राष्ट्र बैंकले दियो पोखरा र समृद्धि फाइनान्सलाई सैद्धान्तिक स्वीकृति, ३ महिनाभित्र अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुइटै फाइनान्स कम्पनीलाई असोज २७ गते सैद्धान्तिक स्वीकृति प्रदान गरेको पोखरा फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईले जानकारी दिए ।  उनका अनुसार अबको ३ महिनाभित्र आ-आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारित सहित आवश्यक प्रकृया पुरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्ने सर्तसहित राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ । गत साउनमा एकापसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौता गरी सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गरेका थिए । दुवै कम्पनी एक सेयर बराबर एक सेयरको स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् ।  मर्जरपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ । संयुक्त संस्थाको सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना प्रतिनिधित्व गर्नेछन् । अध्यक्ष पदमा समृद्धि फाइनान्सका प्रतिनिधि रहनेछन् ।

४९ प्रतिशत जनसंख्यामा पुग्यो बीमाको दायरा

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमाको दायरामा समेटिएको जनसंख्याको प्रतिशत ४९.१९ प्रतिशतमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षमा बीमाको दायरामा आउने जनसंख्या ७ प्रतिशतले बढेको छ ।  प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा बीमाको दायरामा समेटिएको जनसंख्या ४२.९२ प्रतिशत थियो । भदौसम्ममा म्यादी, लघु म्यादी जीवन बीमालेखको संख्या २७.२२ प्रतिशतले वृद्धि भएको छ ।  तथ्यांकअनुसार गत आवको भदौसम्ममा म्यादी, लघु म्यादी जीवन बीमालेखको संख्या ४९ लाख ३१ हजार ३१९ थियो । चालु आवको भदौसम्मममा सो संख्या बढेर ७५ लाख ४५ हजार ९३३ पुगेको छ । त्यस्तै, वैदेशिक रोजगार बीमालेखको संख्या २०.२७ प्रतिशतले बढेर २५ लाख ९२ हजार ५५ पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक रोजगार बीमालेखको संख्या २१ लाख ५५ हजार रहेको थियो । तथ्यांकअनुसार कुल सक्रिय जीवन बीमालेखको संख्या १५.६२ प्रतिशतले बढेर एक करोड ५९ लाख ३६ हजार पुगेको छ । गत आवको सोही अवधिमा कुल सक्रिय जीवन बीमालखेको संख्या एक करोड ३७ लाख ८४ हजार थियो । भदौसम्ममा कुल जारी जीवन बीमालेखको संख्या ११ लाख ९८ हजार ६४३ र कुल निर्जीवन बीमालेखको संख्या ४ लाख ९० हजार ३०७ पुगेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको भदौसम्म ३५ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १९.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भदौसम्ममा जीवन बीमा कम्पनीहरूले ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । भदौसम्ममा कम्पनीहरूले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष भदौसम्म कम्पनीहरूले ५ अर्ब ६८ करोड ९४ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म प्रथम बीमाशुल्क २७.७७ प्रतिशतले बढेको हो । त्यस्तै, भदौसम्ममा कम्पनीहरूले २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन् ।  गत आवको सोही अवधिमा कम्पनीहरूले २४ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए ।

क्षतिग्रस्त व्यवसायिक भवनको सर्भेको लागि विदेशी सर्भेयर खटाइने

काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा क्षतिग्रस्त व्यावसायिक भवन तथा भौतिक क्षतिको मूल्यांकनको लागि विदेशी सर्भेयर खटाउने भएको छ । हिल्टन, भाटभटेनीजस्ता ठूलो क्षति भएका व्यवसायिक भवनहरूको मूल्यांकनको लागि बीमा कम्पनीहरूले विदेशी सर्भेयर खटाइने भएका हुन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार विदेशी सर्भेयर ल्याउनका लागि प्राधिकरणमा दुइटा निवेदन परेको छ ।  बीमा कम्पनीहरूले क्षति भइसकेपछि आवश्यकताअनुसार फिल्डमा स्थानीय सर्भेयर खटाउँछन् । तर ठूलो क्षति भएको अवस्थामा कम्पनीहरूले पुनर्बीमा कम्पनीहरूसँग समन्वय गरेर जोइन्ट सर्भेयर खटाउने गरेको छ । गत भदौमा जेनजी प्रर्दशनको क्रमममा देशमा ठूलो धनजनको क्षति भएको छ । हिल्टन, भाटभटेनीलगायतका व्यवसायिक भवनहरू पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको कारण जोइन्ट सर्भेयर आवश्यक परेको बीमा कम्पनीहरूले बताएका छन् । प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ ।  प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो ।