चार मन्त्रीको पदभार ग्रहण, यस्ता छन् पहिलो निर्णय
काठमाडौं । सोमबार चारवटा मन्त्रीले शपथपछि पदभार ग्रहण गरेका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल र मदन परियारले सोमबार मन्त्रीको पदभार ग्रहण गरेका हुन् । सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् । खरेलले सूचना तथा सञ्चार मन्त्रालय र परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । कसले के गरे पहिलो निर्णय ? उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् । त्यससँगै उनले सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् भने अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्नतर्फ पहल गर्ने निर्णय गरेका छन् । अनिलकुमार सिन्हा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र काठमाडौं उपत्यकासँगै देशका सातवटै प्रदेशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेल ६ महिनामा कुनै कायापलट नहुने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले ६ महिनामा धेरैले राखेजस्तो अपेक्षा काम नहुने धारणा राखेका हुन् । ‘मसँग धेरैले धेरै अपेक्षा राखेका छन्, ६ महिनामा केही पनि हुन सक्दैन । सोचेजस्तो कायापलट हुँदैन,’ उनले भने। उनले फागुनसम्म तीन काम गर्न सकिने धारणा राखे । ‘फागुन २१ मा चुनाव भ्रष्टाचार नियन्त्रण गरे सुशासन कायम गर्ने र जनतालाई त्यसको महसुस गराउने । भ्रष्टाचार नियन्त्रण पनि ५ महिनामा हुँदैन । यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा निर्मम छ भन्ने महसुस गराउँछ । हामी खरानी टकटक्याउँदै जीवन र धरोहरको पुन:निर्माण गर्नेछौं,’ उनले भने । जगदिश खरेल यस्तै, उनले मन्त्रीको नामबाट कुनै पनि हस्तक्षेप नहुने पनि बताएका छन् । उनले देशको प्रशासन संयन्त्रलाई विश्वास गर्ने बताउँदै देश र जनतालाई काम गरेर अगाडि बढ्न निर्देशन दिए । यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताए । उनले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ । डा. मदन परियार मन्त्री परियारले भने, ‘सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ । त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ । अर्को कुरा शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने हाम्रो कार्यभार हो । किसानका समस्याहरू समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ ।’ यस्तै, नवनियुक्त शिक्षामन्त्री डा. महावीर पुनले पनि पदभार ग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् । डा. महावीर पुन मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा उनले हस्ताक्षर गरेका छन् । सुरुमा उनले हस्ताक्षर गर्न आनाकानी गरे पनि पछि भने तयार भएका थिए ।
बल्ल झुल्किए सभामुख
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार विस्तार हुने क्रम जारी छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि संसद विघटन हुँदै सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो । प्रधानमन्त्री कार्कीले भदौ २७ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरिन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहणमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरूलगायत व्यक्तित्वहरू सहभागी हुने संस्कार र संस्कृति भएपनि भदौ २७ गते राति साढे ९ बजे भएको कार्कीको शपथ ग्रहणमा भने बेग्लै चित्र देखियो । कार्कीको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बाहेक अन्यको सहभागिता देखिएन । कार्कीले आफू प्रधानमन्त्री बनेपछि भदौ ३० गते मन्त्रिमण्डल विस्तार गरिन् । भदौ ३० गते अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्यालले शपथ ग्रहण गरे । तीन मन्त्रीहरूको शपथ ग्रहणमा प्रधानमन्त्रीको सपथ ग्रहणमा उपस्थित भएका व्यक्तिव्यहरूबाहेक अनुपस्थित रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रह्यो । सो शपथ ग्रहण कार्यक्रममा सहभागी हुनै पर्ने सभामुख देवराज घिमिरे कार्कीको शपथ ग्रहणमा झैं अनुपस्थित नै रहे । सोमबार (असोज ६) गते थप चार मन्त्रीले सपथ लिएका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, जलवायुविज्ञ मदन परियारले सोमबार मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् । यस्तै, परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले सूचना तथा सञ्चार मन्त्रालयको सपथ लिएका छन् । आजका मन्त्रीहरूको शपथमा भने सभामुख घिमिरे सहभागी बनेका छन् । यसअघिका दुई शपथ ग्रहण