बिरामीको मृत्युपछि किन टार्गेटमा पर्दैछन् अस्पताल ?

काठमाडौं । ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई मंगलबार निर्धक्क भएर काम गर्न मन लागेन । आइतबारदेखिको तनावले सोमबार डरलाग्दो अवस्था सिर्जना भएपछि मंगलबार शान्त हुँदा पनि काम गर्न उनीहरुको मनमा डर लागिरहेको थियो । अस्पताल तोडफोडसँगै स्वास्थ्यकर्मीलाई नै हातपात गर्दा काम गर्न मनै नलागेको एक चिकित्सकले गुनासो गरे ।  सोमबार अस्पतालमा गरेको  ढुंगा मुढा आन्दोलनले त्रसित कर्मचारीहरूलाई मानसिक रुपमा काम गर्न समस्या परेको उनी बताउँछन् । चिकित्सकहरू हर प्रयासबाट ज्यान बचाउन नसक्दा आफन्तहरूको कुटपिट सहनुपर्ने भन्दै उनी यस्ता घटनाले चिकित्सकको काम गर्ने मनोबलमा असर पर्ने बताउँछन् ।  ‘बिरामीको अवस्था कतिखेर कस्तो हुन्छ भन्न सकिँदैन,’ उनी भन्छन्, ‘मृत महिला पनि अस्पताल आउँदा अवस्था सामान्य थियो तर सुत्केरी भइसकेपछि एक्कासि अवस्था बिग्रियो हामीले गरेको हर प्रयासबाट बचाउन सकिएन, आखिर नहुनुपर्ने दुःखद कुरा उनको मृत्यु भयो ।’ उनले बच्चा जन्माइसकेपछि भएको अत्यधिक रक्तस्रावले चिकित्सकको हरप्रयासलाई निराशामा परिणत गरेको बताए । उनी भन्छन्, ‘कुनै पनि चिकित्सकले जानाजान मान्छेको प्राण लिँदैन बरु कहिलेकाँही हामीले गरेको अथक प्रयास असफल भइदिन्छ यो केशमा पनि त्यस्तै भयो ।’ मृतकका आफन्त आएर सोमबार किष्ट अस्पताल तोडफोड गरेपछि यो कार्य रोक्न प्रहरीको बाक्लो उपस्थिति बढाइयो । भिड नियन्त्रणमा नआएपछि प्रहरीले अस्पतालमै अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।  के हो घटना  ?  खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षकी मिनाश्री राई गएको शुक्रबार किष्ट अस्पताल पुगिन् । बच्चा जन्माउने मिति पुगिसकेपछि चिकित्सकले उनलाई ९ गते अस्पताल बोलाएको थियो । किष्ट अस्पतालमै चेकजाँच गराउँदै आएकी उनी चिकित्सकले बोलाएपछि अस्पताल पुगिन् । दिनभरी अवस्था सामान्य नै थियो ।  तर, बिस्तारै उनलाई ब्यथा लाग्न थाल्यो । उनले राती ९ बजे नर्मल रुपमा बच्चा जन्माइन् । बच्चा जन्माइसकेपछि पनि उच्च रक्तश्राव भयो । चिकित्सकको प्रयासले रगत रोकिएन । अन्ततः उनको मृत्यु भयो । सामान्य अवस्थामा आफै हिँडेर अस्पताल पुगेकी मिनाश्रीको मृत्यु भएको खबरले आफन्त आत्तिए ।  उनीहरूले अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आक्रोशित भए । उनीहरू उपचारमा दक्ष चिकित्सक नभई सिकारु विद्यार्थीलाई संलग्न गराउँदा यस्तो अवस्था आएको बताउँछन् ।  मिनाश्रीको मृत्यु भएको खबर उनका आफन्तले थाहा पाए र सबै जना अस्पताल पुगेर अस्पताल जिम्मेवार नभएको बताउन थाले ।   आक्रोशमा आएका मृतकका आफन्तले अस्पताल तोडफोड गर्न थाले । अस्पताल तोडफोड हुनथालेपछि प्रहरी तैनाथ गरियो । आफन्तहरूले आफै लापरबाही गर्दै ज्यान पनि लाने प्रहरी बोलाएर दमन पनि गर्ने भन्दै फेरि आक्रोश पोखे । आक्रोशले अस्पताल तोडफोडमात्र गरेनन् स्वास्थ्यकर्मीमाथि पनि कुटपिट भयो । सोमबार राती दुईपक्षबीचको सम्झौताले मंगलबार आन्दोलन मत्थर भएको हो ।  