मोटर बीमाको प्रिमियम महँगो भएपछि ई-रिक्साका लागि छुट्टै निर्देशिका ल्याउँदै प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले इलेक्ट्रिक रिक्साका लागि छुट्टै बीमा पोलिसी प्रक्रिया अगाडि बढाएको छ । हालको मोटर बीमा निर्देशिकाअनुसार बीमितलाई प्रिमियम महँगो पर्न जाने अवस्थालाई मध्यनजर गर्दै न्यून आय भएका ई-रिक्सा चालकलाई लक्षित गरी छुट्टै पोलिसीको तयारीमा रहेको प्राधिकरणका उपनिर्देशक एवं कोशी प्रदेश प्रमुख प्रीति देवले जानकारी दिइन् । अहिलेको अवस्थामा ई-रिक्साकै लागि भनेर छुट्टै बीमा व्यवस्था नभए पनि तीनपाङ्ग्रे टेम्पोहरूको बीमा गर्न मिल्ने प्रावधान रहेको छ । मोटर बीमा निर्देशिका, २०७३ अनुसार बीमा कम्पनीहरूले ई-रिक्साको बीमा पनि त्यही तीनपाङ्ग्रे टेम्पोअन्तर्गत नै गर्दै आएको छ । देवले भनिन्, ‘हालसम्म ई-रिक्साका लागि छुट्टै बीमा व्यवस्था नभए पनि तीनपाङ्ग्रे टेम्पोअन्तर्गत बीमा गर्न मिल्ने प्रावधान छ । अब भने प्राधिकरणले छुट्टै र कस्टमाइज्ड बीमा आवश्यक देखिएकाले त्यसतर्फ गृहकार्य भइरहेको छ ।’ हालको मोटर बीमा निर्देशिका र सीसी क्षमताका आधारमा प्रिमियम निर्धारण गर्दा ई-रिक्सा चालकहरूलाई बीमा शुल्क महँगो पर्न जाने देखिएको छ । ई-रिक्सा चालकहरू प्रायः न्यून आय वर्गका हुने भएकाले उनीहरूका लागि बीमा शुल्क सस्तो हुनुपर्ने माग ई-रिक्सा संघबाट समेत आउने गरेको उनले बताइन् । देवका अनुसार यो समस्यालाई सम्बोधन गर्न यात्रु दुर्घटना बीमासहितको प्याकेजलाई न्यून लागतमा उपलब्ध गराउने प्रस्ताव बोर्डमा पेश गरिसकेको छ । अहिले ई-रिक्सासम्बन्धी प्रस्तावित योजनालाई प्राधिकरणले माइक्रो इन्स्योरेन्स अन्तर्गत राखेर ‘मिनिमम प्रोडक्ट’का रूपमा डिजाइन गर्ने तयारी भइरहेको तर अन्तिम निर्णय आउन बाँकी रहेको उनले बताइन्। ‘अहिले ई-रिक्साको लागि पोलिसी ड्राफ्ट र जोखिम विश्लेषणको काम अगाडि बढिरहेको छ, अन्तिम निर्णय आउन बाँकी छ,’ देवले भनिन् । चालकलाई लाइसेन्स अनिवार्य गर्दै कोशी प्रदेश सरकार ई-रिक्सालाई व्यवस्थित बनाउने र बीमाको दायरामा ल्याउने सम्बन्धमा प्राधिकरणले कोशी प्रदेश सरकारसँग छलफलसमेत अगाडि बढाइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीसँग कोशी प्रदेशमा ई-रिक्साको बीमाको सम्भावनाबारे छलफल गरेको हो । मन्त्रालयका उपसचिव उर्मिला देवी निरौलाका अनुसार कानुनमा लाइसेन्स लिनुपर्ने व्यवस्था भएपनि अधिकांश ई-रिक्सा चालकसँग लाइसेन्स नभएकाले उनीहरूलाई यो दायरामा ल्याउन खोजिएको हो । प्रदेशमा सबै रिक्सा चालकलाई अनिवार्य लाइसेन्सको दायरामा ल्याउनु र उनीहरुलाई बीमामा जोडिन सहजीकरण गर्नु मुख्य उद्देश्य रहेको निरौलाले औंल्याइन् । उनले भनिन्, ‘कानुनमा लाइसेन्स अनिवार्य भनिए पनि अधिकांश चालकसँग लाइसेन्स नभएकाले उनीहरूलाई यो प्रणालीभित्र ल्याउन खोजिएको हो ।’ निरौलाका अनुसार प्रदेश सरकारले चालकहरूलाई सहज बनाउन चालु आर्थिक वर्षदेखि लाइसेन्सका लागि लिइने लिखित परीक्षासमेत हटाइएको छ । साथै मंसिर महिनादेखि ई-रिक्सा सञ्चालन गरे बापत लाग्दै आएको करिब तीन हजार रुपैयाँ आयकर पनि खारेज गरिएको छ । लिखित परीक्षाको सट्टा अब चालकहरूलाई लाइसेन्स लिन आउने दिन ट्राफिक नियम र सवारी सञ्चालनसम्बन्धी भिडियो देखाइने र एक दिनको तालिम दिने व्यवस्था गरिएको उनले बताइन् । निरौलाले ई-रिक्सा चालकहरूको आम्दानी न्यून भएकाले हालको बीमा प्रिमियम महँगो परेको देखिएको हुँदा बीमा प्रिमियम घटाउने प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिइन् । ‘चार जना यात्रु र एक जना चालक गरी पाँच जनालाई बीमा प्याकेजमा समेट्ने सहमति खोज्ने प्रयास भइरहेको छ,’ उनले बताइन् । यस कार्यक्रमलाई चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ । पहिलो तीनदेखि चार महिना सकारात्मक रूपमा प्रवर्द्धन गर्ने र त्यसपछि मात्र दोस्रो चरणमा जरिवाना तथा कडाइ गर्ने योजना रहेको निरौलाको भनाइ छ । यो पहल मजदुर वर्गको सुरक्षा, यात्रुको हित र सडक सुरक्षालाई ध्यानमा राखेर गरिएको उनले जानकारी दिइन् । अरू सवारीको तुलनामा न्यून दुर्घटना भए पनि दुर्घटना भइहालेको अवस्थामा चालकले महँगो उपचार खर्च बेहोर्न नसक्ने भएकाले बीमामार्फत जोखिम कभर गर्ने लक्ष्यसमेत लिईएको निरौलाले बताइन् । बीमा कम्पनीहरूका अनुसार ई-रिक्सासम्बन्धी छुट्टै पोलिसी नहुनु र मोटरबीमाअन्तर्गत नै हुने भएकाले न्यून संख्यामा बीमालेख जारी हुने गरेका छन् । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेलका अनुसार बीमा कम्पनीमा रिक्साको न्यून संख्यामा बीमा हुने गरेको बताए । ‘ई रिक्सा बढीजसो तराईका जिल्लामा चल्ने भएकाले त्यतैको शाखामा बीमा हुने गरेको छ, त्यो पनि न्यून संख्यामा,’ उनले भने । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशकुमार रोका ई-रिक्सा चालकलाई अनिवार्य रूपमा लाइसेन्सको व्यवस्था गरिएमा माइक्रो बीमाको दायरामा ल्याउन सजिलो हुने बताउँछन् । ‘बीमा अनिवार्य नगरिएको र अधिकांशको लाइसेन्स नभएका कारण एउटा व्यक्तिको लाइसेन्स राखेर शोरुमहरूले धेरै जनालाई रिक्सा बिक्री गर्ने गरेको समस्या देखिएको छ । नेपाल सरकार र यातायात व्यवस्था कार्यालयले यसलाई नियमन नगरेसम्म यो क्षेत्र व्यवस्थित नहुने देखिन्छ,’ उनले भने । रोकाका अनुसार रिक्साको मूल्य करिब ५ देखि ६ लाख रुपैयाँसम्म हुने भएकाले यसलाई व्यवस्थित गर्न सके माइक्रो बीमाको रेन्जमा समेट्न सकिने र व्यवसाय पनि विस्तार हुन सहयोग पुग्ने छ ।
