एनआईसी एशिया लघुवित्तको सञ्चालकमा मिलन सिग्देल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । संस्थाको २१४औं सञ्चालक समिति बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकालका लागि सिग्देललाई प्रतिनिधि सञ्चालक नियुक्त गरिएकाे हो । यसअघि सो स्थानमा कमल खड्काले प्रतिनिधित्व गर्दै आइरहेका थिए । साथै, उनले पदका लागि शपथ ग्रहण समेत गरिसकेको कम्पनीले जनाएको छ । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको मिलन सिग्डेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

बीमाको दायरा बढाउन जोखिम पनि बढ्नुपर्छ : सीईओ पन्त

बीमा क्षेत्रमा साढे तीन दशक अनुभव भएका सुनिल बल्लभ पन्त एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । एनएलजीमा दोस्रो कार्यकाल सीईओका रुपमा काम गरिरहेका पन्त बीमा क्षेत्रका एक अनुभवी सीईओमध्येमा पर्छन् । बीमा क्षेत्रमा विशेष योगदान गरेबापत सरकारबाट समेत सुकीर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित भइसकेका सीईओ पन्तसँग वर्तमान बीमा क्षेत्र, यस क्षेत्रका चुनौति र अवसर र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् । बीमा कम्पनीहरू बलियो हुँदा खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्ज वा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईको कम्पनीले यसतर्र्फ के-के काम गरिरहेको छ ? एनएलजी इन्स्योरेन्सले मर्जरमा नगई आफैं हकप्रद सेयर मार्फत चुक्ता पुँजी वृद्धि गरिरहेको छ । बीमा प्राधिकरणले दिएको निर्देशन बमोजिमको चुक्ता पुँजी पुर्याउन कम्पनी तयार छ । कम्पनीले रिटेन्सन क्यापासिटी र इनोभेसनका लागि दुईवटा प्रडक्टहरू बजारमा ल्याइसकेको छ । विद्युतीय सवारी साधन र युटिलिटी मार्फत् स्वास्थ्य र दुर्घटना बीमा प्रडक्ट बजार आइसकेका छन् । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर गर्यो । यो संकटबाट माथि उठ्न त्यस कम्पनीले कस्ता किसिमका नविनतम् अभ्यास गरिरहेको छ ? बीमा क्षेत्र सबैभन्दा भायब्रेन्ट कृषि क्षेत्रमा पोलीसी जारी गरेर हुन्छ । तर, कम्पनीहरू असाध्यै असहज परिस्थितीमा अगाडि बढिरहेका छन् । तथापि नविनतम् प्रडक्टहरूले नयाँ वा अनट्याप्ट क्षेत्रहरू ट्याप भएर बीमा व्यवसाय अभिवृद्धि हुने विश्वास छ । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? बैंकिङ, यातायात र निर्माण क्षेत्रमा बीमा म्यान्डेटोरी हो । त्यसबाहेक प्रोफेसनल इन्डेम्निटी पोलीसी, विद्यार्थी योजना, लायबिलिटी पोलीसी बजारीकरण गर्न सक्यो भने निर्भरता रहनु पर्ने आवश्यकता देखिँदैन । र, बीमा कम्पनीहरू त्यसतर्फ पनि अगाडि बढिसकेका छन् । वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के(के छन् ? सबैभन्दा ठूलो अवसरका रूपमा प्रोफेसनल इन्डेम्निटी पोलिसी र लायबिलीटी पोलिसी नै हो । अहिलेको जोखिमका कारण यी दुइटा आवश्यक छन् । जति जोखिम बढ्यो, त्यति नै बीमाको दायरा बढ्दै जाने हो । यी दईटा पोलिसी र क्षेत्रगत हिसाबले बीमाको क्षेत्र असाध्यै बढी छ । वर्तमान समयमा बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ? बीमा बजार नै अभिवृद्धि नै नहुनु बीमा व्यवसायका लागि चुनौति हो । साथै, भइरहेको बजार पनि संकुचन हुनु सबैभन्दा ठूलो चुनौति हो । ठूल्ठूला आयोजना तथा परियोजना, जलविद्युत आयोजनाको पुनर्बीमा राम्रोसँग र समयसीमा भित्र सम्पन्न नहुँदा ठूलो चुनौति र अवरोध श्रृजना भएको छ । सरकारले कृषि बीमा योजना अगाडि सारेको भएपनि अनुदान रकम समयमा प्राप्त नहुँदा रोक्नु पर्दा दुख लागेको छ । यो समस्या चाँडै समाधान भयो भने केही हदसम्म बीमा व्यवसाय सहज रूपमा अगाडि बढ्छ । बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ? बीमा प्राधिकरणले जारी गरेका नीति निर्देशनहरूलाई पूर्ण रूपले पालना गर्नुपर्छ । त्यसको लागि जनशक्ति उत्पादन गर्नुपर्छ । जनशक्तिलाई तालिम दिएर योग्य बनाउनुपर्छ । र, प्राधिकरणले बीमा कम्पनीका जनशक्तिलाई पनि योग्य बनाउनुपर्छ । त्यसपछि बीमा प्राधिकरण र बीमा कम्पनीहरूको काम गर्ने शैलीमा गुणात्मक परिवर्तन आउँछ । नियमसंगत काम गर्न सहज रहन्छ । बीमा सम्बन्धि जनचेतनालाई अभिवृद्धि गर्ने, दूरदराजमा बीमाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता र प्रभावकारीताका साथ अगाडि बढाउनुपर्छ । नयाँ अनट्याप सेक्टरको रिसर्च एण्ड डेभलपमेन्ट गरेर बीमा योग्य जोखिम पहिचान गरि बीमाको दायरा बढाउन सक्यो भने सबै लाभान्वित हुन सक्छन् ।

वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, अन्न धितोमा कर्जा पाइने

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रूपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो । यस विषयमा जानकारी दिन कम्पनीले शुक्रबार वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निर्माण गरिसकेको जानकारी दिए । यी तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको उनले बताए । ‘सबैभन्दा बढी क्षमताको वेयरहाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएका छौं,’ कार्यक्रममा अध्यक्ष बगरियाले भने, ‘पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी र कपिलवस्तुको १५र१५ हजार मेट्रिक टन क्षमताका छन् ।’ कम्पनीका महाप्रबन्धक समिरराज सत्यालका अनुसार यी भण्डारण गृहमा गहुँ, मकै र भटमास लगायत सबै किसिमका अन्न भण्डारण गर्न सकिन्छ । यी भण्डारण गृहको सेवा खाद्य उद्योग, व्यापारी, कृषक सबैले लिन सक्ने उनले बताए । वेयरहाउसमा भण्डारण गरिएको अन्न धितो राखेर कर्जा पनि लिन सकिन्छ । यो सुविधाले किसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यताबाट मुक्ति दिने अपेक्षा कम्पनीले गरेको छ । भण्डारणस्थलको अभावमा किसानले व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य भएका र कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खान दिएका खबर बारम्बार आइरहेको सन्दर्भमा सुरक्षित भण्डारण गृहको सान्दर्भिकता उच्च रहेको महाप्रबन्धक सत्यालले बताए । उनले भने, ‘वेयरहाउसमा सुरक्षित भण्डारण गरेको अनाज पछि राम्रो मूल्य पाएको बेला जहिलेसुकै बिक्री गर्न सकिन्छ । यसबाट आफ्नै भण्डारण पूर्वाधार नभएका किसान धेरै लाभान्वित हुनेछन् ।’ कार्यक्रममा बोल्दै कम्पनीका लगानीकर्ता तथा निम्बस ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवालले खाद्य सुरक्षामा विश्वको ध्यान केन्द्रित भइरहेको अहिलेको अवस्थामा भण्डारण गृहको सान्दर्भिकता अझ बढेर गएको बताए । सरकारले खाद्यान्नको न्यूनतम समर्थन मूल्य तोकिरहेकाले खरिद गरेको खाद्यान्न भण्डारका लागि निजीक्षेत्रले तयार पारेका भण्डारणगृहको उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए । सरकारले यस्ता भण्डारणमा लगानी गर्नुभन्दा निजीक्षेत्रको लगानीमा तयार भएका संरचना मितव्ययी हुने पनि उनले प्रस्ट पारे । पोस्ट हार्भेस्टमा ३० प्रतिशतसम्म अन्न खेर जाने भन्दै उनले त्यसरी खेर जाने अनाज जोगाउन यस्ता पूर्वाधार प्रभावकारी हुने र यसबाट खाद्यान्न उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिने बताए ।