कार्यक्रममा उनी अनुपस्थित रहेका थिए । सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपछि यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायधीश राउत, सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभा अध्यक्ष दाहाल उपस्थित भएका थिए । प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्रीहरूको समेत सहभागी हुनुपर्ने संस्कार बस्दै आएको छ । तर, अन्तरिम सरकारको प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणमा भने डा. भट्टराई बाहेक कुनै पनि पूर्व प्रधानमन्त्रीहरूको सहभागिता देखिएको छैन । शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्रीको सहभागिता अनिवार्यजस्तै रहन्छ । तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बहिस्कार जस्तै गरेका छन् ।
१७ वर्षको यात्रापछि वारेन बफेटले चीनको बीवाईडी छाडे
काठमाडौं । वारेन बफेटको बर्कशायर हाथवे चीनको बीवाईडीबाट पूर्ण रूपमा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वारेन बफेटको बर्कशायर हाथवेले चिनियाँ अटोमेकर बीवाईडीबाट पूर्ण रूपमा लगानी फिर्ता लिएको फाइलिङमा देखाइएको छ । यससँगै १७ वर्षको लगानी अन्त्य भएको छ, जसको मूल्य यस अवधिमा २० गुणाभन्दा बढी बढेको थियो । बर्कशायरको ऊर्जा सहायक कम्पनीको फाइलिङअनुसार २०२५ मार्च अन्त्यसम्म बीवाईडीमा गरिएको लगानीको मूल्य शून्य देखाइएको छ, जुन २०२४ अन्त्यमा ४१५ मिलियन डलर थियो । बफेटको कम्पनीले सन् २००८ मा सेन्जेनमा आधारित बीवाईडीमा करिब २२५ मिलियन सेयर खरिद गर्दै २३० मिलियन डलर लगानी गरेको थियो, जसले त्यतिबेला कम्पनीमा करिब १० प्रतिशत स्वामित्व दिएको थियो । २०२२ मा बर्कशायरले ती सेयर बेच्न सुरु गर्यो, जब बीवाईडीको सेयर मूल्य २० गुणाभन्दा बढी बढिसकेको थियो। सोमबार टिप्पणीका लागि गरिएको अनुरोधमा बर्कशायरले तत्काल प्रतिक्रिया दिएको छैन । सीएनबीसीले आइतबार बर्कशायरले आफ्नो हिस्सेदारी बिक्री पूरा गरेको समाचार पहिलो पटक दिएको थियो । बीवाईडीका ब्रान्डिङ र सार्वजनिक सम्बन्धका महाप्रबन्धक ली युनफेईले आफ्नो आधिकारिक वेइबो खातामा पोष्ट गर्दै बर्कशायरलाई ‘गत १७ वर्षमा गरेको लगानी, सहयोग र साथका लागि’ धन्यवाद दिएका छन् । उनीहरूले यस हिस्सेदारी बिक्रीलाई ‘सामान्य’ सेयर लगानीको कारोबारको रूपमा वर्णन गरेका छन् । थप टिप्पणीका लागि गरिएको अनुरोधमा बीवाईडीले तत्काल प्रतिक्रिया दिएको छैन । टेस्लाको सबैभन्दा ठूलो प्रतिस्पर्धी बीवाईडीको साढे तीन वर्षपछि पहिलो पटक त्रैमासिक नाफा घटेको छ, किनकि मूल्ययुद्धविरुद्धको सरकारी अभियानबीच यसको विस्तारमा अवरोध आएको छ । बीवाईडीको घरेलु बिक्री, जसले यसको विश्वव्यापी आपूर्तिको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ, अगस्त महिनामा लगातार चौथो पटक घटेको छ । रोयटर्सका अनुसार कम्पनीले वार्षिक बिक्री लक्ष्य १६ प्रतिशतसम्म घटाएर ४.६ मिलियन गाडी बनाएको छ । विशेषज्ञहरूका अनुसार बर्कशायरले लामो समयपछि नाफा काट्ने रणनीति अपनाएको र चीनको बजारमा बढ्दो प्रतिस्पर्धा तथा राजनीतिक जोखिमलाई ध्यानमा राखी सेयर बिक्री गरेको अनुमान गरिएको छ । चीन–अमेरिका सम्बन्धमा चिसोपन बढ्दै जाँदा विदेशी लगानीकर्ताहरू सतर्क देखिएका छन् । बीवाईडी हाल विश्वकै ठूलो विद्युतीय गाडी उत्पादक कम्पनीमध्ये एक बनेको छ र टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धामा छ । तर हालको मूल्यांकन उच्च भइसकेको र भविष्यमा मुनाफा घट्नसक्ने सम्भावनाले बर्कशायरले लगानी फिर्ता गरेको हुनसक्ने विश्लेषण गरिएको छ । बर्कशायर हाथवे विश्वकै सबैभन्दा सफल लगानी कम्पनीमध्ये एक मानिन्छ। प्रारम्भमा कपडा उद्योगका रूपमा स्थापना भएको यो कम्पनीलाई बफेटले सन् १९६५ मा नियन्त्रण लिएर लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए । हाल बर्कशायर हाथवेले बीमा, रेल्वे, ऊर्जा र उपभोक्ता उत्पादन क्षेत्रमा ठूलो लगानी गरेको छ । यसका पूर्ण स्वामित्वका कम्पनीहरूमा गाइको, बीएनएसएफ रेल्वे , डेरी क्विन र ड्युरासेल जस्ता प्रसिद्ध ब्रान्डहरू छन् । साथै एप्पल, कोका–कोला, अमेरिकन एक्सप्रेस र बैंक अफ अमेरिका जस्ता बहुराष्ट्रिय कम्पनीमा यसको ठूला हिस्सेदारी रहेको छ । संसारकै सबैभन्दा महँगो सेयरको रूपमा चिनिने बर्कशायर हाथवेका क्लास–ए सेयरको मूल्य लाखौं अमेरिकी डलरसम्म पुग्छ । दीर्घकालीन लगानी रणनीतिका लागि चिनिने वारेन बफेटलाई ‘ओराकल अफ ओमाहा’ नामले समेत पुकारिन्छ । हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !