भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो छुट्याउन नसक्दा धेरै बिरामी सिकिस्त हुन्छन् : डा. सुवास पन्त
काठमाडौं । देशभर चिसो बढेको छ । चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महशुस गरिरहेका हुन्छन् । कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई/तीन दिनमा निको हुन्छ । कतिपय अस्पताल नै पुगेर उपचार गराउनुपर्ने अवस्थामा पुग्छन् । कस्तो लक्षण देखिए घरेलु उपचार गर्ने र कस्तो लक्षण देखिए अस्पतालमा गएर जाँच गराउने भन्ने दुविधा हुन्छ । हामी यसै दुविधामा परेर सिकिस्त हुन्छौँ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा कार्यरत फिजिसियन डा. सुवास पन्तले भाइरल ज्वरो र इन्फ्ल्एन्जा ज्वरो छुट्याउन नसक्दा जटिल अवस्थामा पुग्ने गरेको बताए । इन्फ्ल्एन्जा ज्वरोलाई भाइरल ज्वरोको उपचारले नपुग्ने कुरा बुझ्नुपर्ने बताए । डा. पन्तले रुघाखोकीसहित खान मन नलाग्ने, टाउको दुख्ने, श्वास फेनृ अफ्ठ्यारो महशुस भयो भने अस्पताल गएर उपचार गराउन सुझाव दिए । प्रश्तुत छः काठमाडौं मेडिकल कलेजका फिजिसियन डा. सुवास पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश । देशभर चिसो बढेको छ, चिसोसँगै प्रदुषण पनि बढेको हो ? प्रायजसो चिसो महिनामा प्रदुषण पनि बढी हुन्छ । चिसोले धुवाँलाई अलिकति बाँधेर राखेको हुन्छ । जाडो महिनामा पानी पर्ने सम्भावना पनि कम हुने भएकाले पनि प्रदुषण उच्च हुने हो । चिसो महिनाहरुमा बिहानको समय प्रदुषण उच्च हुने गरेको छ । प्रदुषणको मात्रा पानि कम भएर पनि बढ्छ नै । दोस्रो, धुलोहरुलाई ट्रयाप गर्ने सिस्टम भएर बिहानको समयमा प्रदुषण बढ्ने गरेको छ । यो समयमा कस्तो खालको संक्रमणको जोखिम रहन्छ ? संक्रमणबारे प्रायः सबै जनालाई थाहा नै होला । रुघाखोकीको बिरामी अलिकति बढ्ने समय हो यो । रुघाखोकीमा पनि धेरै मान्छेहरु (क्न्फ्युज) अलमल भइरहेका हुन्छन्, कुन रुघाखोकी सामान्य र कुन रुघाखोकी गम्भिर खालको भनेर । मेडिकलको भाषामा भन्दा सामान्य रुघाखोकी हुन्छन्,जसलाई हामीले राइनो भइरस भनेर भन्ने गर्दछौं । अर्को रुघाखोकी चाहीँ अलिकति घाँटी पनि दुख्ने, आँखा पनि रातो हुने हुन्छ । त्यसलाई हामी आइडिनो भाइरस भन्ने गर्छौं । तेस्रो रुघाखोकी अलिकति जटिल हुन्छ । त्यसलाई हामी इन्फ्ल्युएन्जा भन्ने गर्छौं । यसले रुघाखोकी पनि ल्याउने, ज्वरो धेरै आउने टाउको दुख्ने र कसैकसैलाई त निमोनिया समेत हुने गरेको छ । यो सबै कुरा जाडो महिनामा अलिकति बढी हुने गर्दछ । जाडो महिनामा प्रेसर बढ्ने, मुटुको रोगीको मुटुको धड्कनको गति पनि बढ्ने, पक्षघातको दर पनि बढ्ने हुन्छ । एउटा सरुवा रोग अर्को दीर्घकालीन रोगहरु पनि यही समयमा बढी हुने गर्दछ । चिसोको समयमा अस्पतालहरुमा कस्ता खालका बिरामीहरुको चाप बढी हुन्छ ? जाडो महिनामा हुने