कुवेतमा रहेका नेपालीहरूले अलजमिल एक्सचेन्जबाट पैसा पठाउन सक्ने
काठमाडाैं । निओ मनी ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहेका नेपालीहरूले सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनी ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनी ट्रान्सफर कम्पनी हो । कुवेतमा रहेका नेपालीहरूले अब अलजमिल एक्सचेन्जको शाखाहरूबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोवारहरू निओ मनी ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीहरूको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोबार पनि निओ मनी ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । निओ मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल अलजमिल एक्सचेन्जसँगको सहकार्यले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ्ग फण्ड घटाउन सहयोग पुग्ने बताउँछन् ।
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ८६ हजार पुग्यो
गोदावरी । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने संख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको संख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए । उनले सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ८६ हजार ९ सय १५ पुगेको बताए । सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेमा महिलाको संख्या बढी छ । स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या ३ लाख ९ हजार १२ र पुरुषको संख्या २ लाख ७७ हजार १ सय ९० रहेको साउदले बताए । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमले दिएको जानकारीअनुसार स्वास्थ्य बीमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा २ लाख ९९ हजार १ सय ४५ पुगेको छ भने कञ्चनपुरमा ६४ हजार ४ सय २० र अछाममा ५७ हजार ९ सय ६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरी बझाङमा ४२ हजार १ सय २, बाजुरामा ३६ हजार ५ सय ३६, बैतडीमा २६ हजार एक सय सात, डडेल्धुरामा २३ हजार पाँच सय ६२, डोटीमा २० हजार ९ सय २८ र दार्चुलामा १६ हजार १ सय ५३ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्यांकले देखाएको छ । प्रमुख साउदका अनुसार पुराना बिमितमध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप ७ सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ । बिमित परिवारका सदस्य बिरामी हुँदा १ लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ । स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र संघीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् । सरकारले विसं २०७२ देखि देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो । सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी–एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।
कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै तीजको शुभकामना दिएको छ । बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ । निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रुपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।