दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन र बिक्री व्यवस्थापकको भूमिका निर्वाह गर्नेछ । एक औपचारिक कार्यक्रममा दूधपोखरी चेपे हाइड्रोपावरका अध्यक्ष सबिन प्रधानाङ्ग र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने चेपे खोलामा निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे हाइड्रोपावर आयोजनाको हालसम्म ७८ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । बाँकी काम २०८२ साल चैत्र महिनासम्म सक्ने लक्ष्य लिइएको छ । कम्पनीले आयोजना निर्माण अन्तिम चरणमा पुगेकाले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् २० करोड २० लाख रुपैयाँको २० लाख २० हजार कित्ता साधारण सेयर (प्रति कित्ता अंकित मूल्य १०० रूपैयाँ) सर्वसाधारणका लागि बिक्री गर्न तयारी गरेको छ । सम्झौताले आयोजना र लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्नका साथै पूँजी बजारमा जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्ष प्रधानाङ्गले व्यक्त गरेका छन् ।
२२ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २५८२ बिन्दुमा पुगेको छ । आज २०० कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३१३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको २७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २७ करोड, हिमालयन रिइन्स्योरेन्सको २० करोड, नेपाल रिइन्स्योरेन्सको २० करोड र हिमालयन डिस्टीलरीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशतले घटेको छ । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशतले बढेका छन् ।
ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैंकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ । बैंकद्वारा बिहीबार प्रेस विज्ञप्तिमा भनिएको छ, 'बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई– बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण मागिएको छैन ।' बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी सो विज्ञप्तिमा अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत अनुरोध गरिएको छ ।