मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो

मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन् । तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ रही दैनिक कार्य गर्न सक्दछ, जटिल नबन्न सक्दछ तर मिर्गौला रोग भने बेग्लै किसिमको हुने गर्दछ । यसमा मिर्गौला बेकम्मा हुँदा कतिका लागि सम्पत्ति विनाशको ठूलो बाटो बन्ने गरेको छ भने सर्वसाधारणका लागि मृत्युको कारण बन्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ । नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ । सामान्य अवस्थामा हाम्रो शरीरमा दुई वटा मिर्गौला ढाडको बीचमा मेरुदण्डको दुबैतिर मुठीजत्रो सिमीको गेडाको आकारमा रहेको १५० ग्रामको नभई नहुने उत्सृजक अङ्ग हो । हरेक मानिसमा २ वटा मिर्गौला रहन्छन् । स्वस्थ अवस्थामा दुवै मिर्गौला क्रियाशील हुन्छन् तर दुईमध्ये एउटाले मात्र काम गर्दा पनि मानिस स्वस्थ रहन सक्छ । एउटा मिर्गौलामा करिब १३ लाख नेफ्रोन हुन्छन् । त्यसले पिसाब बनाउने क्षमता राख्दछ । ४० वर्ष नाघेपछि नेफ्रोनको संख्यामा वार्षिक एक प्रतिशतका दरले हस हुन्छ तर अन्य नेफ्रोनले कार्य वृद्धि गरी जीउबाट निकाल्नुपर्ने पानी, लवण र फोहोर त्यही मात्रामा र त्यही दरमा निकालिरहन्छन् । रोग वा उमेर तथा अन्य कारणले भएको नेफ्रोनको संख्याको कमी भने परिपूर्ति वा पुनःनयाँ नेफ्रोन बन्ने काम भने हुँदैन । मानिसको उमेर बढ्दै जाँदा मिर्गौलाको कार्य क्षमता पनि घट्दै गई स्वस्थ मानिस ९० वर्ष पुग्दा मिर्गौलाले क्षमताको ५० प्रतिशत जति मात्र काम गरे पनि स्वस्थ नै मानिन्छ । मुटुबाट निस्कासन भएको करिब २२ प्रतिशत रगत दुई मिर्गौला हुँदै सञ्चार हुने गर्दछ अर्थात् प्रत्येक २४ घण्टामा १८० लिटरभन्दा बढी रगत मिर्गौलाको कार्य एकाइ नेफ्रोनको पहिलो भाग ग्लोमेरुलस हुँदै बग्दछ । यसमा १७८।५ लिटर भाग वा प्रोटिन बाहेक पानी र अन्य तत्वहरू नेफ्रोनको सुक्ष्म नली हुँदै वरिपरि फैलिएका कम चाप भएका रक्तनलीद्वारा सोसिएर फेरि शरीरमै जाने गर्दछ । यसै क्रममा युरिया, क्रेटिनिन, युरिक एसिड र अन्य विषालु तत्व अति कम मात्रामा सोसिने भएकाले ठूलो मात्रामा पिसाव भएर शरीर बाहिर निस्कन्छन् । हामीले खाएको खानेकुराबाट शरीरले चाहिएको कुरा अवशोषित गरी बाँकी रहेका अनावश्यक पदार्थहरू रगतमा रहन्छन् । शरीरमा उत्पादित विकारयुक्त पदार्थ भएको उक्त रगतलाई छानेर रगत सफा गर्ने र तिनलाई पिसावको रुपमा मुत्रथैलीमा पठाई पिसावमार्फत बाहिर फ्याँक्ने प्रमुख काम मिर्गौलाको हो । शरीरमा अनावश्यक नून, पानी, पोटासियम, क्याल्सियम र अन्य आयनलाई थुप्रिन नदिई सन्तुलनमा राख्दछ । अम्ल र क्षारको मात्रा नियन्त्रण गर्दछ । प्रोटिनबाट बन्ने सल्फ्युरिक र फोस्फोरिक एसिड निस्कासन गर्ने अङ्ग एक मात्र मिर्गौला हो । रगतको रातो रक्तकोष बनाउने हर्मोन एरिथ्रोपोइटीन ९० प्रतिशत मिर्गौला र १० प्रतिशत कलेजोले बनाउँछ । मिर्गौलाले भिटामिन डी को सक्रिय रुप क्याल्सिट्रोल बनाउँछ र क्याल्सियम तथा फोस्फेटको नियन्त्रण गर्दछ । आन्द्रामा क्याल्सियम संयोजन प्रोटिन बनाई क्याल्सियमको खपत बढाउँछ । लामो उपवासमा बसेको बेला एमिनोएसिडबाट चिनी बनाउने, रक्तचाप सन्तुलित राख्ने पनि गर्दछ । मिर्गौला किन बिग्रन्छ ?  