काठमाडौं । बागमती विश्वविद्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा शास्त्र एवं सामाजिक विज्ञान सङ्कायअन्तर्गत सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु गर्ने जनाएको हो ।
विश्वविद्यालयले असार ३ गते प्रकाशित गरेको सूचनाअनुसार आवेदन फाराम वितरण तथा बुझाउने कार्य असारको पहिलो सातादेखि मसान्तसम्म सञ्चालन हुनेछ । प्रवेश परीक्षा साउनको पहिलो सातामा हुने छ भने दोस्रो सातादेखि भर्ना प्रक्रिया सुरु गरिनेछ । नयाँ शैक्षिक सत्रका कक्षाहरू साउनको तेस्रो सातादेखि सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।
सूचनाअनुसार पुसको अन्तिम सातामा प्रथम सत्रको अन्तिम परीक्षा सञ्चालन गरिनेछ भने नतिजा २०८४ माघको पहिलो सातामा प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ । विश्वविद्यालयका सम्बन्धन प्राप्त छ वटा क्याम्पसमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुनेछन् । जसमा कपनस्थित कपन क्याम्पस, काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस, चितवनको खैरहनीस्थित भुवानीशङ्कर क्याम्पस, माडी क्याम्पस, हेटौंडा क्याम्पस तथा
काभ्रेपलाञ्चोकको बनेपास्थित चैतन्य क्याम्पसमा स्नातक तहका कार्यक्रम सञ्चालन गरिनेछ । विश्वविद्यालयले विद्यार्थीले प्रवेश लिन चाहेको प्रत्येक शैक्षिक कार्यक्रमका लागि सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्ने व्यवस्था गरेको जनाएको छ । साथै, विस्तृत जानकारी सम्बन्धित क्याम्पसबाट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।
बागमती विश्वविद्यालयले प्रकाशित शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थी भर्ना, कक्षा सञ्चालन तथा परीक्षा सञ्चालन गर्न सम्बन्धित सबै छ वटा क्याम्पसलाई समेत निर्देशन दिएको छ ।