औषधिको नाममा लागुऔषध बिक्री गर्ने फार्मेसी र क्लिनिकमा शिलबन्दी, ८०% बढी मूल्यमा बिक्री
काठमाडौँ, २३ असार । काठमाडौंको धापासीमा रहेको ‘सुभजीत फार्मेसीले’ लागुऔषधका रुपमा प्रयोग गरिने औषधिलाई डाक्टरको अनुमति बिना बिक्री गरेको पाईएको छ । साथै सो फार्मेसीको नाम एउटा रहेको तर औषधिको बिलमा अर्को नाम राखेर विल काट्ने गरेको पाईएको छ । ग्रान्डी अस्पतालको नजिकै रहेको उक्त फार्मेसीलाई औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले विहीबार संयुक्त रुपमा गरेको स्थलगत अनुगमनका क्रममा शिलबन्दी गरेको हो । दस वर्षदेखि नियम विपरित सञ्चालन गर्दै आएको माछापोखरीस्थित बालाजु फार्मेसीको अनुगमन गरिदैँ । तस्बिरःशर्मिला पाठक सोही टोलीले बालाजु र धापासीमा नियम विपरित सञ्चालनमा रहेका औषधि पसलहरुमा शिलबन्दी गरेको हो । माछापोखरीस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ले विगत दश वर्षदेखि नवीकरण नगरी सञ्चालित हुँदै आएको, ८० प्रतिशत बढी पैसा लिई उपभोक्तालाई औषधि बिक्री वितरण गरेको र अनधिकृत ढङ्गले दशभन्दा बढी चिकित्सकको नाम टाँस गरी सञ्चालन हुँदै आएको पाइएकाले अनुगमन टोलीले उक्त क्लिनिकालाई शिलबन्दी गरेको हो । यस्तै क्लिनिकले औषधिमा चर्को असुल गर्ने गरेको, फिजियो थेरापी, एक्सेरे, भिडियो एक्सेरे जस्ता जाँचमा मनपरी शुल्क असुल्ने गरेको र विभिन्न बहानामा अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको अुनगमनबाट खुलासा भएको छ । क्लिनिक सञ्चालिका सरस्वती बुढाथोकीले केही कमजोरी भएको स्वीकार गरेपनि उपचारमा भने कुनै कमजोरी नगरेको दाबी गर्दै उहाँले एक दर्जन चिकित्सकको नाम राखेर गरिएको प्रचारबारे भने उनले पहिले उनीहरुसँग सम्झौता गरेको तर अहिले भने सम्झौता सकिएपनि बोर्डमा भएको नाम हटाउन नभ्याइएको बताए । अनुमगनकै क्रममा धापासीमा रहेको ‘आराधना हेल्थ केयर सेन्टर प्रालि’ मा पनि शिलबन्दी गरेको छ । आराधना हेल्थ केयरले औषधि व्यवस्था विभागमा स्वीकृत गरेर सञ्चालन गर्नुपर्नेमा तत्कालीन गोङ्गबुमा गाविसबाट स्वीकृत गरी सञ्चालन गरेको र औषधिको बढी मूल्य लिएको पाइएकाले शिलबन्दी गरेको हो । फार्मेसी सञ्चालनका लागि औषधि व्यवस्था विभाग र क्लिनिकको लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट स्वीकृति लिनुपर्ने कानूनी प्रवधान छ । अनुमगमन टोलीले क्लिनिक मापदण्डविपरित सञ्चालन भएको ठहरसहित शिलबन्दी गर्दै तीन दिनभित्र आवश्यक कागजपत्रसहित विभागमा उपस्थिति हुनको लागि निर्देशन दिएको छ । कागजातको आधारमा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उपभोक्ता हित संरक्षण विभागका अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी गराए । नियमित अनुगमनका क्रममा नियम विपरित सञ्चालनमा रहेका फार्मेसी र क्लिनिकमा शिलबन्दी गरेपछि स्थानीयवासीले सरकार रहेको अनुभूति भएको बताएका छन् । अनुगमनका क्रममा भेला भएका स्थानीयवासी विनोद खड्काले लामो समयदेखि सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका क्लिनिक बन्द गराएकोमा खुसी लागेको बताए । उनले गलत काम गर्नेमाथि कारबाही भएकाले बल्ल आफूलाई मुलुकमा सरकार रहेको अनुभूति भएको उल्लेख गरे । rss
सानो सानो झुप्प्रो–मान्छेको थुप्प्रो, काउलेपानी होमस्टेको कमाई वार्षिक एक करोड नाघ्यो
लम्जुङ, २३ असार । ‘सानो सानो झुप्प्रो, मान्छेको थुप्प्रो । काउलेपानीको झुपडी बस्तीमा धेरै जनालाई स्वागत गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।’ असार १५ गते काउलेपानी होमस्टेका संयोजक देवबहादुर गुरुङले त्यसो भन्दै गर्दा स्थानीय महिलाहरु राजधानीबाट काउनेपानी पुगेका अथितिहरुलाई परम्परागत शैलीमा कलसको जल छर्कदै गलामा रक्षा धागो लगाईदिन व्यस्त थिए । संयोजक गुरुङले जलले अभिसेक गर्नु र रक्षा धागो लगाउनुको परम्परा र अर्थ भट्याउँदै गए । महिलाहरुले गुरुङ संस्कार अनुसार स्थानीय मदिरा (तीन पाने रक्सी) र कोदोको सेल खुवाउँदै गए । ‘खाने बेलामा गनगन गर्ने मान्छेलाई हाम्रो समाजमा राम्रो मानिदैन । तैपनि म तपाईहरुलाई काउलेपानीको बारेमा केही जानकारी दिन अनुमति चाहान्छु’ शुद्ध नेपाली उच्चरण गर्दै मिठासपूर्ण शैलीमा इतिहास, भूगोल, समाज, संस्कार सबैको बारेमा सरर बताउन थाले, पत्रकारले डायरीमा टिप्नै पनि नभ्याउने गरी । ‘‘रामकृष्ण ढकालले गाएको गीतमा ‘विहान उठ्ने वित्तीकै, हिमाल देख्न पाइयोस्’ भनेका छन् । काउलेपानीबाट हिमाल हेर्न उठ्नै पर्दैन । अछ्यानमा सुती सुती देख्न पाईन्छ । काउनेपानीका हरेक घरको ओछ्यानबाट नजिकै हिमाल देख्न सकिन्छ । हरेक घरको आँगन र पीडिबाट सूर्योदय देख्न सकिन्छ । सूर्योदय हेर्न भनेर स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै अन्त जानुपर्दैन ।’’ गुरुङले भनेजस्तै प्रकृति प्रेमिका लागि काउलेपानी साँच्चिकै मनमोहक छ । लम्जुङ दरबार उनले इतिहास कोट्याए । शाह बंशीय राजाहरुको इतिहास बोकेको विक्रम सम्वत १५५० मा बनेको राजदरबार अहिले पनि काउलेपानीमा सुरक्षीत छ । त्यतिबेला योशोवर्मा शाहले त्यहाँबाट राजकाज चलाउँथे । गुरुङका अनुसार यशोवर्मा शाहका कान्छा छोरा द्रव्य शाहले नै लिलिगकोर्टमा दौड जितेर गोर्खाका राज्य समालेका थिए । उनैको सन्तान हुन्–तत्कालिन राजा पृथ्वीनारायाण शाहदेखि ज्ञानेन्द्र शाहसम्म । उनी बर्णन गर्दै गए । ‘काउनेपानीमा दुर्लभ जनावर मध्ये एक चरिबाघ पाइन्छ । देख्दा बाघ नै हो । तर चरा झै उड्छ । लामो जम्प हान्छ । रुखमा भने बस्दैन ।’ यस क्षेत्रमा पाईने काँडेम्याकुर, चरा चुरुङ्गी, गुराँसको जङ्गल, काफल, एैसेलु, चिराईतो, तरुल लगायत पर्यटकका लागि आकर्षक फलारको बारेमा उनले लामो बर्णन गरे । काउलेपानीमा रहेका देबीदेताका मन्दिर र यहाँको धार्मिक महत्वको बारेमा पनि उल्लेख गरे । काउलेपानीमा बाह्रै महिना पर्यटकको लागि आकर्षक प्याकेज रहेको बताए । देव गुरुङ ‘टान’ लेखेको टिसर्ट, सामान्य क्याप, ट्राउजर, चप्पल लगाएका, ५० वर्ष नाघेका बुढा किसान जस्तो देखिने गुरुङले सबैलाई लठ्नै पार्ने गरी करिव २० मिटेनमा काउलेपानी र लम्जुङको बारेमा वर्णन गरे । लेखकको मनमा