प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले संस्थापक समूहको सञ्चालक पदमा विशाल अग्रवाल सहित चार जनालाई निर्वाचित गरेको छ । सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको हो । सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा मार्फत निर्वाचित भएका सञ्चालक विशाल अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको साधारण सभा बाराको सिमरा स्थित होटेल इच्छा प्रा. लिमा भएको थियो ।

दाेलखाकाे एक गाउँपालिकाले २५ हजार जनाकाे कोरोना बीमा गरिदिने

दाेलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बीमा गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा पहिलो चरणमा कूल जनसङ्ख्याको ४८ प्रतिशत नागरिकको कोरोना बीमा गर्ने योजना छ । कूल २५ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकाले पहिलो चरणमा १२ हजारको कोरोना बीमा गर्ने योजना ल्याएको सो गाउँपालिकाले जनाएको छ । सहकारीको संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको रु नौ लाख खर्च गरेर उनीहरुको कोरोना बीमा गरिदिने निर्णय भएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनले भने, “सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकको बीमा गरिदिने छौँ ।” सहकारीको सदस्य भएमा सहकारीले रु १००, व्यक्तिले रु १०० र गाउँपालिकाले रु १०० तिर्ने गरी बीमा गरिदिने व्यवस्था गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । सहकारीको सदस्य नभएमा बीमा गर्ने व्यक्तिले २०० तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले १०० थप गरी बीमा गरिदिने मिश्रले जानकारी दिए । तामाकोशी गाउँपालिकामा हालसम्म एक जनामा पनि कोरोना सङ्क्रमण नदेखिएको भए पनि बीमा कार्यक्रमबाट नागरिकले भरपुर लाभ लिनसक्ने गाउँपालिकाको अपेक्षा रहेको सो गाउँपालिकाका वडा नं १ का अध्यक्ष महेश काफ्लेले बताए । रासस

काेराेना बीमा क्षतिपूर्ति बीमांककाे २५ र ७५% मात्र, निजी क्षेत्रकाे पीसीआर रिपाेर्ट मान्य

काठमाडौंं । बीमा समितिले कोरोना बीमालेख र कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको छ । संशोधनसँगै नयाँ बीमालेख लिने बीमितलाई कोरोना संक्रमण भई घरमा आइसोलेशनमा बसे बीमा रकमको २५ प्रतिशत पाउने व्यवस्था गरिएको छ । त्यस्तै, अस्पताल भर्ना भई उपचार गरेका बीमितले बीमाङ्कको ७५ प्रतिशत पाउने छन् । एक लाख रुपैयाँ बीमाङ्कको पोलिसी लिएका बीमितलाई कोरोना संक्रमण पुष्टि भएका घरमा आईसोलेशनमा बसेको अवस्थामा बीमकले २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने छ भने अस्पताल भर्ना भई उपचार गर्नेलाई बीमकले ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । नयाँ संशाेधन सँगै क्षतिपूर्ति रकम २५ र ७५ प्रतिशतले घटेकाे हाे । बीमितले बीमा दावी गर्नको लागि पीसीआर जाँच गर्दा पोजेटिभ भएको रिपोर्ट, अस्पताल भर्ना र डिस्चार्ज भएको भौचर तथा होम आइसोलेशनमा बसेको भए स्थानीय तहबाट प्रमाणित सिफारिस चाहिने व्यवस्था गरिएको छ । यसअघि पीसीआर पोजेटिभ रिपोर्ट मात्र लिएर बीमा दावी गर्न पाइने व्यवस्था थियो भने बीमाङ्कको पुरै रकम (१ लाख वा ५० हजार) पाउने व्यवस्था गरिएको थियो । नेपालका माैलिक बीमा पाेलिसी भनिएकाे काेराेना बीमा निकै लाेकप्रिय भएकाे छ । याे पाेलिसी जारी भएकाे ४ महिनामा १० लाखभन्दा बढी बीमा पाेलिसी बिक्री भएकाे थियाे । तर यसले धेरै जाेखिम निम्त्याएकाे भन्दै बीमा कम्पनीहरूले चिन्ता व्यक्त भएपछि बीमा समितिले बीमा पाेलिसी र मापदण्ड संशाेधन गरेकाे हाे । कोरोना बीमा मापदण्ड संशोधनसँगै निजी क्षेत्रका अस्पताल वा ल्यावले दिएको पीसीआर रिपोर्टलाई बीमा समितिले मान्यता दिएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा कोभिड-१९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ’ संशोधित कोरोना बीमा मापदण्डमा उल्लेख गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका अस्पतालहरुले दिएको पीसीआर रिपोर्टलाई मात्र मान्यता दिने उल्लेख गरिएको थियो । तर अस्पताल वा प्रयोगशालाका कर्मचारी वा लगानीकर्ताको हकमा भने फरक संस्थाबाट लिएको रिपोर्ट मात्र स्वीकार गर्ने उल्लेख गरिएको छ । त्यस्तै बीमा दावी भुक्तानी बीमा पुलबाट मात्र हुने छ । जुनसुकै बीमा कम्पनीबाट बीमा गरिएको भए पनि बीमा पुलले तोकेका स्थानबाट मात्र दावी भुक्तानी लिन सकिनेछ । एकल बीमालेख सम्बन्धी व्यवस्था हटाई सामूहिक बीमालेख मात्र जारी गर्ने व्यवस्था गरिएको छ । शंकास्पद बीमा दावी अध्ययन गर्न पनि बीमा समितिले बीमा दावी व्यवस्थापन उपसमिति गठन गरेको छ । त्यसमा बीमा समितिको निर्देशक संयोजक, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बीमक संघको प्रतिनिधि सदस्य रहेका छन् । [pdf id=236947] सम्बन्धित समाचार विज्ञले सुझाए कोरोना बीमा संकटको निकास कोरोना बीमा भुक्तानी सरकारले गर्दैन- अर्थसचिव, पहिला स्वीकृत गरेर अहिले भाग्न मिल्दैन- बीमा समिति निजी अस्पताल वा ल्याबकाे पीसीआर रिपोर्टलाई बीमाले स्वीकार गर्नुपर्छ-दीप प्रकाश पाण्डेसँगकाे अन्तरवार्ता कोरोना बीमा मापदण्ड संशोधन गर्न समिति गठन, २१ गतेसम्मको दावी ७ दिनभित्र भुक्तानी गर्नुपर्ने कोरोना बीमा दाबी माग गर्दै आउन थाल्यो नक्कली रिपोर्ट, निजी ल्यावको पीसीआर नपत्याउनुः समिति कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं