निजी क्षेत्रको नेतृत्वमा उच्च र समावेशी आर्थिक वृद्धि हासिल गर्नुपर्छ
नेपालमा योजनावद्ध बिकास प्रयास अर्थात योजना बनाएर विकास गर्ने परम्परा शुरु भएको झण्डै सात दशक पुग्दैछ । यसबीचमा हामीले १५ वटा योजनाको कार्यान्वयन गरिसकेका छौं । यो बीचमा ठुला राजनीतिक परिवर्तन भएका छन् । अर्थतन्त्रमा उदार अर्थव्यवस्था अपनाइएको छ । सामाजिक संरचनामा ठूलो परिवर्तन भएको छ । यसैबीच आगामी आर्थिक वर्षदेखि १६ औ योजना लागु हुँदैछ । यस अवस्थामा विगतलाई केहि समिक्षा गर्ने र आगामी बाटो तय गर्नु आवश्यक होला । राज्य नियन्त्रित अर्थ व्यवस्था भएका मुलुकहरुबाट प्रभावित योजना निर्माण प्रक्रिया शुरु भएको हो । आर्थिक वृद्धिको अवस्था हेर्ने हो भने, पछिल्लो तीस बर्षमा १४ औं योजना वाहेक अन्यमा लक्ष्य हासिल भएको देखिंदैन । सामाजिक क्षेत्रमा विकास भएर नै होला हामी अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको अवस्थामा पुगेका छौं । तर समाजिक सुधार र राजनीतिक परिवर्तनलाई बलियो आर्थिक आधार भएन भने दिगो हुन कठिन हुन्छ । त्यसले यसपटकको योजनामा आमूल परिवर्तन आवश्यक छ । सरकारले निजी क्षेत्रलाई सहयोग पुग्ने केहि नीतिगत सुधार पनि थालिसकेको हुँदा म आशावादी पनि छ । हामी लगानी सम्मेलनको सम्मुखमा छौं । सरकारबाट लगानी प्रवर्द्धन गर्न १२ वटा ऐन नियममा संशोधन गरेको छ । द्धिपक्षीय लगानी सम्झौताको खाका पारित भएको छ । यो निक्कै नै सकारात्मक बिषय हो । यो शुरुवात मात्रै हो अबको योजनालाई तीव्र आर्थिक वृद्धि सहितको सामाजिक सुधार अभियानका रुपमा अगाडि बढाउनु आवश्यक छ । यस पटकको योजनाको मुख्य थिम अर्थात उद्देश्य नै निजी क्षेत्रको नेतृत्वमा उच्च र समावेशी आर्थिक वृद्धि हासिल गर्ने । हामीले यो प्रस्ताव अगाडि सार्नुका केहि कारण छन् । त्यसै आधारमा यो बिषय उठाइएको हो । पहिलो, निजी क्षेत्रको योगदान अर्थतन्त्रमा ८१ प्रतिशत रहेको महासंघ र विश्व बैंक समूह अन्तर्गतको आईएफसीको अध्ययनले देखाएको छ । सोही अध्ययनले रोजगारीमा निजी क्षेत्रको योगदान ८६ प्रतिशत देखाएको छ । दोस्रो, पछिल्लो समय तिव्र आर्थिक वृद्धि हासिल गरिरहेका हामीजस्तै अतिकम विकसित मुलुकहरुको उदाहरण दिन चाहन्छु । बंगलादेश, इथियोपिया, क्याम्बोडिया, रुवान्डा र लाओसजस्ता मुलुकहरुले विकास प्रयासमा निजी क्षेत्रको भूमिका आत्मसाथ गरेको हुदा तीव्र बिकास भैरहेको छ । तेस्रो, बिषय आन्तरिक श्रोत परिचालनका लागि पनि निजी क्षेत्र बलियो नभइ सम्भव छैन । पछिल्ला बर्षहरुमा निजी क्षेत्रले काम गर्न नसक्दा राजश्वमा पनि असर परेको छ । चौथो, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुदै जादा अहिलेको जस्तो सहज वैदेशिक सहायता नआउन सक्छ । त्यसैले राज्य संचालनका लागि पनि निजी क्षेत्रलाई अगाडि बढाउनु नै पर्छ । पाचौं, योजना अवधिभर ९० खर्ब लगानीको प्रक्षेपण गरिएको छ । यो ९० अर्बको लगानीको श्रोत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निजी क्षेत्र नै हो । छैठौं, उत्पादन र उत्पादकत्व बढाउने बिषयलाई मस्यौदामा धेरै ठाउमा राखिएको छ । तर उत्पादन र उत्पादकत्व बढाउन पनि निजी क्षेत्रले निर्वाध काम गर्न सक्ने वातावरण हुनुपर्छ । सातौं, कूल गार्हस्थ उत्पादनको तुलनामा राजस्व हालको २० प्रतिशतबाट २८ प्रतिशत पुर्याउने भनिएको छ । अहिलेको अवस्थामा यो सम्भव देखिंदैन । यदि राजश्व बढाउने हो भने निजी क्षेत्र मैत्री नीति आउनै पर्छ । भन्सारमा आश्रित राजश्व धेरै समय टिक्दैन । आठौं, १५ औं योजनाले कूल गार्हस्थ उत्पादनको ६.