अब कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई २५ प्रतिशत अंक स्कुलले नै दिन पाउने

काठमाडौं । अब कक्षा ९ देखि १२ सम्म विद्यार्थीलाई प्रदान गरिने नम्बर स्कुलहरुले नै दिन पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रले नयाँ ‘विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड, २०८०’ लागु गर्दै सोही मापदण्डअनुसार विद्यार्थीलाई प्रदान गरिने अंकको २५ प्रतिशत स्कुलहरुले नै आन्तरिक रुपमा प्रदान गर्न पाउने व्यवस्था गरेको हो । नयाँ मापदण्डमा कक्षा ९ देखि १२ सम्मको लागि प्रयोगात्मकमुलक केही विषय बाहेक अन्य सबै विषयहरुमा २५ प्रतिशत अंक स्कुलले र बाँकी ७५ प्रतिशत अंक बाह्य रुपमा दिने व्यवस्था गरिएको छ । विद्यार्थीको नियमित सिकाइबाट हुने उपलब्धिलाई व्यवस्थित गर्न, वस्तुनिष्ठ बनाउन, वैज्ञानिक तथा भरपर्दो बनाउन, उपलव्धिलाई पारदर्शी बनाउन, सरलता र एकरुपता प्र्रदान गर्न लगायत विषयलाई उद्देश्यको रुपमा लिएर नयाँ मापदण्ड लागु गरिएको उल्लेख गरिएको छ । नयाँ मापदण्डअनुसार विषयवस्तुमा आधारित वैद्यता, विश्वसनियता, निष्पक्षता, विद्यार्थी सहभागिता र उत्प्रेरणा र परिमाणात्मक सान्दर्भिकता जस्ता विशेषताहरु हुनुपर्ने छ । साथै नयाँ मापदण्डको विकास गर्दा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ र सम्बन्धित कक्षा र विषयको पाठ्यक्रमभित्र रहेर आन्तरिक मूल्यांकनको आधार बनाइएको केन्द्रले उल्लेख गरेको छ । आन्तरिक मूल्यांकन गर्दा विद्यार्थीको उपस्थिति र कक्षा सहभागितालाई ३ अंक, प्रयोगात्मक/परियोजना कार्य र सिर्जनात्मक कार्य र प्रस्तुतीलाई १६ अंक र त्रैमासिक परीक्षालाई ६ अंकको व्यवस्था मापदण्डमा गरिएको छ । साथै आन्तरिक रुपमा दिइने २५ अंक पनि विभिन्न क्षमता र उपलव्धिका आधारमा दिने गरी स्पष्ट व्यवस्था मापदण्डमा गरिएको छ । कक्षा ९ देखि १२ सम्म अनिवार्य रुपमा पढाइ हुने नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन÷सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयहरुको लागि आन्तरिक मूल्यांंकनको मापदण्ड केन्द्रले बनाएको छ । अन्य विषयहरुको मूल्यांकनको सवालमा भने मापदण्डले केही उल्लेख गरेको छैन । हेर्नुहोस, ‘विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड, २०८०’ [pdf id=424678]

१९ प्रधानाध्यापकले दिए संयुक्त रुपमा राजीनामा

काठमाडौं । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु रहेका छन् । प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ । ‘सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामा पत्रमा उल्लेख छ । विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ । एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन् । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए । उनले शिक्षक महासङ्घका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे । ‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ, प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ, उहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ,’ अध्यक्ष कालाखेतीले स्पष्ट पारे । पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए । ‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ, यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो, सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ तर कसैले मान्दिन भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ,’ अध्यक्ष कालाखेतीले भने ।

इक्यानको अध्यक्षमा भट्टराई विजयी

काठमाडौं । शैक्षिक परामर्श सङ्घ (इक्यान)को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गरेका छन् । विद्युतीय मतदान प्रणालीबाट भएको निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए । कार्यसमितिको उपाध्यक्षहरूमा लन्ड्रयु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री, गीता शिवाकोटी (गीताञ्जली) र महासचिवमा दीपक भुसाल निर्वाचित भएका छन् । सचिवमा भावनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई तथा कोषाध्यक्षमा आशिष कार्की विजयी भएका छन् ।