अब सहकारी ठग्नेमाथि अनुसन्धान हुने, यस्तो बन्यो संसदीय छानबिन समिति
काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धि अनुसन्धान गर्न संसदीय समिति बन्ने भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएपछि अब सहकारीको रकम अपचलन गर्नेविरुद्द छानबिन हुने भएको हो । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा सहमति भएको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सो समितिको संयोजक बन्ने बुझिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् । यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने बुझिएको छ । पछिल्लो समय सहकारीमा ठूलो समस्या छ । अधिकांश सहकारीमा बचत फिर्ताको समस्या छ ।
काठमाडौं महानगरको कडाइपछि सहकारीले तोक्न थाले सूचना अधिकारी
काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको सञ्चार तथा सूचना ऐनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीमा सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधानबमोजिम कामपाले गत वैशाखभित्र अधिकारी तोकेर विभागमा जानकारी गराउन दिएको निर्देशनलाई आत्मसात् गर्दै सहकारीले सूचना अधिकारी राख्न थालेका हुन् । कामपाको सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सहकारीहरुले सूचना अधिकारी तोकेर जानकारी गराउन थालेका छन् । अहिले करिब १५ सहकारीले सूचना अधिकारी तोकेर जानकारी गराइसकेका उनले जानकारी दिए । ‘अन्यले पनि राख्नेबारे जानकारी गराइसकेका छन्,’ प्रमुख त्रिपाठीले भने, ‘यसरी सूचना अधिकारी राख्दा सहकारीकै कर्मचारी वा सहकारीको सदस्य हुनुपर्ने कानूनी व्यवस्था छ ।’ उनका अनुसार हाल कामपामा एक हजार ९ सय सहकारी सञ्चालनमा छन्। एक हजार छ सय २८ बचत तथा ऋण, दुई सय ६४ बहुउद्देश्यीय, तीन श्रमिक, १५ कृषि सहकारी, १३ उपभोक्ता सहकारी, तीन सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन्। सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका एकरएक वटा सहकारी रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भइ सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो। कामपामा सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन् । साझा सोच र आवश्यकता भएका व्यक्तिहरुले सामूहिक आर्थिक, सामाजिक, सांस्कृतिक विकास र गतिशीलताका लागि सञ्चालित आर्थिक कारोबार गर्ने उद्देश्यले स्थापित संस्था सहकारी हो । पछिल्लो समय सहकारीहरु ताला लगाएर बेपत्ता भएपछि घरधनीले तालाबन्दी खोलिदिनुपर्यो भन्ने निवेदन आउने गरेको कामपाको भनाइ छ । बचत फिर्ता भएन भनेर बचतकर्ताले रकम गराइ पाउन भनेर निवेदन दिने गरेका कामपाको सहकारी विभागका प्रमुख त्रिपाठीले बताए । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका बीचको दृष्टि एउटै हुनुपर्ने र सहकारीले आफूलाई इमान्दार तथा स्वनियममा राख्नुपर्ने उनको भनाइ छ । सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, धितो नलिइ वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्नेलगायत कारण रहेका सहकारी विभागले जनाएको छ ।
नेशनल लघुवित्तको सञ्चालकको निर्वाचन सम्पन्न
काठमाडौं । केन्द्रीय कार्यालय काभ्रेको, वनेपामा रहेको राष्ट्रिय स्तरको यस नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन बिहीबार बनेपा अवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त निर्वाचन कार्यक्रममा ४ जना सञ्चालकहरु निर्वाचित भएका छन् । जसमा केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का रहेका छन् । रविन सिजापती तथा क्षितिज खड्का क्रमश नेपाल ईन्भेष्टमेण्ट मेगा बैक तथा कुमारी बैकबाट प्रतिनिधित्व गरी आएका छन् । साथै सर्वसाधारण समूहका तर्फवाट नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना निर्विरोध निर्वाचित भई आएका छन् । उक्त कार्यक्रममा निर्वाचन अधिकृत लिलामणी पौडेलले निर्वाचित हुुने संस्थापक तथा सर्वसाधारण तर्फका सञ्चालकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । यस संस्थाले २०८१ बैशाख सम्ममा देशका सात वटै प्रदेशका हिमाल, पहाड र तराईमा गरि ७४ वटा जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख २५ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले १ लाख ८ हजार भन्दा बढि सदस्य हरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु २० अर्ब २७ करोड कर्जा लगानी गरेको छ भने कुल बचत ५ अर्ब ३३ करोड रहेको छ ।