५ प्रतिशत उत्पादनमूलक क्षेत्रको योगदान रहने लक्ष्य लिएपनि ५.३० प्रतिशतमा झरेको छ । यसलाई बढाउन पनि त निजी क्षेत्रको प्रवद्र्धन आवश्यक छ । नवौं, रुपान्तरणकारी रणनीति भनेर वितरित मस्यौदामा केहि बिषय समावेश भएको छन । तर अधिकांश पुरानै बिषय यसमा समेटिएका छन् । नवीन सोच र रुपान्तरणकारी योजनाका लागि निजी क्षेत्र अझ भनु युवा पुस्तालाई सुन्नु आवश्यक हुन्छ । युवा पुस्तालाई काम गर्ने वतावरण योजनामा बन्नुपर्छ । दशौं, वैदेशिक लगानी आकर्षित गर्न पनि स्वदेशी निजी क्षेत्र आस्वस्त हुनुपर्छ । उसले आफू सुरक्षित रुपमा लगानी गरेको सन्देश दिएर विदेशी लगानीकर्ता आउने भएकाले निजी क्षेत्रको महत्वलाई यसपटकको योजनाको प्रमुख थीम राख्नुपर्छ । योजनाको आधारमा मध्यकालीन खर्च संरचना, बार्षिक बजेट निर्माण हुने भएकाले सबै दस्तावेजमा निजी क्षेत्र मैत्री योजनाहरु समावेश हुनुपर्छ । यसमा धेरै कठीन बिषय छैनन् । सुधारका लागि म केहि सुझाव दस्तावेजमा समावेश हुन आग्रह गर्दछु । कुनै पनि व्यवसाय दर्ता, नविकरण तथा राजश्व बुझाउने लगायतका सेवा एक ठाउबाट दिने व्यवस्था गर्नुपर्छ । स्टार्ट अपको परिभाषा लगायतका बिषय कानुनमा आइसकेको सन्दर्भमा यसले युवाहरुलाई आकर्षित गर्दछ । उत्पादनमूलक उद्योग, साना उद्योग, राष्टिय आवश्यकताका उद्योगमा केहि समयका लागि छुट र सहुलियत दिइनुपर्छ । ब्याजमा पनि सहुलियत दिन सकिन्छ । निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रद्धारा प्रवद्र्धित आर्थिक रुपान्तरणका लागि लगानी प्रवद्र्धन विशेष योजनालाई प्रोत्साहन गर्नुपर्छ । स्वदेशी एवं विदेशी लगानी बढाउन ऐन नियममा संसोधन, द्धिपक्षीय लगानी सम्झौता, प्रभावकारी सहायता योजना मार्फत लगानीकर्ताहरुको मनोबल बढाउनुपर्छ । निजी क्षेत्रको नेतृत्वमा नयां पुस्ताको आर्थिक पुनसंरचना कार्यक्रम तर्जुमा गरि कार्यान्वयन आवश्यक छ । लघु घरेलु तथा साना उद्योग एवं व्यवसाय रोजगारीको मुख्य आधार भएको हुँदा सानालाई सहुलियत कार्यक्रम अन्तर्गत यस्ता व्यवसायलाई विशेषगरि पुर्नकर्जा, ब्याज अनुदान, ऋणमा सहुलियत, एकल विन्दु मार्फत दर्ता नविकरण एवं राजश्व बुझाउने लगायतका सेवा उपलब्ध गराउनुपर्छ । यस्ता उद्यमीले अनलाइन मार्फत सबै सेवा लिन सक्ने गरि प्रविधिको विस्तार गर्नुपर्छ । एकै ठाउमा राजश्व बुझाउने व्यवस्था गरिनुपर्छ । स्टार्ट अपको परिभाषा आइसकेको सन्दर्भमा स्टार्ट अप प्रवर्द्धनका लागि वित्तिय सहायतासंगै निजी क्षेत्रसंगको सहकार्यमा सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्नुपर्छ । यी व्यवसाय प्रवर्द्धनका लागि यसै योजनाबाट स्टार्ट अप नेपाल कार्यक्रम शुरु गरि बजेट मार्फत कार्यान्वयन गरिनुपर्छ । सूचना प्रविधि क्षेत्रको सम्भावनालाई दृष्टिगत गरि यसलाई उद्योगको रुपमा बिकास गर्न निश्चित अवधिसम्म सुविधा प्रदान गरि विदेशी मुद्रा आर्जनको स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्छ । सूचना प्रविधिलाई अन्य उत्पादन र व्यवसायिक सेवाको उत्प्रेरकका रुपमा पनि प्रयोग बढाउनुपर्छ । सेवा उद्योगलाई प्राथमिकतामा राखिनुपर्छ । राजश्वका दर लगायतका व्यवस्था निश्चित समयसम्म परिवर्तन नहुने व्यवस्था गर्नुपर्छ । भूत प्रवाही कानुनले लगानीकर्ता ससंकित छन् । पूर्वाधारमा निजी क्षेत्रको सहभागिता बढाउन नीतिगत सुधार आवश्यक छ । पूजीगत खर्च बढाउन बजेट निर्माण प्रक्रियादेखि कार्यान्वयनसम्ममा परिवर्तन गरिनुपर्छ । (नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नेपाल विकास परिषदको बैठकमा राखेका मन्तव्यको सम्पादित अंश)