मिर्गौलाको कार्यक्षमता ५० प्रतिशतभन्दा बढी घट्न थालेपछि मात्र स्वास्थ्य समस्या पैदा हुन थाल्छ । मिर्गौलासम्बन्धी रोगहरू नेफ्राइटिसको उपचार नगरेको वा उपचार सफल नभएको, उच्च रक्तचाप, मधुमेह, पिसावको सङ्क्रमण, मिर्गौला पिसावको नली र थैलीमा हुने पत्थरी जस्ता रोगहरूबाट लामो समयदेखि पीडित भएको तथा जथाभावी  मकै, भटमास खाएजस्तै एण्टीबायोटिक र पेनकिलर औषधि सेवन गरेको व्यक्तिको मिर्गौला उमेर नपुग्दै बिग्रने सम्भावना रहन्छ । त्यसैगरी जन्मदै मिर्गौलामा पानीका फोका भएको तथा उक्त फोकाहरूको संख्या र आकार बढ्दै गए खराबी शुरु भएको वयस्क अवस्थामा नै थाहा हुन सक्छ । अन्य कारणमा वंशानुगत, मोटोपना, धुम्रपान, ५० वर्ष नाघेका व्यक्ति तथा सङ्क्रमणहरू पर्दछन् । लक्षण कस्तो हुन्छ ? कुनै लक्षण बिना एक्कासी केही दिन वा साताको अन्तरालमा पनि मिर्गौला काम गर्न छोड्ने हुन सक्छ । यस विकासको खराबीलाई एक्युट रेनलफेलर भनिन्छ । झाडापखाला, हैजाजस्ता बिरामीको अत्यधिक मात्रामा शरीर सुक्खा भएमा, धेरै रगत खेर गएमा, मिर्गौलाको सङ्क्रमण, क्यान्सर, रगतको खराबी तथा मिर्गौलाको पत्थरी जस्ता समस्याले मिर्गौलाले काम नगर्ने हुन सक्छ । यस्ता समस्याको समयमा नै निदान हुनसक्यो भने मृगौला बचाउन सकिन्छ । एक्युट रेनल फेलर भएका मध्ये ५० देखि ७० प्रतिशत बिरामीको मृत्यु हुनसक्छ । लामो समयसम्म रहेको रक्तअल्पता उच्च रक्तचाप, हर्मोनहरुको असन्तुलन, बारम्बार पिसाबको सङ्क्रमण भइरहनु वा त्यसको उपचार राम्ररी नगर्नु, स–साना पत्थरी रहनु तथा पेटका खराबीले मिर्गौलालाई नराम्रो असर गर्दछ । मिर्गौलालाई रगत पुर्याउने धमनीको सङ्कुचन हुनु, रगतको खराबी हुनु, मिर्गौलाको क्षयरोग, पिसाब थैलीको खराबी आदि जुनसुकै समस्याले धेरै लामो समयसम्म ग्रसित बिरामीको मिर्गौला काम नलाग्ने भएका चाहिँ राम्रो बनाउन सकिँदैन । सामान्यतया मिर्गौला खराब हुँदा खानामा रुचि घट्दै जाने, चाँडै थकाइ लाग्ने, राति बढी (दुईपटक भन्दा बढी) पिसाब हुने, पिसाब गर्दा पोल्ने, रातो, गाढा वा फिँजयुक्त हुने, पिसावको मात्रा घट्दै जाने, वाकवाक लाग्ने, जिउ चिलाउने, बिहान उठ्दा मुख फुल्ने र सुन्निँदै जाने, गोरो मानिस कालो हुँदै जाने लक्षणहरू देखा पर्दछन् । यस्ता लक्षणहरू अन्य थुप्रै रोगहरूमा पनि देखिने भएकाले यकीन गर्न रगत परीक्षण गरी युरिया र क्रियाटिनिन बढे नबढेको हेर्नु पर्दछ । शरीरमा रोग बढाउने रोगका उपनामले चिनिने मिर्गौला रोगहरूबाट मिर्गौलाको क्षति अन्तिम अवस्थामा पुग्दा उपचार नभए मुटुमा र हड्डीमा भिटामिन डी र क्याल्सियमको कमीले हड्डी दुख्ने, सुन्निने र नरम हुन्छ, करङ, कम्मर र अन्य स्थानका हड्डीहरू भाँच्चिने सम्भावना रहन्छ । तर हाम्रो विडम्बना मिर्गौला असफल भएको मिर्गौलाको कार्य क्षमता ७० प्रतिशतभन्दा बढी नष्ट हुँदा पनि थाहा पाउन र अनुभव गर्न सकिँदैन र रोगको लक्षण नदेखिंदै उपचार खोज्ने कुरा पनि भएन जसका लागि नियमित जाँच नै आवश्यक छ । मिर्गौलाको कार्यक्षमता ५० प्रतिशतबाट घटेर १० प्रतिशतसम्म झरेको अवस्थालाई क्रमशः प्रारम्भिक, मध्यम र अन्तिम चरणको खराबीको रुपमा लिइन्छ । सामान्य व्यक्तिभन्दा मिर्गौला रोगीमा मधुमेह उच्च रक्तचाप र मुटु तथा रक्तनलीसम्बन्धी समस्या गाँसिएमा मृत्यु हुने सम्भावना १० गुणा बढी हुने भएकोले मिर्गौला बेकम्मा हुनुभन्दा पहिले नै हृदयाघातबाट व्यक्तिको मृत्यु हुने