एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य
काठमाडौं । विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि समझदारी भएको छ । सम्झौताअनुसार नेपालमा एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र उद्योग अनुभवका अवसर विस्तार गरिनेछ । साथै विद्यार्थीहरूलाई एयरोस्पेस इन्जिनियरिङ, एआई/एमएल, एड्भान्स्ड एनालिटिक्स र साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिमा दक्ष बनाउने लक्ष्य राखिएको छ । समझदारीपत्रमा एयरबस साउथ एसियाका प्रेसिडेन्ट तथा म्यानेजिङ डाइरेक्टर रेमी मेलार्ड र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल, सरकारी अधिकारी तथा एयरबसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
खाँडादेवीको श्रीकृष्ण माविका १८२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण
काठमाडौं । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-७ स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका १८२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउण्डेशनको सहयोगमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरिएको हो । फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरले विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरे । आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले पोशाक वितरण गरिएको फाउण्डेशनले जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिलिपकुमार श्रेष्ठले फाउण्डेशनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै अध्ययनप्रति थप उत्साह जगाएको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको आवश्यकतामा विभिन्न संघसंस्थाको सहयोग महत्वपूर्ण हुने उनको भनाइ छ । वि.सं. २०३५ सालमा स्थापना भएको श्रीकृष्ण माध्यमिक विद्यालय खाँडादेवी क्षेत्रको महत्वपूर्ण शैक्षिक संस्था मानिन्छ, जसले हालसम्म विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । गत वर्षको एसईई परीक्षा २०८२ मा विद्यालयबाट १९ जना विद्यार्थी सहभागी भएकामध्ये १८ जना उत्तीर्ण हुन सफल भएका छन्, जुन विद्यालयका लागि उत्साहजनक उपलब्धि मानिएको छ । नयाँ पोशाक प्राप्त गरेपछि विद्यार्थीहरू निकै खुसी देखिएका थिए । नयाँ पोशाकले विद्यालयप्रतिको अपनत्व र अध्ययनप्रतिको उत्साह थप बढाएको उनीहरूले बताएका छन् । कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष डा. थोकरले शिक्षा क्षेत्रमा सहयोग गर्नु संस्थाको प्राथमिकतामध्ये एक रहेको बताए । उनले आगामी दिनमा पनि विद्यार्थी, विद्यालय तथा समुदायको हितका लागि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
छात्रवृत्तिका लागि २०८ जना अस्वीकृत, साढे २६ हजार विद्यार्थी सहभागी हुन योग्य
काठमाडौं । काठमाडौं महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको कामपाले जनाएको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए । त्यही प्रणालीबाट प्रवेशपत्र प्राप्त गर्न सक्नेछन् । प्रवेशपत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख छन् । ‘प्रवेशपत्र रङ्गीन प्रिन्ट भएको हुनुपर्नेछ,’ रङ्गीन प्रिन्ट गर्नु पर्नाको कारण बुझाउँदै खड्का भन्छन्, ‘छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरूले परीक्षा दिन नपाउन भन्नका लागि प्रवेशपत्र रङ्गीन प्रिन्ट गर्ने गरेका हौँ ।’ कामपाले २०८० सालदेखि नीतिगत निर्णय गरेर कामपा क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो । यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि यही जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन हुनेछ । परीक्षार्थीहरूले कामपाको आधिकारिक पोर्टल ‘इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपी’मा लगइन गरेर प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लगइन गर्न एसइईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्म मिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ । प्रवेशपत्र अनिवार्य रूपमा रङ्गिन प्रिन्ट गर्नुपर्छ । ब्ल्याकएन्डह्वाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेशपत्रलाई मान्यता दिइने छैन । परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात ९एसइई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र० अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ । प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षासम्बन्धी नियम तथा आचारसंहिता परीक्षार्थीले अनिवार्य रूपमा पालना गर्नुपर्छ । नियमको उल्लङ्घन भएमा परीक्षा रद्द गरिनुका साथै कानुनबमोजिम कारबाही गरिनेछ । परीक्षा सञ्चालनका लागि शिक्षा विभागले केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ । स्वच्छ, निष्पक्ष परीक्षा सञ्चालन होस्, परीक्षालाई विद्यार्थीले जटिल प्रक्रियाका रुपमा महसुस नगरुन् भनेर विद्यार्थीलाई त्रास उत्पन्न नगराउन र जानेको कुरामा निर्वाध उत्तर दिनका लागि सहजीकरण गर्न निर्देशन दिइएको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले सिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा सिफारिस गर्छ ।