पाठ्यक्रम समयअनुसार परिर्वतन गर्दै जाउँ, विद्यार्थी विदेशिने क्रमलाई रोकौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन् । सो विश्वविद्यालयको साधारणसभा बैठक (सिनेट) मा आज अध्यक्षता र सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठुलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विगतमा सेवा आयोगबाट लिइएका परीक्षाको नतिजा प्रकाशन, शिक्षक कर्मचारीको रिक्त दरबन्दीमा नयाँ भर्नाका लागि विज्ञापन गरी जनशक्ति अभाव पूर्ति, विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गरे । ‘यी विषयमा के कति काम भएका छन् भन्ने समीक्षा गर्न पनि जरुरी छ । यदि सुधारको गति सुस्त छ भने यसलाई तिब्रता दिन सबैले आ—आफ्ना ठाउँबाट पहल गर्न म सबैलाई आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीले भने, ‘विश्वविद्यालयको प्राज्ञिक तथा प्रशासनिक कार्यका विविध पक्षलाई मैले नजिकबाट हेरिरहेको छु । विभिन्न माध्यमबाट विश्वविद्यालयको वर्तमान गतिविधिबारे मैले आवश्यक जानकारी हासिल गर्ने गरेको छु । विश्वविद्यालयहरुमा के कस्ता समस्याहरु छन्, ती समस्यालाई कसरी उत्पन्न भएका हुन् र तिनको समाधानका लागि विश्वविद्यालयका पदाधिकारी र सरोकारवाला पक्षसँग घनीभूत लफलमा हामी छौँ । सबैको प्रयासलाई र संयोजित ढङ्गले अघि बढाएर समस्याको समाधान र चुनौतीको सामना गर्नुपर्छ । व्यापक फराकिलो भएर जानुपर्ने अवस्था छ ।’ प्रधानमन्त्री ओलीले विश्वविद्यालयका नीतिगत र दीर्घकालीन महत्वका विषयमा आवश्यक गृहकार्य गरी छिट्टै अर्को सिनेट बैठक गरेर निचोडमा पुगिने विश्वास दिलाए । छिट्टै अर्को बैठक गरेर नीतिगत विषयमा छलफल गर्ने विषयलाई सभामा सदस्य रहेका विद्यार्थी प्रतिनिधिले सकारात्मकरुपमा लिएका थिए । सिनेटको बैठकमा सदस्यले बेरुजुका सम्बन्धमा उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले विगतदेखि नै बेरुजु घट्न नसकेकाले २८ अर्ब रुपैयाँ बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे । त्यसमा देखिएका जटिलताका विषयमा बनाउनुपर्ने कानुन निर्माणबारे संसदमा छलफल हुने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयहरुलाई वितरण हुने भएकाले अनुसन्धानको हाल तोकिएको रकममा कटौती नहुने स्पष्ट गरे । विश्विद्यालयमा समावेशीता सहभागिताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने निर्देश दिए । प्रधानमन्त्री ओलीले प्राध्यापकहरुको मर्यादा निर्धारण र भूकम्पप्रभावित बाँकी क्याम्पसका भवन निर्माणमा तदारुकता दिन आग्रह गरे । उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने काुननी व्यवस्था नै उपयुक्त हुने तर सभाले नराख्ने भन्ने निर्णय भएमा आफूलाई कुलपति रहिरहन आवश्यकता नहरने स्पष्ट गरे । कुलपति भएर विश्वविद्यालयबाट कुनै लाभ लिनुनपर्ने र सभाका बैठक भत्ता पनि नलिँदै आएको स्पष्ट गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी बैठकमा प्रस्तुत विभिन्न संकायबाट ६२ औँ ग्रेसलिष्टमा समाविष्ट ७३ हजार नौ सय ९५  विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ । यस्तै चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा भण्डारी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो । कार्यवाहक प्राचार्य हुनु अगाडी भण्डारीले कलेजको सह–प्राचार्य र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागको प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए । सन् २००१ देखि नै कलेजमा आबद्ध भण्डारीले पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा मास्टर्स गरेका छन् । इन्जिनियरिङ विधालाई सर्वप्रिय बनाउन र कलेजको शैक्षिक, प्रशासनिक क्षमता अभिबृद्धि गर्न गराउन १० महिनादेखि कुशलतापूर्वक कार्यवाहक प्राचार्यको भूमिका निर्वाह गरेएका भण्डारीलाई नै प्राचार्य नियुक्त गरिएको नेक सञ्चालक समितिका अध्यक्ष जीवन खत्रीले बताए । ‘कलेजको शैक्षिक कृयाकलाप र गरिमालाई खस्किन नदिन, कलेजका समस्याहरुलाई समाधान गर्न उनीहाँ सक्षम छन् भनेर नै हामीले सबै प्रकृया पुरा गरेर प्राचार्यमा नियुक्त गरेका छौं । यो पदमा रहेर उहाँले सबै पक्षलाई समेटेर कलेजको विकास, विद्यार्थीको हित र शैक्षिक कृयाकलाप गर्नुहुनेछ भन्नेमा हामी विस्वस्त छौं ।’ नवनियुक्त प्राचार्य भण्डारीलाई नियुक्ति पत्र दिँदै अध्यक्ष खत्रीले कलेजको सर्वाङ्गिण विकासका लागि जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए । पदभार ग्रहण गर्दै नवनियुक्त प्राचार्य भण्डारीले कलेजको शैक्षिक स्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले कलेजमा समय सापेक्ष नयाँ कार्यक्रम थप गर्ने, प्रशासनिक, भौतिक र आर्थिक समस्याहरु सुधार्ने, शिक्षक कर्मचारीको वृत्ति विकासमा आफू कलेजका सबै पक्षसँग सहकार्य र छलफल गरेर अगाडी बढ्ने बताए । ‘प्राचार्य पदको दायित्व र जिम्मेवारी बोध हुँदैगर्दा यो कलेजलाई कसरी अगाडी बढाउने अध्ययन गरेको छु । अहिलेको ज्वलन्त समस्या शिक्षाको गुणस्तर नै हो । अध्ययनरत विद्यार्थीहरुको लागि शिक्षाको गुणस्तर सुधार्नु हाम्रो दायित्व हो । अहिलेको अवस्थामा विद्यार्थीहरु नेपालमा अध्ययन नगरी बाहिर जाने फ्लो बढेको छ । यसबाट हाम्रो कलेज पनि मारमा परेको छ । यी सबै विषयहरुमा सञ्चालक समिति, विद्यार्थी, शिक्षक र कर्मचारीसँग हातेमालो गरेर म अगाडी बढ्नेछु ।’ पदभार ग्रहण गर्दै प्राचार्य भण्डारीले भने । कार्यक्रममा कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको बताए । ‘कलेजको सर्वोत्तम हितमा प्राचार्य भण्डारी र उहाँको टीमले गरेको हरेक निर्णयलाई सञ्चालक समितिले स्वीकार गर्ने उनको भनाई छ । शिक्षक कर्मचारीका तर्फबाट बोल्दै सह–प्राध्यापक यमकृष्ण पौडेलले प्राचार्यको नियुक्तिसँगै कलेजमा रहेको द्विविधा हटेर गएको भन्दै आउँदा दिनहरुमा कलेजलाई सौहार्दपूर्ण रुपमा अगाडी बढाएर लैजाने सवालमा साथ र सहकार्य रहने बताए ।

गोकर्णेश्वरमा नर्सिङ शिक्षा, छोरीलाई ५० प्रतिशत छात्रवृत्ति

काठमाडौं । राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर नगरपालिकाले ‘छोरीहरू’ को उच्च शिक्षामा विशेष ध्यान दिँदै, नर्सिङ शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रम अन्तर्गत नगरपालिकामा स्थायी बसोबास भएका ‘छोरीहरू’ लाई पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने नगरप्रमुख दीपक रिसालले जानकारी दिए । यस कदमले नगरपालिकाका छोरीहरूको शैक्षिक तथा व्यावसायिक प्रगतिको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको रिसालको भनाइ छ । नगरपालिकाले आफ्ना स्थायी नागरिकहरूलाई यो छात्रवृत्ति कार्यक्रमको फाइदा उठाउनका लागि अनुरोध गरेको छ । कार्यक्रमको लागि आवेदन दिने इच्छुकहरूले आफ्नो नागरिकता प्रमाण–पत्र वा मतदाता परिचय पत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने नगरप्रमुख रिसालले बताए । नगर प्रमुख रिसालले, यस कार्यक्रम मार्फत् नर्सिङ क्षेत्रमा नेपाली छोरीहरूको सहभागिता बढ्ने र उनीहरूको भविष्य उज्वल बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । शिक्षाका अतिरिक्त स्वास्थ्य, साहित्य, खेलकूद लगायतका क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाले संचालन गर्दै आएका गतिविधिहरू अरु पालिकाका लागि पनि प्रेरणाको स्रोत भएका छन् ।