भनेकै रुघाखोकी हो । अनि दम र श्वासप्रश्वासका बिरामीहरुको अस्पताल आउने दर बढी हुने गर्दछ । दमको बिरामी नहुनेहरुमा चाहीँ रुघाखोकी बढ्ने, रुघाखोकी ज्वरोमा परिणत हुने, ज्वरो आएपछि खोकी लाग्ने, त्यही रुघाखोकी निमोनियामा परिणत हुने लगायत बिरामीहरु नै यो जाडो महिनामा अस्पताल आउने दर उच्च हुन्छ । रुघाखोकीका संक्रमणहरु कसरी छुट्याउने ? साधारण रुघाखोकीलाई राइनो भाइरस भन्ने गरिन्छ । यो संक्रमण भएपछि खान मन नलाग्ने, नाकबाट पानी आउने हाच्छिउँहरु हुन्छ । अर्को एडिनो भाइरस हुन्छ । यो सबैभन्दा धेरै विद्यार्थीलाई हुने गर्दछ । यसमा विद्यार्थीका आँखा रातो हुने, घाँटी दुख्ने, कसैलाई एकदमै धेरै ज्वरो आउने हुन्छ । तेस्रो इन्फ्ल्युएन्जा । साधारण रुघाखोकी र इन्फ्लुन्जामा के फरक हुन्छ भन्दाखेरि यसमा ज्वरो धेरै आउने, ज्वरो आएपछि टाउको पनि दुख्ने, खान पनि मन नलाग्ने, खोकी पनि लाग्ने, खोकी बढ्दा निमोनिया हुने हुन्छ । यो दुई वटामा हामीले छुट्याउनुपर्छ । साधारण रुघाखोकी के हो ? इन्फ्लुएन्जाका विभिन्न प्रकारहरु हुन्छ । कुनैपनि रुघाखोकी लाग्दा खान मन लागेन, टाउको दुख्यो, धेरै श्वास फेर्न गाह्रो भयो भने यो सामान्य खालको रुघाखोकी होइन भन्ने बुझेर चिकित्सकसँग परामर्श लिने र अस्पताल गएर आवश्यक जाँच गर्ने कुरा चाहीँ बुझ्नुपर्यो मान्छेहरुले । रुघाखोकीको पहिचान गर्न नसक्दा ठूला स्वास्थ्य समस्याको शिकार हुनुपरेको हो ? इन्फ्लुन्जाका पनि धेरै प्रकारहरु हुन्छन् । हामी छुट्याउनुपर्ने चाहीँ साधारण भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो हो । इन्फ्लुएन्जा ज्वरोमा अन्य समस्याहरु पनि थपिने गरेका छन् । जस्तै रुघाखोकीमा मानछेलाई खान मन लागिरहेको हुन्छ । खोकी लागेपनि मान्छे सक्रिय नै हुन्छ । टाउको दुख्ने समस्याहरु हुँदैन । इन्फ्लुन्जामा यो सबै कुराहरु थपिन्छ । टाउको पनि दुखिराको हुन्छ । मुख नमिठो भइरहेको हुन्छ । खान मन पनि लागिरहेको हँुदैन । जटिल हुँदै जाँदा निमोनियाहरु हुने चाहीँ इन्फ्लुन्जामा हुन्छ । कुन बिरामीलाई कस्तो भएको छ भन्ने कुरामा पनि भर पर्ने गर्दछ । जस्तै मुटुको बिरामी, किड्नीको बिरामी, दमको बिरामीलाई चाहीँ साधारण कुराहरु पनि जटिल भइसकेको हुन्छ । अरुलाई घरमै ज्वरो र खोकी आएपनि कुर्न सकिन्छ । तर ति ग्रुपका प्यासेन्टहरुलाई कहिले काँही आजको भोलि नै गाह्रो भइसकेको हुन्छ । तपाईलाई कस्तो खालको रुघा लागेको छ ? कस्तो खालको ज्वरो आएको छ ? तपाई कस्तो खालको बिरामी हो त्यसमा पनि भर पर्छ । यदी रुघाखोकी लागेकै अवस्थामा श्वासप्रश्वासमा समस्या आयो, दम बढ्दै गएको छ भने त्यस्तो अवस्थामा कुर्न हुँदैन । अस्पताल गइहाल्नुपर्छ । केही नभएको बिरामी सामान्य रुघाखोकी मात्र आएको छ भने त्यस्तो अवस्थामा दुई,तीन दिन कुर्न सकिन्छ । आफूमा कस्तो