‘विकासको मूल फुटाउने माउन्टेन एड्भेन्चर नै हो, एड्भेन्चर युनिभर्सिटी खोल्दैछौं’
विश्वको अधिकांश अग्लो हिमाल नेपालमा नै छन् । यही हिमाली सौन्दर्यले नेपाललाई विश्वस्तरमा पहिचान दिलाएको छ । हिमाल पर्यटन र पर्वतारोहणलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन संस्थागत रूपमा नेपाल पर्वतारोहण संघ (एनएमए) ले अग्रसर रहेर काम गर्दै आएको छ । पछिल्लो समय संघले यस क्षेत्रमा गर्दै आएका काम कारवाही लगायत विषयमा केन्द्रित रहेर विकासन्युजका लागि बबिता तामाङले संघका अध्यक्ष फुरगेल्जे शेर्पासँग कुराकानी गरेकी छन् । नेतृत्व सम्हाल्नु भएको साढे ३ महिनाको अवधिमा एनएमएलाई कसरी नियालिरहनु भएको छ, के–के काम गर्दै हुनुहुन्छ ? सुधार गर्नुपर्ने धेरै कुरा छन् । सुधार गर्नलाई धेरै कुरा सुरुबाट सुरु गर्नुपर्ने हुन्छ । दुई–तीन दिनमा हुने कुरा हैन । हामी आएको साढे तीन महिना मात्रै भयो । यो अवधिमा टिम गठनमै अहिल बढी समय लाग्यो । नेपालमा पर्यटन याम भनेको अक्टोम्बर–नोभेम्बर र स्प्रिङ हो । अगस्टमा चुनाव भयो, सेप्टेम्बरको मध्यभागमा आएर पदभार सम्हालेँ । पर्यटन सिजनको समय भएको र हामी पनि पर्यटन व्यवसायी हुँदा व्यवसायमा अलि अलि समय दिनैपर्यो । धेरै समय एनएमएमा दिएको छु । हामीसँगै धेरैजना आरोही साथीहरू हुनुहुन्छ, कतिपय साथीहरू आरोहणको क्रममा एक–दुई महिना नै बाहिर जानुभो । यो बीचमा हामीले करिब २२–२३ वटा समितिहरू गठन ग¥यौं । हाम्रा ठाउँ–ठाउँमा नयाँ प्रोजेक्टहरू छन् । पोखरामा रहेको म्युजियमलाई अन्तर्राष्ट्रिय स्तरको कसरी बनाउने भनेर अध्ययन गर्यौं । अध्ययनको प्रतिवेदन आउँदै छ । यस विषयमा हामीले पोखरा महानगरपालिकासँग बसेर मिटिङ ग¥यौं । सँगसँगै म्युजियम भित्र पनि पुनःसंचना गर्नुपने देखिएकाले फर्निसिङ र रि–मोडलिङ गर्ने काम अगाडि बढाउँदैछौं । म्युजियममा दैनिक सात÷आठ सय आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्छन् । तर त्यहाँको टिकट काउन्टर पुरानो र अव्यस्थित भएको हुँदा त्यसलाई थप व्यवस्थित बनाउँदैछौं । त्यसको लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्दैछौं । म्युजियमकै छेउमा बोटानिकल गार्डेन सुरु गर्ने भनेर प्रोजेक्ट अगाडि बढाएका छौं । अहिले डीपीआर तयार भइरहेको छ । यो साल २ करोडको लागतमा र अर्को साल ५ करोडको लागतमा बनाउँदैछौं । त्यस्तै, पोखरामा वाल क्लाइम्बिङको नयाँ डीपीआर तयार गर्दैछौं । मनाङमा हाम्रो माउन्टेनियरिङ स्कुल छ । जुन पुरानो भइसकेको छ । त्यसलाई भत्काएर नयाँ बनाउँदैछौं । ककनीमा १३५ रोपनीमा माउन्टेन मेमोरियल पार्क छ ।, त्यो पनि पुरानो भएकाले त्यसलाई नयाँ बनाउँछौं । काठमाडौंमा बस्ने युवाहरू त्यहाँ गएर रमाइलो गर्ने, अध्ययन गर्ने स्पोट बनाउँछौं । त्यसैको छेउमा माउन्टेन एड्भेन्चर युनिभर्सिटी कार्यक्रम अगाडि बढाउँदै छौं । त्यसबाहेक एनएमएले चुचुरोहरू पहिचान गर्ने र व्यवस्थित बनाउने काम पनि अगाडि बढाइरहेका छौं । सोलुखुम्बुमा एनएमको थुप्रै पिकहरू छ । जहाँ हामी सर्भे गर्दैछौं । सिजनको अन्त्य भएको हुनाले अब तालिम दिने काम सुरु गर्दैछौं । तालिमको लागि कार्यविधि तयार पार्दैछौं । तालिम कसरी दिने भनेर कर्मचारी नियमावली तयार पार्दैछौं । कर्मचारी नियमावली नै बनाएर दक्ष कर्मचारी राख्छौं । कर्मचारी व्यवस्थापनमा सुधार गर्छौं । अब हामी पूर्ण रूपमा सुधारेर जान चाहन्छौं । भोलि कसैले पनि औंला नउठाउने खालको संस्था बनाएर जान चाहन्छौं । नयाँ परियोजनाहरु अगाडि बढाउँदै छौं भन्नुभयो, बजेट व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? हामीसँग बेरुजु भएकोले फछ्र्यौट गर्न खोज्दैछौं । बेरुजु फछ्र्यौट भएपछि अलिअलि बजेट हामीसँगै हुन्छ । माउन्टेन म्युजियममा गर्नुपर्ने लगानी माउन्टेन म्युजियमबाटै आउँछ । त्यहाँको आम्दानी राम्रो छ । मनाङको स्कुलको लागि विभिन्न देशमा हाम्रो घनिष्ट सम्बन्ध भएका उहाँहरूसँग कुरा गर्छौैं– विशेषगरी जापान, कोरिया, अमेरिका र क्यानडामा । प्रोजेक्टको डीपीआर तयार पारेर त्यहाँको एम्बेस्डरसँग बस्छौं । उहाँहरूसँगको औपचारिक भेटमा हामीलाई सहयोगको प्रतिबद्धता जनाइसक्नुभएको हुँदा हामी आशावादी छौं । संघसंस्थामा पनि जाँदैछौं । दातृ निकायहरू पनि हुनुहुन्छ । बजेटको लागि नेपाल सरकारसँग पनि अनुरोध गरेका छौं । वन मन्त्रालयले २ करोड दिनुभएको छ । अर्को साल ५ करोड दिन्छु भन्नुभएको छ । पर्यटन मन्त्रालय पनि छ । सबैतिर बजेटको लागि प्रयास गर्छौं । हिमाल आरोहण अनुमति शुल्क (रोयल्टी) का सम्बन्धमा पछिल्लो पटक सरकारले लिएको नीति कति प्रभावकारी छ ? रोयल्टी निर्धारण विज्ञ साथीहरू बसेर छलफलबाट निर्धारण भएको हो । जुन हिसाबले पनि ठीक छ । भर्खरैमात्रै सरकारले आउने सिजनबाट सुरु हुने गरेर रोयल्टी बढाएको छ । सगरमाथाको रोयल्टी पहिले १२ हजार थियो, अहिले १५ हजार पुगेको छ । समयसापेक्ष ठीक छ । राज्यले पनि त कमाउनु पर्यो नि । मेरो तर्फबाट यसलाई प्रशंसा गर्न चाहन्छु । हिमाल भन्नेबित्तिकै शेर्पा जोडिन्छ । शेर्पा गाइडहरूको तलब, सुरक्षालाई लिएर बेलाबेला बहस हुने गरेको छ । उहाँहरूको हकहितमा एनएमएले के काम गर्दैछ ? विगतको तुलनामा शेर्पा गाइडहरूलाई धेरै कुरामा सहज भइसकेको छ । अहिले धेरेको बीमा छ । उहाँहरूको हकहित सुरक्षाको बारेमा सोच्नु हाम्रो प्राथामिकतामा पनि पर्छ । तलबको विषमा हामीले युनिएनका साथीहरूसँग कुरा गर्छौैं । हामीकहाँ मजदुर साथीहरूको पनि प्रतिनिधि छ । उहाँहरूसँग छलफल गर्छौं । छलफलपछि अन्तर्राष्ट्रियमा प्रचलन के छ, हामीकहाँ कति छ, प्रचलित दर कति हो, यी सबै कुरा अध्ययन गरेर निष्कर्षमा पुग्छौं । पर्यटन, आरोही क्षेत्रमा आवद्ध सबै साथीहरूको हकहितको सुनिश्चित गर्नुपर्छ । त्यो हाम्रो जिम्मेवारी हो । यो पेशामा संलग्न नै बेखुसी हुनुभयो भने अन्ततोगत्वा हाम्रो देशको विकासमा असर पुग्छ । उहाँहरूलाई हकहित दिलाउनै पर्छ । साथसाथै हिमालमा बस्ने स्थानीयको लागि पनि सोच्नुपर्छ भनेर हामी त्यतातिर लागिरहेका छौं । स्थानीय मानिसलाई प्रभावकारी ढंगबाट कसरी लाभान्वित गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान छ । उहाँहरूलाई पनि हामी तालिम दिँदैछौं । तालिम दिइसकेपछि हामीलाई पनि सस्तो हुने र त्यहाँका मानिस लाभान्वित हुन जान्छ । अहिले सोलुखुम्बु, ओखलढुंगा, काठमाडौं, धादिङका मात्रै साथीहरूले माउन्टेन टुरिजमबाट फाइदा लिइरहनुभएको छ । माउन्टेन टुरिजमको फाइदा सिंगो देशका मान्छेले लिनुपर्यो भन्ने हाम्रो धारणा हो । माउन्टेन टुरिजममा सुदूरपश्चिम पूर्णरूपमा टाढा छ । हामी सुदूरपश्चिमलाई पनि यो क्षेत्रमा जोड्न खोज्दैछौं । सबै ठाउँमा विकास हुनुपर्यो, सबै ठाउँका मानिसहरूले समावेशी ढंगबाट यो उद्योगबाट फाइदा लिन सक्नुपर्यो । हामी त्यतातिर लागिराछौं । ट्रेकिङ वा घुम्न जानुअघि विदेशीहरू मौसम या त्यहाँको अवस्था बुझेर यात्रा गर्छन्, तर धेरै नेपालीमा भने देखिँदैन, जसले गर्दा दुर्घटनामा परेको थुप्रै उदाहरण छन्, यस विषयमा सचेतनामुलक कार्यक्रमका विषयमा एनएमएले के गरिरहेको छ ? त्यही भएर नै हामीले माउन्टेन एड्भेन्चर युनिभर्सिटी खोल्दैछौं । युनिभर्सिटीको काम एउटा शिक्षा दिने हो । दोस्रो, सबै जनतालाई माउन्टेन एड्भेन्चर सम्बन्धी सुसूचित गराउने हो । नेपाली युवाहरू दैनिक हजारौंको संख्यामा विदेश गइरहेको छ । त्यसलाई रोक्ने हाम्रो उद्देश्य पनि हो । युनिभर्सिटी खोल्यो भने हामी समावेशी ढंगबाट अध्ययन गराउँछौं । अध्ययन गराइसकेपछि उहाँलाई यही रोजगारी मिल्छ । विकासको मूल फुटाउने नै यो माउन्टेन एड्भेन्चर टुरिजम नै हो । धेरैले हिमाललाई सामान्य रूपमा यहाँबाट देखिरहेका हुन्छन्, गएर आइहाल्ने त हो नि भन्ने छ । नेपालीहरू काठमाडौंबाट बाइक चढेर अथवा गाडी लिएर सिधै मनाङमा आइपुग्छ, ३ हजार ५ सय मिटरमा । यहाँबाट तिलिचो पुग्दा ४ हजार ५ सय देखि ५ हजार मिटरमाथि पुगिसकेको हुन्छ । एक्कासि बिरामी भएर गम्भीर भएर तल ल्याउनुपर्ने अवस्था पुग्छ । यो नहुनको लागि चाहिने सचेतना नै हो । हामीले ठाउँ–ठाउँमा होडिङ बोर्ड राख्दैछौं । जानकारीमूलक सूचना प्रवाह गर्दैछौं । अहिले सोलुखुम्बुमा दैनिकजसो पाँच सय नेपालीहरू पुग्छन् । नेपालीहरू मौसम पूर्वानुमान त के सामान्य अल्टिट्युड पनि ख्याल गर्दैनन् । एनएममा उद्धार समिति छ । मौसम बिग्रियो भन्छौं । मौसम बिग्रन थालेपछि सायद १० दिनसम्म बिग्रन्छ । नेपालमा जतिखेर घटना हुन्छ नि, हेलिकप्टर घटना, प्लेनको घटना, पहिरो, हिमताल फुट्ने, यो जम्मै घटना मौसम खराब भएको बेलामा हुन्छ । एनएमएको उद्धारकर्मी टिम छ, तैपनि उद्धार चाहिने बेला उपकरणसहित टिम पनि काठमाडौंमा हुन्छ । मौसम बिग्रेपछि काठमाडौदेखि उद्धार टोली जान सक्दैन, हेलिकप्टर उड्न सक्दैन । त्यसलाई मध्यनजर गरेर अब हामीले उद्धार सञ्जाल प्रोजेक्ट सुरु गर्दैछौं । अन्नपूर्णदेखि सबै हिमाली र पहाडी जिल्लाहरूमा साथै सुदूरपश्चिमको बझाङसम्म २० देखि ३० जनाको उद्धार टिम बनाउँछौं । त्यसपछि त्यहाँको स्कुल विद्यार्थी, होटल सञ्चालक स्थानीयलाई तालिम दिन्छौं । उनीहरूको सबैको फोन नम्बर ग्रुप बनाएर राख्छौं । रेस्क्युलाई प्रयोग हुने उपकरण पनि एक सेट त्यहीँ छोडिदिन्छौं । उहाँहरूलाई हामी केही न केही सुविधाको पनि व्यवस्था गर्दैछौं । त्यसो गर्दा हिमालमा कुनै पनि दुर्घटना हुनसाथ तुरुन्तै त्यहाँको स्थानीयहरूलाई परिचालन गर्छौं । तुरुन्तै उद्धार हुन्छ । सगरमाथाबाहेक अन्य कम आरोहण भएका हिमालहरूकोे प्रवद्र्धन गर्न एनएमएले केही योजना अघि सारेको छ ? नेपालको पूर्वमा मकालु र कञ्चनजंघा, सुदूरपश्चिममा धौलागिरिदेखि सिंगो क्षेत्र नै अति सुन्दर ठाउँ हो । विडम्बना भनौं दुर्भाग्यबस हामीले त्यसलाई चलाउन सकेनौं । विविध कारणमध्ये एउटा कारण टाढा भयो । त्यहाँ पहुँच नै राम्रो छैन । साथै महँगो पनि छ । डोल्पा गएर आउन सात आठ सय डलर लाग्छ । त्यति रकममा जर्मनबाट अमेरिका गएर मान्छे फर्किन्छ । सुन्दर र रमणीय ठाउँ हुँदा हुँदै यति ठूलो खर्च गरेर सबै जान सक्ने अवस्था छैन । सबैभन्दा पहिलोख एक्सेस राम्रो हुनुपर्यो । बाटो राम्रो बन्नुपर्यो । त्यस्तै, त्यो ठाउँमा लजिस्टिक छैन । टेन्ट लगाउनुपर्ने हुन्छ । काठमाडौंदेखि खानेकुरा लानुपर्ने हुन्छ । अहिले कुल्ली पाउन छोड्यो । अहिले युवाहरू भारी बोक्दैनन् । कुल्लीहरू महँगो हुँदै गएको छ । लजिस्टिक सर्भिस महँगो हुँदा पनि त्यो ठाउँ चल्न सकेको छौ । अब हामीले स्थानीयसँग बसेर छलफल गर्छौं । अहिले कञ्चनजंघामा युरोपियन संस्थाले काम गरिरहेको छ । सुदूरपश्चिमका लागि हामील वल्र्ड बैंकसँग कुरा गर्दै छौं । त्यो ठाउँमा गएर त्यहाँको स्थानीयसँग मिलेर लजिस्टिक