क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हिमालयन लाइफको पुँजी ९.१४ अर्ब, १४ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते काठमाडौंमा बिहान साढे १० बजे साधारण सभा डाकेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँको १४ प्रतिशतका दरले १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बोनस सेयर पारित गर्नेछ । बोनस सेयरमा लाग्ने कर सेयरधनीहरूले नै भुक्तानी गर्नुपर्नेछ । बोनस सेयरपश्चातु कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ पुग्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, खर्च अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिनका लागि बुकक्लोज तोकेको छ । त्यसैले माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायमा सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
निर्जीवन बीमा अभिकर्ता सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै राष्ट्रिय बीमा कम्पनी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता सम्बन्धी आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले माघ २० गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन गर्न लागेको जनाएको छ । कम्पनीले कृषी, पशुपंक्षी तथा जडिबुटी बीमाको अभिकता सम्बन्धी तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीको केन्द्रिय कार्यलयमा बिहान १० बजेदेखि ४ बजेसम्म तालिम हुनेछ । तालिम सहभागी हुनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ । तालिममा सहभागी हुनका लागि निबेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो, संस्थाको हकमा कुनै एक संचालकले तालिम लिनुपर्ने र प्यान कार्डको प्रतिलिपि आवश्यक पर्दछ ।