एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । यस साता एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा कुमारी बैंकको अग्रस्थानमा छ । बैंकको ३ लाख ९० हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यस साता २अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो । गत साता १८४ कम्पनीको १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरका ४२ लाख ५४ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन १हजार १९१. ९८ अंकमा पुगेको छ । रासस

महालक्ष्मी विकास बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजीका कामु प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।

जनता बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले लाइफ इन्स्युरेन्ससँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।