नै तयार पानुपर्यो । लजिस्टिक सर्भिस राम्रो भएपछि समस्या विस्तारै समस्या समाधान हुँदै जान्छ । त्यसपछि हाम्रो देशमा भरिया कम भएको समस्या पनि समाधान हुन्छ । यी सबै भइसकेपछि त्यो ठाउँ परिवर्तन हुन्छ । हाम्रो एउटा टिम छ, टिमले ती ठाउँहरुको विकासमा के गर्नुपर्छ भनेर अध्ययन गर्दैछौं । हाम्रा हिमालहरू प्रदूषित हुँदै गएका छन्, हिमालमा हिउँ पग्लिने काम बढिरहेको छ । त्यसतर्फ केही सोच्नु भएको छ ? हाम्रा हिमालहरू प्रदूषित हुँदै गएको छ । यसलाई रोक्नको लागि विशेष सरसफाइ नै हो । हिमालमा हिउँ पर्ने समस्या के कारणले हो, यो विषयमा डब्लुडब्लुएफ, इसिमोड, विभिन्न संघसंस्था, वन मन्त्रलायसँग छलफल गर्छौं । अहिलेसम्म काठमाडौंमा आधारित अध्ययन छ । अब हामी हिमालमै गएर अध्ययन गर्छौं । ५ हजार मिटरमा गएर अध्ययन गर्ने ताकि गलत रिर्पोट नआओस् । सरकारलाई पनि सचेत गराउँछौं । अन्तर्राष्ट्रिय जगतलाई पनि सचेत गराउँछौं र हामी आफै पनि सचेत हुन्छौं । नेपालमा हिमालहरूको राम्रोसँग पहिचान हुन सकेको छैन, गन्तव्य पनि निर्धारण गर्न सकेको छैन । एनएमएले पिक प्रोफाइल बनाउँदैछ । यो साल सिध्याउँछौं । कहाँबाट जाने, कुन रुट हो, कत्तिको खतरा छ ती सबै पहिचान गर्छौं । ३ वर्षभित्र नेपालको सबै पिकको प्रोफाइल बनाएर सकाउने हाम्रो योजना छ । ताकि हिमालको नाम भित्र क्लिक गर्न साथ सबै हिमालको बारेमा जानकारी लिन सकोस् । त्यो हिसाबमा हामी अघि बढ्दैछौं ।
चुच्चे नक्सा भएको १ सय रूपैयाँको नोट आजदेखि बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंक १०० रुपैयाँ दरका नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज मंसिर ११ गतेदेखि साविककै आकार तथा रङ्गमा १०० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको हो । राष्ट्र बैंकका अनुसार सङ्केत नं. क२० ०००००१ देखि घ४० ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याउने भएको हो । नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्यभागमा नेपालको चुच्चे नक्सा रहेनछ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपसषदको निर्यणले २०८१ वैशाख २० गते १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेर जारी गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयको प्रस्तावमा १ सय रुपैयाँका नयाँ नोटमा नेपालको चुच्चे नक्सा समावेश गर्ने निर्णय गरेको थियो । त्यस्तै, नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको छ । साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो कलरको थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवि चित्र अंकित रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, २ मि.मी चौडा भएको रंग परिवर्तन हुने (नोट सिधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “वि.सं. २०८१“ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपीज हण्डे्रड र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी लेखिएको रहेको छ । विसं २०७६ साल असोज ७ गतेदेखि रुपैंया १०० दर (सेरिज २०१९) को बैंकनोट सङ्केत नं. ओ१८ ०००००१ देखि क३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ओ१८ ०००००१ देखि क१९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
