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव
बलेवा । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताए । बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेंगीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइा् । उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताइन् ।