सीईओहरुलाई सुवेदीले भने- बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, समयमै एडभान्स दिनु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीमकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । प्रमुख अधिकृतहरूसँग हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ । छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दाबी छिटोभन्दा छिटो भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । सुवेदीले  बीमा दाबी भुक्तानी योग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुने हुँदा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यामा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए । उनले भने, ‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुपर्यो, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुपर्यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमै एडभान्स रकम दिनुपर्यो ।’  बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाइका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए । छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका सीईओहरुले  आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन कम्पनी सक्षम रहेको र यसमा समस्या नभएको बताएका छन् । उनीहरुले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमकले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् । कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको छलफलमा सीईओहरुले जानकारी दिएका छन् । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले पुनर्बीमा बापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको थप प्रष्ट पार्दै पुनर्बीमा बापतको रकम आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्देशक ध्रुव तिमिल्सिना, निर्देशक शाम्भराज लामिछाने तथा निर्देशक निर्मल अधिकारी र निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

बीमामा सानो गल्ती ठूलो समस्या, ध्यान दिनैपर्ने यी १० कुरा

काठमाडौं । बीमा अनिश्चित जोखिमबाट सुरक्षित हुने माध्यम हो । तर, धेरैले बीमाको वास्तविक फाइदा के हो भनेर बुझेका छैनन् । अरूले भनेको र सुनको आधारमा बीमा गर्ने धेरै जना छन् । धेरैजसो बीमितले नबुझीकन पोलिसी किन्छन् । तर सर्त, विवरण र दाबी प्रक्रिया बुझ्दैनन् । यसले पछि समस्यामा पार्छ । बीमाबाट वास्तविक फाइदा लिनको लागि बीमा गर्दा नै बीमित सचेत हुनुपर्छ । सही जानकारी र सावधानीले मात्रै बीमाबाट फाइदा लिन सकिन्छ । नेपाल बीमा प्राधिकरणले आफ्नै वेबसाइटमा बीमा सचेतनासम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनामा बीमितले बीमा गर्नुअघि ध्यान दिनुपर्ने थुप्रै विषय स्पष्ट गरिएको छ ।  प्रस्ताव फाराम स्पष्ट र सही भर्नुपर्ने  बीमा प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले सम्पूर्ण विवरण  स्पष्टसँग खुलाई भर्नुपर्छ । फाराममा पेसा, व्यवसाय, उमेर, स्वास्थ्य अवस्था र आम्दानीका स्रोतहरू खुला रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । यदि गलत वा अपूर्ण जानकारी फारममा उल्लेख गरेको छ भने बीमा दाबी अस्वीकृत हुन सक्छ । बीमा सम्बन्धी प्रस्ताव फाराम स्वयंले भर्ने  प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले स्वयंले सही र पूर्ण विवरणसहित भर्नुपर्छ । यदि बीमित निरक्षर छ वा फाराम भर्न सक्दैन भने, तोकेको व्यक्तिले मात्र फाराम भर्न सक्ने व्यवस्था हुन्छ । बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी बीमालेखमा उल्लेखित सर्त एवं सुविधा बुझेर मात्रै बीमा गर्ने  धेरै जनाले बीमा गर्दा बीमा पोलिसी नबुझीकन बीमा गर्ने