रिलायन्स लाईफ इन्स्योरेन्सको पहिलो शाखा पाटनमा, चैतभित्रै १६ वटा शाखा खोल्ने तयारी

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पहिलो शाखा पाटनमा विस्तार गरेको छ । कम्पनीले जीवन बीमा व्यवसाय फराकिलो पार्न शाखा तथा उप-शाखाहरु विस्तारलाई प्राथमिकतामा राख्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो । कम्पनीले चैत मसान्तभित्र १६ वटा शाखा विस्तार गर्ने भएको छ । साथै, कम्पनीले यस आर्थिक वर्षको अन्त्यसम्ममा नियामक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । यस इन्स्योरेन्सले सुरूवातबाट ३ वटा जीवन बीमा योजना संचालनमा ल्याएको छ । साथै, निकट भविष्यमा थप ४ बीमा योजना संचालनमा ल्याउने भएको छ ।

सिभिल बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् । साथै, बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा निर्जीवनबीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ६७ वटा शाखा, ६५ वटा एटीएम काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।