२० हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौं उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौताअनुसार महानगरले अस्पताललाई ३० लाख रुपैयाँ प्रदान गर्नेछ । विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधि र चस्मा पनि प्रदान गर्नुपर्नेछ ।     

स्नातकोत्तर तहमा छात्रवृत्तिमा पढ्ने अवसर, पोखरा विश्वविद्यालयले माग्यो आवेदन

काठमाडौं । पोखरा विश्वविद्यालयले  छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तगर्तका आंगिक स्कुल तथा सम्बन्धन प्राप्त कलेजहरूको स्तानोकोत्तर तहका ‘मार्च इन्टेक २०२६’ कार्यक्रमहरूमा छात्रवृत्तिका लागि आवेदन मागेको हो ।  विश्वविद्यालयद्वारा प्रकाशित सूचनाअनुसार पोखरा विश्वविद्यालय छात्रवृत्ति सम्बन्धी नियमावली, २०६५ अनुसार योग्य उम्मेदवार छनोट गरिनेछ । न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले प्रवेश परीक्षाका लागि अनलाइनमार्फत दरखास्त फाराम भर्न सक्नेछन् । विश्वविद्यालयले मास्टर अफ कम्प्युटर इन्जिनियरिङ कार्यक्रम तर्फ ६ जना, मास्टर अफ साइन्स इन कम्प्युटर साइन्स तर्फ तीन जना, मास्टर अफ साइन्स इन स्ट्रक्चरल इन्जिनियरिङ तर्फ चार जना, मास्टर अफ साइन्स इन कन्ट्रक्सन म्यानेजमेन्ट तर्फ १५ जना, मास्टर अफ साइन्स इन ट्रान्सपोटेशन इन्जिनियरिङ तर्फ ९ जना, मास्टर अफ साइन्स इन इन्भारोमेन्टल साइन्स इन एण्ड  म्यानेजमेन्ट तर्फ तीन र मास्टर अफ साइन्स इन्टरडिसीप्लायनरी वाटर रिसोर्स म्यानेजमेन्ट तर्फ तीन जना गरी ४३ जना विद्यार्थीले छात्रवृति पाउने छन् ।             विद्यार्थीहरूले अनलाइनमार्फत बिहीबार अर्थात् चैत्र ५ गतेदेखि २०८३ वैशाख ७ गते बेलुका १२ बजेसम्म आवेदन दिन सक्ने छन् । छात्रवृत्ति छनोटका लागि प्रवेश परीक्षा भने वैशाख १३ गते आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ भने परीक्षा पोखरा महानगरपालिका ३० ढुङ्गेपाटनस्थित स्कुल अफ इन्जिनियरिङ्ग तथा ललितपुर महानगरपालिका ९ च्यासलस्थित श्रमिक शान्ति क्याम्पसमा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ । छात्रवृत्ति सम्बन्धी कार्यक्रम, आवेदन प्रक्रिया तथा अन्य विस्तृत जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइट र छात्रवृत्ति शाखाको पोर्टलमा उपलब्ध छ भने थप जानकारीका लागि विज्ञान तथा प्रविधि संकायको फोन नम्बर फोन गरेर पनि बुझ न सकिने जनाइएको छ ।    

युनिग्लोब स्कुलको ५.२६ प्रतिशत लाभांश घोषणा, आईपीओ जारी गर्ने

काठमाडौं । युनिग्लोब हाइयर सेकेण्डरी स्कुल काठमाडौं लिमिटेडले लाभांश घोषणा गरेको छ । युनिग्लोब हाइयर सेकेण्डरी स्कुलको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  यस्तै, सञ्चालक समितिले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । लाभांश र आईपीओ प्रस्ताव पारित गर्न कम्पनीले चैत २८ गते ग्लोबल कलेज, बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ भने चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । साथै, आव २०८१/८२ सम्म सञ्चालक समितिले गरेको काम कारवाही अनुमोदन गर्नेछ ।  कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट प्राप्त निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन गर्नु परे उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  सभाले अनुदान सम्बन्धी खर्च, सञ्चालकको बैठक भत्ता तथा सुविधा पारिच गर्नेछ । कम्पनीको अध्यक्ष डा। खगेन्द्र प्रसाद ओझा रहेका छन् भने कम्पनी सचिव रमेश दत्त पाण्डेय रहेका छन् ।