राष्ट्र बैंकलाई सुझाव: लहडमा होइन, अध्ययन गरेर मात्रै नीतिनियम लागू गर्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिनियम जारी गर्दा लहडमा भन्दा पनि विस्तृत अध्ययन गरेर मात्रै लागू गर्न सुझाव दिएको छ । डा. रेवतबहादुर कार्की नेतृत्वको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नीतिनियम जारी गर्दा कसैको लहडमा नभई विस्तृत अध्ययन गरी मात्र जारी गर्न उपयुक्त हुने सुझाव दिएको हो । साथै बजेट जस्तै मौद्रिक नीति जारी गर्ने मिति तोक्नुपर्ने, समितिमा नियुक्ति गर्दा राजनीतिक दलसँग कुनै हिसाबले आबद्ध व्यक्ति नियुक्ति नगर्ने भनिएको छ । तर, आन्तरिक समिति तथा उपसमितिमा बाहिरको एक जना विज्ञ राख्दा फरक दृष्टिकोण आउन सक्ने भएकाले निर्णय थप परिपक्व हुने हुँदा सोतर्फ ध्यान दिन सुझाव दिएको छ । प्रतिवेदनअनुसार नेपालको बैंकिङ क्षेत्र तुलनात्मक रूपमा पारदर्शी र व्यवस्थित हुनुमा राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका रहेको छ । साथै प्रतिवेदनमा डिजिटल भुक्तानी प्रणालीको विकासमा राष्ट्र बैंकको तत्कालीन नेतृत्वको योगदान प्रशंसा पनि गरिएको छ । तर पछिल्ला वर्षहरूमा राष्ट्र बैंक नियमनभन्दा बढी नियन्त्रणमुखी बन्दै गएको पनि उल्लेख छ । जोखिम व्यवस्थापनमा सक्षम र कमजोर संस्थालाई समान किसिमका निर्देशन लागू गरिनु, कर्जाको ब्याजदर, शुल्क, चालुपुँजी कर्जा, घरकर्जा तथा कर्मचारी पारिश्रमिक जस्ता विषयमा सूक्ष्म व्यवस्थापन देखिएको छ । हाल बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दो क्रममा छ । धितोमा लिइएका घरजग्गा बिक्री हुन नसक्दा गैर–बैंकिङ सम्पत्ति बढेको र केही संस्थाको पुँजी कोषमा दबाब परेको छ । ऊर्जा बाहेकका क्षेत्रमा प्रवाहित कर्जाले प्रणालीगत जोखिम थपेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थागत सुशासनमा सञ्चालक समितिको भूमिका निर्णायक हुने उल्लेख गर्दै सक्षम र इमानदार सञ्चालक समिति भएका बैंक स्थिर रहेको र कमजोर सुशासन भएका संस्थामा समस्या देखिएको उदाहरण प्रतिवेदनमा प्रस्तुत गरिएको छ । नियामकले नियन्त्रणभन्दा सहजीकरण र सहयोगी भूमिका निर्वाह गर्नुपर्ने तथा नीति निर्माण र निर्णय प्रक्रियामा सरोकारवालाको वास्तविक सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ । बैंकिङ क्षेत्रको सुधारका लागि गठित कार्यदलले उदार, विवेकशील र सुधारमुखी नीति अवलम्बन गर्न सुझाव दिएको छ । ‘पुँजीकोष, कर्जा वर्गीकरण र नोक्सानी व्यवस्था, जोखिम व्यवस्थापन, वित्तीय विवरणको पारदर्शिता र विश्वसनीयता, ग्राहकमैत्री सेवाका आधारभूत मार्गदर्शन, संस्थागत सुशासनका आधारभूत धारणाजस्ता महत्त्वपूर्ण विषयहरू मात्र हैन, सञ्चालकले कसरी बोल्नुपर्छ, ट्रस्ट रिसिप्ट कर्जा कति दिनसम्मको दिन पाइन्छ, चालुपुँजी कर्जा कसरी दिने, घरकर्जा कसरी दिने, सेयर धितो कर्जा कसरी दिने, ऋण भुक्तानी अनुपात कति हुने, एउटा तरलता जोखिम तर थरिथरि नियम, तरलतामा रिफ्रेन्स रेसियोको रूपमा मात्र हुनुपर्ने क्रेडिट डिपोजिट रेसियोको रूपमा मात्रै हुनुर्ने हालसम्म रेगुलेटरी रेसियोको रूपमा कायमै छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘जबकि २०७५ साल श्रावणमा लागु हुनुपर्ने बासेल तीनको तरलतासम्बन्धी नियमचाहिँ हालसम्म लागु भएको छैन । कुन सेवाको शुल्क कति लिन पाउने, कर्मचारीको तालिममा कति खर्च गर्ने, ब्याजदर कहिले छाप्ने/केमा छाप्ने, लेटर हेड कसले प्रयोग गर्ने, साइन बोर्ड कस्तो बनाउने भन्नेसम्मको विविध निर्देशन जारी गरेको पाइन्छ । स्थिर ब्याजदरमा कर्जा देऊ तर २० वर्षे कर्जामा पनि अग्रिम भुक्तानी शुल्क ०.७५ प्रतिशतभन्दा नलेऊ भन्ने विरोधाभाषपूर्ण निर्देशन हाल पनि लागु छ ।’ वित्तीय क्षेत्रमा सूक्ष्म व्यवस्थापन प्रयोग भइरहेको र नियमन विभागबाट मात्र नभई अन्य विभागबाट पनि मोटामोटा निर्देशन तथा परिपत्रहरू जारी भएका छन् । अधिक निर्देशनले विदेशी लगानी निरुत्साहित गर्ने तथ्य विभिन्न अध्ययनले देखाएको प्रतिवेदनमा उल्लेख छ । ग्राहक सेवा, राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको समग्र जोखिम व्यवस्थापनको मूल्याङ्कन, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गरेको कारबाही, वित्तीय स्वास्थ्य (पुँजी पर्याप्तता, सम्पत्तिको गुणस्तर, आम्दानी तथा तरलता)का आधारमा प्रथम, दोस्रो र तेस्रो वर्गमा विभाजन गर्न कार्यदलले केन्द्रीय बैंकलाई सुझाव दिएको छ । यस्तै, राष्ट्र बैंकले जारी गरी हाल प्रचलनमा रहेका सम्पूर्ण निर्देशनहरू, परिपत्रहरू, मार्गदर्शनहरू, निर्देशिकाहरू, विनियमावलीहरू आदि पुनर्लेखन गर्नुपर्ने पनि उल्लेख छ । यस्तै, बैंकर-ठूला व्यवसायी स्वार्थ द्वन्द्वको न्यूनीकरण गर्न ५० प्रतिशत स्वतन्त्र सञ्चालक, कार्यकारी सञ्चालक १ जना र सेयरधनी सञ्चालक एक तिहाई कायम हुने गरी बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति गठन गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, क, ख, ग र घ भन्दा क राम्रो र घ नराम्रो भन्ने सन्देश जाने हुनाले वाणिज्य बैंक, विकास बैंक, वित्त बैंक र लघुवित्त बैंक भनेमा उपयुक्त हुने भएकाले ऐनमा आवश्यक संशोधनको लागि पहल गर्ने, यी संस्थाहरूलाई विशिष्टीकृत कार्य गर्नको लागि प्रोत्साहन गर्ने, अध्ययन गरेर कृषि विकास बैंकलाई कृषि र एचआईडीसीएललाई निजी क्षेत्रको समेत स्वामित्वमा ऊर्जा पूर्वाधार बैंकको रूपमा विकास गर्न सुझाव दिएको छ ।