लाग्यो–दुर्गम गाउँमा पनि यस्तो क्षमतावान व्यक्ति रहेछन् । संयोग उनकै घरमा रात बस्ने मौका मिल्यो र उनको बारेमा थप जानकारी लिने मौका मिल्यो । उनले इतिहासमा डिग्री हासिल गरेका रहेछन्, काउलेपानी र लम्जुङलाई केन्द्रमा राखेर थेसिस लेखेका रहेछन्, दुई दशकदेखि स्कूलमा सामाजिक विषय पढाउने शिक्षक रहेछन् । गाउँमा उनको बढो इज्जत रहेछ । लाहुरे जीवनबाट कायल बुबाको सपना पूरा गर्दै उनले गाउँमा पढे, गाउँकै सेवामा जीवन विताउँदै आएका रहेछन् । होमस्टे नेपाल पर्यटन वर्ष २०११ देखि यस क्षेत्रमा होमस्टे सञ्चालन भएको रहेछ । शुरुमा ७ घरबाट शुरु भएको यो होमस्टेमा हाल १४ घर आवद्ध रहेछन् । ३५ कोठा र ८२ बेड रहेछ । विकट गाउँमा एकै पटक १०० जना पुग्दा पनि आनन्दले खाने बस्ने सुविधा रहेछ । त्यसैले त होला नेपाल पर्यटन बोर्डले नेपालमा घुम्नै पर्ने १० गाउँमा काउलेपानीलाई पनि राखेको रहेछ । वाहिरबाट आउने पर्यटकहरु यिनै १४ घरमा खान्छन्, बस्छन् । ती १४ घरमा आउने पाउनालाई खानेकुरा थप ११ घरपरिवारले उत्पादन गरि बेच्छन् । काउलेपानी होमस्टेका अध्यक्ष देव गुरुङका अनुसार प्रत्यक्ष १४ परिवार र अप्रध्यक्ष ११ गरी २५ परिवारले यस होमस्टे सेवाबाट लाभ लिईरहेका छन् । काउलेपानीमा गुरुङ, नेवार र भुजेल बस्ती रहेको छ । काउलेपानी प्याकेज काउलेपानी नास्ता काउलेपानी होमस्टेले दुई प्रकारको सेवा दिने गर्छ । १० जनाभन्दा बढी समूह आउँदा प्रति व्यक्ति ९९० रुपैयाँ लिन्छन् । त्यसमा स्वागत, सम्मान, साँझको खाजा, मनोरञ्जन कार्यक्रम, ननभेज खाना, विहान चिया, नास्ता र विधाई कार्यक्रम हुन्छ । पारिवारिक वा एकल व्यक्तिलाई ८५० रुपैयाँको सेवा प्याकेज बनाईएको छ । त्यसमा शुरुको स्वागत र मनोरञ्जन कार्यक्रम राखिएको छैन । खानामा कोदोको सेल र तीन पाने रक्सी, गानामा गुरुङ भाका काउलेपानीमा लोकप्रिय बन्दै गएको स्थानीयबासी बताउँछन् । पर्यटकको ओहिरो गुरुङका अनुसार काउलेपानी होमस्टे शुरु भएको पहिलो वर्ष सन् २०११ मा ३ हजार ४१५ जना स्वदेशी र ६७ जना विदेशी पर्यटक पुगेका थिए । यो संख्या हरेक वर्ष बढ्दै गएको छ र सन् २०१५ मा स्वदेशी पर्यटक १२ हजार ९६६ जना र विदेशी २०३ जना पुगेका छन् । काउलेपानी होमस्टेले वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्न थालेको गुरुङले बताए । काउलेपानी पुग्ने पर्यटकमा ९८ प्रतिशत स्वदेशी छन् भने २ प्रतिशत विदेशी छन् । विदेशी पर्यटक कम्तिमा ७ दिन र बढीमा १०० दिनसम्म बसेको अध्यक्ष गुरुङले बताए । स्वदेशी पर्यटकमा काठमाडौं, लुम्बिनी र मकवानपुरबाट बढी जाने गरेका छन् । साङ्केतिक भाषाको प्रयोग काउलेपानीका स्थानीयबासीलाई अंग्रेजी भाषाको ज्ञान शुन्य जस्तै छ । भाषा सिकाई कक्षा तथा तालिम भएको पनि देखिएन । विदेशीसँग कसरी कुराकानी हुन्छ त ? गुरुङले रमाईलो पाराले जवाफ दिए–‘‘साङ्केतिक भाषा सबैभन्दा सजिलो । ‘आईज आईज, मेरो घरमा बस्ने ठाउँ छ, सुत्न सकिन्छ’ भन्न अंग्रेजी जान्नु पर्दैन । साङ्केति भाषा प्रयाप्त छ ।’’ उनी थप्छन्:–स्कूल पढेका बाबुनानीले पर्यटकसँग कुरा गर्न सहयोग गरिरहेका हुन्छन् । विकट क्षेत्र भएपनि राणा प्रधानमन्त्री पद्मसमशेरको पालामा विक्रम संवत २००५ मा खुलेको स्कूलले शिक्षा क्षेत्रमा बुझेका र पढ्न चाहानेका लागि सहयोग मिलेको देखिन्छ । सानो लक्ष्य, ठूलो उपलब्धि प्रतिपरिवार २ जना पर्यटक भित्र्याउन सकेमा पनि एक बोरा चामल किन्न पुग्ने पैसा जुट्ने र एउटा परिवारलाई एक महिना खान पुग्ने उदेश्य लिएर होमस्टे शुरु गरिएको अध्यक्ष गुरुङ बताउँछन् । शान्ति श्रेष्ठ ‘मासिक १६/१७ सय रुपैयाँ आम्दानी गर्ने उदेश्यले शुरु गरेका हौ’ गुरुङ भन्छन्–’अहिले मासिक ४० हजार रुपैयाँ आम्दानी हुन्छ । हामीले सोचेको भन्दा राम्रो कमाई भयो ।’ होमस्टेमा आवद्ध सबै जना महिनाको ४०/५० हजार रुपैयाँ कमाई हुने बताउँछन् । पत्याउनै गाह्रो । काउलेपानी पुगेका पत्रकारले आम्दानीमा शंका गरे र प्रश्नहरु तेस्र्राए । त्यतिबेला पत्याउनै पर्यो जब सिता गुरुङको लबाई, बसाई देखियो । झण्डै एक तोला सुनको सिक्री गलामा लगाएकी शान्ति श्रेष्ठले हालसालै बनाएको चार कोठा घर देखाउँदै भनिन्–होमस्टे सञ्चालन भएपछि कमाएको पैसाले यो घर बनाएँ । पुरानो घरमा हामी बस्छौ, पाउनालाई नयाँ घरमा राख्छौं ।’ स्थानीय पत्रकार किसन संगीत भन्छन्–काउनेपानीको होमस्टे साँच्चिकै सफल भएको छ र यहाँका मानिसको जीवनस्तर उकास्एिको छ । समाज विकास जुट्दै काउलेपानी बासीले प्रति पर्यटक ९०० रुपैयाँ लिएर ३०० रुपैयाँ सामुहिक कोषमा जम्मा गर्छन् । सोही पैसाले गाउँमा खाने पानीको व्यवस्था गरिएको छ । भ्यूटावर निर्माण गरिएको छ । बाटो बनाउने काम भईराखेको छ । पैदलमार्ग बनाउन नेपाल पर्यटन बोर्ड कास्की शाखाले पनि सहयोग गरिरहेको छ । पैदल बाटो बनाउँदै ‘सरकारले बनाएको धारामा बर्सौंसम्म पानी आएन, त्यसैले हामीले आफैले लगानी गरी पाईप विच्छ्याएर घरघरमा पानीको व्यवस्था गरेका हौं’ उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार श्रेष्ठले भन्छन्–‘बेसीसहरबाट काउलेपानी पुग्ने ८ किलोमिटर सडक त्यस क्षेत्रको लागि भाग्य रेखा हो । तर उक्त सडकलाई स्थरीय बनाउने प्रयास सफल भएको छैन ।’ मुख्य चुनौति स्थानीय पत्रकार परमेश्वर अधिकारीका अनुसार गाउँमा युवा पुस्ता छैन । त्यसैले होमस्टे कार्यक्रम प्रवद्र्धनमा युवाको उपस्थिति शुन्य नै छ । नेपालका अन्य गाउँमा जस्तै यो गाउँको विकासमा युवा पुस्ताको शुन्य उपस्थिति यहाँको सबैभन्दा ठूलो चूनौति हो । काउलेपानीको होमस्टेलाई दिगो बनाउन, व्यवसायिक बनाउन गर्न सकिने साना साना काम पनि हुन सकेको छैन । ब्रोसर, भिजिटिङ कार्ड, फेसबुक पेज, वेवसाईट जस्ता आधारभूत प्रचार प्रसारका अभ्यास पनि भएका छैनन् । सहयोगि संघ लम्जुङ उद्योग वाणिज्य संघले ग्रामिण कृषि पर्यटन प्रवद्र्धन गर्न ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ मार्फत त्यस क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । यस कार्यक्रम अन्तरगत हालसम्म २९ लाख ४३ हजार रुपैयाँ खर्च भएको संघको अध्यक्ष श्रेष्ठले बताए । यस कार्यक्रम अन्तरगत स्थानीय वासीको क्षमता विकास गर्न, अवलोकन भ्रमण गराउन, काउनेपानीको प्रचार प्रसार गर्न धेरै राम्रा प्रयास भएको उनले बताए । काउलेपानी होमस्टेका अध्यक्ष भन्छन्–काउलेपानीको विकासमा उद्योग वाणिज्य संघ र प्रचारप्रसारमा स्थानीय पत्रकारहरुको मुख्य साझेदार हुन् ।
