बीमा पोलिसी सरेण्डर गर्नेको संख्या घट्दै, एक वर्षमा १४ प्रतिशतले घट्यो

काठमाडौं । विगतका तुलनामा पछिल्लो समय बीमितहरू बीमाप्रति सचेत बन्दै गएसँगै बीमा पोलिसी सरेण्डर दर घट्दै गएको छ । 

बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना  (साउन–चैत)सम्ममा जीवन बीमा कम्पनीहरूको पोलिसी सरेण्डर संख्या र समर्पणबापतको रकम दुवै घटेको छ ।

तथ्यांकअनुसार चैत्र मसान्तसम्ममा ६५ हजार ४७७ बीमालेख समर्पण भएका छन् । गत आवको यही अवधिमा बीमितले ७१ हजार ५५४ बीमालेख समर्पण गरेका थिए । गत आवको तुलनामा पोलिसी सरेण्डर संख्या १४.१३ प्रतिशतले घटेको छ । गत आवको चैत्रसम्ममा ८० हजार १८७ बीमालेख सरेण्डर भएका थिए । 

पोलिसी सरेण्डर संख्या घट्दा सरेण्डरबापत्को भुक्तानी रकम पनि घटेको छ । ९ महिनाको अवधिमा पोलिसी सरेण्डर रकम ५.४२ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार गत आवमा बीमा कम्पनीहरूले पोलिसी सरेण्डरबापत कुल ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेका थिए । चालु आवको चैत्रसम्ममा भने बीमा कम्पनीहरूले सरेण्डरबापत १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेका छन्। 

गत आवको तुलनामा चालु आवको ९ महिनामा व्यतित बीमालेख संख्या र रकमसमेत घटेको छ । ९ महिनाको अवधिमा १२ लाख २५ हजार ४५४ बीमालेख व्यतित भएका छन् ।

गत आवमा १२ लाख ४६ हजार ३०१ बीमालेख व्यतित भएका थिए । गत आवको तुलनामा चालु आवको चैत्रसम्ममा व्यतित बीमालेख संख्या १.६७ प्रतिशतले घटेको छ । 

त्यस्तै, चैत्रसम्ममा व्यतित बीमालेखको उठ्न बाँकी रकम ३७ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत आवको यही अवधिमा व्यतित बीमालेखको उठ्न बाँकी रकम ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेको थियो । गत आवको तुलनामा चालु आवको चैत्रसम्ममा व्यतित बीमालेखको उठ्न बाँकी रकम भने २.३३ प्रतिशतले बढेको देखिन्छ ।
null

Share News