काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्था लागू गरेसँगै केन्द्रले शिक्षक सरुवा प्रक्रियामा विशेष सावधानी अपनाउन तीन बुँदे निर्देशन जारी गरेको छ ।
केन्द्रले जारी गरेको निर्णयअनुसार स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएका पदहरूमा जिल्लान्तर तथा अन्तरस्थानीय तह सरुवा गरेर पदपूर्ति नगर्न भनिएको हो ।
केन्द्रले जारी गरेको निर्णयअनुसार दरबन्दी कटौतीमा परेर खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूमा समेत त्यस्ता शिक्षक पदमा सरुवा गर्न नपाइने व्यवस्था गरिएको छ ।
त्यस्तै, ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका सम्भावित उम्मेदवारहरूको हकमा बढुवाको नतिजा सार्वजनिक नभएसम्म सरुवा सहमति नदिन पनि केन्द्रले अनुरोध गरेको छ ।
केन्द्रले सरुवा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र पदपूर्ति प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाएको छ । यस निर्णयले शिक्षक सेवा आयोगमार्फत हुने स्थायी पदपूर्ति प्रक्रिया प्रभावित नहोस् भन्ने उद्देश्य राखेको केन्द्रको भनाइ छ ।