सम्भावना रहन्छ । मिर्गौला रोगका कारण मुटुसम्बन्धी रोगको चपेटामा पर्ने व्यक्ति करिव एक करोड २० लाख छन् विश्वमा । १०–२५ प्रतिशत मधुमेहीमा मिर्गौला रोग देखिने गरेको छ भने मिर्गौला बेकम्मा हुनेहरूमा ४४ प्रतिशत मधुमेह र २८ प्रतिशत उच्च रक्तचापको कारणले देखिएको छ । शरीरमा रगत सफा गर्ने फिल्टरको मुख्य काम गरिरहेको मिर्गौैला अस्वस्थ भएमा रगतमा विषालु पदार्थहरू जम्मा भई रगतबाट शरीरभरि विचरण गरी सबै अङ्गमा नकारात्मक असरहरू उत्पन्न गर्दछ । मिर्गौला रोगी भएको १–२ वर्षदेखि दशौँ वर्षसम्म पनि लक्षण नदेखिई चलिरहन सक्छ र जब मिर्गौलाले २०–३० प्रतिशतसम्म मात्र काम गरिरहेको हुन्छ, तब लक्षणहरू देखिन्छन् तर यसबेला थप बिग्रन नदिन उपचार मात्र गर्न सकिन्छ, रोग निको भने पार्न सकिंदैन । दुवै मिर्गौलाले काम गर्न छोडी मिर्गौला बेकम्मा भई पीडितहरू केवल दुई वटा विकल्पमा बाँच्न बाध्य हुन्छन् या त कृत्रिम तरिकाले रगत सफा गर्ने पद्दति डायलाइसिस वा नजिकको रगतको नातेदारको मेल खाने स्वस्थ मिर्गौला प्रत्यारोपण । उपचार के हुन सक्छ ?  नियमित स्वास्थ्य परीक्षण, औषधि सेवन र खानपिनमा ध्यान दिंदा पनि समस्या नियन्त्रणमा आउने गर्दछ । प्रोटिन बढी हुने माछा, मासु, गेडागुडी जस्ता खानेकुरा पानी र झोलपदार्थ चिकित्सकले तोकिदिएअनुसार खानुपर्दछ । यदि मिर्गौलाको कार्यक्षमता १० प्रतिशतभन्दा पनि कम हुन थाल्दछ भने नियमित रुपमा रगत सफा गर्ने हेमोडायलाइसीस, हेमोफिल्ट्रेशन र पेरीटोनीयल डाइलाइसीस वा स्वस्थ मिर्गौला राख्ने ‘प्रत्यारोपण’ जस्ता सघन र ठूला उपचारको आवश्यकता पर्दछ तर कुन विधि रोज्ने भन्ने निर्णय मिर्गौला अन्तिम अवस्थामा पुग्नेभन्दा पहिले नै गर्नु पर्दछ । जसबेला ग्लोमेरुलस भएर छानिने रगतको बेगदर १२५ मिलिलिटर प्रतिमिनटबाट घटी पाँच मिलिलिटर प्रतिमिनेट मात्र हुन्छ । सन् २००८ मा मिर्गोला प्रत्यारोपण शुरु भयो र हालसम्म तीन हजारले गरेका छन् भने सन् २०१० मा जेष्ठ नागरिक, हेपाटाईटिस बीका रोगी र बिपन्न नागरिकलाई डायलासिस निःशुल्कको सुविधा प्रदान गरिएको थियो । हाल सबैका लागि हेमोडायलासिस निःशुल्क मात्र होइन, मिर्गौला प्रत्यारोपण समेत निःशुल्क छ । प्रत्यारोपण नै किन ? मिर्गौला प्रत्यारोपण गर्नु भनेको आफन्तको स्वस्थ मिर्गौला झिकेर बिरामीको शरीरमा राख्नु हो । प्रत्येक व्यक्तिमा हुने दुई वटा मिर्गौलामध्ये एउटैले मात्र काम गर्दा पनि मानिस स्वस्थ र जीवित रहन सक्ने भएकाले दुवै मिर्गौला बेकम्मा भएका बिरामीलाई एउटा मिर्गौला दान गरी आफू पनि नमर्ने  र बिरामीलाई जीवनदान दिन सकिन्छ । प्रत्यारोपित मिर्गौलाले लामो समयसम्म काम गरिरहोस् भन्ने उद्देश्यले सुरुमा बढीमात्रामा र पछि क्रमशः घटाउँदै गएर न्यूनतम् मात्रामा औषधि लिइरहनु पर्दछ । प्रत्यारोपित मिर्गौलाले पाँच दिनमा शरीरमा जम्मा भएको विकार सफा गरी सक्दछ । प्रत्यारोपण सुविधाका लागि पनि राज्यले २०५५ सालमा मानव अङ्ग प्रत्यारोपण ऐन तथा नियमावली ल्याएको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ र मृगौला प्रत्यारोपण नियमावली २०५८ ले प्रत्यारोपणको कानुनी बाटो खुला गरेको छ । कानुन अनुसार प्रत्यारोपणसम्बन्धी प्रक्रिया मिलाउने र अनुमति इजाजत दिने जिम्मेदारी पाएको अङ्ग प्रत्यारोपण समन्वय समिति छ । प्रत्यारोपण गरिएको व्यक्तिको स्वास्थ्य