एउटै हायर पर्चेज कम्पनीसँग ९ अर्ब ऋण, १० वटाले लिए साढे ३२ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर विभिन्न १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा रहेका छन् ।सामान्यतया गाडी, मोटरसाइकल, मेसिनरी, फर्निचर जस्ता महँगा सामान किन्दा ऋण उपलब्ध गराउने काम हायर पर्चेज कम्पनीले गर्ने गर्छन् । हायर पर्चेज कम्पनीहरूले ठूलो मात्रामा फाइनान्सिङको काम गर्दै आएका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार ओम्नी, हुलास फिनसर्भ, सिप्रदी, एमएडब्लू, बतास, स्याकार, जगदम्बा, भेन्चर, मनोकामना र अग्नी हायर पर्चेज कम्पनी सञ्चालनमा रहेका छन् । यी कम्पनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट साढे ३२ अर्ब रुपैयाँ ऋण लिएर फाइनान्सिङको काम गरिरहेका छन् । ओम्नी हायर पर्चेज प्रालि ओम्नी ग्रुप अन्तर्गतको ओम्नी हायर पर्चेज प्रालिले एक वर्षमा करिब २८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २७ करोड ९० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको जनाएको छ । यस्तै, कम्पनीले सन् २०२४ मा २५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ३३ करोड १० लाख रुपैयाँ, सन् २०२० मा ३७ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ४४ करोड ४० लाख रुपैयाँको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । सन् १९९१ देखि हायर पर्चेज कर्जाको सेवा दिँदै आएको यस कम्पनीले सन् २०१७ मा राष्ट्र बैंकबाट अनुमति पाएको थियो । कम्पनीमा तीन जनाको सेयर स्वामित्व छ जसमा आत्मराम काब्राको ४५ प्रतिशत, नारायण काब्राको ४५ र सन्दिप कुमार महताको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६९ करोड रुपैयाँ दीर्घकालीन र ४ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी २ अर्ब ७३ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । हुलास फिनसर्भ हायर पर्चेज गोल्छा ग्रुपको हुलास फिनसर्भ हायर पर्चेजले सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यस्तै, कम्पनीले सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ५२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६१ करोड ३० लाख सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ सन् २०२५ मा १ अर्ब ४९ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै, सन् २०२४ मा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १९ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ७० लाख रुपैयाँ र सन् १ अर्ब ४ करोड ८० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । सुरुमा हुलास इन्भेस्टमेन्ट प्रालिको नाममा स्थापना भएको यस कम्पनीले सन् २०२१ मा नाम परिवर्तन गरेर हुलास फिनसर्भ हायर पर्चेज राखेको थियो । हाल आईपीओ निष्कासनको तयारीमा रहेको हुलास फिनसर्भमा हंसराज हुलासचन्द एण्ड कम्पनी र बजाज मोटरसाइकल बिक्रेताको ८२ प्रतिशत सेयर स्वामित्व रहको छ । बाँकी १८ प्रतिशत सेयर स्वामित्व अन्य सेयरधनीको नाममा छ । कम्पनीको प्रबन्ध निर्देशकमा भने शेखर गोल्छा रहेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्कअनुसार कम्पनीले पछिल्लो समय विभिन्न बैंकहरूबाट ८ अर्ब ५५ करोड रुपैयाँ ऋण लिएर फाइनान्सिङ सेवा दिइरहेको छ । सिप्रदी हायर पर्चेज प्रालि सिप्रदी हायर पर्चेज प्रालिले सन् २०२५ को ९ महिनामा ३९ करोड २० लाख रुपैयाँ बराबरको कुल आम्दानी गरेको जनाएको छ । कम्पनीले सन् २०२४ मा ५८ करोड रुपैयाँ, सन् २०२३ मा ५२ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ४९ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ६७ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको नेटवर्थ सन् २०२५ को ९ महिनामा १ अर्ब १२ करोड ३० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा १ अर्ब १४ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ९४ करोड रुपैयाँ, सन् २०२२ मा ९२ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ७८ करोड ४० लाख नेटवर्थ थियो । सन् २०१४ मा स्थापित यो कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालको लागि आधिकारित डिलर हो । सिद्धार्थ राणा अध्यक्ष रहेको यस कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब १० करोड रुपैयाँ ऋण लिएको तथ्याङ्क छ । एमएडब्लू हायर पर्चेज एमएडब्लू हायर पर्चेजले सन् २०२५ को पहिलो त्रैमासमा १० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने सन् २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सन् २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो। कम्पनीको नेटवर्थ भने सन् २०२५ को पहिलो त्रैमासमा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा ५७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड रुपैयाँ र सन् २०२२ मा ४९ करोड ४० लाख रुपैयाँ नेटवर्थ थियो । सन् २०११ मा स्थापित यस कम्पनीमा एमएडब्लू प्रालिको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको नेतृत्व भने अग्रवालले नै गरिरहेका छन् । साथै, कम्पनीले विभिन्न बैंकहरुबाट २ अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋण लिएको छ । बतास हायर पर्चेज बतास हायर पर्चेजले सन् २०२५ को पहिलो त्रैमासमा १० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा २७ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २१ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा २३ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा २१ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको थियो । सन् २०२५ को पहिलो त्रैमासमा कम्पनीको नेटवर्थ २३ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै, सन् २०२४ मा २७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ३० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ३५ करोड ३० लाख रुपैयाँ, सन् २०२१ मा ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा १७ करोड ९० लाख रुपैयाँ नेटवर्थ थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २४ करोड रुपैयाँ दीर्घकालिन र १ करोड ४० लाख रुपैयाँ अल्पकालीन गरी २ अर्ब २६ करोड रुपैयाँ ऋण लिएको छ । बतास समूहले सन् २००३ मा स्थापना गरेको बतास हायर पर्चेज प्रालिलाई मार्च २०२५ मा केडिया ग्रुपले खरिद गरेको हो । केडिया अर्गनाइजेसन नेपालको एक स्थापित व्यावसायिक घराना हो । कम्पनीको अध्यक्ष सानु काजी तमोट रहेको छ । स्याकार हायर पर्चेजन स्याकार हायर पर्चेजले सन् २०२५ को ८ महिनामा ९ अर्ब २९ करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यस्तै, कम्पनीले सन् २०२४ मा १० अर्ब ८४ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ९ अर्ब ७१ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ३५ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् १९७६ मा स्थापित स्याकार ट्रेडिङ कम्पनीको अध्यक्ष सौरभ ज्योति र सुहृद ज्योति उपाध्यक्ष छन् । स्याकारको कार्यालय ज्योति भवन, कान्तिपथ, काठमाडौंमा छ भने आफ्नै १६ वटा बिक्री शोरूमहरू र १०० डिलरहरूको डिलरशिप नेटवर्क छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ दीर्घकालिन र ४ अर्ब ६४ करोड ६० लाख रुपैयाँ अल्पकालीन गरी ६ अर्ब १४ करोड ६० लाख रुपैयाँ ऋण लिएको छ । जगदम्बा हायर पर्चेज शंकर ग्रुपको जगदम्बा हायर पर्चेजको सन् २०२४ जुलाइसम्मको तथ्याङ्कअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७६ करोड ४४ लाख रुपैयाँ बराबरको ऋण लिएको तथ्याङ्क छ । त्यसयता कम्पनीले कुनै पनि विवरण सार्वजनिक गरेको देखिँदैन । कम्पनीले आव २०८०/८१ मा ८ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको देखिन्छ । भेन्चर हायर पर्चेज प्रालि भेन्चर हायर पर्चेज प्रालिले सन् २०२४ मा २६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको तथ्याङ्क छ । त्यसपछिको कारोबारको विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीले सन् २०२३ मा १७ करोड रुपैयाँ, सन् २०२२ मा ६ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । साथै, कम्पनीको नेटवर्थ सन् २०२४ सम्ममा ४३ करोड ३० रुपैयाँ थियो । त्यसअघि सन् २०२३ मा ३८ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३४ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ३१ करोड ९० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको तथ्याङ्क छ । सन् २०१७ मा स्थापित भेन्चर हायर पर्चेज प्राइभेट लिमिटेडले सन् २०१९ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमति पत्र लिएको थियो । यस कम्पनीमा आइएमई ग्रुपको लगानी छ । सो ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् । मनोकामना हायर पर्चेज प्रालि मनोकामना हायर पर्चेज प्रालिको प्रालिको पनि सन् २०२४ सम्ममा ४१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । कम्पनीले सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३३ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२४ मा ३० करोड ५० लाख रुपैयाँ नेटवर्थ रहेको छ । यस्तै सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३८ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ३३ करोड ८० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २७ करोड २९ लाख रुपैयाँ ऋण लिएको छ । एमभी दुगड ग्रुपको एक हिस्साको रुपमा रहेको मनोकामना हायर पर्चेजले सन् २०१९ मा राष्ट्र बैंकबाट अनुमति पाएसँगै फाइनान्सिङको काम गर्दै आएको छ । एमभी दुगड समूह नेपालमा एक शताब्दी भन्दा बढी समयदेखि व्यावसायिक क्षेत्रमा आबद्ध छ । कम्पनीमा विवेक दुगडको ९० प्रतिशत सेयर स्वामित्व रहेको छ । अग्नि हायर पर्चेज प्रालि अग्नि हायर पर्चेजले सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा ६ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा १ करोड ५० लाख रुपैयाँ र सन् २ं०२० मा २ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२४ मा कम्पनीको नेटवर्थ ४१ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ३७ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३५ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा ३४ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ३३ करोड ३० लाख रुपैयाँ नेटवर्थ रहेको थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड ऋण लिएको छ । सन् २०१४ मा स्थापित अग्नि हायर पर्चेज कम्पनीका अध्यक्ष क्याबिनेट श्रेष्ठ हुन् । यस कम्पनीमा उनको ४५ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३३ प्रतिशत र अर्जुन प्रसाद शर्माको २२ प्रतिशत सेयर स्वामित्व छ । अध्यक्ष श्रेष्ठ अग्नि ग्रुपका प्रबन्ध निर्देशक पनि हुन्।