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?
गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेय पदार्थहरु अहिले गाउँघरमा छ्यापछ्याप्ती छन् । यस्ता वस्तुहरु अहिले शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ । यी पेय पदार्थहरुले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेय पदार्थलाई विस्थापन गर्दै लगिरहेका पनि छन् । अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताहरुको दाँत, पेट, हाडजोर्नीलगायत शरीरका अन्य अङ्गहरुमा रोगहरुले घर बनाउँछ । यी पेयहरुले मोटोपनको समस्या निम्त्याउँछ । जतिजति यी पेयहरुको उपभोग बढ्दै जान्छ, त्यति नै तिनीहरुको सेवनबाट हुने स्वास्थ्य समस्याहरु पनि थपिदै गएको छ तर उपभोक्ताहरु के कारणले आफुलाई स्वास्थ्य समस्या भइरहेको छ भन्ने कुरा खुट्याउन सकिरहेका हुँदैनन् । रेडियो, टेलिभिजन र ठाउँठाउँमा राखिएका विज्ञापन बोर्डहरुमा गरिएका भ्रम पार्ने विज्ञापनहरुका कारण उनीहरु त्यस्ता पेयले आफुलाई राम्रै गरिरहेको होला भन्ने विश्वास हुन्छन् । यसरी पिउँदापिउँदै कतिपयलाई त नसालु पदार्थ जस्तै लत नै लागिसकेको हुन्छ । प्रसिद्ध खेलाडीले आफ्नो सफलतापछि विभिन्न ब्राण्डका पेय पदार्थ घ्वाटघ्वाट पिएर आनन्द लिएको देखाउने टेलिभिजनको आकर्षक विज्ञापनले युवायुवतीलाई हरेक खुसीमा यसै गर्न प्रेरित गरिरहेको हुन्छ । अद्र्धनग्न नर्तकीले डान्सवार वा डिस्को थेकमा पसिना पुछ्दै बोतलबाट हल्का पेय पिइरहेको देखेपछि यो पिउनै पर्ने पेय पदार्थ रहेछ भन्ने युवा मस्तिष्कमा छाप बस्छ । वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो पेयको विज्ञापनले धेरैलाई झुक्याइरहेको छ । बजारमा जताततै पाइने चिसो पेय अहिले नेपालका त्यस्ता दुर्गम स्थानहरुमा पनि पुगेका छन्, जहाँ दूधका पाकेट र औषधिहरु पनि पुग्न सकेका छैनन् । यी वस्तुहरुको तडकभडकयुक्त प्रचारप्रसार र पहँुचका कारण दुर्गम ग्रामीण क्षेत्रका मानिसले पनि अहिले यी वस्तुहरुलाई फेसन र आधुनिकताको प्रतीकका रुपमा स्वीकार गरिरहेका छन् । अधिकांश उपभोक्तालाई ती चिसो झोलमा भएका तत्वहरु र तिनीहरुले शरीरलाई पार्ने हानी वारे कुनै जानकारी नै भएको हुँदैन । वास्तवमा यी पेय पदार्थहरु रङ्ग, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरिएका चिसो पेय हुन्, जुन धेरै महङ्गा र हानीकारक हुन्छन् । यस्ता चिसो पेयमा चिनीको मात्र अति नै बढी हुन्छ । भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्वहरुले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने, र क्यान्सरजस्ता रोगहरु लगाउन सक्छन् । अमेरिकन डायविटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसनले चिनी भएको सोडाको हाल भइरहेको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायबिटिज एसोसिएसनले डायबिटिजको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा खाना नै हो । साथै, शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउनका लागि पेय पदार्थको भूमिका उत्तिकै हुन्छ । सो