सहकारी साधारणसभामा अब मितव्ययिता : भोजभतेर र महँगो सजावटको चलन अन्त्य
कञ्चनपुर । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् । सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका छन् । विगतमा यस्ता अतिथिका लागि यातायात भत्ता र सत्कारमा ठूलो रकम खर्च हुने गथ्र्यो । शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेका प्रबन्धक गणेश भट्टले यस वर्षको साधारणसभा कुनै भव्य सजावटविना, भोजभतेरको कार्यक्रमविना नै सम्पन्न गरेको बताए । ‘सभाको उद्घाटन परम्परागत ढङ्गले दियो बालेर गर्यौँ,’ उनले भने ‘तीन जना सहकारीसँग सम्बन्धित व्यक्तिहरूलाई अतिथि बनाएर आधा घण्टामा नै उद्घाटन कार्यक्रम सम्पन्न गरी सदस्यका सरोकारका विषय बचत, ऋण, संस्थागत नीतिहरू र आगामी रणनीतिमा छलफल केन्द्रित गरी साधारणसभा सम्पन्न गर्यौँ ।’ उनका अनुसार यो अभ्यास आकस्मिक रूपमा नभएर हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनअनुसार साधारणसभा सम्पन्न गरिएको उनले बताए । सृजनशील बचत तथा ऋण सहकारी संस्थाले पनि विना तडकभडक साधारणसभा सम्पन्न गर्ने सोच बनाएको छ । प्राधिकरणको निर्देशनअनुसार साधारणसभा सम्पन्न गर्नेगरी कार्ययोजना तयार गरिएको सहकारीका प्रबन्ध निर्देशक मदन भट्टले बताए । सहकारी ऐन, २०७४ को व्यवस्थाअनुसार प्राधिकरणले सहकारी संस्थामा भड्किलो र गैरसदस्य–केन्द्रित साधारणसभाको प्रवृत्ति अन्त्य गर्न हालै निर्देशन जारी गरेको थियो । साधारणसभामा गैरसदस्य व्यक्ति वा अतिथिलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथि मन्तव्यजस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी साधारणसभाको सिधै ‘एजेन्डा’मा प्रवेश गरी कार्यक्रम सञ्चालन गर्ने प्राधिरणको सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक माधवप्रसाद जोशी यस्तो मितव्ययी अभ्यासले सहकारी सुशासनलाई सुदृढ बनाउन मद्दत पुर्याउने बताउँछन् । ‘भोजभतेर, उपहार, अथिति सत्कारमा पैसा खर्च गर्नुभन्दा सदस्यको हितमा लगानी गर्ने संस्कार सुरु भएको छ,’ उनले भने ‘यसलाई सहकारी सुधारतर्फको सकारात्मक कदमका रूपमा लिएका छौँ ।’ उनका अनुसार, सहकारी ऐन २०७४ को दफा ३९(२) ले साधारणसभाको व्यवस्था गरेको छभने दफा १०३(ज)(१) ले प्राधिकरणलाई नियमन र निर्देशन दिने अधिकार दिएको छ । यही कानुनी आधारमा सहकारीहरूलाई नयाँ अभ्यास गर्न निर्देशन गरिएको हो । ‘विगतमा साधारणसभालाई उत्सवका रूपमा मनाउने चलनले धेरै सहकारीमा आर्थिक भार बढाएको थियो,” उनले भने, “सदस्य केन्द्रित, मितव्ययी र प्रभावकारी सभा गर्ने अभ्यासले पारदर्शिता र उत्तरदायित्वमा सुधार ल्याउने अपेक्षा गरेका छौँ ।’ नेफ्सकुन (नेसनल फेडेरेसन अफ सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ्स युनियन अफ नेपाल) का महेन्द्रनगर फिल्ड कार्यालय प्रमुख धर्मराज जोशीले प्राधिकरणको यस निर्देशनलाई सकारात्मक अभ्यासका रूपमा लिएका छन् । ‘साधारणसभा सदस्यकै अधिकार प्रयोग गर्ने थलो हो, त्यहाँ गैरसदस्य बोलाउनु अनुशासन विपरीत हुन्छ,’ उनले भने, ‘यस अभ्यासले सहकारीभित्र सुशासन र वित्तीय अनुशासनको संस्कारलाई बल पुर्याउनेछ ।’ ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनले सहकारी साधारणसभालाई वास्तविक उद्देश्यतर्फ फर्काएको छ,’ कञ्चन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगीसिँह सोवले भने, ‘सदस्यको आवाज सुन्ने, नीतिगत छलफल गर्ने र संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने परिपाटीको विकास भएको छ ।’ मितव्ययी तर प्रभावकारी सभाको अभ्यासले सहकारीलाई आर्थिक रूपमा जिम्मेवार र नैतिक संस्थाका रूपमा पुनःस्थापित गर्ने उहाँको भनाइ रहेको छ । रासस
सिटिजन्स क्यापिटलद्वारा २८ करोडभन्दा बढी प्रतिफल वितरण
काठमाडौं । सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलमार्फत करिब २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ अन्तर्गतका इकाइधनीहरूले करसहित ८.२५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सोही योजना अन्तर्गतको लाभांश २०८२ भदौ २० गतेदेखि वितरण सुरु गरिएको छ । यस्तै, सिटिजन्स सुपर–३० म्युचुअल फण्डका इकाइधनीहरूले करसहित १२.७५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सिटिजन्स म्युचुअल फण्ड–१ गत २०८१ माघ १९ गते परिपक्व भइसकेको छ । सो फण्डले खुद सम्पत्ति मूल्य ११.३० को दरले अन्तिम वर्षको १३ प्रतिशत लाभांश (१० करोड ६६ लाख ३ हजार ७२३ सहित) २०८२ जेठ २७ गतेदेखि वितरण गरिरहेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले आफ्नै मुनाफाबाट आफ्ना सेयरधनीलाई ३ करोड २० लाख नगद लाभांश २०८२ भदौ २० गतेदेखि वितरण गर्न थालेको छ । सिटिजन्स क्यापिटलले विगतमा घोषणा गरिएका तर अझै नलिइएका लाभांश रकम लिन बाँकी रहेका इकाइधनीहरूले हितग्राही खाता तथा बैंक विवरण अद्यावधिक गरी सम्पर्क गर्न आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, अण्डरराइटिङ, सेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी हो । कम्पनीमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ ।
मेटलाइफ फाउन्डेशनले फिफा-ग्लोबल सिटिजन एजुकेशन फन्डमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने
काठमाडौं । मेटलाइफले गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीन वर्षे साझेदारी गर्ने घोषणा गरेको छ । कम्पनी प्रमुख भागीदारको रूपमा अभियानमा सहभागी हुने भएको छ । यस साझेदारीमार्फत मेटलाइफले आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो अनुभव र क्षमताको प्रयोग गर्नेछ । प्रमुख साझेदारको हैसियतले कम्पनीले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरूको सक्रियता र आफ्नो विश्वव्यापी सञ्जालमार्फत शिक्षा तथा आर्थिक सशक्तिकरणमा रूपान्तरणकारी पहलहरू अघि बढाउने जनाएको छ । मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्डमा संस्थापक दाताको रूपमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । यस फन्डले विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच दिलाउन १०० मिलियन अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ । स्थापना भएको करिब ५० वर्षदेखि शिक्षा सहयोगलाई आधारशिला बनाउँदै आएको मेटलाइफ फाउन्डेशनले हाल वित्तीय सिकाइ, मेन्टरिङ र सीप–प्रशिक्षणमार्फत विद्यार्थीलाई उज्ज्वल भविष्यका लागि तयार गर्दै आएको छ । मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने. 'हामी मानिस र समुदायका लागि महत्वपूर्ण क्षणहरूमा सधैं उपस्थित रहन विश्वास गर्छौं । ग्लोबल सिटिजनसँगको साझेदारीले वित्तीय स्वास्थ्य प्रवद्र्धन, शैक्षिक अवसरहरू विस्तार र सबल समुदाय निर्माणमार्फत सकारात्मक परिवर्तन ल्याउनेछ । यो साझेदारीले मेटलाइफ फाउन्डेशनको परोपकारी परम्परालाई अझ सबल बनाउनेछ, जसले १९७६ यता १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।' मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानलाई सशक्त बनाउनेछ । यसमा न्यूयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न ग्लोबल सिटिजन फेस्टिभलसहित, ग्लोबल सिटिजन नाउ एक्शन समिटहरूमा पनि योगदान रहनेछ । ग्लोबल सिटिजनका सह–संस्थापक तथा सीईओ ह्यू एभान्सले भने, 'हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरू समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौं । मेटलाइफ, मेटलाइफ फाउन्डेशन र ग्लोबल सिटिजनबीचको यो नयाँ सहकार्यले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन मद्दत गर्नेछ ।' यस साझेदारीमार्फत ग्लोबल सिटिजन र मेटलाइफले विश्वभरका साझेदार, नेतृवर्ग र नागरिकलाई सक्रिय सहभागी हुन र अभियानलाई सफल बनाउन योगदान गर्न आह्वान गरेका छन् ।