दुई साताअघि भक्तपुरको मध्यपुर थिमीमा पनि यस्तै घटना भएको थियो । त्यहाँ पनि  एक सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले अस्पतालमा आन्दोलन गरेका थिए ।  असोज २९ गते खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ कि तारा घिमिरे बस्तोलाको मृत्यु भयो । ताराको पनि मिनाश्रीको जस्तै थियो । घरबाट आफै स्कुटर चलाएर अस्पताल पुगेकी ताराको अवस्था सामान्य थियो ।  अस्पताल पुगेपछि उनलाई भर्ना गरियो । पछिल्लो दिन बिहान ८ बजे नर्मल रुपमा बच्चा जन्मियो । तर उनको रक्तस्राब बढी भएको थियो । चिकित्सकको लगातार उपचारपछि पनि उनको रक्तस्राव रोकिएन ।  चिकित्सकले पाठेघर नै फालेर अप्रेसन गर्नुपर्ने भनेपछि पाठेघर फालियो । तर, रगत रोकिएन । त्यसपछि उनको मृत्यु भयो । ताराको मृत्यु भएपछि उनका आफन्तहरू अस्पताल पुगे ।  अवस्था सामान्य रहेन । मृतकका आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आन्दोलन गर्न थाले ।  उनीहरूले चिकित्सकको लाइसेन्स नै खारेज गर्नुपर्ने भन्दै अस्पतालमा नाराजुलुस लगाए । उनीहरू शव बुझ्न तयार भएनन् । पछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भयो । वार्तामा ताराले जन्माएको बच्चा २१ दिन अस्पतालको रोहबरमा राख्ने र २५ लाख रुपैयाँ क्षेतिपुर्ति दिने सहमति भएपछि अवस्था सामान्य भयो ।  ‘हामीले ५० लाख माग गरेका थियौं, अस्पतालले २५ लाख दिने भनेपछि मानवताको नाताले हामी पनि लचक भयौं अहिले बच्चा अस्पतालमै चिकित्सकको निगरानीमा छ अब २१ दिनको दिन हामी लिन जान्छौं,’ मृतकका आफन्तले भने । यी त पछिल्लो १२ दिनको अवधिमा देखिएका दुई घटनामात्र हुन्, यस्ता घटना नेपालमा प्रायः हरेक महिना भइरहने गर्छन् । कहिले सुत्केरी महिलाको मृत्यु, कहिले बच्चाको मृत्यु त कहिल्यै अन्य बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरिएका घटना भइराख्ने गर्छन् । गत वैशाखमा सिराहको गोलबजारमा रहेको वर्धमान अस्पतालमा पनि अवस्था यस्तै भएको थियो । मिर्चैया नगरपालिका ११ सितापुरकी ३० वर्षकी रामकाशी यादवको सुत्केरी भइसकेपछि अस्पतालमै मृत्यु भएको थियो । सुत्केरी ब्यथा लागेर अस्पताल पुगेकी उनको बच्चा जन्मिसकेपछि मृत्यु भएको भन्दै त्यहाँ पनि प्रदर्शन भएको थियो ।  प्रदर्शनकारीले अस्पताल तोडफोड गर्न थालेपछि अवस्था नियन्त्रण गर्न अस्पतालमा प्रहरी परिचालन गर्नुपरेको थियो । केही दिनको प्रयासपछि प्रशासन र आफन्तहरूबीच सहमति भएको थियो ।  आमाको मृत्यु होस् या बच्चाको या बृद्ध तन्नेरी अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भयो भने नेपालमा स्वास्थ्यकर्मीमाथि नै कुटपिट हुन्छ । यस्ता घटनाले चिकित्सकहरूको मनोबलमा असर पर्ने चिकित्सकहरू बताउँछन् । नेपाल चिकित्सक संघ स्थानीय जनसमुदायबाट हुने यस्ता घटनाले चिकित्सकलाई काम गर्न समस्या भएको बताउँछ । संघका अध्यक्ष डा. अनिलविक्रम कार्की जानजान कुनै अस्पताल वा चिकित्सकले यस्तो काम गर्न नसक्ने भन्दै स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहारका घटना असैह्य भएको बताउँछन् । चिकित्सकबाट पनि कहिलेकाँही त्रुटी हुने बताउँदै उनी गल्ती नै भएको शंका लागे कानूनी बाटो अपनाउन सक्ने बताउँछन् ।  ‘हामीले डाक्टरलाई भगवान ठान्छौं, उ भगवान होइन मानव हो, मानवबाट कहिलेकाँही गल्ती हुन्छन्, यस्ता गल्तीको छानबिन कानुन प्रक्रियाबाट हुनुपर्छ, स्वास्थ्यकर्मी कुट्दैमा अस्पतालमा तोडफोड गर्दैमा समस्या समाधान हुँदैन, बरु झनै बल्झिन्छ,’ उनले भने ।  जनस्वास्थ्य विद् डा. समिरमणी दिक्षित यस्तो अवस्था बिरामी र चिकित्सककै कारण निम्तिने गरेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा दुई प्रकारका स्वाथ्यकर्मी छन् । एकथरी स्वास्थ्यकर्मी थोरै संरचनालाई पनि राम्रो प्रयोग गरेर मनभित्रैबाट केही गरु भन्ने खालका छन् । किनकि नेपालमा संरचना उपकरणहरू सधै राम्रो पाइँदैन, अर्को चिकित्सा क्षेत्रमा यति धेरै पैसा खर्च गरेर पढेको कसरी असुल्ने भन्ने सोच भएकाहरू छन् । जहाँ उपचारमा पनि लापरवाही गरेको पाइन्छ ।’ उनी दोस्रो किसिमका डाक्टरका कारण यस्ता समस्याहरू आउने गरेको बताउँछन् । उनी भन्छन्, ‘दोस्रो प्रकारका चिकित्सकका कारण कहिलेकाँही पहिलो प्रकारका चिकित्सकलाई पनि अप्ठेरो पर्ने गर्छ र नराम्रो अनुभव भोग्नुपर्ने हुन्छ । स्वास्थ्य क्षेत्रमा चिकित्सकहरूले आफ्नोतर्फबाट मिहिनेत गर्छन् तर कहिलेकाहीँ यस्तो भइदिन्छ कि गर्दागर्दाै पनि प्रयास असफल भइदिन्छ । भएभरको प्रविधि चलाउँदा पनि केही सीप लाग्दैन यस्तो बेला स्वास्थ्यकर्मीलाई कुटपिट गर्नु अस्पतालमा तोडफोड गर्नु गलत हो ।’ उनी यो कुरा जनमानसले पनि बुझि दिनुपर्ने बताउँछन् ।  ‘विदेशमा सामान्य होस् या गम्भीर खालका बिरामी अस्पताल आइसकेपछि अस्पताल प्रशासन स्वास्थ्यकर्मी वा बिरामीका आफन्तहरूसँग कुरा गरिन्छ । हामी यो–यो गर्न सक्छौ यसका लागि सम्भावना यो-यो हुन्छ , यति गर्दा ठिक हुन पनि सक्छ नहुन पनि सक्छ यसका लागि पूर्णरुपमा जिम्मा लिन सक्दैनौं तर हाम्रो तर्फबाट पूर्णरुपमा मिहिनेत रहन्छ भन्ने सूचना दिनुपर्छ  । उनी नेपालमा पनि यस्तै गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।  नेपालका अस्पतालले यस्तो प्रयास नगर्दा पनि यस्ता समस्याहरू हुने गरेको उनको भनाइ छ ।  ‘नेपालमा कम्युनिकेशन कमजोर छ,’ उनी भन्छन्, ‘बिरामीहरू ठूलो आशाका साथ अस्पताल पुग्छन् । तर, जब आफूले आशा गरेको हुँदैन तब आवेगमा आएर यस्तो घटना हुन्छ ।’ उनी यसका लागि अस्पतालले छुट्टै कर्मचारी राखेर भए पनि काम सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।   

कात्तिक १६ गते माओवादी र एकीकृत समाजवादीबीच एकता हुने, पार्टीको नाम ‘नेकपा समाजवादी केन्द्र’