एसोसिएसनले यदि डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पिउनका लागि पानी, बिनाचिनीको चिया, कफी वा अरु कुनै कम क्यालोरी भएको पेय पदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ । कोल्डड्रिङ्क्समा हुने हानीकारक तत्वहरु चिसो पेय पदार्थहरुमा स्वास्थ्यलाई हानि गर्ने विभिन्न तत्वहरु पाइएका छन् । यी पेयहरुमा एकक्षणका लागि मात्र स्फूर्ति दिने र लत बसाउने तत्वहरु पनि हुन्छन् । ती तत्वहरुले हाम्रो स्वास्थ्यमा दीर्घकालीन रुपमा विभिन्न असरहरु पार्छन् । केटाकेटीहरुलाई यस्तो पेय पदार्थ दिँदा यी झोलहरुमा हुने चिनीले मोटो बनाउँछ । चिसो झोलमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ र यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्छ । चिसो पेय पदार्थमा पाइने क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ । तर यस्तो अवस्था क्षणिक हुन्छ । यतिमात्र होइन, चिसो पेय पदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् । चिसो पेयहरुलाई ताजा राख्न र स्वादिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरु राख्ने गरिन्छ । यी अम्लहरुले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत गर्छ । अम्लहरुको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महशुस हुन्छ । चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ । यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वन डाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन् । यी तत्वहरुका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्यार्टी सफा गर्न प्रयोग गरिन्छ । यो कुराले नै यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट गर्दछ । धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ । कोल्डड्रिङ्क्सको सट्टा कागती पानी गर्मीयाममा तीर्खा मेट्नका लागि बजारिया चिसो पेय पदार्थ नै सेवन गर्नुपर्छ भन्ने छैन, वर्षैभरि पाइने कागती गर्मीमा वा जाडो जुनसुकै बेलामा, तातो वा चिसो जे पदार्थमा मिलाएर खान सकिन्छ । स्वाद र स्वास्थ दृष्टिकोणले पनि यो अति राम्रो तत्व हो । म व्यक्तिगत रुपमा कागतीलाई ‘औषधिको डल्लो’ भन्छु । बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती चिया खान्छु । दालमा मिलाएर खान्छु । यसैले मैले कहिले पनि भिटामिन ‘सी’ को गोली त खानै परेको छैन । कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’ । भिटामिन ‘सी’को महत्वको बारेमा अहिले त धेरै जनाले थाहा पाइसकेका छन् । विज्ञानले पुष्टि गरेको छ कि भिटामिन ‘सी’ले रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । हाम्रो भान्छामा खाइने अचार पनि भिटामीन ‘सी’ले युक्त हुन्छ । गर्मी शुरु हुने बेलामा अक्षय तृतीयामा सा¥है कागतीको सर्बत र जौको सातु खान दिने हाम्रा पुर्खाहरुले चलाएका चलन पनि कागतीको महत्व बुझेर नै होला । गर्मीको बेलामा कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको बेलामा हुने विभिन्न पेटको गडबडीबाट बच्न सकिन्छ । गर्मीमा शरीरलाई चाहिने ऊर्जा पनि पर्याप्त हुन्छ । सातु र कागती सर्बत पिउने प्रचलन हराउँदै गएर आजकाल त अक्षय तृतीयको दिनदेखि जन्म दिनमा पनि प्याकेटका फलफूलको महँगो तर स्वास्थ्यलाई हानी गर्ने फलफूलको नक्कली रस, चिसो पेय पदार्थहरु खाइन्छ । यसले नेपाली संस्कृतिलाई