गरेको पाइन्छ । कस्तो अवस्थामा दाबी पाइन्छ, पाइँदैनदेखि लिएर सबै सर्तहरु पोलिसीमा उल्लेख गरिएको हुन्छ । तर, बीमितले कुन-कुन अवस्थामा के-के जोखिम कभर हुँदैन भन्ने कुरा नबुझ्दा पछि समस्या आउने गरेको थुप्रै उदाहरणहरू छन् । प्राधिकरणले बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त, सुविधा बुझेर मात्र बीमा गर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यकता र आम्दानीअनुसार बीमा गर्ने बीमितले आफ्नो आवश्यकता, पेशा व्यवसाय एव आम्दानीको स्रोत समेतलाई मध्यनजर गरी बीमा गर्नुपर्दछ, प्राधिकरणले भनेको छ, ‘ अन्यथा समय अवधि नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन्छ ।’ धेरैले बीमालाई नाफा कमाउने माध्यमको रुपमा बुझ्ने गरेका छन् । वास्तवमा बीमाको उद्देश्य जोखिम कभर हो । नाफा कमाउने माध्यमको रुपमा बुझेर कतिपय बीमितले आफ्नो आर्थिक हैसियत भन्दा माथि रहेर बीमा गर्ने गर्छन् र पछि निरन्तरता दिन नसक्दा बीचमै पोलिसी सरेण्डर गर्ने गरेका छन् । यसलाई न्यूनीकरण गर्नकै लागि प्राधिकरणले यस्तो आग्रह गरेको हो । बीमा शुल्क, नवीकरण र दाबीबारे स्पष्ट जानकारी बीमा गरेपछि बीमितले आफ्नोतर्फबाट सबै काम सकियो भनेर चुपचाप बस्ने गरेको पनि पाइन्छ । तर बीमा शुल्क बुझाउने समय, नवीकरण, दाबी प्रक्रियाबारे भने राम्रोसँग बुझेका हुँदैनन् । प्राधिकरणका अनुसार बीमालेख खरिद गर्नु अघि बीमा शुल्क बुझाउने समय, नवीकरण मिति, इच्छाएको व्यक्तिको नाम र दाबी रकम पाउने वा नपाउने अवस्था बारे स्पष्ट हुनुपर्छ । त्यस्तै बीमा शुल्क बुझाएपछि अनिवार्य रुपमा आधिकारिक रसिद लिनु बिर्सनु हुँदैन । बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ । प्राधिकरणका अनुसार बीमा अभिकर्ता वा अरूले भनेको आधारमा मात्रै विश्वास गरेर पोलिसी लिनु हुँदैन । आफूले कुन कम्पनीमा बीमा गर्न लागेको हो त्यसबारे बीमित आफै स्पष्ट हुनुपर्छ ।  सम्पूर्ण कागजातहरू सुरक्षित राख्ने बीमा सम्बन्धी नीति-नियमबारे सामान्य जानकारी बीमितले राखि राख्नुपर्छ । प्राधिकरणका अनुसार बीमालेख, भुक्तानी रसिद र सम्पर्क विवरणहरू सुरक्षित रूपमा राख्नुपर्दछ । प्रविधिको विकाससँगै विभिन्न बैंक तथा एसएमएसमार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको हुँदा सो सम्बन्धी यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्ने प्राधिकरणको सल्लाह छ । परिवारलाई जानकारी  बीमा गरेपछि आफ्नो परिवार वा इच्छाइएको व्यक्तिलाई बीमाको प्रकार, कम्पनीको नाम, पोलिसी नम्बर र दाबी प्रक्रिया बारे जानकारी गराउनुपर्छ । कतिपय अवस्थामा परिवार वा इच्छाएको व्यक्तिले यसबारे जानकारी नपाउँदा बीमाबाट पाउने सुविधा गुमाइरहेका हुन्छन् । 

आइजीआई प्रुडेन्सियल र काठमाडौं नेशनल मेडिकल कलेजबीच क्यासलेस सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल (एसबी हेल्थ केयर प्रालि) बीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, आइजीआई प्रुडेन्सियलका बीमितहरूले अस्पतालमा उपचार गर्दा नगद रकम तिर्नु नपर्ने र बीमा कम्पनीले सो रकम सिधै अस्पताललाई भुक्तानी गर्ने व्यवस्था हुनेछ । यसले बीमितहरूलाई आकस्मिक अवस्थामा सहज उपचार प्राप्त गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका तर्फबाट जनरल म्यानेजर तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) शरण रेग्मी  र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहान्गिर अन्सारीले हस्ताक्षर गरेका हुन् । आइजीआई प्रुडेन्सियलले देशभरका विभिन्न अस्पतालहरूसँग यस किसिमका सम्झौताहरू गर्दै आएको छ । जसको उद्देश्य बीमित ग्राहकहरूलाई सहज, द्रुत र विश्वासिलो स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइएको छ ।