र जीवनयापनको गुणस्तर डायलाइसीसको भरमा बाँच्नेको भन्दा राम्रो हुन्छ साथै डायलाइसिस उपचार बाँचुन्जेल गराइरहनु पर्ने, धेरै खर्च लाग्ने र सबै स्थानमा सेवा उपलव्ध नहुनाले प्रत्यारोपणलाई नै सजिलो र भरपर्दो मानिन्छ । हप्तामा २–३ पटकसम्म डायलाइसिस भएको ठाउँमा जानु पर्ने, जीवनको गुणस्तर न्यून हुने, बाँच्ने सरदर आयु पनि थोरै हुने, कृत्रिम रुपले रगत छान्ने काम डायलाइसिसद्वारा गरिएपनि एरिथ्रोपोइटिनको लागि जिन्दगीभर अलग्गै सुई लिनुपर्ने, वर्ष दिन डायलाइसिस गर्न लाग्ने खर्च करिब तीन लाखले मिर्गौला प्रत्यारोपण हुने (बाहिर जाँदा रु १०–१५ लाख) र त्यसको एक तिहाई खर्चले वर्ष दिनको औषधोपचार धान्न सकिन्छ र औषधोपचार खर्च पछिका वर्षमा अझ घट्दै जान्छ । यी विभिन्न कारणहरुले संसारभरि नै मिर्गौला प्रत्यारोपण तुलनात्मक सबैभन्दा बढी गुणस्तरीय जीवन प्रदान गर्ने, सस्तो लोकप्रिय र उत्तम उपचारको विधि भएको छ । जीवित व्यक्तिबाट लिइएको मिर्गौलाले धेरै राम्रो काम गर्ने, शल्यक्रिया गर्न सजिलो हुने र मिर्गौला सुरक्षित रहन्छ । प्रत्यारोपण गर्न आवश्यक मिर्गौलाको कमी अहिले विश्वले भोगिरहेको छ । मिर्गौलाको आंशिक समस्या पूर्ति गर्न मृतव्यक्तिको मिर्गौला प्रत्यारोपण सबैजसो देशले अपनाएका छन् किनभने सबै विरामीले जैविक नातेदारको मिर्गौला प्राप्त गर्न सक्दैनन् । नयाँ उपलब्धिअनुसार म्याच नखाएको मिर्गौलाको पनि विशेष उपचार (एण्टीवडी हटाउने, हल्का रेडिएसन दिने, नयाँ मोनोक्लोनल एण्टीबडी थप्ने) गरी अस्वीकार गर्ने दर पाँच प्रतिशतभन्दा कम बनाइन्छ । नेपालमा एकातिर गरिबी, अशिक्षा र भौतिक पूर्वाधार तथा जनशक्तिको अभाव छ त अर्कोतिर भौगोलिक विकटता, द्वन्द्वले गर्दा नागरिकहरूको स्वस्थ जीवनको लागि आवश्यक सेवा र सुविधा चुनौतीपूर्ण तथा असम्भव हुँदै आएको छ । यस्ता आवश्यकता पूर्ति गर्नका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले आ–आफ्नो जीवनको लागि नागरिक आफैँ चेतनशील भई समस्या समाधानमा नलागेसम्म ससाना स्वास्थ्य समस्याले पनि जटिलता उत्पन्न गर्न सक्दछन् । त्यसकारण रोगबारे जानकारी राखौँ आफ्नो स्वास्थ्य परीक्षण गराऔँ, अरुलाई पनि परीक्षण गर्न प्रोत्साहित गरौँ, स्वस्थकर जीवनशैली अपनाउन तत्काल पाइला चालौँ र भविष्य राम्रो, स्वस्थ र सुरक्षित बनाऔँ । रासस (लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बुढाथोकी नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष हुन्) 

‘जब चिनी तीतो हुन्छ’

मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सर समेत पैदा गराउन सक्छ भनेर विज्ञानले सिद्ध गरिसकेको छ । यस्ता मिठाइहरु प्रायः मैदा र चिनी बाट नै बनेको हुन्छन् । मेदा र चिनी दुबैको पौष्टिक तत्व हँदैन र यिनको धेरै प्रयोग बाट त शरीरमा पौष्टिक तत्वको कमि हुन जान्छ । शरीरमा पौष्टिक तत्वको कमि भएपछि अनेक किसिमका स्वास्थ समस्या पैदा हुन्छन् । विश्व स्वास्य सङ्गठनका अनुसार एक वयस्कले एक दिनमा तीनदेखि पाँच चम्चा मात्र चिनी प्रयोग गर्नसक्छ । तर वास्तविक जीवनमा त हामीले धेरै नै प्रयोग गरिरहेका हुन्छौँ । उदाहरणको लागि दिनमा तीन कप चिया खाइयो भने एक कप चियामा दुई चम्चा हाले पनि छ चम्चा चिनी त यसै पनि भइहाल्यो । यदि त्यसमाथि मिठाई पनि खाइयो भने त कति चम्चा चिनी होला ? अनि बिस्कुट, सर्वत खाने गरिन्छ । यसरी बनाएको बिस्कुटहरु कस्ता गुणस्तरका हुन्छन् भन्ने कुरा प्रायः हामीलाई थाहा नै हुँदैन । चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक  हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ । आज खाएर भोली नै केही समस्या नपर्ने हुनाले मानिसहरुलाई यसरी गुलीयो धेरै हालेको पदार्थ , नदेखिने हुनाले ढुसी लागेको पर्दार्य खाएपछि विरामी परिन्छ भन्ने पनि थाहा हुँदैन् । अमेरिकन डायवेटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसन दुवैले चिनीको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायविटिज एसोसिएसन भन्छ, ‘डायविटिजको सन्दर्भमा कुरा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा चिनी र खाना नै हो । शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउछ ।’ सो एसोसिएसनले डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने  पानी, विना चिनीको चिया, कफी, वा अरु कुनै कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ । चिनी सबै चिसो पेयहरुमा पाइने एक प्रमुख तत्व हो ।  चिनी  विभिन्न स्वादहरु मिश्रित तरल पदार्थहरुमा राखिएको हुन्छ । अधिकांश चिसो पेयमा चारदेखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ । वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्वका रुपमा चिनी रहेको छ । त्यस्तैगरी चिनी मानिसहरुमा मधुमेहको र साथै हृदयरोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरुको बृद्धि गर्नका लागि प्रमुख सहयोगीका रुपमा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रकासन गरेको बुलेटिन  अनुसार चिनी मिसाइएका पेय पदार्थको उपभोग अहिले विश्वमा नै बढिरहेको छ । विगत पाँच वर्ष यताको अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरु जस्तोः टाइप २ डायविटिज र अधिक मोटोपनको बृद्धिको एउटा मुख्य कारक तत्व यिनै गुलिया पेय पदार्थ भएको पाइएको छ । यसै कारणले गर्दा पनि मेक्सिको चिनीको गुलियो भएका पेयपदार्थमा ‘सोडा ट्याक्स’ भनेर नयाँ कर लगाउने कानुन पास गरेको छ । मूल्यवृद्धि भएपछि यसको खरिद तथा उपभोग कम हुन्छ भन्ने अपेक्षाले यसो गरिएको थियो । यसरी कर लगाएपछि पेय पदार्थको खरिदमा छदेखि १२ प्रतिशतसम्म गिरावट आएको पाइयो । अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका अध्ययनकर्ता तथा फुड स्टडी एवं पब्लिक हेल्थका प्रोफेसर नेस्टलेका अनुसार अहिले अत्यन्तै प्रभावकारी मार्केटिङबाट यस्ता पेय पदार्थ किन्न उपभोक्तालाई लोभ्याउने पार्ने गरिन्छ । उत्पादकहरुले अहिले विज्ञापनमा धेरै खर्च गर्छन् । यो पैसा पनि उपभोक्ताले नै तिनुपर्छ । यस्ता खाद्य पदार्थका उत्पादकहरुले अहिले कम र मध्यम स्तरको आम्दानी भएका देशहरुमा यस्ता वस्तुहरको विक्री बृद्धि गर्ने लक्ष्य राखेका छन् ।  