‘अर्थतन्त्रमा सुधार आउँदैछ, एमालेको अबको अध्यक्ष पनि ओली नै हुन्’
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुन् । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले । उनले अर्थ मन्त्रालय सम्हालेको चार महिनाका कामकारबाही, हालको अर्थतन्त्र अर्थतन्त्र, एमालेको आन्तरिक राजनीतिका विषयमा केन्द्रित रहेर राससले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । यहाँले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको चार महिना बितिसकेको छ । यस अवधिमा अर्थतन्त्रका समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन के पहल गर्नुभयो ? अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हामी मुलुकको समग्र आर्थिक अवस्थाको बारेमा सुक्ष्म रुपमा जानकारी लिन, समस्या पहिचान गर्न र समाधान गर्नमा केन्द्रित भएका छौं । परिणामतः अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखापर्दै गएका छन् । निजी क्षेत्रको आत्मविश्वास बढेको छ र लगानीको वातावरण बन्दै गएको छ । मन्त्रलयमा बहाल भएलगत्तै हामीले सय दिने कार्ययोजना बनायौं र तीमध्ये ९० प्रतिशत भन्दा बढी कार्यान्वनय गरेका छौं । मुलुकको अर्थतन्त्र सुधारका लागि हामीले अर्थ जगतका अनुभवी, विज्ञ र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिहरु सम्मिलित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेका छौँ । यसबीचमा हामीले नीतिगत क्षेत्रमा केही महत्वपूर्ण काम पनि सम्पन्न गरेका छौं । बीमा नियमावली, साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निस्कासन तथा कारोबारसम्बन्धी नियमावली, भन्सार महसुल नियमावली, आन्तरिक राजस्व परिचालन रणनीति, भन्सार मूल्यलाई कारोबार मूल्यमा आधारित बनाउने रणनीति, सार्वजनिक संस्थानमा ऋण तथा लगानीसम्बन्धी नीति, आन्तरिक ऋण निस्कासन तथा व्यवस्थापन कार्यविधि पारित भई कार्यान्वयनमा आएका छन् । उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम सम्बन्धित खरिदकर्ताको बैंक खातामा फिर्तादिने कार्य प्रारम्भ भएको छ । तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेइकल स्क्यानर मेशिन प्रयोगमा ल्याइएको छ । भन्सार प्रज्ञापन पत्रको मूख्य मूख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई एसएमएस वा इमेल मार्फत गराउने प्रणाली सञ्चालनमा आएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकिकरण (डिम्याट) को कार्य आरम्भ भएको छ । यहाँले धेरै काम भयो भन्नुभयो तर निर्माण व्ययवसायीको भुक्तानी, राजश्व सङ्कलन, पुँजीगत खर्च लगायतका समस्या समाधान हुन त बाँकी नै देखिन्छ नि ? हामीले जिम्मेवारी लिँदा अघिल्लो वर्ष भुक्तानी हुनुपर्ने दायित्व समेत बाँकी रहेको चिन्ताजनक अवस्था थियो । यस बीचमा बाँकी भुक्तानी दायित्व पूरा गर्नका लागि अर्थ मन्त्रालयले सहजीकरण गरेको छ र क्रमशः भुक्तानी हुँदै पनि गएको छ । कानुन सम्मत ढंगले सिर्जित भुक्तानी दायित्व यथाशीघ्र पुरागर्ने क्रम जारी छ । आयोजनाहरुको वर्गीकरण र बहुवर्षीय स्रोत सुनिश्चितताका बारेमा विद्यमान द्विविधा हटाउने र स्पष्ट मापदण्डका आधारमा अघि बढ्ने प्रयास भइरहेको छ । विदेशी मुद्राको सञ्चिती, भुक्तानी सन्तुलन, विप्रेषण आप्रवाह, बैंकहरुमा तरलताको अवस्था, ब्याजदर जस्ता विषयहरुमा उल्लेखनीय सुधार भएको छ । पुँजीबजार चलायमान र सुधारोन्मुख अवस्थामा आएको छ । लामो सयमदेखि अनिर्णित अवस्थामा रहेको धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ३.२ प्रतिशत राजस्व बृद्धिदर रहेकोमा यसवर्षको सोही अवधिमा १७ प्रतिशतले वृद्धि भएको छ । राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रीय दु्रत गस्ती टोली परिचालन लगायतका विभिन्न उपायहरु अवलम्बन गरिएको छ । वैदेशिक सहयोग (अनुदान तथा ऋण) परिचालनको अवस्था तुलनात्मक रुपमा सकारात्मक बन्दै गएको छ । त्यसैगरी महङ्गी र मुद्रास्फिती नियन्त्रित अवस्थामा छ । पुँजीगत खर्च गतवर्षको पहिलो चार महिनाको तुलनामा यसवर्ष चार अर्बले बढी भएको छ । गैरआवासीय नेपालीले लगानी गर्ने गरी स्थापना गरिएको एनआरएनए डेभलपमेण्ट फण्ड कार्यान्वयनको चरणमा आइपुगेको छ । सरकारी स्वामित्वका बन्द तथा रुग्ण उद्योग तथा प्रतिष्ठानहरुको अवस्था यकिन गरी पुनः सञ्चालन गर्न र सञ्चालनमा रहेकाहरुको क्षमता विस्तार गर्न तयारी कार्य अघि बढाइएको छ । निजीक्षेत्र लगायत उत्पादनका हरेक क्षेत्रको मनोबल उठाउन सहयोग र सहजीकरण गरिएको छ । विश्व बैंकका अनुसार गत वर्ष ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यो वर्ष ५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ । नेपाल सन् २०२६ मा अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुने आधार तयार भइरहेको छ । केही हप्ता अघि हामीले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय क्षेत्रको प्रतिष्ठित संस्था फिच रेटिङबाट सोभरेन कन्ट्री रेटिङको काम सम्पन्न गरेका छौँ र ‘डबल बि माइनस्’ नतिजा सार्वजनिक भएको छ । यसबाट नेपालको अवस्था दक्षिण एशियामा भारतपछिको दोस्रो स्थानमा छ भन्ने पुष्टि भएको छ । नेपाल लगानीका लागि अनुकूल गन्तव्य हो भन्ने सन्देश विश्वव्यापी रुपमा नै प्रवाह भएको छ । यहाँ त आफूले गरेका कामहरूप्रति सन्तुष्ट जस्तो देखिनुहुन्छ । तर आमनागरिक विशेषतः निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका छन् । यस सम्बन्धमा के भन्नुहुन्छ ? हामीले सबै समस्याको समाधान भयो भनेका छैनौं । हाम्रो अर्थतन्त्रका समस्याको बारेमा हामी जानकार नै छौं । समस्या समाधान गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी हाम्रो हो, सरकारको हो भन्ने कुरामा स्पष्ट छौँ । भन्न के खोजिएको हो भने हामीले जिम्मेवारी सम्हाल्दा विरासतले छाडेका समस्याको चाङमा उभिनुपर्ने अवस्था थियो । स्रोत ब्यवस्थापन, विनियोजन कौशल र बजेट अनुशासनका प्रश्नमा अनेकन समस्याहरु थिए । एकै पटक हजारौं हजार आयोजना थप गरिएको, ३१ प्रतिशत वृद्धिको लक्ष्य राखेर विश्वास गर्न नसकिने स्रोत अनुमान गरिएको जस्ता गम्भीर समस्याहरु हाम्रा सामु उपिस्थित थिए । समग्र मागमा भारी गिरावट, उद्योगहरुको उत्पादनमा ६० प्रतिशतसम्मको गिरावट, निर्यातमा मात्र होइन, आयातमा पनि भारी मात्रामा गिरावट, रोजगारीमा कटौती, राजश्व परिचालन र पुँजीगत खर्चको चिन्ताजनक अवस्था, सरकार अनिवार्य दायित्व भुक्तानीबाट समेत पन्छिन खोजको अवस्थाका साथै बजेट निर्माणसँगै जोडिएर आएका अनेकन समस्याको चाङ थियो । दुईचार महिनामा अर्थतन्त्रका यी सबै सङ्ग्रहीत समस्याको समाधान सम्भव थिएन । तर पनि यो छोटो अवधिमा उल्लेखनीय काम सम्पन्न भएका छन् । मूल कुरा मुलुक कता जाँदैछ र मुलुकको अर्थतन्त्र कता जाँदै छ भन्ने हो । हामीले मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेका छौँ र सकारात्मक दिशातर्फ फर्काएकाछौँ । निजी क्षेत्र लगायत उत्पादनका हरेकजसो क्षेत्रमा आत्मविश्वास बढ्दै गएको छ । अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखापरेका छन् र तिनीहरुलाई अझ प्रभावकारी बनाउनु पर्नेछ । बैंकमा सस्तो ब्याज र पर्याप्त तरलता छ तर त्यसलाई उत्पादन र उत्पादकत्व वृद्धिमा, रोजगारी सिर्जनामा परिचालन गर्नुपर्ने छ । निजी क्षेत्रका जायज सरोकारहरुलाई सम्बोधन गर्नुपर्ने छ । आम नागरिकलाई रोजगारी वा स्वरोजगारीसँग जोड्नु छ, उनीहरुको आयआर्जन बढाउनु छ र समग्र मागमा वृद्धि गर्नुछ । हो, हामी यही काममा लाग्दैछौँ । हामी अर्थतन्त्रलाई चलायमान बनाउने र राजस्व परिचालन तथा पुँजीगत खर्च वृद्धिगर्ने कुरामा अझ बढी केन्द्रीत भैरहेका छौँ । अब अलिकति फरक प्रसङ्गमा जाऔं । कांग्रेस र एमालेको बीचमा देखापरेको दरारले गठबन्धन पूरा अवधि चल्दैन भन्ने चर्चा हुन थालेको छ । मतभिन्नताका बीचमा यस गठबन्धनलाई कसरी गन्तव्यसम्म पुर्याउनु हुन्छ ? संविधान निर्माण भएपछि नेपाली जनताको चाहना सामाजिक न्याय सहितको समृद्धि हो । तर राजनीतिक अस्थिरताले हामीलाई त्यसतर्फ अघि बढ्न दिइरहेको थिएन । लामो इतिहास, योगदान र हैसियत भएका कांग्रेस, एमाले जस्ता पार्टीसँग बहुमत नहुने, साना दलहरुलाई जोडेर निर्माण गरिएको बहुमत लामो समय टिक्न र जनताको पक्षमा राम्रो डेलिभरी दिन नसक्ने समस्या हाम्रा सामु थियो । २०७९ सालमा निर्वाचित भएको प्रतिनिधिसभा भित्रबाट राजनीतिक स्थायित्वसहितको विकासको यात्रा तय गर्न कांग्रेस एमालेको सहयात्रा बाहेक अर्को कुनै विकल्प थिएन । निर्वाचनपछिका थरी–थरीका गठबन्धनका अभ्यास र तीनका परिणामले पनि यही शिक्षा दिएको थियो । यही पृष्ठभूमीमा यो सरकार बनेको हो । नेपाली कांग्रेस र नेकपा (एमाले)को बीचमा कायम भएको यो राजनीतिक सहयात्रा कुनै काँचो धागोमा अडिएको छैन । यो निश्चित ध्येय र उद्देश्यमा आधारित छ । राजनीतिक स्थायित्वको बलमा संविधानको रक्षा र विकास, सबै प्रकारका अतिवाद र अस्थिरताका प्रवृत्तिहरुको अन्त्य, सामाजिक न्यायसहितको विकास र समृद्धि यो सहयात्राको मूख्य उद्देश्य हो । मुलुकलाई सकारात्मक दिशामा लैजान वर्तमान प्रतिनिधिसभा भित्र खोज्न सकिने यो अन्तिम विकल्प पनि हो । कांग्रेस र एमालेको बीचमा यो सहयात्रा नहोस् भन्नेहरु निकै सक्रिय थिए । तिनको प्रयासलाई असफल पारेर यो सहयात्रा सुरु भएको हो । अब पनि कांग्रेस र एमालेको बीचमा दरार सिर्जना गर्न र यी दुई प्रमुख पार्टीलाई अलग गर्नका लागि अनेक प्रकारका कोसिस भएका छन् र भइरहने पनि छन् । तर हामीले त्यस्ता प्रयासहरुलाई परास्त गर्छौैं राजनीतिक स्थायित्व सुनिश्चित गर्छौं । विकास, समृद्धि र सामाजिक न्यायको अभियानलाई तिब्र पार्छौं । जनतामा विशेषगरी युवा–युवतीमा, निजी लगायत उत्पादनका हरेक क्षेत्रमा आशा भर्छौं । यो सहयात्रा २०८४ को आम निर्वाचनसम्मका लागि