कतार एयरवेले रुसको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको २५ प्रतिशत शेयर किन्दै
काठमाडौं । कतार एयरवेजले रुसको तेस्रो ठुलो विमानस्थल मस्कोको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको कुल शेयरको सम्भावित २५ प्रतिशतसम्म खरिद गर्ने सम्झौता गरेको छ । हस्ताक्षर समारोह बुधवार ४ अप्रिलमा दोहाको ओरिक्स रोटाना होटलमा भएको जनाइएकाे छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थल जेएससी बोर्डका अध्यक्ष विटली वान्ट्सेवसँगै सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । साथै उक्त कार्यक्रममा भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलका वाणिज्य उपप्रमुख एन्टन कुजनेट्सोवको पनि उपस्थिति रहेको बताइएको छ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बकेरले भनेका छन्, ‘हामी रूस र कतार राज्य बीचको सांस्कृतिक वर्ष मनाउने क्रममा, भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावित २५ प्रतिशतसम्मको शेयर खरिदको लागि भएको सम्झौता घोषणा गर्न धेरै उत्साहित छौँ,’ उनले थपेका छन् ‘गत वर्षको अन्तमा सेन्ट पीटर्सबर्गसम्मको हाम्रो प्रत्यक्ष सेवा र साथै दैनिक तीन उडान सेवाको सुरूवातसँगै यस लगानीले उक्त देशसँग स्थापित भएको हाम्रो सम्बन्धलाई अझ प्रगाढ गर्ने कुरामा विश्वस्त छौँ ।’ स्काइट्रेक्सद्वारा २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित कतार राज्यको यस राष्ट्रिय विमान सेवाले २०१८/२०१९ सत्रमा लण्डन, ग्याट्विक एवं कार्डिफ, बेलायत; लिस्बन, पोर्चुगल; टेलिन, एस्टोनिया; भ्याल्लेट्टा, माल्टा; सेबु र डभाओ, फिलिपिन्स; लाङ्कावी, मलेसिया लगायतमा नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने जानकारी गराएको छ ।
बीपीसीको लाभांशमा लगानीकर्ता लोभिए, मंगलबार सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । सेयर बजार घटेपनि मंगलबार लगानीकर्ता बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को लाभांशमा लोभिएका छन् । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । मंगलबार बीपीसीको प्रतिकित्ता ४६१ रुपैयाँमा १ करोड ३६ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीपीसीको २९ हजार ८०० कित्ता सेयर किनबेच भएको छ । कम्पनीलको सेयर मूल्य घटेर थप निष्कासन (एफपीओ) भन्दा कम भएको छ । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री गरेको थियो । ५०१ रुपैयाँमा एफपीओ किन्ने लगानीकर्ताले २० रुपैयाँ नगद लाभांश पाउने छन् । सोमबारको तुलनमा मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ घटेको छ । एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता ७ सय रुपैयाँ कटेको थियो । पछि विस्तारै घट्न थालेको हो । चीनबाट २ खर्ब रुपैयाँ वैदेशिक लगानी ल्याएर ५ वर्षमा १ हजार मेगावाट थप बिजुली उत्पादनको योजना ल्याएपछि बीपीसको सेयर मूल्य उकालो लागेको थियो । नगद लाभांश दिने प्रस्ताव पारित गर्न बीपीसीले जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ ।
प्रिमियर इन्सोरेन्सले ६ करोड ९५ लाख बोनस शेयर जारी गर्यो, अब चुक्ता पूँजी ५८ करोड ४० लाख पुग्ने
काठमाडौं । सोमबार प्रिमियर इन्स्योरेनस कम्पनीको २४ औं वार्षिक साधारण सभा नक्साल व्याङ्क्वेट, नक्सालको सभा कक्षमा सम्पन्न भएको छ । कम्पनीको गएको आर्थिक वर्ष २०७३/७४ मा कुल बीमा शुल्क १ अर्ब ३४ करोड ८८ लाख २१ हजार रुपैयाँ आर्जन गरि खुद मुनाफा रु १५ करोड ५८ लाख आर्जन गरेको जनाएको छ । उक्त मुनाफाबाट बीमा कोषमा रु ७ करोड ७९ लाख सारी बाँकी रकम तथा गत आर्थिक वर्षसम्मको वितरण नभएको जगेडा समावेश गरि हाल हकप्रद शेयर जारी पश्चात कामय चुक्ता पूँजीको १३.५२ प्रतिशतका दरले रु ६ करोड ९५ लाख रकम बराबरको बोन शेयर जारी गरेको छ । साथै बोनश शेयरको कर प्रयोजनको लागि ३६ लाख ५९हजार ७४९ रुपैयाँ नगद लाभांशको व्यवस्था साधारण सभाबाट पारित भएको कम्पनीले जानकारी गराएको छ । कम्पनीको अनुसार सो जारी बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु ५८ करोड ४० लाख पुग्नेछ । साथै कम्पनीले चालु आर्थिक वर्ष २०७४/७५ मा हालसम्म १ अर्ब १० करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीको भनाइ छ ।