नष्ट गर्छ, स्वास्थ नष्ट गर्छ, पैसा नष्ट गर्छ । यस्तो चलन कम गर्न नक्कली रसको सट्टा कागतीको रस प्रयोग गर्न सकिन्छ । कति स्वास्थको बारेमा जाने बुझेका व्यत्तिले नै बट्टाको जुस खान्छन्, कागती बर्सत पिउँदैनन् । नेपालको प्रायः सबै ठाँउमा कागती फल्छ । विभिन्न प्रकारको कागतीको स्वाद भिन्दै भए पनि पौष्टिकता भने सबैमा हुन्छ । कागतीको महत्व कति छ भन्ने कुरा आयुर्वेद कितावमा लेखिएको छ, ‘कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले प्रवेश पाउँदैन’ । नेपालमा महिलाहरूलाई रगतको कमी भयो भनेर अनेक औषधि दिइन्छ । तर कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौह तत्वलाई शोषण गर्नमा मद्धत गर्छ भन्ने कुरा प्रचार भएको छैन । कतिपय स्वास्थ्यकर्मीहरुले रक्तअल्पता भएका महिलालाई भिटामिन ‘सी’को चक्की दिन्छन् र खानासँग खानु भन्छन् । सायदै कुनै स्वास्थकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्ने गर्छन् । ‘कागतीको रस मिसाएर’ भोजन खाउभन्दा औषधि कम्पनीहरुको फाइदा हुँदैन र त्यसैले यस्तो जानकारीलाई बढावा दिने चलन छैन । तर मासको वा कुनै दालसँग कागतीको रस वा गोलभेडाको अचार खाँदा दालमा रहेको लौहतत्व राम्रोसँग सोसिन्छ । फलामको भाँडोमा पकाएको कुनै पनि दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलालाई रगतको कमीबाट रोक्न प्रोटिन प्राप्त हुन्छ । साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भन्ने जानकारी वैज्ञानिकहरुले १७ औँ शताब्दीमा पत्ता लगाएका हुन् । शरीरको अतिरिक्त क्रियाकलापहरुलाई सञ्चालन गर्न यो एसिडको महत्व छ र कागतीमा यो सहजै पाइन्छ । आजकल कागतीको रस हालेर चिया, सर्वत खान वा पाहुनालाई सत्कार गर्ने चलन बढेको छ । गर्मीको बेलामा पनि स्वास्थ्यकर कागतीको सर्बत हामी दिन हिच्किचाउनु पर्दैन । बालबालिकालाई पनि बट्टाको ‘जुस’ होइन कागतीको सर्बत दिनुपर्छ । यति मात्र होइन, कागतीको रसको प्रयोगले दाँतको गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत गर्छ । त्यसैले गर्भवतीलाई कागती खाने सल्लाह दिने चलन गाउँघरमा अझै पनि छ । रुघाखोकी लाग्दा कागती पानी र मह खानुपर्छ भनेर धेरैले थाहा पाएका छन् । कागतीलाई दैनिक भोजनको नै प्रयोग गरियो भने रोग प्रतिरोधात्मक शक्ति बलियो हुन्छ र हरेक चोटी मौसम बदलिदा रुघाखोकी लाग्न कम हुन्छ भन्ने पनि थाहा पाउनु पर्छ । गाउँघरमा गर्भवती महिलालाई वाकवाक लाग्दा कागती र नून खानु भनेर सल्लाह दिइन्छ र यसले वास्तवमा नै वाकवाक कम गर्छ । कागतीको प्रयोगले कब्जियतबाट पनि बचाउँछ । जाडोको बेलामा कागतीको रस मनतातो पानीमा हालेर खान दिने चलन पुर्खाहरुले थालनी पहिलादेखि नै ल्याएका हुन् । मुख गन्हाउने व्यक्तिको यदि दन्तसम्बन्धी अन्य रोग छैनन् भने कागतीको रस र तातो पानीले फाइदा गर्छ । कागती पानीको कुल्लापछि पुनः पानीले एकचोटी कुल्ला गर्नुपर्छ, ताकी कागतीको अमिलोले दाँतमा असर नपरोस् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट गरिएको अनुसन्धानमा ‘कागतीको रसले हैजाको किटाणु वृद्धि हुन रोक्छ’ भनेर पुष्टि भएको छ तर यो अनुसन्धानको व्यावहारिक प्रयोग हुन सकेको छैन । कागतीको रसको मात्र नभएर बोक्राको उपयोगिताबारे पनि कमैलाई मात्र थाहा हुनसक्छ । केही अनुसन्धानले कागतीको बोक्राको नियमित प्रयोगले कब्जियतको समस्या समाधान गर्छ भनेर देखाएको छ । कागती