काठमाडौं । नेपालको वाम राजनीति फेरि एक निर्णायक मोडमा प्रवेश गर्न लागेको छ । लामो समयदेखि छलफल र आन्तरिक समायोजनको प्रक्रियामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच अन्ततः पार्टी एकताको मिति टुंगो लागेको छ । दुवै पार्टीका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार कार्तिक १६ गते एकता घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि निरन्तर संवादमा छन् । ती संवाद र पार्टीभित्रका आन्तरिक छलफलपछि एकता घोषणा गर्ने सहमति बनेको एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ ।  केन्द्रीय कमिटीको बैठक निर्णायक बन्ने बुधबार बस्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको सहमति अनुमोदन गर्ने तयारी रहेको छ । त्यसपछि औपचारिक रुपमा दुवै पार्टीबीचको एकता घोषणाको बाटो खुल्नेछ ।  बैठकले सहमति अनुमोदन गरेपछि नयाँ पार्टीको घोषणा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त कार्यक्रममा गरिने तयारी गरीएको एक नेताले बताए ।  नेकपा एसका एक नेताका अनुसार नेतृत्व तहमा मिति, नाम र संरचना विषयमा सहमति भइसकेको छ, अब केवल औपचारिक स्वीकृति र घोषणा मात्र बाँकी छ । नयाँ दलको नाम नेकपा समाजवादी केन्द्र  स्रोतका अनुसार नयाँ पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्ने सहमति बनेको छ । नाममा नेकपा शब्दलाई अगाडि राखेर वामपन्थी एकताको ऐतिहासिक निरन्तरताको सन्देश दिने र समाजवादी शब्दमार्फत वैचारिक स्पष्टता प्रकट गर्ने निर्णय गरिएको बताइएको छ । पार्टीको झण्डा, चुनाव चिन्हक र संगठनात्मक ढाँचा विषयमा पनि प्रारम्भिक सहमति भएको छ । दुवै पार्टीका संगठनहरूलाई मिलाएर नयाँ संरचना बनाइने र केन्द्रदेखि स्थानीय तहसम्म संयुक्त संयोजन समितिहरू गठन गर्ने तयारी चलिरहेको छ । नयाँ पार्टी दर्ता गर्ने तयारी पार्टी एकता घोषणापछि नयाँ दललाई निर्वाचन आयोगमा दर्ता गर्ने तयारी पनि दुबै पार्टीले अघि बढाएका छन् । दर्ता प्रक्रियालाई सहज बनाउन कानुनी पक्ष, विधान र आवश्यक दस्तावेज तयारीको काम लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘एकता घोषणा भएपछि हामी तुरुन्त आयोगमा दर्ता प्रक्रिया थाल्छौं । यसपटक एकता केवल घोषणामा सीमित हुने छैन, संस्थागत रूपमा लागू हुनेछ ।’ महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन दुवै पार्टीले महाधिवेशन गर्ने तयारी भने तत्कालका लागि स्थगित गरेका छन् । स्रोतका अनुसार नयाँ पार्टीले महाधिवेशनका लागि प्रर्याप्त तयारी नपुगेको भन्दै अस्थायी रूपमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको ती नेताले बताए । प्रारम्भिक योजना अनुसार कार्तिक मसान्तसम्म राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने तयारी छ । ‘यदि अन्य राजनीतिक परिस्थिति स्थिर रह्यो भने कार्तिक २८ र २९ गते नयाँ दलको राष्ट्रिय सम्मेलन गर्ने तयारी छ,’ ती नेताले भने । त्यो सम्मेलनले पार्टीको नाम, विधान, नेतृत्व र नीति कार्यक्रमलाई अनुमोदन गर्नेछ ।

प्रमुख-उपप्रमुखको विवादले कञ्चनरुप नगरपालिकाको काम ठप्प

