चिकित्सा र व्यवस्थापनमा अब्बल डा. मीना

काठमाडौं । जन्मँदै आँखा देख्न नसक्ने होस् या अन्य कारण बीचमा संसार देख्न छोडेकालाई होस् । म उनीहरूको सेवा गर्छु, यो सुन्दर संसार देख्न सक्ने बनाउँछु भन्ने न उनको चाहना थियो, न सपना । उनलाई मात्र लाग्थ्यो पढेर आफै कमाउने हुनुपर्छ । बस्, यही चाहनाले उनलाई कमाउन सक्ने मात्र होइन, हजारौं पीडामा परेका र संसार देख्न नसकेकाहरूलाई पनि देखाउन सक्ने चिकित्सक बनायो । इन्जिनियरसम्म भए पनि हुन्छ  तर, आफै कमाउन सक्ने हुनुपर्छ स्कुल पढ्दै लाग्थ्यो । अहिले तिनै मीनाले एउटा अस्पतालको नेतृत्व नै सम्हालेकी छन् ।  एउटा चिकित्सकलाई जति बिरामीसँग नजिक हुन आनन्द लाग्छ, अझ भनौं बिरामीको उपचारमा रमाइलो लाग्छ । त्यति व्यवस्थापनको जिम्मेवारी सम्हाल्न रमाइलो लाग्दैन ।   तर, अहिले मीना बिरामीको उपचारसँगै अस्पतालको व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेकी छन् । मीना अर्थात् काठमाडौंको बलम्बुमा रहेको एपीएफ अस्पतालका उपप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) तथा आँखारोग विशेषज्ञ । डा. मीना कुँवरको आत्माले अहिले पनि बिरामी हेर्न नै रुचाउँछ । किनकि उनी एक चिकित्सक हुन् । उनका लागि व्यवस्थापनको पाटो निकै चुनौती हो । तर उनी अहिले यसैमा रमाइरहेकी छन् । उनी भन्छिन्, ‘मैले पढेको जानेको विषय हो उपचार, अप्रेसन । तर व्यवस्थापन होइन, मलाई चुनौतीसँग अघि बढ्न मजा लाग्छ । म जति मेडिकल फिल्डमा रमाएकी छु, अहिले यसमा पनि यसरी नै रमाइरहेकी छु ।’  जब मीना अस्पतालको उपनिर्देशक बनिन्, उनको कामको तौर-तरिका बदलियो । अस्पताल आउने उपचार गर्ने जाने गर्ने दैनिकी भन्दा अस्पताल प्रशासन, कर्मचारीको व्यवस्थापनमा लाग्नुपर्‍यो ।  जब अस्पतालको व्यवस्थापकीय पक्षमा काम सुरु गरिन् उनलाई लाग्यो मैले अहिलेसम्म  मेडिकल साइन्समात्र पढेकी रहेछु, लाइफ साइन्स त पढिएकै रहेनछ नि । ‘यु आर म्यानेजिङ योर एभ्रिथिङ लाइफ, दिस इज मोर च्यालेन्जिङ,’ उनी थप्छन्, ‘मेडिकल भनेको सानो फिल्ड हो, व्यवस्थापन ठूलो क्षेत्र रहेछ, आखिर सबै चिज व्यवस्थापनबाटै सुरु भएर व्यवस्थापनबाटै अन्त्य हुन्छ यो मलाई रमाइलो  पनि लागिरहेको छ र एकदम चुनौतीपूर्ण पनि लागिरहेको छ ।’ व्यवस्थापनसँगै उनी अहिले उपचारको काम पनि व्यस्त हुन्छिन् । उनी अहिले पनि औसतमा १०/१२ जना बिरामी हेर्छिन् भने सर्जरी पनि गर्छिन् ।  मीनाको मेडिकल यात्रा डा. मीनाको जन्म काभ्रेपलाञ्चोकको पनौतीमा भएको हाे । उनी ५ जना दिदीभाइमध्ये सबैभन्दा जेठी हुन् । उनी जन्मेको डेढ वर्षपछि बुवाले उनलाई आफूसँगै काठमाडौं ल्याए । उनकी आमा पनौतीमै बस्थिन् । बुवा काठमाडौंमा व्यापार गर्थे । उनलाई पनौतीको त्यति सम्झना छैन । उनी बुवासँग बसेर काठमाडौंमा पढ्न थालिन् । उनले कक्षा  ५ सम्म लेबोरोटरी स्कुलमा पढिन् । त्यसपछि उनको बास होस्टेलमा भयो । उनी भन्छिन्, ‘आमा गाउँमा हुनुहन्थ्यो, बुवा पनि काममा व्यस्त, कहिले काठमाडौं, कहिले बाहिर जानुपर्दा मैले होस्टेलमै बस्नुपर्‍यो ।’ उनी ८ कक्षासम्म होस्टेलमै बसेर पढिन् । उनले एसएलसी भने सिद्धार्थ बनस्थली स्कुलबाट दिइन् । एसएलसीपछि उनी नेपाल साइन्स कलेजमा भर्ना भइन् । प्लसटु पास भएपछि उनी एमबीबीएस अध्ययन गर्न रसिया गइन् । एमबीबीएस गरेर मीना नेपाल फर्किन् । नेपाल फर्किसकेपछि उनले करिब एक वर्ष एउटा आइएनजीओमा काम गरिन् । उनलाई आइएनजीओभन्दा अस्पतालमा काम गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनले निजी अस्पतालमा काम सुरु गरिन् । करिब २ वर्ष उनले नेपाल मेडिकल कलेज, कोरियन हस्पिटल, नर्सिङ होममा काम गरिन् । उनलाई फौजी क्षेत्रमा काम गर्नुपर्छ भन्ने प्रेसर आयो । ‘मेरो परिवार र आफन्तहरू यो क्षेत्रमा धेरै हुनुहुन्थ्यो,’ मीना भन्छिन्, ‘मलाई पनि यही क्षेत्रमा राम्रो हुन्छ भन्ने कुरा आयो, मैले पनि लौ न त भन्दै प्रयास गरें । ठ्याक्कै एकैपटक नाम निकाल्न सफल भएँ, जे होस् रमाइलो भइरहेको छ ।’  उनका श्रीमान अमित जोशी पनि डाक्टर हुन् । उनी हाडजोर्नी रोग विशषज्ञको रूपमा अहिले बीएण्डबी अस्पतालमा कार्यरत छन् । मीनाकी एउटी ११ वर्षकी छोरी छिन् । उनका बुवाले छोरी पढेर डाक्टर बनोस् भन्ने चाहेका थिएनन् । किनकि डाक्टर हुँदा गाह्रो हुन्छ, राति पनि काम गर्नुपर्छ, छोरीलाई दुःख हुन्छ भन्ने लाग्थ्यो । उनलाई छोरी पाइलट भएको हेर्ने इच्छा थियो । तर, उनलाई यसमा रुचि थिएन बरु इन्जिनियर भए पनि राम्रै हो भन्ने लाग्थ्यो । भन्छिन्, ‘बुवाको चाहनाअनुसार पाइलट हुन सकिनँ, अहिले डा. हुँदा बुवा पनि खुसी नै हुनुहुन्छ ।’ उपचारसँगै पढाइ बलम्बु अस्पतालमा काम सुरु गर्दा मिनाले एमबीबीएस मात्र गरेकी थिइन् । उनले मेडिकल अफिसरको रूपमा काम सुरु गरिन् । त्यसपछि उनले एमडीको तयारी गरिन् । उनले अध्ययन गर्दा पुरा अध्ययन विदा पाउने सुविधा थियो । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा तीन वर्षे एमडीका लागि भर्ना भइन् । त्यहाँ अध्ययन गर्दा उनले नेत्र रोगको विषयमा  विशेषज्ञता हासिल गरिन् । एमडीको अध्ययन सकेर फेरि उनी निरन्तर काममा अस्पताल फर्किन् । केही वर्ष काम गरिसकेपछि फेरि सुपर स्पेसलाइजेसनको लागि उनी तिलगंगा इन्स्टिच्युटमा भर्ना भइन् । त्यहाँ उनले मेडिकल रेटिना र युरियासम्बन्धी १ वर्षे कोर्स गरिन् । यो कोर्स गरिसकेपछि फेरि उनी अस्पताल आइन् । ‘मेरो काम गराइ र पढाइसँगै भयो,’ उनी भन्छिन्,‘यसो हुँदा पढेको कुरालाई व्यवहारमा लागु गर्न सहज हुँदो रहेछ ।’ अहिले उनी आँखाको जटिल बिरामी, रेटिनाको बिरामीको उपचार गर्नुका साथै अस्पतालको म्यानेजमेन्टको  जिम्मेवारी लिरहेकी छिन् ।  आँखारोग विशेषज्ञ  मीनालाई आँखाको उपचार अझ भनौं विशेषज्ञता हासिल गर्नुपर्छ भन्ने लागेको थिएन । ‘कहिलेकाहीं जे चाहना हुँदैन, त्यो पनि गर्नुपर्छ, मैले यो विषयमा नै विज्ञता गर्छु भन्ने थिएन तर मैले त्यही बन्नुपर्‍यो,’ उनी भिन्छन्, ‘कहिलेकाहीं रुचि नभएको कुरामा पनि अनुभव लिनुपर्छ, समयको माग र परिवेश हेरेर जुनसुकै कुरामा आँट राख्नसक्नुपर्ने रहेछ ।’ मीनासँगै काम गर्ने अन्य चिकित्सक अर्थोपेडिक, सर्जरी एनेस्थेसिया पढ्न गइसकेका थिए । उनी के पढ्ने भन्ने सोचिरहेकी थिइन् । त्यहीबेला आँखाको सिट खाली थियो । उनले त्यही विषय रोजेर पढिन् ।  उनलाई शल्यक्रिया गर्न मन पर्थ्यो । यो विषय पढ्दा सर्जरी पनि गर्न पाइने बिरामीसँग पनि नजिक हुन मिल्ने भएकाले उनले यो विषय रोजेकी हुन् । मीनालाई नाक, कान घाँटीको विषयमा विशेषज्ञता हासिल गर्न इच्छा थियो । तर उनले न्याम्समा सिट पाइनन् । त्यसपछि उनले नेत्ररोगको विषयमा विशेषज्ञता हासिल गरिन् । उनले अहिलेसम्म कतिको आँखा उपचार गरिन्, कतिको मोतियाबिन्दुको अप्रेसन गरिन्,  हिसाबकिताब राखेकी छैनिन् ।  काम गर्दाको अनुभव चिकित्सकलाई चिकित्सक बनिरहन जटिल छ । अन्य पेशाजस्तो पढियो अब सकियो अथवा सिकियो भन्ने यो क्षेत्रमा हुँदैन । अझ बढी अध्ययन आवश्यक हुन्छ ।  काम गर्दै जाँदा कहिले सहज असहज परिस्थिति आइरहन्छ ।  कतिपय केशहरूमा जति प्रयास गर्दा पनि सफल नभएको अनुभव पनि मीनासँग छ ।   उनले विभिन्न अवस्थामा आएका जटिलताबाट आत्तिने होइन बरु यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ भन्ने पाठ  सिकेकी छन् । ‘हरेक व्यक्तिमा फरक जटिलताहरू हुन्छन,’ उनी भन्छिन्, ‘कसैलाई ग्याष्ट्रिक भयो भने कसैको टाउको दुख्छ, कसैलाई पेट पोल्छ, कसैलाई हातखुट्टा गल्छ । यहाँ पनि यस्तै हो, मान्छेअनुसार उपचारमा सहज असहज परिस्थिति आउँछ ।’  उनले मेडिकल साइन्स कुनै म्याजिक नभएको पनि बताइन् । असफल हुनुपरेको त्यो क्षण कतिपय व्यक्तिको सर्जरी हुँदा सहज हुन्छ । कतिपयको प्रयास गर्दा पनि असफल भइन्छ । मीनालाई अहिले सम्झना आउने एउटा घटना छ । जहाँ उनले प्रयास गर्दा पनि आँखाको ज्योति फर्काउन सकिनन् । एकजना बिरामीको आँखामा लेन्स राख्नु पर्ने थियो । उनी केही माेटाे थिए । उनलाई प्रेसर पनि थियो र दम पनि । तर, सर्जरी गर्दागर्दै समस्या भयो । उनको सर्जरी नै गर्न सकिएन । त्यसपछि उनीलगायत उनको टीमले लेन्स नै राख्न सकेन  । बिरामीको आँखाको लगातार प्रेसर बढ्यो । ‘जति प्रयास गर्दा पनि प्रेसर नै कम भएन, बिस्तारै प्रेसर घटेपछि दोस्रो पटक लेन्स राखियो,’ त्यो घटना सम्झँदै उनी भन्छिन्, ‘तर, लेन्स राखिसकेपछि पनि जटिलता आयो । अन्तत: उनले आँखा नै देख्न सकेनन् ।’ आधा घण्टा अघि गरेको उस्तै प्रकारको केस सफल भयो भने पछिको  सफल हुन सकेन । कहिलेकाहीं प्रयास गर्दा पनि सफल हुन नसकेको केही घटनाले उनलाई तीतो अनुभव गराउँछ ।  आजभोलिका आँखा कति स्वस्थ ?   नेपालीमा अहिले पनि अन्धोपनको कारण मोतिया बिन्दु छ । यो समस्या देशैभरि छ । तर बालबालिकाको हकमा कुरा गर्ने हो भने आजभोलि बच्चाहरू ग्याजेटमा बढी झुमिन थालेका छन् । खाना खुवाउँदादेखि हरेक कुरामा बच्चालाई चुप गराउने साधन पछिल्लो समय  ग्याजेट भएको छ । आजभोलि पहिलेको जस्तो छैन । पहिले स्कुलबाट आउने बित्तिकै बच्चाहरू घरबाहिर जाने साथीहरूसँग मिलेर विभिन्न किसिमका खेलहरू खेल्ने, रमाउने गर्थे । तर, आजभोलि बच्चाहरू साथीभाइसँग खेल्न छोडेका छन् । अभिभावक व्यस्त हुँदा बच्चासँग खेल्ने मान्छे पनि कोही नहुँदा यस्तो समस्या आएको मीना बताउँछिन् । उनका अनुसार आजभोलि सानै उमेरदेखि भिडियो हेर्ने बानीले आँखामा समस्या बढ्दै गएको छ ।   आँखा कसरी स्वस्थ राख्ने कुनै पनि ग्याजेट वा स्क्रिन हेरिसकेपछि २० सेकेण्ड आँखा बन्द गर्ने र २० फिट टाढा हेर्नुपर्छ । यसो गर्दा आँखामा राम्रो आँसु फैलिन्छ र आँखालाई फाइदा पुर्‍याउँछ । बच्चाहरूलाई कम्तीमा ६ महिनामा १ पटक आँखा जाँच गर्नुपर्छ । किनकि बच्चाहरूको आँखामा एउटा यस्तो रोग हुन्छ जसलाई अल्छी आँखा भनिन्छ ।  कुनै पनि बच्चा वा व्यक्तिले एउटा आँखा कम देख्छ अथवा दुईवटै आँखा कम देख्छ भने उसको ब्रेनले के ठान्छ भने मैले देख्ने यति हो, मैले यतिमात्रै देख्नुपर्छ भन्ने हुन्छ । र बिस्तारै उसको आँखा त्यतिमै अडिन्छ । त्यसपछि जति उपचार गरे पनि चस्मा लगाए पनि पछि त्यसको उपचार हुँदैन । यसको समयमै पत्ता लगाएर उपचार गर्‍यो भने निको हुन्छ । कम्तीमा पनि १ वर्ष, ६ महिना उपचार अनिवार्य गर्नुपर्छ । आँखाको नजिक र टाढा हेर्ने शक्ति कति छ त्यसको प्रयोग गरिन्छ । ‘हामीले लगातार स्क्रिन हेरिराख्याैं भने आँखा ड्राइ हुन सुरु हुन्छ, त्यसपछि दुख्छ,’ उनी भन्छिन्,  ‘आजभोलि अस्पताल आउने अधिकांश बिरामी टाउको दुख्यो भनेर आउँछन् ।’ पहिले र अहिलेका आँखा पहिलोभन्दा अहिले धेरै नयाँ जोखिम स्वास्थ्यमा देखिन थालेका छन् । एकताका वेस्टन डिजिज भनेर चिनिने सुगर अहिले नेपालमा सबैभन्दा धेरै देखिन थालेको छ । डा. मीना अब जमाना र रोग पहिलोको जस्तो नरहेको बताउँछिन् । अहिले हरेक घरमा सुगर नभएको विरामी सायदै कम हुन्छ । सुगरले सबैभन्दा पहिले हामी गर्ने भनेकै आँखा, मुटु र किड्नी हो । प्रेसर पनि आजभोलि बढ्दै गएको छ यसले पनि सबैभन्दा पहिले बिगार्ने भनेको आँखा हो । त्यसैले आँखाको जाँच गर्न आवश्यक रहेको उनी बताउँछिन् ।  