सिटिजन लाइफले काठमाडौं बाल अस्पताल निर्माणका लागि गर्‍यो ५ लाख सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले बाल स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यो योगदान गरेको हो । गत वर्ष पनि सिटिजन लाइफले अस्पताललाई आर्थिक सहयोग गरेको थियो । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका निम्न आय भएका परिवारका बालबालिकालाई किफायती, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । सिटिजन लाइफले आफ्नो सामाजिक उत्तरदायित्वअनुसार विभिन्न शैक्षिक, स्वास्थ्य तथा वातावरणीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए । ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो । यस वर्षको वर्ष पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । ‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘यसका लागि थप श्रोतको खोजीसमेत गरिनेछ ।’ सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न स्थानीय तहहरुसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिछण्म्मेवारीसमेत तोकेको छ । ‘स्थानीय तहहरुसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चालक समिति सदस्य सापकोटाले भने, ‘सहकार्य गर्ने गरी गृहकार्य शुरु गरेका छौं ।’ नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा, ९ लाख विदेशीको परीक्षण

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत ९ लाख ७ हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा १ लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए । सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार ४२५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो । सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म ४ करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिए ।