काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ ।
बैंकका अनुसार बाँसगढी शाखामार्फत गरिएको सहयोगले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्य राखेको छ । उक्त विद्यालयमा करिब १ हजार २०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गरिरहेका छन् । आवश्यक शैक्षिक सामग्रीको अभावका कारण उनीहरूको सिकाइमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिएको बैंकले जनाएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा बैंकले ब्रेल पेपर, ई–ग्रेड ब्रेल स्टाइलस, ई–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला तथा जेएडब्लूएस सफ्टवेयरसहित कम्प्युटरलगायत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारसँगै विभिन्न नवीन सेवा सञ्चालनमा ल्याउँदै आएको छ । हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।