किनभने यी देशहरुमा बढी नाफा कमाउन सकिन्छ, विशेषगरी केटाकेटीहरुलाई लोभ्याएर  । न्यूयोर्क शहरमा आधाभन्दा बढी मानिसहरु अत्यधिक मोटो छन् । यसै कारणले न्यूयोर्कका मेयरले सन् २०१२ मा त्यहाँ समस्याको रुपमा देखापरेको अत्यधिक मोटोपनलाई घटाउने प्रयासस्वरुप कोकाकोला, चिनी धेरै भएका चिसो पेय पदार्थका ठुला बोतलको सट्टा साना बोतल (४७३ एमएल)  मात्र बेच्न पाउने निर्णय गर्न खोजेका थिए । त्यसको उद्देश्य समस्याको रुपमा रहेको ‘अत्यधिक मोटोपन’लाई घटाउनु नै थियो । तर न्यूयोर्ककै केही बासिन्दाहरुले चाहीँ यसको खुलेर विरोध गरे । हामीलाई जति मन लाग्छ खान्छौँ । र चिसो पेय पदार्थ खानु आफ्नो अधिकार भएको भन्दै प्रतिवाद गरे । प्यास लाग्दा चिसो जस्ता पेय वस्तु नै खाने उनीहरुलाई बानी नै परिसकेकोले उनीहरुले चिनी पनि धेरै खान्छन्  । कतिपयमा त छोड्नै नसक्ने लत नै बसेको छ  । गुलियोको कारणले पनि दाँतको पालिस पखालिने अवस्था बन्छ । यी पेय वस्तुबाट दाँतसम्बन्धी विशेष गरी दुई प्रकारका समस्याहरु बढी देखिएका छन् । दाँतमा प्वाल पार्ने र दन्त हर्ष । हाल आएर दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरुले बताएका छन् । बट्टामा राखेको फलफुलमा चिनीको मात्रा अति नै बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर पर्छ । त्यसैले बट्टाको फलफुलको रस किन्नु भन्दा फलफुल नै स्वास्थको लागि धेरै राम्रो हुन्छ । यो सस्तो पनि पर्छ । चाडपर्वमा चिसो पेय पर्दार्थ र बट्टाका फलफूलको रसको पनि धेरै नै प्रयोग गरिन्छ  बट्टाको फलफुलमा पनि एकदम धेरै नै प्रयोग गरिन्छ । बट्टाको फलफुलमा पनि एकदम धेरै नै चिनी भएको तथ्य छ । नेपाली युवायुवतीलाई भ्रम उत्पन्न गर्ने आक्रामक प्रचार गर्दै अर्को पेय बस्तु बजारमा आएको छ, इनर्जी ड्रिंक । दशैं तिहारमा एकदम धेरै मानिसहरुले यो प्रयोग गर्छन् । कतिपयले कोसेली पनि लैजान्छन् । यसलाई यो शक्तिबद्र्धक पेय वस्तुको रुपमा व्यापक प्रचार प्रसार गरिएको छ । युवा युवतीलगायत प्रायः सबै उमेर तथा बिरामी, खेलाडी, कामदारलगायत विविध वर्ग र क्षेत्रका मानिसहरु अहिले यो पेय पदार्थलाई एउटा लाभदायक पेय वस्तु हो भन्ने भ्रममा छन् र व्यापक रुपमा उपभोग गरिरहेका छन् । यसले शरीरमा कति धेरै हानी छ भन्ने कुरा आम उपोक्ताहरुले बुझेका छैनन् । आम सञ्चार माध्यममा विज्ञापनको आइरहेको पनि यस्ता गुलिया पदार्थहरुको बारेमा छलफल हुँदैन । यस पेयमा प्रशस्त मात्रामा चिनी हुन्ने भएकाले यसले केही शक्ति दिए जस्तो हुन्छ । थाकेको बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस भए पनि यसले बरु स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरुको भनाइ छ । बरिष्ठ वाल रोग विशेषज्ञ डा विष्णु पण्डितका अनुसार वालालिकालाई इनर्जी ड्रिंक मात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्राण्डका सफ्ट ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन् । यस्ता पेय पदार्थका कारण बच्चाहरुमा खाना रुची कम हुन्छ र उनीहरुलाई आधारभूत इनर्जी पुग्दैन । यस्ता हल्का पेय वस्तुहरु खानेहरुमा मोटोपना आउँछ । चिनीको मात्रा बढी हुने हुनाले मोटोपन र डायविटिजको सम्भावना बढ्छ । यसले वालवालिकामा फोक्से मासु बढ्छ र अनेक समस्या उत्पन्न गराउँछ । केही महिनाअघिको कुरा हो, एक आमाले छ वर्षिय छोरा लिएर अस्पताल गइन् । उनले डाक्टरलाई भनिन्, यो दुब्लाएको छ । बारम्बार बिरामी भइरहन्छ । खाना पनि खान मन गर्दैन । बिरामी भनेर स्कूल पनि पठाएको छैन । किन यस्तो भएको होला ? आमाले डाक्टरसँग कुरा गरिरहँदा बच्चा यताउता टुकुटुकु गरिरहेको थियो । आमालाई बोल्न नदिने आमाको मुख आफूतिर फर्काउने आदि कोशिस गरिरहेको थियो । डाक्टरले यसले के खान्छ ? भनेर सोधे । आमाले,  भात दाल, तरकारी त यसको घाँटीबाट नै छिर्दैन । मिठाइ, चाउचाउ, चकलेट, बरफ चिसो पेय आदि मात्र मन गर्छ । भात नखानेलाई यति दिंदा कमसेकम यसले रुचाएका केही खानेकुरा त पर्छ भनेर दिन्छु । चकलेट र चाउचाउ खाए पनि यो त बिरामी भइरहन्छ, के गर्ने होला ? आमाले थाहा नै नपाइकन बच्चालाई धेरै चिनी भएको वस्तु दिएकी थिइन् । यसले गर्दा बच्चाको त रोगसँग लड्ने शक्ति नै कम भएर ख्वाउटे भएको रहेछ । मिठाइ र चिसो पेय मायाको प्रतीक होइन भन्ने कुरा डाक्टरले बुझाएपछि उनी छानाबाट खसे झैं भइन् ।  बढी चिनी र पत्रु खानाले पोषणको कमि भएकाले छोरा दुब्लाएको रहेछ भन्ने थाहा पाइन् । बच्चालाई खुवाएको पत्रु फुडले उसको पेट त भरिन्छ तर पोषण पुग्दैन । ‘मिठाई, चकलेट, जस्ता पत्रु खाना खुवाउन छोड्नुस् र घरमा जे पाक्छ त्यही खुवाउने बानी गर्नुस् । कुनै औषधि खानु पर्दैन ।  हरिया तरकारी र फलफुल खुवाउन जोड गर्नुहोस् । सधैँ जंक फुड खुवाउने हो भने औषधि गरेर मात्र केही हुँदैन’ भनेर चिकित्सकले सल्लाह दिए । पत्रु खाना बनाउने मिठाइहरु पकाउने ठाउँमा गएर उपभोक्ताले कहिले पनि हेरेका हुँदैनन् । बाहिरपट्टि जे देखिन्छ त्यही राम्रो प्याकेटका खानेकुरार मिठाइ  किनेर खाने चलन छ । यसरी जहाँ पायो त्यही बनाएको, बारम्बार पकाएको तेलमा पकाएको मिठाइ ले गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने कुरा बुझेर सकेसम्म घरमा नै मिठाइ बनाउन सकियो भने राम्रो हुन्छ । हलुवा, पुरी, सेल, खिर आदि त घरमा पनि सहजसँग बनाउन सकिन्छ । यस्तै खानेकुरामा ध्यान दिनसकेमा निरोगी बन्न सकिन्छ । रासस (लेखक पोषणविद् हुन्)

संसद् राजनीतिक दलका लागि रिस साँध्ने थलो भयो

संसद ऐन, कानुन बनाउने जनताद्वारा निर्वाचित जनप्रतिनिधिको थलो हो । तर, हामी सांसदले संसदभित्र सोहीअनुसार प्रभावकारीरुपमा अभ्यास गर्न भने सकेका छैनौँ भन्ने मलाई अनुभूति हुन्छ । एकजना मान्छेले चाहेर भन्दापनि संस्थागत ढङ्गले संसदलाई अगाडि लैजान र यसको भूमिकालाई प्रभावकारी बनाउन सकिएको छैन । संसदमा ऐन कानुन चाँडो बनाएर नयाँ संविधानको मर्म र भावना अनुरुप अगाडि लैजानुपर्ने थियो तर, संसद भने राजनीतिक दलका लागि रिस साँध्ने थलोका रुपमा मात्रै प्रयोग भइरहेको हो कि जस्तो लागिरहेको छ । राजनीतिक दलहरुबीच इगो साध्ने, आरोप प्रत्यारोपमा समय खर्चिने प्रवृत्ति पुरानै रोग हो । त्यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप कानुनहरु बनेका छैनन् त्यसमा म सन्तुष्ट छैन । अर्को रुपले हेर्दाखेरी नेपालजस्तो विकासोन्मुख मुलुकमा यस्तो व्यवस्थाबाट जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकिनेरहेछजस्तो मलाई लाग्छ । जनताको चाहना धेरै छिटो विकास होस् भन्ने छ । यो अहिलेको आवश्यकता पनि हो । त्यो आवश्यकतालाई अहिलेको प्रक्रियाबाट पूरा गर्नैनसकिने हो कि जस्तो देखिएको छ । संसदमा विजनेश जान नसकेको अवस्था छ । संसदसम्म विजिनेस पु¥याउन झन्झटिलो प्रक्रिया छ । पहिलो कुरा त ऐन कानुनको मस्यौदा बनाउने निकायमा नै पुरानो मानसिकता र पुरानो संस्कृति हावी छ । त्यहाँबाट बल्लतल्ल मन्त्रीले मस्यौदा अगाडि बढाउँदा विभिन्न मन्त्रालयहुँदै मन्त्रिपरिषद्, संसद, संसदीय समिति फेरि संसदहुँदै जाँदा एउटै ऐन बनाउदा लामो समय लाग्ने अवस्था छ । यसले कानुन निर्माणमा ढिलासुस्ती भएको छ । संसदीय प्रक्रिया निकै झन्झटिलो पनि भएको छ । अस्थिर