महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल
काठमाडौं । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल ३५ लाख रुपैयाँ रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् । यसै गरी बैंकले आगामी ५ वर्ष सम्ममा १ करोड रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोष मार्फत सोही विश्वविद्यालयबाट (विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित) विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउदै लगिने छ । यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम. इ. स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एम.एससी. इ एस) हाल अध्ययनरत छन् । यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरुमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु संचालन गर्दै आएको बैंकले जनाएको छ ।
डोटीमा बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ । कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षार्थीहरु लाभान्वित भई कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमको प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । नेपालको दुर्गमम्म बीमाको सचेतना फैलाई सबै जनतालाई बीमाको दायरामा ल्याई व्यवसाय प्रवर्द्धन गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुसार अगी बढेको कार्यक्रमका संयोजक कम्पनीका बजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए । ३ दिने कार्यक्रममा व्यवस्थापक देवराज घिमिरे, सह९व्यवस्थापक अर्जुन पौडेल, नायव व्यवस्थापक दिपकराज पाण्डेय र सहायक व्यवस्थापक उत्तरा रेग्मीले प्रशिक्षकको भूमिका निभाएका थिए ।
बिजनेश इन्टरेष्ट ग्रुपले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले कृषि क्षेत्रको व्यवसायिकता र दिगोपना, उत्पादन प्रवद्र्धन, उत्पादकत्व बृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको छ । यस कम्पनीको हाईलाईफ एग्रो एण्ड फुड्स ईन्डष्ट्रिज लिमिटेड तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानिलकण्ठमा सबैभन्दा ठुलो लगानी रहेको छ । विभिन्न उद्योग, व्यापार, होटल तथा पर्यटन लगायतका क्षेत्रमा व्यापार सञ्चालन र विस्तार गर्न आफ्नो पूर्ण स्वामित्वका विभिन्न सातवटा सहायक कम्पनी स्थापना गरी काम अगाडि बढाएको छ । उपभोक्ताहरुलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराउन गो मार्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले पूर्ण स्वामित्वको चितवन फुड्स ईन्डष्ट्रिज लिमिटेड मार्फत दाल, चामल, तेल, आटा र गेडागुडी लगायतका खाद्य सामग्रीको उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले नमुना कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि अनुसन्धान केन्द्र साथै खाद्य उद्योग स्थापना र सामुदायिक खेतीका लागि विभिन्न स्थानमा करिब ६० बिघा जग्गा खरिद गरी काम गरिरहेको छ । ‘जोड्दै नेपाली मन, खोज्दै आफ्नो पन’ भन्ने नारासहित स्वदेशी उत्पादन र उद्यमशीलता मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कम्पनीका काम देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।