धोएर काटेर रस निकालेपछि बोक्रालाई सानोसानो टुत्रा पारेर सलादमा हालेर खान सकिन्छ । यदि तीतो स्वाद मन पर्दैन भने कागतीको बोक्रालाई राखेर सिसीमा नून हालेर केही दिन घाममा राखेपछि त्यो बोक्रा अचारमा बदलिन्छ । कागतीसँगै गर्मीमा प्रयोग गर्नुपर्ने बाबरी वा पुदिना पनि हो । बाबरी (मधेसतिर पुदिना पनि भन्छन्) को अचार बनाएर खाने चलन त पहिलेदेखि नै हो । गर्मीको बेलामा त यो पानीमा हालेर खाए हुन्छ । जुन तरिकाले खाए पनि स्वास्थ्य र स्वस्थ दुवै दिन्छ । वीरेनून र कागती हाली पिसेर बनाइएका पुदिनाले खाना रुचाउनुका साथै पाचन प्रक्रियामा पनि सहयोग गर्दछ । पानीमा बाबरी र कागतीको टुक्रा भिजाएर राख्ने र त्यो पानी पिउनाले धेरै नै लाभ पुग्दछ । रासस (लेखक जनस्वास्थ्यविद् हुन्)
दक्षिण कोरिया आर्थिक विकासको सुत्र, कोरियाली कम्पनीको नेपालमा लगानी
नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौंमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ । मैले नेपालका राजनिति, अर्थ सरोकारवालासँग भलाकुसारी गर्दा कोरियाको आर्थिक विकासको रहस्य के हो भनेर जिज्ञासा धेरै पटक पाएको छु। कोरिया विकासका विभिद पक्षहरु मध्ये एक प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले चालेको सकारात्मक कदम र लगानीको सही सदुपयोग हो भन्ने लाग्छ । शास्त्रीय अर्थशास्त्रलाई नियाल्नेहो भने उत्पादनका आधारभूत पक्षका रुपमा श्रम, पुँजी र भूमिलाई लिने गरिएको छ । कोरियाको आर्थिक विकासको क्रममा पर्याप्त लगानी गर्ने पुँजी थिएन र जुटाउन सजिलो पनि थिएन । सरकारले पुँजी जुटाउनका लागि वैदेशिक ऋण तथा प्रत्यक्ष विदेशी लगानी (एफडी) आकर्षित गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ । श्रम र भूमि भने हामीलाई उपलब्ध थियो । कोरियाले देशको आर्थिक विकासको क्रममा प्रत्यक्ष वैदेशिक लगानीका विभिन्न फाइदाको बारेमा लामो अनुभव गरिसकेको छ ।त्यसैले आजका दिनमा पनि केन्द्र र स्थानीय सरकारले वैदेशिक लगानी आकर्षित गर्नका लागि विभिन्न सुविधा तथा प्रोत्साहनलाई निरन्तरता दिएको छ । एफडीका फाइदाहरू ? कोरियाको अनुभव साट्नु पर्दा प्रत्यक्ष वैदेशिक लगानीबाटराष्ट्रिय अर्थतन्त्र र उद्योगले सकारात्मक लाभ लिन सकिन्छ भन्ने रहेको छ । त्यसैगरी हामीले एफडी मार्फत आन्तरिक रूपमा लगानी श्रोतको अभावबाट छुटकारा पायौं र आन्तरिक बजारमा यथेष्टरोजगारी सिर्जना गर्न सफल भयौं। गत सेप्टेम्बरमा प्रकाशित एक अध्ययनको तथ्याङ्क अनुसार कोरियामा विगत १० वर्षमा प्रत्यक्ष वैदेशिक लगानी मार्फत २ लाख ९५ हजार रोजगारी सृजना भएको देखाएको छ । रोजगारी सृजनालाई सर्वोत्कृष्ट सामाजिक कल्यणकारी नीति मानिन्छ । रोजगारीले आर्थिक तथा सामाजिक रुपमा पनि सकारात्मक भूमिका खेल्न सक्छ । एफडीले देशको आर्थिक विकासलाई उत्प्रेरित गर्न, उद्योग स्थापना तथा लगानी वातावरण सिर्जना गर्न र स्थानीय समुदाय र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दछ । एफडीले स्थानीयको आम्दानी र क्रयशक्तिमा बृद्धि हुनगई देशको समग्र आर्थिक बृद्धिको नेतृत्व गर्न सक्दछ । अर्को पक्ष, वैदेशिक लगानीमा स्थापित कम्पनीहरूको प्रविधि र ज्ञान लगानी गरेको मुलुकमा हस्तान्तरण हुनुका साथै प्राविधिक जनशक्ति उत्पादनमा पनि सकारात्मक भूमिक खेल्दछ ।