युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै सिद्धार्थ क्यापिटल

काठमाडौं । 'स्मार्ट मनी टक्स' भन्ने मूल नाराका साथ मार्च १६ देखि सुरु भएको ग्लोबल मनी वीक २०२६ विश्वभर मनाइएको अवसरमा सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालका विभिन्न सहरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत कक्षा १२ तथा स्नातक तहमा अध्ययनरत युवा विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । सिद्धार्थ क्यापिटलले काठमाडौं, नेपालगञ्ज, विराटनगर, बुटवल, नारायणगढ र पोखरालगायत स्थानमा कार्यक्रम सञ्चालन गरेको हो । काठमाडौंस्थित मृगसिरा वर्ल्ड स्कूल, विराटनगर इन्टरनेशनल कलेज, नारायणगढको वीरेन्द्र बहुमुखी क्याम्पस तथा नेपालगञ्ज बहुमुखी क्याम्पसमा सिद्धार्थ क्यापिटलको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै बुटवलको मणिमुकुन्द कलेज र पोखराको प्रतिभा माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको जनाइएको छ । वित्तीय पहुँच विस्तार तथा दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले युवा पुस्तालाई जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । ग्लोबल मनी वीक २०२६ मार्च २२ मा सम्पन्न भएको थियो । 

‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत 'अवसरको झोला' अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा सपना भए पनि ती सपना पूरा गर्न सबैसँग समान अवसर नहुने यथार्थलाई आत्मसात गर्दै बैंकले उक्त अभियान सञ्चालन गरेको जनाएको छ । बैंकका अनुसार कसैका लागि सामान्य देखिने विद्यालय झोला यी बालबालिकाका लागि अवसरको ढोका बन्न सक्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो । अभियानमार्फत विद्यार्थीहरूलाई झोला मात्र नभई सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यप्रतिको आशासमेत प्रदान गरिएको बैंकले उल्लेख गरेको छ । कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाको अनुहारमा देखिएको खुशीले सामग्री प्राप्तिभन्दा पनि 'अब म पनि सक्छु' भन्ने आत्मविश्वास झल्किएको बैंकको भनाइ छ । यस अभियानअन्तर्गत बैंकले शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालय पोशाक वितरण गर्नुका साथै मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदरसमेत गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म बैंकले सुर्खेत, कालिकोट, धनुषालगायत जिल्लामा करिब ५०० भन्दा बढी विद्यालय झोला वितरण गरिसकेको जनाएको छ ।  

२ हजार ८३ शिक्षक अवकाशमा जाँदै, ४० हजार स्थायी शिक्षकको अभिलेख डिजिटलाइज

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म ४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ । किताबखानाले गत आर्थिक वर्षमा २० हजार र चालु आवमा थप २० हजार शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको उप-महानिर्देशक दिनेश घिमिरेले जानकारी दिए ।  चालु आवको अन्त्यसम्म थप ७ हजार शिक्षकको व्यक्तिगत सोहीअनुसार अभिलेख गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । किताकखानाले सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई निवृत्तिभरण, उपदान, उपचार खर्च, सञ्चित बिदाको रकम भुक्तानी, पारिवारिक निवृत्तिभरण, शैक्षिक तथा सन्तति वृत्तिलगायत सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।  शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ मा व्यवस्था भए बमोजिम अवकाशप्राप्त शिक्षकले किताबखानाबाट पेन्सनपट्टा बनाउँछन् । कार्यरत शिक्षक ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश जाने व्यवस्था छ । सो संस्थाले वर्षमा २ पटक (माघ र वैशाख) शिक्षकको अनुमानित अनिवार्य अवकाशको सूची प्रकाशन गर्दै आएको छ । तत्कालीन शिक्षा मन्त्रालय अन्तर्गत विभागस्तरीय कार्यालयको रूपमा स्थापना भएको विद्यालय शिक्षक किताबखाना मुलुकको शासकीयस्वरूप परिवर्तन पश्चात् हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालनमा छ । उप-महानिर्देशक घिमिरेका अनुसार चालु आवभित्र २ हजार ८३ शिक्षकको अवकाश हुँदैछ । यसका अलावा किताबखानाले शिक्षकको सिटरोल दर्ता तथा प्रमाणीकरण, नोकरी विवरण अद्यावधिक, उमेर हदका कारण अनिवार्य अवकाश पाउने शिक्षकहरूको नामावली प्रकाशन, वार्षिक तलब विवरण पारित, निवृत्तिभरण कोषको सञ्चालन, सेवा अवधि गणनासम्बन्धी काम, सम्पत्ति विवरण दर्ता, शिक्षकको पदपूर्तिदेखि अवकाशसम्मका कार्य सम्पन्न गर्दै आएको छ । शिक्षा मन्त्रालयको शैक्षिक सूचना संगालो, २०८१ अनुसार आधारभूत र माध्यमिक तहमा स्थायी शिक्षक ८३ हजार ९८९, अस्थायी शिक्षक २९ हजार ६९९ र राहत शिक्षक ३९ हजार ९६२ गरी १ लाख ५६ हजार ६४० शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् ।