हो । त्यतिबेलासम्म नै कायम रहन्छ, कसैले प्वालपार्ने वा भत्काउने चेष्टा नगरे हुन्छ । त्यसो भए यहाँले भन्नुभएजस्तै कांग्रेस र एमालेका बीचमा कुनै समस्या नै छैन त ? तपाईंलाई आश्चर्य लाग्ला हाम्रा बीचमा आजसम्म त्यस्तो कुनै गम्भीर समस्या सिर्जना भएकै छैन । हामीले सरकार सञ्चालनका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाली कांग्रेसका सभापतिज्यू र दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित साझा संयन्त्र निर्माण गरेका छौँ । संयन्त्र अन्तर्गत दुई पार्टीका चार–चार जना नेता सम्मिलित कार्यदल छ । महत्वपूर्ण विषयमा निर्णयमा पुग्नुअघि कार्यदल र संयन्त्रमा छलफल गर्ने प्रणालीको पनि विकास गरका छौं । जसले गर्दा समस्या सिर्जना हुनै पाउँदैन । संयन्त्र, कार्यदल र मन्त्रिपरिषदमा अत्यन्त जीवन्त र हार्दिक वातावरणमा छलफल हुने गरेको छ । हामीले यही प्रणालीलाई निरन्तरता दिन्छौँ र सरकारमा सहभागी पार्टी, विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको आपसी सम्बन्धलाई यसरी नै २०८४ को आम निर्वाचनसम्म लैजान्छौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैमात्र मित्र राष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । यो भ्रमणलाई यहाँले कसरी हेर्नुभएको छ ? स्वतन्त्र एवम् सार्वभौम राष्ट्रको जननिर्वाचित सरकार प्रमुखको हैसियतमा सम्पन्न भएको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चीन भ्रमण अत्यन्त सफल र ऐतिहासिक रह्यो । यस भ्रमणले नेपाल र चीनबीचको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाएको छ । भ्रमणका क्रममा विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिनुका साथै नयाँ ऐतिहासिक महत्वका सम्झौताहरु पनि सम्पन्न भएका छन् । नेपालको आर्थिक विकास, विशेषगरी पूर्वाधार विकासमा यी सम्झौताहरुको विशेष र दूरगामी महत्व छ । तर पनि भ्रमणको प्रभाव त मिश्रित जस्तो देखियो नि । कांग्रेसकै कतिपय नेताले चीन भ्रमणका क्रममा भएका सम्झौता, विशेषगरी फ्रेमवर्क फर बिआरआई कोअपरेशन एग्रिमेण्टप्रति नकारात्मक टिप्पणी गरिरहेको देखिएको छ । भ्रमणको सफलतामथि प्रश्न खडा भएन र ? होइन, विषयलाई त्यसरी बुझ्न हुँदैन । नेपाली कांग्रेसको आधिकारिक धारणालाई पार्टी सभापतिले प्रतिनिधित्व गर्नुहुन्छ भन्ने मैले बुझेको छु । कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको चीन भ्रमणलाई अत्यन्त सफल भन्नुभएको छ । त्यति मात्र होइन उहाँले सम्माननीय प्रधानमन्त्री र उहाँको नेतृत्वको सरकारले राम्रो काम गरेको पनि बताउनुभएको छ । फ्रेमवर्क फर बेल्ट एण्ड रोड कोअपरेशन एग्रिमेण्टका बारेमा सम्झौता गर्नुपूर्व दुवै पार्टीको शीर्ष नेतृत्व तहमा गम्भीरतापूर्वक छलफल भएको छ, के गर्ने के नगर्ने भन्ने विषयमा सहमति भएको छ । बिआरआई सम्झौतमा भएको हस्ताक्षर नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति अनुरुप नै छ । कसैले यस विषयलाई उछालेर दुई प्रमुख पार्टीका बीचमा अन्तरविरोध सिर्जना गर्न सकिन्छ कि भन्ने ठानेको छ भने त्यो भ्रम मात्र हो । एमालेभित्रको अन्तरविरोधलाई भुसको आगोजस्तो अवस्थामा छ भन्छन् नि मानिसहरू । यस विषयमा यहाँको भनाइ के छ ? नेकपा (एमाले) एउटा यस्तो पार्टी हो, जहाँ नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि क्रियाशील छौं । जनताको बहुदलीय जनवाद र दशौँ राष्ट्रिय महाधिवेशनका निष्कर्षहरुप्रति सिङ्गो पार्टी पङ्क्तिमा गहिरो विश्वास छ । त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूप्रति समस्त पार्टी पङ्क्तिको उच्च सम्मान र भरोसा छ । उहाँ वैधानिक ब्यवस्था अनुरुपको निर्वाचित अध्यक्ष मात्र होइन, समस्त पार्टी पङ्क्तिको विश्वास जितेको आस्थाकोे अध्यक्ष हुनुहुन्छ । पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे–जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाँउसम्म आइपुगेको छ । उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन । हो, पार्टीभित्र परिस्थिति वा घटना विशेषमा आधारित भएर असहमति वा अन्तरविरोधहरु देखा पर्न सक्तछन् तर हामीले तीनलाई तत्क्षण त्यही ठाउँमा समाधान गर्दै पार्टीको आन्तरिक एकतालाई अक्षुण्ण राख्छौं र पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउँछौं । अब हुने नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ । अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै संभावना छैन । नेकपा (एमाले)लाई मात्र होइन, सिङगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भए के एघारौं महाधिवेशनपछि पनि केपी ओली नै अध्यक्ष रहि रहनुहुन्छ ? तपाईंहरूसँग नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास नभएको त होइन ? प्रश्न आत्मविश्वासको होइन, प्रश्न सक्षम नेतृत्वको हो । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले नेकपा (एमाले)लाई मात्र होइन सिङगो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहनु भएको छ । उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा (एमाले)मा छैन । अनि किन खोज्नु प¥यो नेतृत्वको विकल्प ? नेतृत्व भनेको रहरको बिषय पनि होइन । यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको बिषय पनि हो । म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस बिषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन । तपाईले एघारौं महाधिवेशनमा केपी ओलीको विकल्प छैन भन्ने निष्कर्स प्रस्तुत गर्नुभयो । लामो समयदेखि उहाँसँग समिपमा रहेर काम पनि गर्नुभएको छ । यहाँले केपी ओलीलाई कसरी बुझ्नुहुन्छ ? उहाँ समकालीन नेपाली राजनीतिको सर्वाधिक लोकप्रिय, सबैभन्दा भिजनरी, आफ्नो आस्था र उद्देश्यप्रति अविचलित, जनता र राष्ट्रको हितका विरुद्ध कहिल्यै र कसैसँग सम्झौता नगर्ने, आफूमा निहित योग्यता, उर्जा र सिङ्गो जीवनलाई जनता र राष्ट्रको हितमा समर्पण गर्नुभएका नेता हुनुहुन्छ । उहाँ हावाको तालमा बग्ने होइन कि आवश्यक पर्दा ‘एण्टी करेण्ट’ पनि उभिन सक्ने र जनताको मनमा बास बनाउन सक्ने नेता हो । तर जनताका बैरीका लागि भने उहाँ अत्यन्त कठोर हुनुहुन्छ । त्यस्तै मानिसको जीवनको मूल्य बुझेको, सबै उमेर समूह, सबै जाति, भाषा, संस्कृति र लिङ्गका नेपालीले उत्तिकै प्रिय ठान्ने तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत र मर्यादाको प्रतिनिधित्वका साथै नेपालको पक्षमा पैरवी गरी दुनियामा नेपाललाई चिनाउन र नेपालको प्रतिष्ठा बढाउन सक्ने नेताका रुपमा मैले चिनेको छु । उहाँ एकपटक देखेको, सुनेको र भोगेको प्रसङग कहिल्यै नविर्सने असाधारण स्मरण शक्ति भएको ‘इन्साक्लोपेडिया’ जस्तो विलक्षण प्रतिभाको पनि धनी हुनुहुन्छ । यसका साथै समस्त नेपालीको साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो भनेर शुत्रवद्ध गर्ने नेपाली विशेषताको समाजवादका स्वप्नद्रष्टा एवं नेपालले विरलै प्राप्त गर्न सक्ने एक राजनेताका रुपमा मैले उहाँलाई बुझेको छु । मलाई लाग्छ सरलता र दृढता उहाँको जीवनका अभिन्न विशेषता हुन् । उहाँसँग सङ्गत गर्ने र सम्वाद गर्नेहरु असहमत हुन त सक्लान तर उहाँबाट प्रभावित नहुने व्यक्ति भने विरलै छन् । अध्यक्ष ओलीमा अप्ठ्यारोलाई सजिलोसँग भोग्न सक्ने र सजिलोलाई सामान्य रुपमा लिन सक्ने असाधारण खुबी छ । त्यस्तै उहाँसँग परिस्थिति बुझ्ने र समाधान खोज्ने विलक्षण क्षमता पनि छ ।
नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन् : डा. दिवित अधिकारी
काठमाडौं । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष धेरै चिसो हुने संकेत देखिन थालेको छ । जति चिसो बढ्दै जान्छ बिरामी पर्नेहरूको संख्या पनि बढ्ने गर्दछ । हाम्रो दैनिक बानी, व्यवहार, आहारविहारले चिसोमा हुने संक्रमणको जोखिम निर्धारण गरिरहेको हुन्छ । हाम्रो सानो हेलचेक्राँई र लापरवाहीले ठूलो जोखिम र दुर्घटना निम्त्याइरहेका हुन्छन् । चिसोमा श्वासप्रश्वास सम्बन्धी समस्या र पेट सम्बन्धी समस्या बढी देखिन्छ । उमेरगत समस्या पनि उत्तिकै हुन्छ । गर्भवती, सुत्केरी, नवजात शिशु, साना बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाहरूमा चिसोमा बढी जोखिम हुन्छ । यी सबै अवस्था र उमेरका व्यक्तिहरूको दैनिक हेरचाह र सावधानी अपनाउन सकियो भने चिसोमा हुने संक्रमण र त्यसको जोखिमबाट बचाउन सकिन्छ । अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.दिवित अधिकारीले चिसोमा सावधानी अपनाउनुको सट्टा औषधि खाने चलनले व्यक्तिको स्वास्थ्य जोखिम बढिरहेको बताए । चिसोको बेलामा सबैभन्दा पहिला नाक, कान र घाँटीमा समस्या देखिने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधिको प्रयोग गर्न आग्रह गरे । चिकित्सकको सल्लाह बिनै मेडिकलबाट औषधि ल्याएर खाने चलनले जोखिम बढिरहेको उनको भनाइ छ । नाक, कान र घाँटीको समस्यामा नेपालीहरू सबैभन्दा बढी लापरवाह देखिएको बताए । प्रस्तुत छः डा. दिवित अधिकारीसँग चिसो मौसम र स्वास्थ्य हेरचाहसम्बन्धी गरिएको कुराकानीको सम्पादित अंश । चिसो समय सुरु भएको छ, यसबेला नाक, कान र घाँटीका समस्या बढी देखिन्छन् नि किन ? मैले विगत २२ वर्षदेखि नाक, कान र घाँटीसँग सम्बन्धीत रोगहरूको उपचार गर्दै आइरहेको छु । नाकसम्बन्धी रोगहरूमा नाकबाट सिंगान धेरै बग्ने, हाच्छिउँ आउने, रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने रोगहरू हुन्छन् । त्यस्तै, कानसम्बन्धी रोगहरुमा कान पाक्ने, कान नसुन्ने, कान चिलाउने र चक्कर लाग्ने जस्ता समस्याहरू हुन्छन् भने घाँटीसम्बन्धी समस्यामा घाँटी सुन्निने लगायतका समस्याहरू हुन्छन् । नाक, कान र घाटीहरु अन्तरसम्बन्धित छन् । जस्तै हाम्रो नाक कानसँग सिधै जोडिएको हुन्छ । यसलाई मस्क्युलर ट्युब भन्छ । त्यही