काठमाठौं । सप्तरीको कञ्चनरुप नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच विवाद बढ्दा सेवाग्राहीले सास्ती पाएका छन् । लामो समयदेखि चल्दै आएको आपसी मतभेदका कारण पालिकाको प्रशासनिक गतिविधि स्वस्फूर्त रुपमा सञ्चालन हुन नसक्दा जनताले दुःख पाएको गुनासो आएको हो ।  कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ता र उपप्रमुख मुना कुमारी पोखरेलबीचको आपसी मतभेदकै कारण पालिकाले चालु आव २०८२/८३ को बजेटसमेत ल्याउन सकेका छैन । बजेट रोकिएसँगै कञ्चनरुप नगरपालिकामा चालु योजना, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र स्थानीय तर्फबाट भइरहेका साना–ठूला आयोजना, विकासनिर्माणदेखि लिएर विभिन्न गतिविधि ठप्प छ ।  नगर प्रमुख  गुप्ता र उपप्रमुख पोखरेलबीच लामो समयदेखि विकास योजना, बजेट वितरण र कार्यशैलीका विषयमा मतभेद रहँदै आएको छ । दुवैबीच बढ्दो बैमनस्यताका कारण नियमित रुपमा कार्यपालिका बैठक हुन सकेको छैन । निर्णय प्रक्रियाहरू ठप्प छन् र स्थानीय योजना कार्यान्वयन पनि रोकिन पुगेको छ । प्रमुख र उपप्रमुखको विवाद कार्यालयमा मात्रै सीमित नभएर अदालतमा समेत पुगिसकेको छ ।  उपप्रमुख पोखरेलले प्रमुखमाथि ‘एकल निर्णय, बजेटमा मनपरी र कर्मचारी व्यवस्थापनमा हस्तक्षेप’ गरेको आरोप लगाउँदै आएकी छन् । गत जेठ ९ गते उपप्रमुख पोखरेलले आफूलाई जानकारी नै नदिई नगरसभा बोलाएर बजेट पारित गरिएको भन्दै उच्च अदालत जनकपुर राजविराजमा रिट दायर गरेकी थिइन् ।  सोही रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत राजविराजको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी ग¥यो । यसअघि असार ८ गते सर्वोच्चका एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ २१ मा सम्पन्न भएको ११औं नगर सभाको निर्णय कार्यान्वयन नगर्न नगरपालिकालाई निर्देशन दिएको थियो । प्रमुख गुप्ताले भने नगर सभामा ६४ जना एकातिर र उपमेयर मात्रैले हस्ताक्षर नगर्ने तर मुद्दा हालेको बताउँछन् । उनले न्यायाधीशले मुद्दालाई पेन्डिङमा राखिदिएको जसले नगरपालिकालाई अहिलेको अवस्थामा बन्धक बनाइएको बताए । जसरी पनि मुद्दा टुंग्याउनुपर्ने र नगरपालिकामा अहिले अड्किएको गाँठो फुकाउने पक्षमा रहेको प्रमुखले उल्लेख गरे । ‘अदालतले छिटोभन्दा छिटो फैसला गर्दिनु प¥यो, जस्तो फैसला आए पनि म मान्न तयार छ, कमसेकम नगरपालिकालाई काम गर्ने ढोका त खुल्छ,’ उनले भने । जेनजी आन्दोलनले थप सकस नगरपालिकाभित्रको आन्तरिक विवादसँगै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले कार्यालय परिसरमा आगजनी र तोडफोड गरेपछि झनै अन्योलता थपिएको छ । यसको प्रत्यक्ष असर त्यहाँका जनताले खेप्नुपरेको छ । हालसालै जेनजीले आन्दोलन गर्दा प्रर्दशनकारीले देशभरका विभिन्न सार्वजनिक र निजी सम्पतिमाथि आक्रमण गरे । स्थानीय पालिकाहरुमा समेत प्रर्दशनकारीहरुले आगजनी, तोडफोड र लुटपाट गरेका थिए । कञ्चनरुप नगरपालिकाको प्रशासनिक भवनमा पनि प्रदर्शनकारी घुसेर तोडफोड, लुटपाटसहित आगजनी गरेका थिए । कार्यालयभित्र रहेको कम्प्युटर, कुर्सी, फाइल र अत्यावश्यक कागजातहरू सबै जलेर नष्ट भएको नगर प्रमुख ललन प्रसाद गुप्ताले बताए । कार्यालय र कार्यालयका सम्पूर्ण सामान नष्ट भएपछि अहिले कार्यालयबाट प्रवाह हुने सेवामा प्रत्यक्ष