दक्षिण कोरियाको सन्दर्भमा वैदेशिक लगानी रहेका उद्योगहरु मध्ये टेक्नोलोजी हस्तान्तरण भएका धेरै उद्योगहरु आज विश्वव्यापी रुपमा उदाएका प्रशस्त उदाहरणहरु छन् । अन्य मुलुकमा व्यपार गर्नका लागि वैदेशिक लागनीमा सञ्चालन भएका उद्योगसँग आफ्नो देशको बारेमा आवश्यक जानकारी हुने भएकोले व्यपार लक्ष सुनिश्चित गर्न अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका उद्योग तथा लगानीको उपस्थितिले सकारात्मक भूमिका खेल्दछ । प्रत्यक्ष वैदेशिक लगानी मार्फत अन्तर्राष्ट्रिय व्यापार सम्भव हुन सक्दछ । एफडीले निर्यात विस्तारमा सकारात्मक प्रभाव पार्दछ र घरेलु बजारमा एकाधिकारको सट्टा प्रतिस्पर्धामा आधारित बजार निर्माण भई उपभोक्तासम्म सहज पहुँच पुग्दछ ।त्यसैगरी एफडी मार्फत उपलब्ध भएका सुविधा र उपकरणले लक्षित देशमा श्रमशक्तिको उत्पादकत्व बढाउन टेवा पुग्दछ । विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना विदेशीको नजरमा नेपाली अर्थतन्त्रलाई नियाल्दा, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नका लागि सम्भावना तथा कमजोरी दुवै पक्ष रहेका छन् । तुलनात्मक रूपमा प्रतिस्पर्धी श्रम बजार, ऊर्जा क्षेत्रमा ठूलो लगानीको सम्भावना, हिमालय तथा विविधताले भरिएको सांस्कृतिक सम्पदालगायत प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नेपालको प्रचुर सम्भावनका बारेमा सबैले मनन गरेकै विषय हुन् । नेपालमा एफडीको आकर्षण बढाउन लगानी प्रक्रियामा सरलीकरण गर्नु पर्दछ । पर्याप्त दक्ष जनशक्ति उपलब्ध गराउनु र लगानी गर्ने कम्पनीहरुलाई स्वदेशी कम्पनी सरह समान व्यवहार आवश्यक देखिन्छ ।यस क्षेत्रको सुधारका लागि नेपाल सरकारले दृढ इच्छाशक्तिका साथ सम्बन्धित कानून निर्माण चरणमा रहेको भन्ने विषय समय सान्दर्भिक रहेको छ । नेपालमा रहेका विभिन्न देशका कुटनीतिक नियोगका पदाधिकारी मार्फत नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण रहेको छ र नीतिगत हिसाबले पनि सहज वातावरण रहेको छ भन्ने बारेमा सम्बन्धित मुलुकहरुमा जानकारी गराउने पक्ष अपरिहार्य छ । लगानीकर्ताको प्रमुख चासो भनेको सहज रुपमा लगानी गर्ने र मुनाफा आर्जन गर्ने र उक्त मुनाफा आफ्नो देशमा सहज रुपमा लैजान सक्ने विषय प्राथमिकतामा राखेका हुन्छन् । त्यसै गरी भैपरी आउने समस्या समाधानका लागि सरकारी पक्षले अभिभावकको भूमिका खेलोस् भन्ने रहन्छ ।अन्य विषयमा वैदेशिक लगानी भित्र्याउनका लागि महशुल छुट लगायतका सुविधाहरु उपलब्ध हुने विषयले पनि सकारात्मक भूमिका खेल्दछ । भिसा प्रणालीको सहजीकरण, शुरुवाती चरणमा कर छुट लगायतका विषयले पनि लगानीयोग्य वातावरण बनाउन मद्दत गर्दछ भन्ने लाग्छ । कोरियाली कम्पनीको नेपालमा लगानी कोरियाली कम्पनीहरूले नेपालमा आर्थिक लगानी सम्भाव्यताका बारेमा नजिकबाट नियाली रहेका छन् । केही कम्पनीले नेपालमा लगानी गरि सफल रुपमा व्यवसाय सञ्चालन गरेका उदाहरणहरु रहेका छन् । उदाहरणका लागि, कोरियाली ग्लोबल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले नेपालको गोल्छा अर्गनाईजेसनसँगको संयुक्त लगानीमा गत वर्ष अप्रिलदेखि अत्याधुनिक टिभी एसेम्बली प्लान्ट सञ्चालन गर्दै आएको छ । हुन्डाई मोटर्स कम्पनीले नेपालको एक स्थानीय कम्पनीसँगको साझेदारीमा नवलपरासी जिल्लामाअटोमोबाइल एसेम्बली प्लान्ट पनि स्थापना गरेर यही वर्ष मे महिनामा व्यावसायिक उत्पादन सुरु गर्ने योजना रहेको छ।