राजनीतिले प्रशासनिक उल्झन पनि ल्याउँछ । पाँच वर्षमा निर्वाचन कसरी जित्ने भन्ने दल र सांसदको ध्यान केन्द्रित हुन थालेको छ । जनतासामु गरेको बाचा कसरी पूरा गर्ने भन्दा पनि चुनाव कसरी जित्ने भन्नेमै ध्यान केन्द्रित हुने अवस्था छ । सबै सांसदले विकासको कुरा जनतासँग बोलेर आएको हुन्छ । अहिले मात्रै होइन, पञ्चायतकाल, राजतन्त्रको पालादेखिनै सांसदले जितेर गएपछि विकास गर्छन भन्ने संस्कृति बसेको अवस्था छ । अहिले सबै सांसदहरुको ध्यान कानून निर्माणमा केन्द्रित नहुनु र संस्थागत रुपले पनि संसद संसदजस्तो नहुनु यो दुःखलाग्दो विषय पनि बनेको छ । फेरि पनि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यसको अर्को विकल्प हुनसक्दैन । अझ यसलाई जनवादी र प्रभावकारी बनाउनका लागि पूर्वमेचीदेखि पश्चिममहाकालीका जनताले नै चुनेको कार्यकारी प्रमुखको प्रणाली ल्याइयो भने नै नेपालजस्तो देशमा चाँडो विकास हुनसक्छ भन्ने लाग्छ । र, यो विषय हाम्रो पार्टीले पनि पहिलादेखि उठाइरहेको छ । निर्वाचनमा म आफैले पनि फरक ढङ्गले जनमत माग्नेगरेको छु । अरुभन्दा पृथक ढङ्गले नै भोट मागेर आएको हुँ । मैले विकासमार्फत मुलुक कायापलट बनाउँछु । चमत्कार गर्छु भनेर भोट मागेको छैन । मुख्यतः विकासका लागि हामीसँग भएका कानून विकासमैत्री हुनुपर्छ । मन्त्री एउटा कार्यकारी पद हो तर, गर्नुपर्ने काम सीमाभित्रै हो । सीमित बजेट र पुरानै प्रणालीमा रहेर काम गर्नुपर्ने अवस्था छ । जसले अपेक्षाकृतरुपमा नतिजा दिन गाह्रो हुन्छ । पुरानै संस्कृति र ऐन कानूनमा बसेर काम गर्नुपर्ने बाध्यता हुन्छ । यद्यपि, जनचाहना अनुरुप गर्न धेरै काम गर्न नसकिए पनि मन्त्रीका रुपमा धेरै नीतिगत र प्रवृत्तिगत रुपमा सुधारको काम गरेको छु । पर्यटन र संस्कृतिलाई एकसाथ अगाडि उठाउने सन्दर्भमा मैले धेरै नै नयाँ काम गरेको थिए । अब, मेरो भूमिका संसदमा ऐन कानुन बनाउन प्रथमिकताका साथ लाग्नेतर्फ केन्द्रित हुनेछ । तर, सरकारले संसदलाई पर्याप्त विजनेस दिनुपर्छ । सक्रिय ढङ्गले ऐन कानून बनाउने भूमिकामा केन्द्रित हुनुपर्छ ।साथै जनताका सरोकारका विषयलाई सदनमा सशक्त ढङ्गले उठाउने, जनता र सरकारलाई जोड्ने, गाउँ र सहरलाई जोड्ने पुलको भूमिका निर्बाह पनि सांसदको दायित्वभएकाले त्यसलाई जिम्मेवारीपूर्वक पालना गर्नेतर्फ मेरो ध्यान हुनेछ । समग्रमा भन्नुपर्दा संसदलाई कल्यिै पनि आग्रह र पूर्वाग्रहको थलो बनाइनुहुन्न । सांसद राजनीतिक रिसिइबी साँध्ने थलो होइन । यो नितान्त ऐन कानुन बनाउने ठाँउ हो । नेपालमा लामो सङ्घर्ष र बलिदानपछि प्राप्त संविधानको भावना अनुरुप छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ । यति त्यो अनुरुप कानुन बनाइएन भने जनताले राहत पाउदैनन् । जनताले गणतन्त्रको प्रत्यक्ष प्रत्याभूति गर्न पाएनन् भने व्यवस्थाप्रति नै वितृष्णा जाग्न थाल्छ । त्यसकारण यो व्यवस्थालाई बचाउन र अझ सुदृढ र प्रभावकारी बनाउन पनि जनताको तल्लो तहसम्म पु¥याउने मूख्य काम ऐन कानुन बनाउन सबै राजनीतिक दल, सरकार एवं सरोकारवाला जोडदारकासाथ लाग्नुपर्छ । जनतासँग निरन्तर जोडिरहेको व्यक्ति भएकाले म आगामी दिनमा पनि उहाँहरुको राय, विचार र सुझावलाई केन्द्रमा राखेर पदीय जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । रासस (किरातीसँग गरेको कुराकानीमा आधारित)