ट्युबले नाकको भागलाई सिधै कानमा लगेर जोडिदिन्छ । अनि कानबाट त्यो कनेक्सन घाँटीमा पनि आउँछ । त्यसकारण नाकको घाँटीसँग सम्बन्ध हुन्छ । मुखको पनि पछि गएर घाँटीमै सम्बन्ध हुन्छ । कान पनि नाकको पछाडिको भागबाट ट्युबको माध्यममबाट घाँटीमा आउने भएको कारणले हामीले यो सबै कुराहरूलाई यसमै राखेर काम गर्छौं । यसलाई इएनटी पनि भन्ने गरिन्छ । नाक, कान र घाँटीका रोगहरू गर्मी याममा बढी देखिन्छन् की जाडो याममा ? जलवायु परिवर्तनले पनि मान्छेमा लाग्ने रोगहरूमा असर गर्दछ । हाम्रोमा रोग भनेकै ब्याक्टेरियलमा हुँदैन । जीवाणुको माध्यमबाट लाग्ने रोग मात्र हुँदैन । एलर्जी पनि एकदमै महत्वपूर्ण हुन्छ । एलर्जी भनेको चिसो धुवाँ र धुलोको माध्यमबाट हुने हो । त्यसैले जब जाडो याम तथा चिसो बढ्दै जान्छ तब नाकको समस्या, घाँटी दुख्ने समस्या र श्वास फेर्न गाह्रो हुने समस्या बढ्दै जान्छ । त्यसैगरी गर्मीयाम सुुरु हुने बित्तिकै कान पाक्ने रोग फेरि बढ्दै जान्छ । गर्मीमा मान्छेहरूले धेरै नुहाउने गर्दछन् । त्यसरी नुहाउँदा कानभित्र पानी पर्ने भएका कारण कान पाक्ने रोग बढी मात्रामा देखिन्छ । घाँटी दुख्ने समस्या पनि चिसोभन्दा गर्मी महिनामा बढी देखिन्छ । चिसोको तुलनामा गर्मीमा चिसो खानेकुराहरु खाने भएकाले यस्तो समस्या आउने गर्दछ । जलवायु परिवर्तनले गर्दाखेरि मौसमका आधारमा रोग लाग्ने कुराहरू पनि सम्बन्धित भएका कारणले गर्दा यसले समस्या पारिरहेको छ । पछिल्लो समय संक्रमण बढ्दै गएको हो ? हो, समय मानव स्वास्थ्यमा संक्रमण बढ्दो देखिन्छ । खासगरी कोरोना भाइरस संक्रमणपछि अलि बढेर गएको छ । पहिले—पहिले भाइरल भाइरसहरू कम मात्रामा थिए । अहिले ति भाइरसहरू बढी भएका कारण संक्रमणहरू अझ बढी भएको हामीले देखेका छौं । संक्रमण बढ्दै गएको अनि घातक पनि बनेको देखिन्छ, सामान्य लाग्ने रुघाखोकीमा पनि मान्छे ओछ्यान परेको देखिएको छ ? धेरैजसो संक्रमणको लक्षणहरू कम मात्र देखिने गरेको छ । घातकभन्दा पनि नाक र घाँटीबाट संक्रमण छातीमा गएर श्वासप्रश्वासमा समस्या हुनेकुरा पहिले भन्दा अहिले अलि बढी देखिएको छ । यो के करणले भइरहेको छ । त्यो त अहिलेसम्म हामीले पत्ता लगाउन सकेका छैनौं । कोरोना संक्रमणपछि र पछिल्लो समय बढेको वायु प्रदुषणका कारण श्वासप्रश्वासका रोगीहरू बढेको हामीले देखेका छौं । अहिले रुघाखोकी निको हुन छोड्यो, एन्टीबायोटिक नै खानुपर्छ भन्छन् ? सामान्य रुघाखोकीहरू सामान्य घरेलु उपचारले निको हुन छोडेको छैन । तर पहिलेभन्दा अहिलेका जीवाणुहरू झन् सशक्त भएर आएको जस्तो देखिन्छ । केही बिरामीहरूले यत्रो वर्षसम्म केही भएन एक,दुई वर्षदेखि घाँटी खसखस हुने, रुघा लाग्ने गरेको भनेर अनुभवहरू सुनाउनु हुन्छ । पहिले—पहिले दुई दिनमा रुघाखोकी ठिक हुनेमा अहिले १४ दिनसम्म पनि ठिक भइरहेको छैन भन्नुहुन्छ । त्यसमा इन्फेक्शनको जुन प्याथोजेम भन्छौं हामीले त्यसले भाइरसको भिरोलेन्स अर्थात त्यसको रोगको संक्रमण गराउने क्षमता बढेको हो कि । त्योबारे हामीले रिसर्च त गरेका छैनौं । पहिलेपहिले राइनो अर्थात रुघाखोकी लाग्ने भाइरसले आक्रमण गथ्र्यो । अहिले इन्फ्लुएन्जा भनेर आएको छ । त्यसको संक्रमण अझै व्यापक देखिएको छ अहिले । एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने संक्रमण तिव्र छ, एकै दिनमा धेरै व्यक्तिमा एक व्यक्तिले संक्रमण गराइरहेको देखिन्छ ? अहिले संक्रमण बढ्दो गतिमा छ । पछिल्लो समय जलवायु परिवर्तनको असर पनि बढेर आएको छ । त्यसको कारण एक्सपोजर सबैलाई एउटै हो । तर रोगसँग लड्ने क्षमता एउटा वयस्क पुरुषमा जति छ त्यति महिला, बालबालिका र वृद्धा अवस्थाका मानिसहरूमा कम भएर जान्छ । त्यो क्षमता कम हुने बित्तिकै किटाणु तथा जीवाणुहरुले झन छिटो आक्रमण गर्छ । अर्को इम्युनिटी कम हुने बित्तिकै हाम्रो रोगसँग लड्ने क्षमता पनि हाम्रो घट्यो । त्यसो हुँदा जति समयमा रोग निको हुनुपर्ने हो त्यति समयमा रोग निको हुन पनि पाउँदैन । त्यस कारण वृद्धवद्धा, बालबालिका र गर्भवती महिलाहरूमा अझ तिव्र गतिले बढेको देखिन्छ । यसको रोकथामको लागि हामीले वातावरणीय कुरामा मुख्य ध्यान दिनुप¥यो । पछिल्लो समय काठमाडौंमा तुवाँलो जुन देखिएको छ । धुलो धुवाँबाट बच्नको लागि हामीले मास्कको प्रयोगहरू गर्ने, अनि वायु प्रदुषण कम गर्ने क्रियाकलापहरू गर्ने, चिसोबाट बच्नको लागि न्यानो लुगाहरू लगाउने, मनतातो पानी पिउने गर्नुपर्छ । घरायसी उपचारमा हाम्रो पहिलेदेखिको परम्परा बेसार पानीहरु पिउने लगायत कामहरू गर्न मिल्छ । कुनैपनि रोगका लागि एक, दुई दिन कुर्न खासै समस्या होइन । तर चिकित्सकको परामर्श बिना कुनैपनि मेडिकलमा गएर दिएको औषधि केहिले पनि नखानुहोला । किनभने विदेशमा धेरै अध्ययन तथा अनुसन्धान गरेर यो कुरा पत्ता लगाइएको छ । धेरै ठाउँमा अहिले पनि डाक्टरको पुर्जाबिना त्यत्तिकै अैषधि कसैले पनि दिदैन । तर नेपालको सन्दर्भमा