नेपालमा जलविद्युत उत्पादन क्षेत्रमा कोरियाको साउथ–इस्ट पावर कम्पनीले विश्वव्यापी वित्तिय संस्था समेतको साझेदारीमा ६५० मिलियन अमेरिकी डलर लगानी जुटाएर रसुवा जिल्लामा युटी–१, २१६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण चरणमा रहेको छ ।यस आयोजनाले सन् २०२७मा विद्युत उत्पादन गर्ने लक्ष लिएको छ । ठूला वैदेशिक लगानीको जति महत्व रहेको छ त्यतिनै महत्व मझौला उद्योगहरुको लगानी पनि आवश्यक पर्दछ ।नेपालको सन्दर्भमा कोरियाली साना तथा मझौला कम्पनीको लगानी पनि सक्रिय रहेको जानकारी गराउँदछु। रोजगारी सृजनाको सन्दर्भमा, साना तथा मझौला उद्योगहरुको भूमिका प्रभावकारी रहेको बारेमा स्मरण गराउन चाहन्छु। उदाहरणका लागि, नक्कली कपाल बनाउने प्रसिद्ध कोरियाली कम्पनी हाइमोले काठमाडौंमा मन्डुमो नामक स्थानीय कम्पनीमा १०० प्रतिशत लगानी गरेको छ । उक्त कम्पनीमा ६५०जना भन्दा बढी स्थानीय महिला कामदारलाई तालिम दिएर नक्कली कपाल उत्पादन गरी उत्पादित सबै सामान कोरिया र जापानमा निर्यात गरिरहेको छ । हालै प्रकाशित नेपाल सरकारको वैदेशिक लगानी योजना प्रतिवेदनको आधिकारिक तथ्याङ्कअनुसार गत वर्षको जुलाईदेखि यो वर्ष मार्चसम्म आठ महिनामा कोरियाली कम्पनीहरूले नेपालमा सबैभन्दा बढी लगानी योजना बारे जानकारी सार्वजनिक भएको छ । उक्त अवधिमा कोरियाली लगानीकर्ताको तर्फबाट१२ अर्ब ८ करोड रुपैयाँको लगानी योजना सार्वजनिक भएको छ । नेपालमा वैदेशिक लगानी गर्ने मुलुकहरुमध्ये कोरिया लगानीको शीर्ष पाँच स्थान भित्र पर्दै आएको छ । नेपालमा लगानी गर्न कोरियाली कम्पनीहरूको चासो निरन्तर बढिरहेको आधारको रुपमा लिन सकिन्छ । अन्त्यमा कोरिया र नेपालबीच सन १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भई दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहिआएको छ । हामी हाम्रो विकासको अनुभव साट्दै, कोरियाले भोगेका अप्ठ्यारा अवस्था नेपालले भोग्न नपरोस् भन्नेमा समेत सचेत रहेका छौं। रोजगारीको महत्व बुझेरनै सन् २००७ मा दुई देशका सरकारबीच श्रम सम्झौता गरेर सरकारको सहभागितामा नेपाली श्रमिकहरुलाई कोरियामा रोजगारीको अवसर प्रदान गर्दै आएका छौं। एक लाख भन्दा बढी नेपालीले कोरियामा रोजगारको अनुभव गरिसकेका छन् । त्यसैगरी कोरियाली कम्पनीहरुले नेपालमा लगानी बढाउँदै गएको स्मरण गराउन चाहन्छु। नेपालमा सञ्चालन भएका कोरियाली लगानीका कम्पनीहरुमा हजारौं नेपालीहरुले रोजगारीको अवसर प्राप्त गरेका छन् । यही वर्ष सन् २०२४ मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको सुनौलो अवसरको सदुपयोग गर्दै वर्षभरिनै विभिन्न कार्यक्रम आयोजना गरेर हाम्रो सम्बन्धलाई थप उच्च बनाउने लक्ष लिएका छौं। कोरिया सरकार र हाम्रो दूतावासले धेरै कोरियाली लगानी भित्र्याउन निरन्तर प्रयास गरिरहेका छौं । नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीमैत्री वातावरण सिर्जनाका खातिर अथक प्रयास गरिरहेको सम्बन्धमा हामी जानकार छौं । सबै क्षेत्रका लागि सुहाउँदो लगानीमैत्री वातावरण बनेर विश्वभरका कम्पनीले नेपालमा सम्भावित लगानी क्षेत्रका बारेमा पुन:मूल्याङ्कन गरी ठूलो मात्रामा लगानी गर्न र नेपालीलाई स्वदेशमानै रोजगारीको अवसर मिलोस् भन्न चाहन्छु। यही अप्रिल महिनाको अन्त्यमा हुन गइरहेको तेस्रो लगानी सम्मेलन सफलताको कामना गर्दै धेरै उपलब्धि हासिल हुने विश्वास लिएको छु । (पार्क थेयङ नेपालका लागि दक्षिण कोरियाली राजदूत हुन्)