खालको रुघाखोकी लागिरहेको छ । त्यसमा खान मन छ कि छैन ? कति दिनदेखि ज्वरो आइ रहेको छ ? ज्वरो र खोकी बढेको छ कि छैन ? त्यसले असर पारेको छ कि छैन ? यो सबै छुट्याएर अस्पताल जाने कि घरमै बस्ने भनेर छुट्याउन सकिन्छ । हामीले रुघाखोकी संक्रमण भएकै अवस्थामा पनि नियमित कामहरु गरिरहेका हुन्छौं, यसले कस्तो खालको जोखिम निम्त्याउँछ, कसरी सजग हुने ? रुघाखोकी प्रायजसो सर्छ नै । यो सर्ने माध्यम भनेको खोकी र हाच्छिउँ नै हो । मास्क लगाउन सकेको अवस्थामा त्यो एक अर्कामा सर्ने क्रम कम हुन्छ । हातहरु नाक र मुखमा लगाउँदा स्यानिटाइज गरेको छ भने संक्रमण एक अर्कामा सर्दैन । नत्र सर्ने सम्भावना धेरै नै हुन्छ । तपाईले याद गर्नुभएको होला घरमा पनि एकलाई रुघाखोकी लाग्दा प्रायः सबैलाई हुने गर्दछ । त्यहि चिज विद्यालयमा हुँदा चाहीँ हामी सतर्क हुन्छौं । हात धुन्छौं । विद्यालयमा पनि असावधानीका कारण प्रायः सबैमा सरको हुन्छ । अलिकति बच्न पाए यसको जोखिम पनि कम हुन्छ र सर्ने सम्भावना पनि कम हुन्छ । यसबाट बच्नको लागि हातधुने, हात धुन सकिँदैन भने स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्दछ । मास्क लगाउन त सम्भव नै छैन विद्यालयहरुमा । हामीले मास्क लगाउन नसकेपनि हामी सम्भवतः दूरी कायम गर्नसक्यो भने पनि यो चिजका सर्ने जोखिम पनि कम हुन्छ । अरु दीर्घकालीन बिरामीहरुलाई पनि बचाउन सकिन्छ । वृद्धवद्धा र बिरामी मान्छेहरुको इम्युनिटी पावर कम हुने भएका कारण रुघाखोकी लागेको खण्डमा उनीहरु रुघाखोकी मै सिमित हुन पाउँदैन । त्यहि कुरा जटिल भइदिन्छ । जाडो याममा वृद्धवृद्धा, गर्भवती महिला, बालबालिकाहरु अलि बढी बिरामी हुन्छन् नि ? इम्युनिटी कम भएका मान्छेलाई संक्रमणले अलि छिटो समात्ने गर्दछ । साधारण रुघाखोकीमा ब्याक्टेरिया थपिएर फेरि निमोनिया हुने डर पनि हुन्छ । अन्य मान्छेमा साधारण रुखाखोकी भएपनि यी समूहका मान्छेहरुमा संक्रमण बढी हुने चान्स हुन्छ । यसरी रुघाखोकी लागेका मान्छेले घरमै बसेर गर्नुपर्ने उपचार विधिहरु के-के हुन सक्छन् ? मैले कुनैपनि रोगको घरायसी उपचारमा त नलाग्न नै सल्लाह दिन्छु । गाह्रो भयो अथवा ज्वरो बढ्ने बित्तिकै चिकित्सकसँग सल्लाह र परामर्श लिनुपर्छ । हामीले बेलैमा डाक्टरसँग परामर्श लियो भने त्यो चिज बढ्दैन । त्यो चिज निमोनियामा परिणत हुँदैन । त्यस्ता खतराबाट बच्नको लागि सल्लाह र परामर्श लिनुपर्छ भन्छु म चाहीँ । हामीसँग एउटा परम्परा जस्तै छ । सामान्य रुघाखोकी लाग्यो भने नजिकैको मेडिकलमा गएर औषधिहरु लिने हुन्छ । त्यस्तो अवस्थामा रुघा र ज्वरो मात्र छ भने केही समस्या भएन । यदि बढेको छ भने एकचोटि चिकित्सकसँग परामर्श त लिनैपर्छ । चिसो याममा हाम्रा आनिबानी तथा खानपानमा कस्तो ध्यान दिनुपर्छ ? तपाईको सल्लाह के छ ? चिसो मौसममा दुई वटा कुरामा