हामीले मेडिकलमा पुर्जा देखाउँदा पनि त्यहाँ पढेको मान्छे नभएको कारण सामान्य रोगलाई पनि ठूलोठूलो औषधि दिने गरेको छ । त्यसपछि बिरामी ठिक नभएर चिकित्सक कहाँ आइपुग्दा चिकित्सकले कुन औषधि चलाउने भन्ने समस्या हुन्छ । उसले पहिले नै खाएर आइसकेको हुन्छ । त्यस्तो नगर्न आग्रह गर्न चाहन्छु । समय र पैसा खर्च भएपनि चिकित्सकलाई देखएर खाएको औषधि रामो हुन्छ । घरेलु उपचार सामानय कुरालाई एकदुई दिन गर्न मिल्छ । तर कसैको एकदमै छाति दुखेर आयो भने त्यसमा हामी कुर्न मिल्दैन । किनभने त्यस अवस्थामा मुटुको समसया हुनसक्छ । लगातार वान्ता भइरहेको छ भने त्यो राम्रो संकेत होइन । एक दुई दिन घाँटी दुख्नु पनि सामान्य हो तर थुक नै निल्न नसकेको अवस्थामा तुरुन्त चिकित्सक कहाँ आएको राम्रो भन्छु । रुघाखोकी र अन्य रोगको संक्रमण कसरि छुट्याउने, लक्षण कसरि छुट्याउने ? म जहिले पनि फ्लुलाई तीन दिन हेर्नुपर्ने भन्छु । त्यो तीन दिनमा हाम्रो रोगसँग लड्ने क्षमता ठिक छ भने रुघा लाग्ने, हाच्छिउँ आउने, सिंगान आउने, टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने यो सबै घट्ने क्रममा जान्छ । कुनैपनि यी लक्षणहरु २४ देखि ४८ घण्टासम्म नघटेको अवस्थामा त्यो जटिल हुँदै गएको अवस्थाको रुपमा हामीले सोच्नुपर्छ । अनि सम्बन्धित चिकित्सकलाई देखाएको राम्रो हुन्छ । शरीरमा जे कुरा पनि छिर्ने भनेको नाक र मुखबाट नै हो । त्यसका लागि हामीलाई लड्ने क्षमता दिएको छ । त्यसमा हामी माथिबाटै काउण्टर अट्याक गर्छौं । हामीले त्यस आक्रमणको प्रतिरोध गर्न सकेनौं, हाम्रो रोगसँग लड्ने क्षमता ठिक छैन भने त्यसले तल छातिमा गएर असर गर्न सक्छ । बिस्तारै मुटु र पेटमा गएर असर गर्नसक्छ । यी त संवेदनशील अंगहरू भएको कारणले यी अंगहरूमा पुग्नुभन्दा पहिले नै हामी सचेत हुनु राम्रो हो जस्तो लाग्छ । खोकी भनेको छातिको खोकि पनि हुन्छ । घाँटीको खोकी पनि हुन्छ । रुघापन नाकको पनि हुन्छ र मुखतिरको पनि हुन्छ । नाक, मुख र घाँटीमा आउने खोकी जहिले पनि खसखसे खोकी हुन्छ । त्यसमा स्वाँस्वाँ हुदैन । तर कोही मान्छेलाई खोकी पनि लाग्यो । ज्वरो पनि आयो १०२ देखि १०३ डिग्रीको भने त्यसले छातीमा संक्रमण भयो है भनेर जनाउँछ । सामान्य खोकिमा खसखसे खोकी मात्र हुन्छ । तर ज्वरो धेरै आउने र श्वासप्रश्वासमा समस्या आयो भने त्यो चाहीँ छातीमा संक्रमण भएर आएको खोकीको रुपमा बुझ्नुपर्छ । यो अति जटिल समस्या हो भनेर पनि जनाउँछ । त्यही भएर यस्तो अवस्थामा हामी सचेत हुनुपर्दछ । यस कुरामा शहरमा त हामी केही हदसम्म सचेत भएका छौं । ग्रामिण भेगमा त अहिले पनि छैनौं जस्तो लाग्छ । गाउँबाट आउने बिरामीहरू अलिकति सिरियस नै भएपछि मात्र आउनुहुन्छ । शहरमा शिक्षित भएको हुनाले सबैलाई थाहा हुन्छ । अलिकति समस्या हुनासाथ उहाँहरू आउनुहुन्छ । गाउँमा जबसम्म गाह्रो हुँदैन तबसम्म आउँदैनन् । उमेरगत र अवस्था अनुसार कसरि उपचार हेरचाह गर्ने ? रुघाखोकी त सबैभन्दा बढी संक्रमण भएको बच्चा उमेरका मानिसहरूमा देखिएको छ । वयस्क मानिसहरूमा यसको संक्रमण अलिकति कम भएको पाइन्छ । तर कानको समस्या बच्चामा अलिकति कम देखिएको छ । कान पाक्ने समस्याहरू बच्चाभन्दापनि वयस्क मानिसमा मैले देखेकोछु । र घाँटी दुख्ने, टन्सिल हुने समस्याहरू यस्ता समस्याहरू भने बच्चा उमेरको भन्दा वयस्कमा अलि बढी देखेको छु । घाँटी दुख्यो कि उनीहरूले टन्सिल भनेर औषधि दिन्छन् । प्रत्येक घाँटी दुखाई टन्सिल होइन । फ्यारेनजाइटिक्स पनि हुन्छ । यो तीन, चार प्रकारको हुन्छ । यो ब्याटेरियल हुन्छ, भाइरल हुन्छ । टन्सिल भनेको जहिले पनि ब्याक्टेरियल नै हुन्छ । विशेषज्ञ चिकित्सकको नाताले के सन्देश दिन चाहनुहुन्छ ? अन्तिममा सबै नागरिकलाई मेरो सन्देश के छ भने तपाईहरू नाक, कान, घाँटीलाई हेलचेक्र्याँई नगर्नुहोला । यी अंगमा हुने संक्रमणलाई सामान्य रुपमा नलिनुहोला । यसमा हुने संक्रमणले कहिले कहीँ जटिल समस्याहरु पनि सिर्जना हुन सक्छन् । नाक, कान घाँटीलाई मान्छेले केहिले पनि ठूलो रोगको रुपमा लिँदैन । तर यदि यही नाक, कान घाँटीको इन्फेक्सन फैलियो भने टाउको मा जानसक्छ । यसले ठूलो समसया निम्त्याउन सक्छ । कानमा पाकेको पिप टाउकोमा गएर त्यसमा इन्फेक्न गर्नसक्छ । अनि टन्सिल भएर छाती र मुटुमा असर गर्नसक्छ । त्यसैले नाक, कान घाँटीलाई सामान्य रुपमा नलिन म सबैलाई आग्रह गर्न चाहन्छु । समस्या भएको खण्डमा चिकित्सकको सल्लाह लिनुहोला ।
ठूलो विपतमा पनि सर्भेयरले काम पाएनन्, स्वतः अपग्रेट हुने व्यवस्था गलत छ : अध्यक्ष ढकाल
