कामना सेवाका ग्राहकलाई रुपन्देही सीटी डाइगोनोसीसमा छुट
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमा छुट हुने भएको छ । बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसीस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमा मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
सहकारी छानबिन समिति कार्यदलको बैठक जारी
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन । संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।
मुद्रण उद्योग संघ कास्कीद्वारा ११५ जना कामदारको निःशुल्क जीवन बीमा
काठमाडौं । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आबद्ध कामदारहरूको निःशुल्क बीमा गराएको छ । संघले बिहीबार आयोजित एक कार्यक्रमका बीच कामदारहरूको निःशुल्क बीमा गराएको हो । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी, लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रमुख शिव पौड्यालले बीमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भई मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा ५० हजार रुपैयाँको लाभ लिन सकिने जानकारी गराए । उनले कार्यक्रममा बोल्दै बीमा गर्नु खर्च नभइ लगानी भएको जानकारी गराएका थिए । जीवन सहजीकरण, सुख दुखमा साथ दिने भनेको बीमा रहेको बताउँदै उनले मानिसको अत्यावश्यक चिजमध्ये बीमा पनि एक भएको उल्लेख गरे । प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपांग हुँदा वा बिरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भए पनि मलम लगाउने काम बीमाले गर्ने बताए । अध्यक्ष बास्तोलाले पोखरामा १ सय भन्दा बढी छापाखाना व्यवसायीहरू भएको र करिब ८ सय जना मजदुरहरु रहेको जानकारी गराउँदै जोखिम न्यूनीकरणको लागि बीमा गरिएको जानकारी गराए । उनले हाल १ सय १५ जनाको बीमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरूको निःशुल्क बीमा गराइने बताए । अध्यक्ष बास्तोलाका अनुसार बीमाको लागतमा ५० प्रतिशत व्यावसायिक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बीमा गरिएको छ। कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन बीमाको अनुभावका बारेमा जानकारी गराइएका थिइन् ।