एकदमै ध्यान दिन जरुरी छ । चिसो मौसममा बिहान धेरै नै चिसो हुने भएका कारण यस्तो अवस्थामा प्रेसर भएका र दीर्घकालीन रोग लागेका मान्छेहरुले ध्यान दिनुपर्छ । पक्षघात, मुटुका बिरामी, दमका बिरामीहरुमा मुख्यतः यो समयमा स्वास्थ्य समस्याहरु बढ्छ नै । बिहान त धेरै नै चिसो हुन्छ । त्यो समयमा त प्रदुषणको समस्या हुने भएका कारणले पनि नहिँड्नु भन्छु बिरामीलाई । मिल्छ भने अलिकति घाम लागेको समयमा जहाँ प्रदुषण कम छ त्यो ठाउँमा एक घण्टाजति हिँड्न सल्लाह दिन चाहन्छु । बिहान चिसो धेरै र प्रदुषण बढी हुने भएका कारण जटिल समस्या भएका बिरामीमा झन जटिल समस्या आउने भो । अनि त्यो समयमा रुघाखोकी बढ्ने सम्भावना पनि हुन्छ । खानपानका सन्दर्भमा सकेसम्म चिसो हुने खानेकुराहरु खानुभएन । फलफूलहरु खायो भने अलिकति छिटो रोग निको हुने र अलिकति तागत आउने फाइदा हुन्छन् । जाडो महिनामा फलफूलहरु घाममा बसेर खानुप¥यो । फलफूलमा पनि भिटामिन सीयुक्त खायो भने फाइदा हुन्छ । मौसम र केरा जस्ता खानेकुरा खानु फाइदा जनक हुन्छ । तर बिरामी हेरेर पनि हुन्छ । समग्रमा जे फलफूल खाएपनि घाममा राखेर खानुप¥यो र भिटामिन सियुक्त फलफूलहरु खानुपर्यो । घाँटी दुख्ने भन्ने बित्तिकै टन्सिल भयो भन्ने बुझाई हुन्छ नि, रुघाखोकीको कारण हो कि टन्सिलकै कारण हो भनेर कसरि छुट्याउने ? घाँटी दुखाईको टन्सिल पनि एउटा कारण त हो । टन्सिलको कारण आएको ज्वरो र अरु ज्वरोमा फरक छुट्याउनु चाहीँ पर्छ । टन्सिल भएर पनि घाँटी दुख्छ नै । टन्सिलमा एकदमै धेरै ज्वरो आउँछ । खानेकुरा निल्नै सकिँदैन । अरु घाँटी दुख्ने समस्यालाई फायर इन्जाटिस भन्छौं । निल्न गाह्रो हुन्छ । एकदम धेरै ज्वरो चाहीँ आउँदैन । कुनैपनि घाँटी दुखाई टन्सिल हुँदैन । धेरै ज्वरो आउने, घाँटी दुख्ने, खान मन नलाग्ने टन्सिलमा हुन्छ भने ज्वरो पनि ठिकठिकै आउने तर खान मन लाग्नेलाई चाहीँ सामान्य घाँटी दुखाईको रुपमा लिनुपर्दछ । यसमा मुख्यगरी छुट्याउने कुरा चाहीँ भाइरल ज्वरो र सामान्य ज्वरो नै हो । चिसाबाट जोगिन नागरिकलाई तपाईको सुझाव के छ ? मैले सन्देश दिनुपर्दा चिसो याममा हुने रुघाखोकी छुट्याउनुपर्यो । त्यसलाई छुट्याउने एउटा मात्रै तरिका छ । खान मन लागेन र उच्च ज्वरो आयो भने त्यो इन्फ्लुन्जातिर गयो । यदि ज्वरो पनि ठिक्क आएको छ र खान मन पनि लागेको छ भने त्यो भाइरल खोकी भनेर बुझ्नुपर्यो । अनि अर्को कुरा, खासगरि मर्निङ वाक गर्नेहरुले बिहानको समयमा मर्निङ वाक नगरिदिनु होला । अलिकति घाम लागेको बेला र सडकमा गाडीको चाप कम भएको बेला मात्र मर्निङ वाक गर्नुहोला । बिहान उठेर वाक गर्नैपर्छ भन्ने कन्सेप्ट छ । चिसो महिनामा नगर्नको लागि आग्रह गर्दछु । मर्निङ वाक घरमा पनि गर्न सकिन्छ । मनोरञ्जनका क्रियाकलाप पनि घरमा गर्न सकिन्छ । यसका लागि माइण्ड पनि फ्रेस हुनुपर्दछ । मर्निङ वाकमा प्रयोग हुने मुख्य कुरा नै माइण्न फ्रेस हो । त्यसका लागि बाहिर गर्नु बढी उपयुक्त हुन्छ । घरमा त एउटै चिजहरु देखिइरहेको हुन्छ । त्यसैले मर्निङ वाकमा फ्रेसनेस पनि जरुरी छ । कसैकसैले घर र अफिसमा हिँड्ने गरेको बताउनु हुन्छ । त्यो हिँडाईले मर्निङ वाकमा फरक नपर्ला । जुन हिँडाई फ्रेस छ, काम बिनाको छ त्यो नै महत्वूर्ण छ ।