काठमाडाैं । भइपरि आउने जोखिम हस्तान्तरणका लागि मानिसहरूले आफ्नो धन सम्पत्तिको बीमा गर्छन् । सम्पत्तिको बीमा गरेर बीमितले जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् । कुनै कारणले त्यो सम्पत्तिमा क्षति भएपछि सर्भेयरको काम सुरु हुन्छ । बीमा कम्पनीले त्यो क्षतिको मूल्याङ्कन गर्न सर्भेयर खटाउँछ र सर्भेयरले क्षतिको मूल्याङ्कन गर्छन् । सर्भेयरको सोही मूल्याङ्कनको रिपोर्टका आधारमा बीमा कम्पनीहरूले बीमितलाई क्षतिपूर्ति अर्थात् दाबी भुक्तानी गर्छन् । नेपालमा हाल १३ सयको हाराहारीमा सर्भेयरहरू रहेका छन् । जो बाढी-पहिरो होस् या भूकम्प नै किन नहोस् ज्यानलाई दाउमा राखेर घटनास्थलमा पुगेर क्षतिको मूल्याङ्कन गर्छन् । विगत तीन दशकदेखि सर्भेयरको काम गर्दै आएका बीमा सर्भेयर्स एसोसिएसनको अध्यक्ष मोहनपुरुष ढकालसँग विकासन्यूजका लागि लक्ष्मण लम्सालले कुराकानी गरेका छन् । सोही कुराकानीको सम्पादित अंश : सर्भेयर बन्ने प्रक्रिया के हो ? सर्भेयरले कसरी काम गर्दछन् ? नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा लिन्छ । सो परीक्षा पास गरेपछि प्राधिकरणले सर्भेयरको लाइसेन्स दिन्छ । त्यो लाइसेन्स पाएपछि सर्भेयरसम्बन्धि काम गर्न सकिन्छ । यसरी लाइसेन्स पाएपछि सर्भेयरले बीमा कम्पनीहरूमा सूचीकृत गर्न जान्छन् । कम्पनीहरूले सर्भेयरको रोस्टममा लिस्ट राख्छन् । कतै केही कारणले धनसम्पत्तिको क्षति भएको अवस्थामा बीमा कम्पनीहरूले सोही लिस्टबाट सर्भयरलाई घटना भएको ठाउँमा खटाउँछन् । कम्पनीले खटाएको ठाउँमा गएर सर्भेयरले काम गर्छन् । सर्भेयरको काम एकदमै सेन्सेटिभ हो । क्षति भएपछि बल्ल सर्भेयरको काम सुरु हुन्छ । क्षति भएपछि बीमितलाई पीडा भएको हुन्छ । मानिसहरू पीडाको समयमा खुलेर बोल्दैनन्, सर्भेयरले क्षतिको मूल्याङ्कन गर्दा पीडित बीमितसँग सबैकुरा सोधपुछ गर्नुपर्ने हुन्छ । अर्थात् उनीहरूसँग भिज्नु पर्ने हुन्छ । त्यो कठिन काम हो । बीमा गर्दाको बखतको कागजात, क्षति भएको सम्पत्ति (बीमा गरिएको सम्पत्ति) सबै कागजात सर्भेयरले हेर्नुपर्ने हुन्छ । यसरी सबै काजगात संकलन गरेर भएको क्षतिको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा बीमितसँग एकदमै नजिक रहेर काम गनुपर्ने हुन्छ । कम्पनीले सर्भेयरलाई खटाएदेखि सर्भेयरले त्यो क्षतिको रिपोट कम्पनीलाई बुझाउँदैमा सर्भेयरको काम सकिँदैन । बीमितले दाबी भुक्तानी पाएपछि मात्र सर्भेयरको काम सकिन्छ । सर्भेयरको वर्गीकरण कसरी गरिएको छ ? वर्गीकरण र अपग्रेटसम्बन्धी कस्तो व्यवस्था छ ? प्राधिकरणले क, ख, ग र घ गरी सर्भेयरलाई ४ वर्गमा छुट्याएको छ । कुनै पनि एक व्यक्ति तथा संस्थाले सर्भेयरको लाइसेन्स लिँदा सुरुमा घ वर्गको लाइसेन्स पाउँछ । हरेक ५ वर्षमा सो सर्भेयरको अपग्रेट हुने कानुनी प्रावधान छ । कसैले यो वर्ष सर्भेयरको घ वर्गको लाइसेन्स लियो भने ५ वर्षपछि उसले कुनै काम नै नगरे पनि अपग्रेड भएर ग वर्गमा उक्लिन्छ । सोही क्रमअनुसार क र ख वर्गमा सर्भेयर अपग्रेड हुन्छ । सर्भेयरले के कति काम गर्यो ? कस्तो काम गर्यो भनेर केही मूल्याङ्कन नै हुँदैन । ५ वर्ष पुगेपछि स्वतः अपग्रेट हुने व्यवस्था छ । त्यसले गर्दा काम नै नगरेका सर्भेयर पनि अपग्रेट हुने गर्दछन् । यो व्यवस्थालाई प्राधिकरणले पुनरावलोकन गर्नुपर्ने देखिन्छ । यसैगरी, प्राधिकरणले सर्भेयरको वर्गअनुसार काम गर्ने अपर लिमिट (अधिकतम सीमा) रकमका आधारमा तोकिदिएको छ । तर, लोअर लिमिट (न्यूनतम सीमा) भने तोकिदिएको छैन । अर्थात् कुनै घ वर्गको सर्भेयरले ५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । ग वर्गकोले १५ लाख रुपैयाँसम्मको सर्भे गर्न पाउँछ । तर, क वर्गकोले पनि सोही ५ लाख रुपैयाँको पनि सर्भे गर्न पाउँछ । यस व्यवस्थाले ५ लाखको सर्भे कले पनि गर्न पाउँछ, घले पनि गर्न पाउँछ । न्यूनतम सीमा तोकिएको भए क वर्गले ५० लाख रुपैयाँमुनिको नपाउने वा १० लाख मुनिको नपाउने व्यवस्था गरेको ५ लाखसम्मको काम घ वर्गले मात्रै पाउँथ्यो । त्यसैले पनि सीमा तोक्नुपर्छ । नेपालको भौगोलिक अवस्था प्राकृतिक विपतको दृष्टिकोणले जोखिमपूर्ण नै छ । जलवायु परिवर्तनले हिमताल फुटेर हुने क्षति, बर्सेनि आउने बाढी-पहिरो र भूकम्पको दृष्टिले पनि जोखिम नै मानिन्छ । बेला-बेखत हुने यस्ता विपतले अहिले भएको सर्भेयरको संख्याले काम गर्न सकिरहेको छ ? यस विषयमा केही वर्षअघि बीमा प्राधिकरणमा एउटा छलफल पनि भएको थियो । त्यस पटकको छलफलमा बीमा कम्पनीका सीईओहरूले सर्भेयरको संख्या पर्याप्त छैन । सर्भेयर उत्पादन गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सर्भेयर उत्पादन गरेर अहिले १३ सयको हाराहारीमा पुर्याइएको छ । तर, प्राधिकरणको व्यवस्थाअनुसार एउटा व्यक्तिगत सर्भेयरले ५ वटा भन्दा बढी र संस्थागत सर्भेयरले १० वटा भन्दा बढी काम लिन नपाउने व्यवस्था छ । अर्थात् उसले ५ वटाबाट एउटा काम सकेपछि ४ वटा बाँकी हुन्छ । फेरि उसले एउटा काम थप्न पाउँछ । कानुनमा यस्तो राम्रो व्यवस्था भएपनि त्यो व्यवहारमा लागू भएको छैन । असोजमा गएको बाढी-पहिरोपछि केही सर्भेयरले ५ वटा पनि काम नपाएर बसेका छन् भने केहीले काम नै नपाएर पनि बसेका छन् । केही सर्भेयरले यति धेरै काम पाएका