६ महिना भित्रै रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण थालिने
काठमाडौं, २२ असार । आगामी ६ महिना भित्रै रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य सुरु हुने भएको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पाेरेशन(आइओसी)को सहयोगमा निर्माण गर्न लागेको पाइप लाइनको निर्माण कार्य सुरु भएको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । ‘आगामी ६ महिना भित्रै रक्सौल–अमलेखगञ्ज पाइप लाइन निर्माण आरम्भ गर्ने योजनाका साथ काम अघि बढिरहेको छ’, नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल बहादुर खड्काले भने । उनले पाइप लाइन निर्माण भएपछि नेपालमा पेट्रोलियम पदार्थको कहिल्यै अभाव नहुने दावी समेत गरे । ‘अहिले सडक अवरोध हुँदा वा मधेशमा आन्दोलन हुँदा पनि इन्धन आपुर्तिमा समस्या आइरहेको छ, पाइप लाइनले त्यस्ता समस्याको दिर्घकालिन समाधान गर्नेछ’, निगमका कार्यकारी प्रमुख खड्काले भने । नेपाल र भारतबीच सो पाइप लाइन निर्माणबारे २०७२ साल भदौं ७ गते सम्झौता भएको थियो । सम्झौता पत्रमा नेपालका तर्फबाट तत्कालिन बाणिज्य तथा आपुर्ति मन्त्री सुनिल बहादुर थापा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास रज्य मन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए । कुल ४१ किलोमिटर लम्बाई भएको पाइप लाइनको ३९ किलोमिटर भाग नेपालमा पर्छ भने २ किलोमिटर भारतीय भूमिमा पर्छ । नेपाल र भारतबिच भएको पाइप लाइन निर्माण सम्झौता अनुसार त्यसको लागत ४ अर्ब ४० करोड लाग्ने प्रक्षेपण गरिएको छ । सो लागतमध्ये आइओसीले २०० करोड भारतिय रुपैंयाँ अर्थात ३ अर्ब २० करोड रुपैंयाँ उपलब्ध गराउने छ । थप एक अर्ब २० करोड भने नेपालले लगानी गर्नु पर्नेछ । भारतले उपलब्ध गराउने ३ अर्ब २० करोड रुपैंयाँले भारत तर्फ पर्ने एक किलोमिटर जमिनको मुुआब्जा तथा नेपाली भूमिमा पाइप लाइन बिछ्याउन खर्च गरिनेछ । त्यस्तै नेपालले खर्च गर्ने एक अर्ब २० करोडमध्ये ९० करोडमा अमलेखगञ्ज डिपोको स्तरोन्नति गरिनेछ भने ३० करोडले मुआब्जाको समस्या समाधान गरिनेछ । पाइप लाइन निर्माण सम्पन्न भएपछि नेपालको कुल मागको ८० प्रतिशत पेट्रोल तथा डिजेल आयात गर्न सकिनेछ भने हवाई इन्धन र मट्टि तेलको पनि ९५ प्रतिशत माग यहिबाट आयात गर्न सकिनेछ । यसरी निर्माण भएको पाइप लाइनलाई थप एक सय किलोमिटर विस्तार गरेर चितवन तथा निजगढसम्म विस्तार गर्दै दिर्घकालमा काठमाडौंसम्म विस्तार गर्ने दुई देशबिच भएको सम्झौतामा उल्लेख गरिएको थियो । पाइप लाइनबाट निजी क्षेत्रले समेत भाडा तिरेर इन्धन आयात गर्न सक्ने व्यवस्था गरिएको छ । पाइप लाइनको निर्माणले बार्षिक ७० लाख रुपैंयाँ बराबरको इन्धन ढुवानी खर्च बचत हुने बताइएको छ ।