प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्डिङ क्याम्पियन: ‘ढुक ढुक हैन, ढुक्क होऔँ’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो । ‘जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सृजना गर्दछ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । प्रसिद्ध कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धन गरिसकेको कम्पनीले यो ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा समेत उनलाई नै अनुबन्ध गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारिएको जनाइएको छ । जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ । यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथ साथै जीवन बीमा व्यवसाय प्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ ।

नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभाशं पारित

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सको २३औं र २४औं वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न भएको छ । मंगलबार कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशले लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आव २०७८/७९ र आव २०७९/८० को वार्षिक कार्यप्रगति प्रतिवेदनमा छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी स्वीकृत गरिएको छ । त्यसैगरी आव २०७९/८० को लागि लेखापरीक्षक एसएआर एसाेसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ ।  सभाले आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । साधारण सभाले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसका साथै सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीहरूबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।

भरतपुर महानगरले गरिदियो ७ सय ७६ छोरीको बीमा

चितवन । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने ७ सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो । महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बीमा गरिएको छ । भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरूका लागि यो कार्यक्रम लागू गरिएको हो । बालिकाको जन्म भएपछि महानगरले बीमा बराबरको रकम ५० हजार बाल उमंग बीमाका लागि प्रदान गर्ने छ । उनले भनिन्, ‘१५ वर्षे बीमा कार्यक्रम भएकाले हरेक वर्ष नवीकरण महानगरले गर्नेछ ।’ १५ वर्षपछि ती बालिकाले १ लाख पाउने उनले बताइन् । महानगरपालिकाले यस वर्ष बीमा नवीकरण र नयाँ बीमा गरी २५ लाख ७७ हजार ८ सय ६२ रुपैयाँ बीमा कम्पनीलाई बुझाएको छ । महानगरपालिका प्रमुख दाहालले सरकारी अस्पतालमा प्रसूति गर्न आउनेको सङ्ख्या बढाउन र छोरा र छोरीमा हुने विभेद अन्त्यका लागि महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताइन् । आफू पहिलोपटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरूको बहिरङ्ग टिकट निःशुल्क गरेको जनाउँदै उनले दोस्रो कार्यकाल प्रमुख भएर आएसँगै छोरी बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । उनले भनिन्, ‘छोरीहरू उच्च शिक्षा पढ्ने समयमा यो बीमाको रकम पाउने भएकाले कोही पनि छोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर नै यो कार्यक्रम ल्याएका हौँ ।’