कस्मेटिकको प्रयोगको असर आँखामा धेरै प्रकारका झल्कने, टल्कने कस्मेटिक सकेसम्म कम प्रयोग गर्नुपर्छ । गाजल, मस्करा,आइस्याडो यस्ता विभिन्न किसिमका कस्मेटिक लगाउन हुँदैन । डा. मीना बच्चाहरूलाई पनि गाजल लगाउन नहुने बताउँछिन् । यसले फाइदाभन्दा बढी बेफाइदा गर्छ । यो लगाउदा आँखामा आसु आउँदा नलीमा गएर अड्कने सम्भावना हुन्छ । अर्को कुरा धारको पानीले कहिल्यै आँखा पखाल्न नहुने उनको सुझाव छ । ‘खानको लागि मिनरल वाटर खान्छौं, आँखा पखाल्न धाराको पानी प्रयोग गर्छौं,’ उनी भन्छिन्, ‘यो राम्रो होइन, पानी र आँसु उस्तै होइनन्, आँखामा केही चिज पर्‍यो भने मात्र पखालौं नभए पखाल्न हुँदैन ।  यी कुराको हामीले ख्याल गर्नुपर्छ र विशेषगरी अभिभावकले बच्चाहरूको आँखामा विशेष ध्यान दिनुपर्छ ।’  अन्य चिकित्सकभन्दा फोर्सका कति फरक अन्य अस्पतालमा काम गर्ने चिकित्सक र एउटा फाेर्सभित्र काम गर्ने चिकित्सकमा फरक हुन्छ । काम एउटै भए पनि फोर्सभित्रका चिकित्सकले अनुशासन र नियमको पालना बढी गर्नुपर्छ । डा. मीनाका अनुसार सर्वसाधारणभन्दा काम गराइ र अनुशासनमा एउटा संस्थाभित्र रहेर काम गर्दा आवश्यक पर्छ । हुन त हरेक चिकित्सकले अनुशासनमा बस्नुपर्छ । ‘बाहिर अस्पतालमा डाक्टरले आफ्नो ड्युटीमा काम गर्‍यो भने उसको काम सकिन्छ, तर फोर्स भित्रको डाक्टर हुँदा कामसँगै त्यो बाहेक सशस्त्र प्रहरीको पनि नियमभित्र रहनुपर्छ, ’ उनले भनिन् । उनी बाहिरको अस्पताल र फोर्सको चिकित्सकमा फरक रहेको बताउँछिन् । 

बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संसोधनको तयारी

काठमाडौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संसोधन प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकामा स्वीकृत भइ कानून संसोधन भएको हो । संसोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । ऐन संसोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा विन्दु भन्नाले विमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनु पर्छ,’ भनेर व्याख्या गरिएको छ । यस आधारमा अब बिमित कार्यरत क्षेत्रमा प्रथम बिन्दु कायम गर्न चाहेमा सम्भव हुने भएको छ । यसका लागि स्वास्थ्य बिमा नियमावलीसमेत संसोधन गर्ने गरी तयारी अघि बढेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यसअनुसार नियमावली संसोधन भएपश्चात कार्यरत स्थानबाट बीमा सुविधा लिन स्थायी ठेगाना भएको ठाउँमा जानैपर्ने अवस्था कम हुने विश्वास मन्त्रालयले गरेको छ । मन्त्री पौडेलले बिमित रहेकै स्थानबाट सेवा लिन मिल्ने गरी व्यवस्था गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार संसोधनमार्फत अब कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था भएको छ । ऐनको (४)दफा २५ को उपदफा (५) पछि देहायको उपदफा (६) थपिएको छ । जसमा ‘कुनै कारणले कार्यकारी निर्देशकको पद रिक्त भएमा दफा २२ को उपदफा (३) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मको लागि कार्यकारी निर्देशकको रुपमा काम गर्न मन्त्रालयले मन्त्रालय र अन्तर्गतको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको कर्मचारीलाई खटाउन सक्ने’ उल्लेख छ । यसले कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकारसहितकै कार्यकारी निर्देशकका रुपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बाटो खुला गरेको छ । यसले भावी दिनमा कार्यकारी निर्देशकको रिक्ततासम्बन्धी समस्या सम्बोधन गर्न सक्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै

काठमाडौं । भक्तपुरका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए । भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकाका चार हजार एक सय ६२, भक्तपुर नगरपालिकाका छ हजार सात सय ४२, मध्यपुरथिमि नगरपालिकाका चार हजार दुई सय तीन र चाँगुनारायण नगरपालिकाका दुई हजार पाँच सय ८४ किशोरीलाई एचपिभी खोप लगाइने उनले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका १६ हजार छ सय २८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ६३ किशोरीलाई खोप लगाइने छ। कार्यालयले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन एवं तालिकासमेत सार्वजनिक गरेको छ । जसमध्ये सूर्यविनायकमा ६५ विद्यालय र ११ अन्य, भक्तपुर नपामा ७४ विद्यालय र छ अन्य, मध्यपुरथिमि नपामा ५६ विद्यालय र १० अन्य तथा चाँगुनारायण नपामा ४८ विद्यालय र १९ अन्य स्थान गरी कुल दुई सय ४३ विद्यालय र ४६ अन्य ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानलाई सफल पार्न कुल दुई सय ८९ स्वास्थ्यकर्मी र पाँच सय ७० स्वयंसेवक परिचालन गरिने भएको छ । कार्यालय प्रमुख खतिवडाका अनुसार जिल्लाका चारवटै स्थानीय तहसँग समन्वयात्मक कार्यक्रम गरी स्थानीय स्वयंसेवकलाई तालिम दिइ सकिएको छ । खोप लगाउँदा कसैलाई स्वास्थ्यमा कुनै समस्या नआउने दाबी गर्दै उनले समस्या आइहालेमा उपचारका लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, चाँगुनारायण नगर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार गरिने जानकारी दिए । सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छभने स्तन क्यान्सर दोस्रोमा पर्छ । भक्तपुर जिल्लामा खोप अभियानलाई सफल बनाउन स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको छ । जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले अभियान सफल बनाउन आह्वान गरेका छन् ।