नेशनल लाईफको एमडिआरटी तालिम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई तालिम दिएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन अभिकर्ताको भूमिका महत्वपूर्ण हुने बताए । उनले केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए । जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गईरहेको भन्दै उनले विगत केही बर्षदेखी कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएको जानकारी गराए । ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको लक्ष्य हासिल गरेको उल्लेख गरे । ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई सम्मान गरे ।
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम छनोट, फागुन १० गते अन्तरवार्ता
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम छनोट (सर्टलिष्ट) गरिएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ५ जनाको नाम सर्टलिष्ट गरेको हो । सिफारिस समितिका अनुसार आवेदन दिएका १२ जनामध्ये कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्ट गरिएको हो । रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत छन् भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । उनी हाल कृषि विकास बैंकको अध्यक्ष समेत हुन् । यस्तै, सर्टलिष्टमा परेका ओझा अध्यापन गराउँछन् । सर्टलिष्टमा परेका पाँचै जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते २ बजे अर्थमन्त्रालयमा बोलाइएको छ । प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले गत पुस २६ गते आवेदन आह्वान गरेको थियो । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचार मुद्धामा सूर्यप्रसाद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन छ । सिलवाल निलम्बित भएपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम पुँजीको ३० प्रतिशत सेयर जारी गर्ने भएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका कूल २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल ढुङ्गाना र बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । विसं २०८० साल चैतदेखि ट्रष्ट माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।