घुम्ती बीमामा एनसिस र नेपाल इन्स्योरेन्सबीच सहकार्य, बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्य
काठमाडौं । बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानमा नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसी) बीच सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच एमओयू भएको हो । एमओयूमा एनसिसका तर्फबाट अध्यक्ष लक्ष्मी श्रेष्ठ र एनआईसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरे । उक्त एमओयूमा सम्झौतासँगै नेपाल इन्स्योरेन्स कम्पनी घुम्ती बीमाअन्तर्गत हुने १० कार्यक्रमको सहप्रायोजकको रुपमा जोडिएको छ । कार्यक्रमको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो । घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।
सात महिनामा १४ वटा हिमाल चढ्ने उद्देश्य बोकेका निर्मल पूर्जालाई प्रिमियर ईन्स्योरेन्सले सहयोग गर्ने
काठमाडौ । प्रिमियर ईन्स्योरेन्स कम्पनीले ७ महिनामा विश्वका ८ हजार मिटर उचाई भएका १४ वटा हिमाल चढ्ने उद्देश्य राखेका निर्मल पूर्जा‘निम्स’ लाई सहयोग गर्ने भएको छ । चितवनमा जन्मिएका पूर्जालाई ईन्स्योरेन्स कम्पनीले दुर्घटना बीमा, व्यक्तीगत दुर्घटना बीमा, हाई अल्टिच्यूट बीमा तथा आवश्यकताको अवस्थामा रेक्यूसम्ममा साथ दिने भएको छ । पर्यटकीय क्षेत्रमा रहेको जोखिम बहन गर्न ईन्स्योरेन्स कम्पनीले आफ्नो तर्फबाट सहयोग गर्न लागेको जनाएको छ । पूर्जालाई हामा आईरन स्टिलको समेत साथ रहने जनाईएको छ । पर्वतारोहण कै सन्दर्भलाई लिएर मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रिमियर ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुधुम्नप्रसाद उपाध्याय तथा हामा आईन एण्ड स्टीलका प्रबन्ध निर्देशक राजनकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रिमियर ईन्स्योरेन्सका सिईओ उपाध्यायले भने– ‘नेपालमा पर्यटकीय क्षेत्रमा धेरै अवसरहरु छन्, जोखिमहरुपनि प्रशस्तै रहेका छन्, यदी हामीले बीमाको बारेमा जानकारी लिएमा यस्ता जोखिम बहन गर्न सघाउ पुग्दछ ।’ को हुन त निर्मलपूर्जा ? निर्मल पूर्जा सन् २००३ मा ब्रिटिश गोर्खा बिग्रेडमा नियुक्त भई हाल ‘ब्रिटिश स्पेशल बोट सर्भिस’ को विषेश अंगको रुपमा कार्यरत छन् । उनले सन २०१२ देखी पर्वतारोहणमा सहभागी भई एभरेष्ट बेस क्याम्पसम्मको अनुभव प्राप्त गरेका छन् । पर्वतारोहणको ज्ञान नभएपनि पूर्जाले लबोचे इस्ट हिमाल ६ हजार १ सय मिटर चढ्ने निर्णय गरे । उनले १३ गोर्खालाई चुचुरोमा पुर्याउन सफल भएका थिए । १० घण्टा १५ मिनेटमा एभरेष्टदेखी लोत्से आरोहण गरी २० घण्टाको लोत्से, मकालु कम समयमा चढेर किर्तिमान समेत कायम गरेका छन् । विश्वका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिमालहरु ७ वर्ष ११ महिना १४ दिनमा चढेर पहिले नै एक पर्वतारोहीले आरोहण गरी पूरा गरी विश्व रेकर्ड कायम राखेको पाईन्छ । पूर्जाले सो विश्व रेकर्ड ७ महिनामा पूरा गर्ने लक्ष्य राखेका छन् ।
सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स संझौता
काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । ग्र्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् । यो सम्झौताले निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकले विश्वास लिएको छ ।