असर पुगेको उनको भनाइ छ । कागजपत्र सबै नष्ट हुँदा जेष्ठ नागरिक, एकल महिला, दलितलगायले पालिकाबाट प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्तासमेत दिन नसकेको उनले बताए । साढे तीन करोड बढीको क्षति नगरपालिका कार्यालयमा भएको क्षतिको प्रारम्भिक विवरण हेर्दा लगभग तीनदेखि साढे तीन करोड रूपैयाँसम्मको क्षति भएको अनुमान प्रमुख गुप्ताको छ । उनका अनुसार आन्दोलनको दिन लगभग ४० प्रतिशत कागजात पूर्ण रुपमा जलाइएको र ६० प्रतिशत सामानहरू लुटेर नै लगिएको थियो । नगरपालिकाको गाडी (मेयरले चढ्ने) मा ८० प्रतिशत जति क्षति पु¥याइएको छ । अन्य सरकारी गाडीहरूमा तोडफोड भएको छ । नगरपालिकाको अन्य वडाहरूमा भने खासै क्षति पु¥याएको छैन । जेनजी प्रदर्शनकारीले नगरपालिकाको कार्यालय मात्रै नभएर प्रमुखको व्यक्तिगत सम्पत्तिमाथि पनि आक्रमण गरेको थियो । आन्दोलनको दिन मेयर गुप्ता काठमाडौंमै थिए । उनका अनुसार प्रर्दशनकारीले उनको घर, छापाखाना र पसलमा तोडफोडसहित लुटपाट गरेका थियो । प्रमुख गुप्ताका अनुसार  घरभित्र रहेका सम्पूर्ण सामान निकालेर जलाइयो भने पसलको ८० प्रतिशत लुटेर लगियो र २० प्रतिशत सामानमा आगो लगाइयो । उनले आफ्नो डेढ करोड भन्दा बढी सम्पत्तिमा क्षति पुगेको सुनाए । आफ्नो व्यक्तिगत सम्पत्तिमाथि आक्रमण हुनुमा जेनजीले भन्दा पनि व्यक्तिगत रिसिभी भएकाहरुले गरेको उनले बताए । व्यक्तिगत सम्पतिमाथि ठूलो क्षति व्यहोर्नु परेपनि अहिले आफ्नो प्राथमिकतामा नगरपालिका नै रहेको प्रमुख गुप्ता भन्छन् । अहिलेको अवस्थामा कार्यालयबाट जसरी पनि जनतालाई सेवा प्रवाह सहज तरिकाले दिनमा नगरपालिका प्रयासरत रहेको गुप्ताले बताए ।  प्रमुख गुप्ताका अनुसार जेनजी आन्दोलनको एक हप्तापछि वडाहरूसँग समन्वय गरेर कार्यालय सञ्चालनमा ल्याएको छ  । स्वास्थ्य शाखामा कम क्षति भएको हुँदा त्यहीबाट सेवा प्रवाह भएको प्रमुख गुप्ताले जानकारी दिए ।  ‘वडाहरूसँग समन्वय गरेर टेबुल, बेन्च मागेर काम चलाइयो, उनले भने, ‘कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका व्यवस्थाहरू मागेर सेवा सुरु ग¥यौं, अहिले स्वास्थ्य शाखामा केही नभएकोले त्यहीँबाट सबै काम सञ्चालन भइरहेको छ, जहाँबाट दर्ता चलाउने र राजस्व उठाउने काम भइरहेको छ ।’ कर्मचारीले पाएनन् तलब कञ्चनरुप नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । प्रमुख गुप्ताका अनुसार जेनजी आन्दोलनभन्दा अघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव अनुज भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भएपनि अहिलेसम्म आएका छैनन् ।  प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कार्य अघि बढ्न नसकेको र प्रमुखले मात्रै केही गर्न नसक्ने गुप्ताले बताए । नगरपालिकामा देखिएको अर्को समस्या त्यहाँ कार्यरत कर्मचारीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।  कार्यपालिकाले निर्णय गरेर भए पनि कम्तीमा कर्मचारीको दशैंमा तलब फुकाइदिन अनुरोध गरिएको भएपनि हुन नसकेको प्रमुख गुप्ताको भनाइ छ ।