काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको भट्टेडाँडास्थित श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि विद्यालय पोशाक सहयोग गरेको छ । विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने तथा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यसहित बैंकले उक्त सहयोग उपलब्ध गराएको हो।
हाल १०२ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा आषाढ ३ गते एक विशेष कार्यक्रमबीच पोशाक हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल र प्रधानाध्यापक रामप्रसाद घिमिरेलाई पोशाक हस्तान्तरण गरे ।
उक्त कार्यक्रम अरनिको एल्मुनाई एसोसियसन, खुमलटारको सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको अध्ययन वातावरण थप सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।