छन् कि उनीहरूलाई काम गर्न भ्याईनभ्याई छ । उनीहरूले तोकिएको सीमाभन्दा धेरै काम लिएको अवस्था छ । यति ठूलो क्षति हुँदा पनि कसैले काम नै नपाउने अवस्थाको सिर्जना कसरी भयो ? बीमा कम्पनीहरूले व्यक्तिगत सम्बन्धका आधारमा सर्भेयरको छनौट गर्ने गर्दछन् । धेरै सम्बन्ध भएका सर्भेयरले धेरै काम पाउँछन् । सम्बन्ध नभएकाहरूले जतिसुकै ठूलो क्षतिको अवस्थामा पनि काम नै नपाउने अवस्था छ । जबसम्म एउटा सीईओले त्यो सर्भेयरको बारेमा जानकार हुँदैन, तबसम्म उसले त्यो सर्भेयरलाई पब्लिक दायित्व जिम्मा लगाउन सक्दैन । त्यो कुरोलाई नकारात्मक तरिकाले लिनु पनि हुँदैन । विगतदेखि नै यस विषयमा ध्यान दिइएको भए विपतका बेला सबैले काम पाउँथे । सर्भेयरले सर्भे रिपोट समयमा नबुझाउँदा बीमितहरूले समयमा दाबी भुक्तानी पाउन नसकेको अवस्था छ । सर्भेयरले समयमा रिपोर्ट बुझाउन नसक्नुको कारण के हो ? सर्भेयरले सर्भे गर्दा क्षति भएको सम्पत्तिको सबै कागजात अध्ययन गर्नुपर्ने हुन्छ । सर्भेयरलाई यस्तो कागजात जुटाउन समय लाग्छ । यहाँ बीमा कम्पनीले इनीसीएसन लिन आवश्यक छ । क्षति भएको अवस्थामा बीमा कम्पनीका अभिकर्ताले कागजात संकलनमा सहजीकरण गर्दा सर्भेयरलाई काम गर्न केही छिटो हुने गर्थ्यो । केही अवस्थामा सबै कागजाग संकलन गर्न बीमितलाई पनि समय लाग्छ । धेरैजसो अवस्थामा सम्पत्तिको कागजाग सम्पत्तिको मालिकसँग भन्दा पनि उसको अडिटरसँग हुन्छ । त्यो कागजात खोज्नु पर्यो । केही कागजात सरकारको निकायबाट माग गर्नुपर्ने हुन्छ । मैले काम गर्दा पनि यस्तो अवस्था भोगेको छु । कागजात जुटाउन बीमित स्वयंलाई ४० दिन लाग्यो । यस्तै विविध कारणले समय लाग्छ । प्राधिकरणले रिपोर्ट बुझाउन १५ दिनको सीमा दिएको छ । यो सीमा पनि व्यावहारिक छैन । यसलाई रिभ्यू गर्न आवश्यक छ । सर्भे रिपोर्ट बनाएर बीमा कम्पनीमा बुझाएपछि सर्भेयरलाई कम्पनीहरूले बीमितसँग मिलेर रकम बढाएर रिपोर्ट बनाएको आरोप पनि लाग्ने गरेको छ, तपाईं यस्तो आरोप कतिको भोग्नु पर्यो ? कम्पनीले सर्भेयर व्यक्तिगत सम्बन्धका आधारमा छनौट गर्छन् । कम्पनीले कसैलाई काम दिनुको मतलब कम्पनीले उसलाई विश्वास गरेर हो ।तर, कहीं कतै कम्पनीले क्रस भेरिफिकेसन गर्न सक्छन् । यसमा हाम्रो आपत्ति छैन । केही सीईओहरूले कहिलेकाहीं यसमा केही रिभ्यू गर्ने पर्छ कि भनेर पनि सोध्नुहुन्छ । बीमितको पक्षबाट यस्तो आरोप कतिको आउने गर्छ ? बीमितले यस्तो भन्नु स्वाभाविक पनि मान्न सकिन्छ । किनकि सर्भेयरलाई बीमा कम्पनीले काममा लगाएका हुन्छन् । बीमितको नजरमा सर्भेयर कम्पनीको मान्छे हो । त्यस कारण उनीहरूले यस्तो आरोप लगाउनु स्वाभाविक हो । बीमितलाई सर्भेयरले हामी बीमा कम्पनीको मान्छे होइन भन्ने बुझाउन जरुरी हुन्छ । हामी सर्भेयर भनेको मध्यस्थकर्ता मात्रै हौं । बीमितले यहाँले गरेको काम ठीक छ भनेर खुसी भएको ३० वर्षको करिअरमा एक पटक मात्र भेटें । उहाँको नाम भने बिर्सिएँ । हवाईजहाजहरू दुर्घटना हुँदा नेपालका सर्भेयरले काम गर्न पाउँदैनन् । नेपालका सर्भेयरसँग नागरिक उडड्यन सर्भे गर्ने क्षमता नभएर हो या सम्बन्धित निकायले तपाईंहरूको क्षमतामा नजरअन्दाज गरेको हो ? यहाँ खुट्टा तान्ने प्रवृति व्याप्त छ । पोखरामा प्लेन क्र्यास भएपछि यहाँका सर्भेयरलाई काममा लगाउनका लागि बीमा कम्पनीका सीईओ र प्राधिकरणका कार्यकारी निर्देशकलाई अनुरोध गरेको थिएँ । पोखराका अभिकर्ता साथीहरूलाई तयार रहन पनि भनेको थिएँ । तर, उहाँहरूबाट सहयोग भएन । मैले सार्वजनिक कार्यक्रममा पनि यस विषयको उठान गरेको थिएँ । तर, कम्पनीहरूले हामीले भनेर हुँदैन भन्नु भयो । बाहिरबाट नै सर्भेयर पठाउने अभ्यास छ । बाहिरका पुनर्बीमा कम्पनी, पुनर्बीमा ब्रोकर कम्पनीहरूलाई नेपालको कामको गुणस्तरको बारेमा थाहा छैन, त्यसैले बाहिरबाट नै आएर सर्भे गर्ने काम हुने गरेको छ । नेपालका सर्भेयरलाई पनि एभिएसनको सर्भेको काम गराउन पहल गर्न प्राधिकरणका प्रवक्तासमेत रहेका निर्देशक सुशीलदेव सुवेदीले केही सहजीकरण गर्नु भएको छ । हेरौं, अब केही हुन्छ कि ? सर्भेयरको पारिश्रमिकको विषयमा पनि धेरै चासो हुन्छ, कति पाइन्छ पारिश्रमिक ? हाम्रो दुई किसिमको पारिश्रमिक छ । एउटा मोटर भेइकल पारिश्रमिक । जुन बीमितले माग गरेको इष्टिमेट रकमको आधारमा हामीले पारिश्रमिक पाउँछौं । जस्तो कुनै बीमितले क्षतिको इष्टिमेट ५ लाख रुपैयाँ भनेर माग गरेको अवस्था र ४० लाख रुपैयाँ भनेर बीमितले क्षतिको माग गरेको अवस्थामा त्यसको पारिश्रमिक फरक-फरक हुन्छ । अर्काे, एक्सेप्ट द मोटर । यसमा बीमितले जति माग दाबी गरे पनि सर्भेयरले पेस गर्ने रिपोर्टमा उल्लेख भएको रकमका आधारमा हामीले पारिश्रमिक पाउँछौं । अर्थात्, कुल नोक्सानीका आधारमा हामीले पारिश्रमिक पाउँछौं । ३० किलोमिटर भित्रको काम गर्दा पारिश्रमिक जे हो, त्यही आउँछ । ३० किलोमिटरभन्दा टाढा जानु पर्यो भने भत्ताको पनि सुविधा हुन्छ ।