नेपाल इन्स्योरेन्सको हकप्रद धेरै, बोनस सेयर थोरै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर थोरै हकप्रद सेयर धेरै भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४ प्रतिशत अर्थात १ करोड ३६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन शत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नेपाल इन्स्योरेन्सले ३० करोड १९ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद निष्कासन पछि चुक्तापुँजी बढाउन पुनः ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । हकप्रद निष्कासनपछि चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । यस्तै बैशाख ७ गते कम्पनीको सेयर दाखिला बन्द हुने छ । ६९ औं साधारणसभा बैशाख २१ गते बस्ने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकातर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र एभरेष्ट बैंक लिमिटेडकातर्फबाट नायब महाप्रबन्धक केशवराज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब एभरेष्ट बैंक लिमिटेडका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटो छरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुने जानकारी दिएइको छ । साथै जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सुबिधा प्राप्त गर्न सक्ने बताइएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीले दावी गरेको छ । कम्पनीको हाल अधिकृत पूँजी रु ५ अर्ब, चुक्ता पूँजी रु ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका जनाएको छ ।  

शिखर इन्स्योरेन्सको संस्थापक सेयर ६० साधारण ४० हुने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर घटेर ६० प्रतिशत कायम हुने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर घटाउने र साधारण सेयर बढाएर ४० प्रतिशत पुर्याउने निर्णय गरेको छ । १० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत हुने कम्पनीले जनाएको छ ।