२०२५ मा बिटकोइनलाई ठूलो झट्का, २०२६ मा पनि गिरावटको जोखिम ?
काठमाडौं । बिटकोइन क्रिप्टोकरेन्सीका लागि सन् २०२५ मिश्रित वर्ष रह्यो । यस वर्ष विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटकोइनले ‘अल–टाइम हाई’ को रेकर्ड बनायो । तर यही वर्ष यसमा ठूलो गिरावट पनि देखियो । जानकारहरूका अनुसार सन् २०२५ मा बिटकोइनको इतिहासमै सबैभन्दा ठूलो ‘ह्वेल’ (ठूला लगानीकर्ता) बिक्री देखिएको छ । ठूला लगानीकर्ताहरूले एकै पटक ठूलो परिमाणमा बिटकोइन बिक्री गरेपछि बजारमा तीव्र दबाब सिर्जना भएको थियो, जसका कारण मूल्यमा उतारचढाव आएको विश्लेषकहरूको भनाइ छ । अनचेन विश्लेषक अली चार्ट्सले बताएअनुसार तथ्यांकले देखाउँछ कि पछिल्लो एक वर्षदेखि ठूला बिटकोइन लगानीकर्ताहरू लगातार बिक्री गर्दै आएका छन् । अली चार्ट्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै पछिल्ला १२ महिनामा ह्वेल अर्थात् ठूला लगानीकर्ताले १ लाख ६१ हजार २९४ बिटकोइन बेचेको जानकारी दिए । ती बिटकोइनको मूल्य करिब १५ अर्ब अमेरिकी डलर बराबर थियो । उनका अनुसार यस्तो अवस्था प्रायः बजारमा ठूलो गिरावट आउनु अघि वा गिरावटको क्रममा देखिन्छ, न कि मूल्य पहिले नै घटिसकेपछि । यस वर्ष बिटकोइनले धेरैपटक नयाँ उचाइ छोए पनि यसको चाल अस्थिर रह्यो । ठूला लगानीकर्ताको भारी बिक्रीका कारण पटक–पटक मूल्यमा अचानक ठूलो गिरावट देखियो । हाल बिटकोइन ८७ हजार अमेरिकी डलरभन्दा तल कारोबार भइरहेको छ । तर बजारमा फेरि बिक्रीको दबाब बढेसँगै लगानीकर्ताको भरोसा कमजोर बनेको छ । सबै ठूला लगानीकर्ताले भने बिटकोइन बिक्री गरिरहेका छैनन् । मध्यम आकारका लगानीकर्ता भने वर्षभरि नै शुद्ध खरिदकर्ता बनेका छन् । यस्ता मध्यम आकारका लगानीकर्तालाई ‘शार्क’ भनिन्छ । शार्क भनेका १०० देखि १ हजार बिटकोइन राख्ने लगानीकर्ता हुन् । शार्कहरूको खरिदले ह्वेलहरूको बिक्री दबाबलाई केही हदसम्म कम गर्न मद्दत गरेको छ । यसका कारण बजारको प्रभाव बिस्तारै पुराना ‘ह्वेल’बाट हटेर व्यापक सहभागीहरूतर्फ सर्दै गएको जनाइएको छ । सन् २०२५ मा ह्वेल अर्थात् ठूला लगानीकर्ताले जसरी बिटकोइन बिक्री गरेका छन्, त्यसअनुसार सन् २०२६ का संकेत सकारात्मक देखिँदैनन् । २०२५ मा भएको बिक्रीले बिटकोइनको तीव्र प्रवृत्तिलाई कमजोर बनाएको छ । यदि यही क्रम २०२६ सम्म पनि जारी रह्यो भने विश्लेषकहरूका अनुसार बिटकोइनका लागि दिगो पुनरुत्थान हासिल गर्न कठिन हुन सक्छ । अर्थात् बिटकोइन क्रिप्टोकरेन्सीमा गिरावटको अवस्था कायम रहन सक्छ ।