आज काठमाडौं विश्वविद्यालयको दीक्षान्त, १७ देशका १९६ सहित २ हजार २१९ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा २ हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । जसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।  प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सह कुलपति महावीर पुनलगायत सहभागी हुने कार्यक्रम रहेको छ ।  समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यसहित दीक्षान्त मन्तव्य दिने कार्यक्रम तय भएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युत वाग्लेले जानकारी दिए । समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कूल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित हुनेछन् ।  दीक्षितमध्ये विद्यावारिधि, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका १ हजार ७२८ जना रहेका छन् । दीक्षितमध्ये हुनेमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्तराज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेका छन् ।  समारोहमा विभिन्न पदकसमेत प्रदान गरिने जनाइएको छ । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये ५ हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् । दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका हुन् । यस अवधिमा भारतका ४ हजार ९७६ विद्यार्थी दीक्षित भएका हुन् । त्यस्तै, श्रीलङ्काबाट ३९९, अमेरिकाबाट ८५, माल्दिभ्स ७५, जर्मनी ३३, बङ्गलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रेलिया १०, रुस १० जना छन् । हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको अच्युत वाग्लेले बताए । 

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि त्रिविसँगको यस कार्यक्रम सन् २०२८ सम्म निरन्तर रुपमा सञ्चालन हुनेछ । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत मुलुकभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन र सशक्तीकरण गर्ने उद्देश्यले विगत चार वर्षदेखि नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  सम्झौता नवीकरणले दुवै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै सामाजिक उद्यमशीलता प्रवद्र्धनमा ठूलो सहयोग पुगेको सिइओ ज्ञवालीले जानकारी दिए । नबिल एसएसईले समाजमा पारेको सकरात्मक प्रभाव निकै महत्वपूर्ण रहेको बताउँदै उनले भने ‘नबिल बैंक सधैं स्थानीय अर्थतन्त्रमा मूल्य थप्ने, समुदायमा सकारात्मक परिवर्तन ल्याउने, र विद्यार्थी तथा उद्यमीहरूलाई आफ्नो क्षमता विस्तार गर्न सहयोग गर्ने पहलहरूमा साथ दिँदै आएको छ र यस कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछौँ ।’ त्सैगरी डिन प्रा. डा. महानन्द चालिसेले त्रिविको व्यवस्थापन संकाय पाठ्यक्रमलाई सान्दर्भिक र प्रयोगात्मक शिक्षातर्फ रुपान्तरण गर्दै उद्यमशीलता विकास गर्ने दिशामा अघि बढेको बताए । ‘अनुसन्धान, अध्ययन, तथा समुदायसँगको सहकार्यजस्ता क्षेत्रमा उद्योग–शैक्षिक साझेदारीले गहिरो प्रभाव पार्न सक्छ, र नबिल एसएसई मार्फत स्थापित भएको सहकार्य यसको उत्कृष्ट उदाहरण बनेको छ,’ उनले थपे ।  सामाजिक उद्यमशीलता विकासलाई सुदृढ गर्ने उद्देश्यले बैंकले नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम  समुदायमा काम गर्ने सामाजिक उद्यमी तयार पार्न र उनीहरुलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ सञ्चालित छ ।   नबिल एसएसईअन्तर्गत ‘फेलोसिप’ र ‘सर्टिफिकेट’ कोर्स गरी दुई कार्यक्रम सञ्चालनमा छन् । छ महिना अवधिको फेलोसिप कार्यक्रम नवप्रवर्तन तथा नविन आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरुलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म प्रशिक्षण र एक वर्षसम्म मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् । पछिल्लो चार वर्षमा फेलोसिप कार्यक्रममा ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् भने उनीहरुले ६२ वटा उद्यम स्थापना गरिसकेका छन् । जसबाट १४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्षरुपमा लाभान्वित भइसकेको बैंकले जनाएको छ ।  त्यसैगरी सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा सञ्चालित छ । तीन महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । यस सर्टिफिकेट कोर्सबाट पनि उद्यमशीलतामा लागेका तथा नवप्रवर्तनमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्य राखिएको छ । सर्टिफिकेट कोर्सबाट हालसम्म १,०६९ उद्यमी लाभान्वित भइसकेका छन् । उनीहरुले १३१ उद्यम स्थापना गरी २ हजार ६०० भन्दा बढीलाई रोजगारी उपलब्ध गराएका छन् ।  

चैतन्य पाठशालाले माग्यो गणित शिक्षक, खानबस्नको व्यवस्थासहित तलब एक लाख रुपैयाँ

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको चैतन्य पाठशालाले  खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै दरखास्त माग गरेको छ ।  निजी विद्यालयमा शिक्षकले आफ्नो दक्षताअनुसार पारिश्रमिक नपाइरहेको गुनासो आइरहेको बेला चैतन्य पाठशालाले एक लाख रुपैयाँ तलब दिने भन्दै शिक्षक माग गरेको हो ।  चैतन्यले एक लाख रुपैयाँ तलब त्यसमा पनि बस्न खाना र खाजाको सुविधा दिने विज्ञापन सार्वजनिक गर्दा धेरै नागरिक अचम्मै मानिरहेका छन् । पाठशालाले आफ्नो फेसबुक पेजमा राखेको सूचनामा पनि धेरै जनाले सत्य हुन नसक्ने र बरु लेखाइमा गल्ती भएको हुनसक्ने लख काटेका छन् ।  तर पाठशालाले भने यो सूचना सही भएको र दक्ष गणित विषय पढाउन सक्यो शिक्षक आवश्यकता परेको जनाएको छ । शिक्षकलाई पाठशालाले गरेको सामाजिक सञ्जाल फेसबुकमा राख्दै दरखास्त माग गरेको हो ।  पाठशालाका प्रिन्सिपल प्रेमनिधि ओझाले गणित विषयमा दक्ष र योग्यता भएको जुनसुकै नेपालीले दरखास्त दिन सक्ने बताए ।  उनी भन्छन्, ‘एक लाख तलब भन्दै अचम्म मान्नु पनि पर्दैन र यो भ्रम पनि होइन । गणित र विज्ञान निकै महत्त्वपूर्ण विषय भएकाले एकजना शिक्षकलाई बिहानदेखि साँझसम्म विद्यालय नै राख्ने गरी आवश्यक परेकाले दरखास्त माग गरेको हौं ।’ ओझाका अनुसार छनोट शिक्षकले कक्षा पाँचदेखि दशसम्म पढाएर घर फर्किने नभई बिहानदेखि साँझसम्म विद्यालयमै रहनुपर्ने छ ।  उनले २९ गतेसम्म डेडलाइन भएपनि अहिलेसम्म जानकारी लिनमात्रै फोन आउने गरेको र दरखास्तकै लागि भनेर कुनै आवेदन नपरेको बताए । ‘अहिले शैक्षिक बजारमा शिक्षक उत्पादनमा निकै खडेरी छ । शिक्षक बन्न कसैको रुचि हुँदैन,’ उनी भन्छन्, ‘विद्यार्थीको मोह कि विदेश र की प्राविधिक विषयमा बढ्दो छ । शिक्षक पाउन निकै गाह्रो छ । विज्ञापन दोहोरो तेहोरो गर्दा पनि शिक्षक आउन पाउन नसकेको अवस्था छ ।’ विगतमा एउटा विज्ञापनमा ५०–६० आवेदन पर्थ्यो, त्यसबाट उत्कृष्ट व्यक्तिलाई छनोट गर्न सकिन्थ्यो तर अहिले त्यो माहोल छैन, मुस्किलले आवेदन परे पनि, आठ देखि १० जनासम्मको मात्र आउँछ । चैतन्य पाठशालामा प्रीस्कुलदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । पाठशालाले कमजोर समूहका विद्यार्थीलाई विद्यालयभित्रै डाइग्नोसिस कक्षा लिने गर्छ ।  विद्यालयमा हाल १ हजार विद्यार्थी छन् भने ७५ जना कर्मचारी छन् ।