चिसो मौसममा आँखामा हुने समस्या र उपचार विधि
चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आद्रता कम हुँदै जाने गरेको छ । उक्त मौसममा हावा बढी चल्ने पनि गर्दछ । मानिसले पानी प्रशस्त मात्रामा नपिउँदा शरीर सुख्खा हुँदै जाने गर्दछ । चिसोको समयमा आँखा सुख्खा बढी हुन्छ । चिसो मौसममा भाइरसको सक्रियता बढी हुन्छ । शरीरको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसका कारण भाइरल कन्जन्टिभाइटिस इन्फेक्सन हुन्छ । जसलाई आईफ्लू भनिन्छ । आईफ्लूलाई सरुवा रोग पनि भनिन्छ । उक्त रोग एक आँखाबाट अर्को आँखामा बढी मात्रामा सर्छ भने एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ । यसैगरी, चिसो मौसममा सिजनल एलर्जी (आई एलर्जी) आँखा रातो हुने, चिलाउने, बिझाउने, पोल्ने, दुख्ने, आँसु आउने, आँखाको डिल सुन्निने र कडा किसिमको चिप्रा आउनेसमेत हुन्छ । चिसो मौसममा मानिस धेरै बाहिर ननिस्किने र घरमै बसेर मोबाइलमा बढी सक्रिय हुँदा (कम्युटर भिजन सिन्ड्रम) देखिन्छ । जसमा आँखा बढी थाक्ने, टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखाबाट आँसु आउने हुन सक्छ । चिसो मौसममा मोतिबिन्दुका बिरामी बढी अस्पताल आउने गरेका छन् । चिसोमा अप्रेसन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वासका कारण योबेला डाक्टरकोमा मोतिबिन्दुका बिरामी बढी आउँछन् । चिसोले गर्दा मोतिबिन्दुका बिरामी बढी हुन्छ भन्ने होइन । हिमपात हुने क्षेत्रमा चिसो मौसमका बेला आँखाको नानीमा घाउ हुनसक्ने आँखा दुख्ने, आँसु बढी आउने देखिन्छ । यसलाई फोटोकेराटाइटिस भनिन्छ । यो भनेको सूर्यको किरण हिमपातमा ठोकिएर आँखामा रिफ्फ्लेट हुने भएकाले आँखामा यो समस्या ल्याउन सक्छ । योबाट बच्नका लागि हिमाली क्षेत्रमा जाडो मौसममा एन्टिरिफ्लेक्टिभ वा पोलारोईड ग्लासेस लगाउन आवश्यक छ । सुख्खा आँखाबाट बच्नका लागि सकेसम्म चिसो मौसममा घर बाहिर ननिस्किँदा राम्रो हुन्छ । यदि, निस्कनै परेमा आँखामा रक्षाका लागि उचित किसिम र साइजको चश्मा लगाउन उपयुक्त हुन्छ । आँखा धेरै नै सुख्खा भएमा डाक्टरको सल्लाहअनुसार झोल औषधी (आर्टिफिसिय टियर्स) प्रयोग गर्न सकिन्छ । त्यसभन्दा बाहेक घरभित्र बस्दापनि धेरै समय सुख्खा हिटरको प्रयोग नगर्ने, हिटर वा आगोको नजिक नजाने, सुख्खा आगो वा सुख्खा हिटर पानीको प्रयोग सँगै गर्ने गर्नुपर्छ । यसका अलावा रुमलाई वाष्पीकरण गर्दा राम्रो हुन्छ । डा. पारस पञ्जियार आईफ्लूबाट बच्नका लागि धेरै भीडभाडमा नजाने, समय समयमा साबुन पानीले हात धोइराख्ने, हातलाई आँखामा नलैजाने गर्नुपर्छ । त्यति गर्दागर्दै पनि समस्या देखिएमा डाक्टरसँग सल्लाह गरेर आवश्यक उपचार लिन सकिन्छ । सिजनल एलर्जीले बच्चालाई बढी असर गर्ने गरेको देखिन्छ । त्यसैले सकेसम्म बच्चालाई चिसोमा लिएर नजाने, तातो पारेर राख्ने, एलर्जीको समस्या देखिहालेमा दक्ष चिकित्सकसँग सल्लाह गरी उपयुक्त उपचार गर्नुपर्ने हुन्छ । कम्युटर भिजन सिन्ड्रम हुँदा कम्युटर धेरै नचलाउने र चलाउनै परेमा २०/२०/२० नियम पालन गर्ने गर्नुपर्छ । उक्त नियम भनेको २० मिनेट मोबाइल वा कम्युटर चलाएपछि २० सेकेण्डको लागि कम्युटरबाट उठेर २० फिट टाढाको वस्तु हेर्ने हो । सँगै आँखालाई २० देखि २४ पटक खोल्ने चिम्लिने गर्नुपर्छ । यसबाहेक प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ भने ब्लू कट चश्माको पनि प्रयोग गर्न सकिन्छ । मोतिबिन्दु देखिएको भएमा डाक्टरको आवश्यक सल्लाहमा शल्यक्रिया गर्न सकिन्छ । अत्यधिक मोबाइल र कम्युटरको प्रयोगले बालबालिकामा दृष्टिदोष (मायोपिया) पनि बढेको पाइन्छ । त्यसैले बच्चालाई अत्यधिक मात्रामा मोबाइल र कम्युटरको प्रयोग गर्न दिनुहुँदैन । (डा. पञ्जीयार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ नेत्र रोग विशेषज्ञ हुन् ।)
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न मन्त्री पौडेलको सक्रियता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न सक्रियता देखाएका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका थिए । अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन् । यसका लागि डाक्टर दिपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय मिति गठन गरिएको छ । समितिमा दिपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् । यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि लाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ । समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका का र्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । यसैगरी, अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ । समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरु तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए । नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरुको संख्या ४ हजार ८८४ देखिन्छ । तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ । अटिजमको समस्या गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि पूर्वप्रतिबद्धता अनुसार नै मन्त्री पौडेलले सक्रियता देखाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।