बैंक अफ काठमाण्डू र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंक्यास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख-बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी छेत्रीले हस्ताक्षर गरेका छन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश

काठमाडौं । राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश भएको छ ।  शिफारिश समितिले व्यवसायिक योजना र अन्तरवार्ताका आधारमा क्रमश कविप्रसाद पाठक, झापा, डा. डिल्लीराज अर्याल गुल्मी र बुद्धकाजी श्रेष्ठ काठमाडौंलाई शिफारिश गरेको हो । सरकारले वर्णानुक्रमअनुसार प्रक्रिया अघि बढाए पाठक प्रशासक बन्ने छन् । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि निर्णय हुने छ । यस्तै लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा शिफारिशमा परेनन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता लिएको थियो ।  

अन्तर बैंक चेक कारोबार बढ्यो, दैनिक ४० हजार चेकबाट २६ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउसले दैनिक ४० हजार अन्तर बैंक चेक क्लियरिङ गर्दै आएको छ । सन् २०११ देखि सेवा सञ्चालन गर्दै आएको हाउसले ७४ वटा बैंक तथा वित्तीय संस्थाको ४० हजार भन्दा बढी चेक क्लियरिङ गर्दै आएको हो । हाउससँग अाबद्ध बैंक तथा वित्तीय संस्थाको ४० हजार वटा चेक बाट दैनिक २६ देखि २७ अर्बको कारोबार हुँदै आएको हाउसका व्यापार विकास अधिकृत विवेक गिरीले बताए । ‘अहिले अन्तर बैंकिङ कारोबार बढ्दै गएको छ, गत वर्षमा ३५ हजार को हाराहारीमा चेक क्लियरिङ भैरहेकोमा यो वर्ष ५ हजार बढी चेक क्लियरिङ भैरहेको छ,’ अधिकृत गिरीले विकासन्युजसँग भने । हाउसले एउटा सामान्य चेक २४ घण्टाभित्र क्लियरिङ गर्ने गरेको छ । साधारण चेकलाई दिनको २ बजे भन्दा अघि नै क्लियरिङमा पठाउनु पर्नेछ । एक्सप्रेस चेकलाई ३ भागमा विभाजन गरिएको छ । पहिलो एक्सप्रेस चेकलाई १० देखि ११ बजेसम्म हाउसमा पठाउनुपर्ने हुन्छ त्यस्तै दोस्रो र तेस्रो एक्सप्रेस चेकलाई दिनको १२ बजेसम्म बुझाउनु पर्नेछ । हाई भ्यालु चेकको लागि दिनको १० देखि साढे ११ बजेसम्म बुझाउनु पर्नेछ । चेक अनुसार सेवा शुल्क फरक लाग्ने अधिकृत गिरीले बताए । गिरीका अनुसार हाउसले अब चेक मात्र नभएर राजस्व, फिल्म टिकट, हवाई टिकट र अन्य सेवा सुविधाको खरिद बिक्री समेत हाउसबाटै ई पेमेन्ट गर्न सकिनेछ ।