८.२४ करोडमा निर्माण सुरु गरिएको अस्पताल बजेट अभावले अधुरै
काठमाडौं । बागलुङको निसीखोलामा निर्माणाधीन पालिका स्तरीय आधारभूत अस्पताल अधुरो रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो । निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो । ८ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए । पालिकाले बजेट विनियोजन गरे २ महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ । विसं २०८० भदौमा बुझाएको १ करोड १० लाख रुपैयाँको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए । पालिकाबाट भुक्तान गर्न बाँकी रहेको १ करोड १० लाख रुपैयाँ सहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरो रहेको बताए । गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उनको भनाइ छ । आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको अध्यक्ष घर्ती मगर बताउँछन् ।
स्वास्थ्य मन्त्रालयको तालिकाअनुसार चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
काठमाडौं । देशका १२ संघीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत्र पहिलो साता संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले संघीय अस्पतालमा तालिकाअनुसार काम सम्पन्न गर्न निर्देशन दिएका थिए । चैत्र महिनाभित्र प्राप्त विवरणअनुसार अधिकांशले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौं महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ । यसैगरी, अस्पतालअन्र्तगतको ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको छ । यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी सुरु गरेको छ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा शुरु गरेको छ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार गरेको छ । तनहुँको दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा सुरु गरेको छ । भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पिएफती सेवा आरम्भ गरेको छ । कोशी अस्पताल विराटनगरले निःसन्तान उपार सेवा आइभीएफ शुरु गरेको छ । सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरुवात गरेका थिए । डडेलधुरा अस्पतालले भने एकै स्थानबाट प्रयोगशाला नमूना लिने गरी एकीकृत ल्याब नमूना संकलन शुरु गरेको छ । वीरगञ्जको नारायणी अस्पतालले एनआइसीयुमा विद्युतीय चिकित्या प्रतिवेदन इउमआर लागु गरेको छ भने हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ सुरु गरेको छ । भेरी अस्पताल नेपालगञ्जले चैत्र महिनाभित्र आइसीयुमा दुई शैय्या तथा बर्न वार्डमा दुई समेत थप गरी आठ शैय्या विस्तार गरेको छ ।
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालन
काठमाडौं । मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरे । ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वल्र्डवइडले आर्थिक सहयोग गरेको हो । यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संल्गन जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए । ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्त्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे । अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै उनले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए । उनले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गरे । २०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ । मन्त्री पौडेलले जिम्मेवारी सम्हालेयता अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक श्री अधिकारीले बताए । पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारीले बताए । बर्थिङ सेन्टरको क्षमता वृद्धि अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ । दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसुति सेवामा सरकारी विशिष्टकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ ।