स्टक मार्केट जस्तै घरजग्गाको कारोबार हुने प्रणाली चाहियो
काठमाडौं । नेपालमा वार्षिक प्रत्यक्षरूपमा ५ लाख वटा सम्पत्ति खरिदबिक्री हुन्छन् । सरकारी तथ्यांकअनुसार ४० अर्ब रुपैयाँभन्दा बढी राजस्व घरजग्गा क्षेत्रबाट संकलन हुन्छ । ५ लाख बढीको सम्पत्ति खरिदबिक्री हुँदा वार्षिक १२/१५ खर्ब रुपैयाँको कारोबार हुने गरेको छ । नेपालमा योभन्दा धेरै कारोबार हुने ठूलो क्षेत्र अरु कुनै छैन । यति ठूलो क्षेत्रलाई सरकारले व्यवस्थित गर्न सकेको छैन । साथै, घरजग्गा क्षेत्रका लागि नीति नियम नबन्दा पारदर्शीता हुन सकेको छैन । डेलभपर्स कम्पनी र ब्रोकर कम्पनीलाई लाइसेन्स नदिँदा यो क्षेत्र मर्यादित बन्न सकेको छैन । पुराना अपुरा नीति नियमका कारण सरकारले भूमिसम्बन्धी ऐन २०२१ र मालपोत ऐन २०३४ संशोधन गरिरहेको छ । अब संशोधन भएका ती व्यवस्थाको कार्यविधि र निर्देशिका बनेपछि घरजग्गा क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्नेछ । जसरी स्टक मार्केटमा सेयर खरिदबिक्री हुन्छ, त्यसरी नै घरजग्गा कारोबार पारदर्शी, व्यवस्थित, मर्यादित, अनुशासित र राजस्व संकलन बढाउन यस्तै किसिमको प्रणाली हुनुपर्छ । स-साना आयोजना (टुक्रे) ५/१० रोपनी वा १०/२० कठ्ठाका आयोजनाहरूले व्यवस्थित सहरीकरण बन्न सक्दैन । त्यसका लागि ल्याण्डपुलिङ निजी क्षेत्रलाई दिनुपर्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले विगत ४० वर्षमा २२ आयोजना सम्पन्न गरेको छ । अझै ६ वटा आयोजनाको डीपीआर सम्पन्न भए पनि विभिन्न मन्त्रालयको अन्तर समन्वयको अभावका कारण कार्यान्वयनमा आउन सकेका छैनन् । उपत्यकाभित्र नीजि क्षेत्रका व्यवसायीले ४ सय वटा आयोजना सम्पन्न गरेका छन् भने उपत्यका बाहिर पनि सोही अनुरूप काम भएका छन् । तर, ती आयोजना मर्यादित बन्न सकेका छैनन् । त्यसका लागि ल्याण्डपुलिङ निजी क्षेत्रलाई खोल्नैपर्छ । अहिले समग्र घरजग्गाको कारोबारमा समस्या आएका कारण अर्थतन्त्रमा समस्यामा परेको छ । देशको अर्थतन्त्र भीरबाट खस्ने अवस्थामा पुगेको छ । घरजग्गा कारोबार नहुँदा अहिलेको अर्थतन्त्रमा समस्यामा परेको हो । घरजग्गा कारोबारमा भइरहेका समस्याले गर्दा विभिन्न बैंकहरूले दैनिक लिलामीका सूचना निकालिरहेका छन् । यसले गर्दा व्यवसाय मात्रै नभइ, बैंक नै ढल्ने खतरामा छ । कुनै बैंक धराशायी भयो भने देशको अर्थतन्त्र हामीले सोचेभन्दा धेरै डरलाग्दो हुनेछ । जसरी डढेलो देशभरिका जंगलमा सल्किएको छ, त्यसैगरी कोलाहलको परिस्थिति बन्न सक्छ । त्यो परिस्थिति बेलैमा नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्छ । बैंकहरूको एसेट फण्ड म्यानेजमेन्ट अर्थात् सम्पत्ति लिलाम गर्न छुट्टै कम्पनी सञ्चालन गर्नुपर्छ । विदेशी नागरिकले पनि अपार्टमेन्ट खरिद गर्नसक्ने गत आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको थियो । बजेटमा फूलबुट्टा भरिन्छन् । तर, ती फूलबुट्टा कार्यान्वयन फितलो छ । विदेशी लगानीकर्ताहरूले पनि अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्छ । हदबन्दीको विषयले व्यवसायीहरू समस्यामा परेका छन् । अपार्टमेन्ट, हाउजिङ बनाएर बिक्री गरिएका छन् । तर, उपभोक्ताहरूले सो सम्पत्ति उपभोग गरे पनि हस्तान्तरण हुन सकिरहेको छैन । व्यवसायीहरू दिनरात खटिँदा पनि त्यो समस्या समाधान हुन सकिरहेको छैन । यो समस्याले व्यवसायीहरू ‘सुसाइड’ गर्ने अवस्थामा पुगेका छन् । सरकारबाट अनुमति लिएर अपार्टमेन्ट, हाउजिङ बनाए पनि हस्तान्तरण हुन सकिरहेको छैन । त्यसैले हदबन्दीको विष चाँडोभन्दा चाँडो समाधान हुनुपर्छ । नेपाल राष्ट्र बैंकले लोन टू भ्यालू रेसियो र कर्जा आम्दानी अनुपात बढाउनुपर्छ । यो विषय बढाउन सकिएन भने व्यवसायीहरूले बनाइरहेका आयोजना सम्पन्न हुन सक्दैनन् । बैंकहरूमा ६ खर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएर बसेको छ । बैंकहरूले घरकर्जाका लागि विभिन्न अफरहरू ल्याइरहेका छन् । होम लोन लिन ग्राहकहरू तयार छन् । तर, लिन सकिरहेका छैनन् । किनभने लोन टू भ्यालू रेसियो अर्थात् ५० प्रतिशतको लोन टू भ्यालू रेसियोले घरजग्गा किन्न सक्ने अवस्था छैन । नेपाल राष्ट्र बैंकले यस विषयमा समयमा समाधान गर्नुपर्छ । (नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष लोहनीले नेपाल रियल स्टेट कन्फरेन्स, २०२४ मा राखेको विचार)
नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ
सन् २०२६ मा जापान-नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ । म जापानको विदेश मन्त्रीको हैसियतले यस सम्झनायोग्य वर्षका लागि नेपालसँगको सम्वन्धलाई अझ प्रगाढ बनाई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको थप विकासका लागि दृढतापूर्वक सहयोग गर्दै जाने विचार व्यक्त गर्दछु । जापान र नेपाल दुवै लोकतान्त्रिक मुलुकहरू भएकाले नेपालको लोकतान्त्रिकरण प्रयासमा जापानले विभिन्न सहयोग प्रदान गरेको छ । सन् २००८ मा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको घोषणा भएदेखि नेपालको संसदीय निर्वाचनमा जापानले निर्वाचन पर्यवेक्षक पठाइरहेको छ तथा नेपालको कानूनी प्रणालीको विकासमा सहयोग गरी नेपालमा लोकतान्त्रिकरणको प्रवर्द्धनमा योगदान पुर्याउन विभिन्न सहयोग प्रदान गरेको छ । विगतमा म कानुनमन्त्री हुँदा कानुन मन्त्रालयले जाइकासँगको सहकार्यमा नेपालको मुलुकी देवानी संहिता र मुलुकी देवानी कानून नियमावली तयार पार्ने विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै नयाँ मुलुकी देवानी संहिताको तयारीमा पनि सहयोग गरेको थियो । यस अवसरमा हालैका वर्षमा जापान सरकारले सशक्त रुपमा प्रवर्द्धन गरेको ‘महिला, शान्ति, सुरक्षा’ (डब्ल्यूपीएस), जुन मेरो जीवनकालको काम पनि हो । यस सम्बन्धमा नेपालसँगको सहकार्यबारे पनि कुरा गर्न चाहन्छु । डब्ल्यूपीएसले द्वन्द्वमा परेका महिला जस्ता नाजुक स्थितिका मान्छेहरूको संरक्षणमा पहलकदमी गर्दै महिलाहरूको नेतृत्वकारी भूमिकाले द्वन्द्वको रोकथाम र मानवीय पुनःनिर्माणमा सहभागी भई दिगो शान्तिको नजिक पुग्न सकिन्छ भन्ने विचार हो । जापान सरकारले डब्ल्यूपीएसलाई जोडतोडका साथ बढावा दिइरहेको छ र मैले पनि विदेशमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि नै विभिन्न पहल गर्दै आइरहेको छु । संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्य ९पिकेओ० मा विश्वमा सबैभन्दा बढी शान्ति सेना पठाउने मुलुक तथा सबैभन्दा धेरै महिला शान्ति सेना खटाउने मुलुक पनि नेपाल नै हो । यसरी डब्ल्यूपीएस क्षेत्रमा पनि सहयोगको प्रचुर सम्भावना भएकाले यसपटकको नेपाल भ्रमणको क्रममा म नेपालसँगको सहयोगको सम्भाव्यताबारे खोजी गर्न चाहन्छु । मेरा प्रिय नेपाली साथीहरूमा नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाईंहरूको मनमा कस्तो विचार आउँछ रु ‘नेपाल’ शब्द सुन्नासाथ हामी जापानीहरूको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधित्व हुने अपूर्व मनोरम हिमालय पर्वतहरूको परिकल्पना आउँछ । जापानको फुजी पर्वतको फेदमा अवस्थित सिजुओका प्रान्तमा जन्मी हुर्केकी मेरा लागि नेपाल गहिरो आत्मीयता भएको मुलुक हो, जुन मुलुकमा आज पहिलो पटक भ्रमण गर्न पाउँदा म अत्यन्तै हर्षित छु । पछिल्लो समय जापानमा नेपालको उपस्थिति दिनप्रतिदिन बढ्दै गइरहेको छ । सन् १९०२ मा पहिलोपटक नेपाल सरकारले जापानमा अध्ययन गर्नका लागि आठ जना नेपाली विद्यार्थी पठाएको पनि एक सय २० वर्ष नाघिसकेको छ । आज हाम्रा दुई मुलुकहरू सात घण्टाजतिको सिधा हवाई उडानबाट जोडिएका छन् । हाल जापानमा बस्ने नेपालीको सङ्ख्या एक लाख ७० हजार नाघिसक्यो । जुन जापानमा बसोबास गर्ने विदेशीको सङ्ख्यामा छैटौँ ठूलो हो । जापानमा बसोबास गर्ने नेपालीहरूको सक्रिय सहभागिताका कारण दुई देशबीचको सम्बन्ध निरन्तररुपमा प्रगाढ हुँदै गएकोमा म अत्यन्त हर्षित छु । जापान र नेपालबीच धेरै समानता छन् । एउटा चाहिँ दुवै देशको ७० देखि ८० प्रतिशत क्षेत्रफल पहाडी अथवा हिमाली भू-भागले ओगटेको छ । भिरालो भूबनोटका कारण निरन्तर प्राकृतिक प्रकोपको सामना गर्दै आएको जापानको इतिहासलाई विचार गर्दा नेपालजस्तो पहाडी मुलुकको राष्ट्रनिर्माण अत्यन्तै कठिन छ भन्ने कुरा जापानी हुनुको नाताले म बुझ्न सक्छु । दुर्भाग्यबश दुवै देशले भूकम्पबाट क्षति बेहोर्नुपरेको कुरामा पनि समानता छ । त्यसैले हामी दुवै देशले एक अर्काको देश ठूला भूकम्पको चपेटामा पर्दा विशेष सहानुभूति तथा ऐक्यबद्धताको भावनाबाट उत्प्रेरित भएर परिवारको जस्तो एकअर्कामा सहयोगी हातहरू बढाउँदै आइरहेका छौँ । सन् २०११ मा पूर्वी जापानमा गएको महाभूकम्पमा नेपालको तर्फबाट पाँच हजार थान कम्बल सहयोग तथा जापानमा बसोबास गर्ने नेपालीहरूले ठाउँठाउँमा तातो नेपाली खाना तथा कफीजस्ता सामग्री प्रदान गरेका थिए । सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्पपछि जापानले करिब एक अर्ब ६८ करोड येनको आकस्मिक अनुदान सहयोग तथा त्रिपाल र कम्बलजस्ता आकस्मिक राहत सामग्री प्रदान गर्नुका साथै जापानी विपद राहत टोली (उद्धार टोली, स्वास्थ्य उपचार टोली र जापानी आत्मरक्षा फौजको टोली) नेपाल पठाएको थियो । यी आपतकालीन मानवीय सहयोगका अतिरिक्त जापानले ‘अझ सशक्त पुनःनिर्माण’ । (बिल्ड ब्ल्याक बेटर) अन्तर्गत विद्यालय, निजी आवास, सार्वजनिक भवनको पुनःनिर्माणका क्षेत्रमा कूल ३२ अर्बभन्दा बढी जापानी येन सहायता प्रदान गरेको थियो । यसै वर्षको जनवरीमा जापानको नोटो प्रायद्वीपमा गएको भूकम्पपछि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललगायत नेपाल सरकारका धेरै महानुभावबाट हार्दिक सहानुभूतिका सन्देशहरू हामीले प्राप्त गर्र्यौ । यसबाहेक जापानमा रहेका नेपालीहरू विपद्ग्रस्त क्षेत्रमा पटक–पटक गएर ‘सङ्कटको समयमा मित्रहरूबीच आपसी सहयोग’ भन्ने नाराका साथ मसालेदार नेपाली खाना तयार गरी भारी हिमपातले अत्यन्त ठण्डा मौसममा पीडितहरूको हृदय र शरीरमा न्यानो साहसको सञ्चार गर्न प्रोत्साहन गर्नुभयो । जापानी विदेशमन्त्रीको हैसियतले नेपालीहरूको जापानप्रतिको न्यानो सहयोग तथा भावनाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । जापान र नेपालले प्राकृतिक स्रोतहरूको पनि अभाव झेलिरहेका छन् । त्यसैले दुवै मुलुकलाई अन्तरआबद्धताको सुनिश्चितता गरी, शक्ति या बलमिच्याइँबाट मुक्त भई, मुलुकको आकारसँग नभई स्वतन्त्रता र कानुनी शासनको सुनिश्चितता गर्ने अन्तर्राष्ट्रिय समुदायको आवश्यकता छ । यस्तो अन्तर्राष्ट्रिय समुदायलाई मूर्तरूप दिन हरेक मुलुकले आफ्नो कमीकमजोरीलाई पार गर्दै बलियो समाज निर्माण गर्नु पूर्वसर्त हो । यसै कुरालाई ध्यानमा राखेर जापानले नेपाललाई दिगो विकास र स्थायित्वको मार्गमा अग्रसर हुने कुरालाई ठूलो महत्व दिएको छ । यही विचारमा आधारित भएर जापानले सन् १९६९ देखि नेपालको भौगोलिक तथा ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर गर्दै विद्युत्, सडक, विमानस्थल, खानेपानी जस्ता पूर्वाधारको निर्माण तथा कृषि, शिक्षा, स्वास्थ्य उपचारलगायत नेपालका विविध क्षेत्रको विकासमा सहयोग गर्दै आइरहेको छ । हालसालै छिचोलिएको नागढुङ्गा सुरुङ्गमार्ग नेपालकै पहिलो पहाडी सडक सुरुङ हो र यो निर्माण सम्पन्न भएपछि सडक यातायात सञ्जाललाई सहज बनाई तीव्र गतिमा बढिरहेको ट्राफिक व्यवस्थापनको मागलाई सम्बोधन गर्नुका साथै यात्राको समय पनि घट्न जानेछ । यस अलावा सडक सुरक्षामा सुधार भइ क्षेत्रीय, सामाजिक तथा आर्थिक विकासमा योगदान पुयाई समग्र नेपालको थप विकासमा दृढताका साथ सहयोग पुर्याउनेछ । जापानको यस्तो पूर्वाधार सहयोगमार्फत नेपाली जनताले आफ्नो दैनिक जीवनयापनमा सुरक्षा र सुविधाको वास्तविक रुपमै अनुभव गर्न सकुन् भनी हामीले कामलाई निरन्तरता दिइरहेका छौँ । रासस (खामिखावा जापानी विदेशमन्त्री हुन्)
मानवीय जीवनशैलीमा मेसिनको प्रभाव
हामीले प्रयोग गर्ने कलम, कम्प्युटर, प्रिन्टरलगाायत सबै मेसिन नै हुन् । समयको परिवर्तनसँगै मेसिनको आकार र क्षमतामा विकास भइरहेको छ । मानिसले प्रयोग गर्ने भाला, खुकुरी वा बन्चरो जो बल र गतिको माध्यमबाट मानिसले चाहेको काम सहज गरिदिन्छ, यी पनि मेसिन नै हुन् । मेसिनको विकासक्रमले मानिसको जीवनशैलीमा सहजता थपिएको छ भने मेसिनले पनि उत्कृष्ट सेवा प्रदान गर्न मेसिनमा कृत्रिम बौद्धिकता (एआई) समेत प्रयोग हुन थालेको छ । कृतिम बौद्धिकता समेतको मेसिनको प्रयोगले मानव जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । समग्र समाजको विकासमा मात्र नभई स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रमा एआईले पुर्याएको उपलब्धि २१ औँ शताब्दीको प्रविधि विकासको क्षेत्रको ठूलो उपलब्धि हो । मेसिनको विकासक्रमलाई बढो सचेत तबरले नियाल्दै र आफूलाई अझ मेसिनमैत्री बनाउन आजका मानिसका लागि अपरिहार्य भइसकेको छ । यसले मानिसलाई मेसिन जति नै फुर्तिलो बनाउनुपर्ने बाध्यता थप्दै पनि गएको छ । प्रविधिका कारण जीवन जति सहज भएको छ, त्यति नै प्रविधिको उपयोगको लतले हामीमा विभिन्न समस्या पनि सिर्जना गर्दै गइरहेको छ । मोबाइल आउनुभन्दा पहिले धेरै साथीभाइका टेलिफोन नम्बरहरु हामीलाई स्मरण हुन्थ्यो । आजभोलि हजारौं नम्बरहरु मोबाइलमा भण्डारण गरेर राखेका हुन्छौँ । यसले ती टेलिफोन नम्बरहरु खोजेको बेलामा मेसिनमार्फत उपलब्ध हुन्छ तर पहिलेजस्तो हामीले स्मरण गरिरहेका हुँदैनाैँ । यसबाट एउटा शङ्का उत्पन्न भएको छ कि कतै हामी हाम्रो स्मरण क्षमतामा हस ल्याइरहेका त छैनौँ ? मेसिनको प्रयोगले हाम्रो स्वास्थ्यमा प्रभाव परेको त छैन ? यी र यस्ता विषयवस्तु जनस्तरमा छलफल गर्नुपर्ने बेला भइसकेको छ । केही समय अगाडि केहीबेर मात्र फेसबुक उपयोग गर्न नपाउँदा हामी प्रविधिको लतमा फसेका छौँ कि भन्ने पनि देखियो । विद्युत्को आपूर्ति केही समयका लागि मात्र रोकिने हो भने हामीले प्रयोग गर्ने मेसिनमा धेरै नै प्रभाव पर्छ । त्यसबाट हाम्रो जीवनशैलीमा प्रभाव पर्ने निश्चित छ । त्यसैले मेसिन तथा प्रविधिको प्रयोगमा मानिस सचेत हुनु जरुरी छ । मेसिन नै प्रयोग नगरौँ भन्ने त होइन तर मेसिनमा सामेल एआईले हामीलाई थाहा नपाउँदो तरिकाले मेसिन प्रयोगको लत बिसाइरहेको छ । आउँदा दिनमा झन् धेरै उच्चतम् प्रविधि सामेल भएका मेसिनहरु बन्दैछन् र बजारमा सहज उपलब्ध हुने अवस्था छ किनकी हरेक देशले आफ्नो उन्नतिलाई मेसिनको विकासक्रमसँगै गाँसेका छन् । आजका दिनमा संरा अमेरिका, चीन, ताइवान, जापान, जर्मनी, इजरायल, रसियालगायतका देशले नयाँनयाँ प्रविधिको आविस्कार गरेर प्रविधिको उच्चतम् प्रयोग गरी विकास गरिरहेका छन् । यद्यपि, इतिहासमा एसिया विकासमा धेरै अगाडि थियो । एसियाभन्दा झण्डै एक हजार वर्षपछि मात्र युरोपृली नागरिकहरु नयाँनयाँ आविस्कारमा लागेका देखिन्छन् । अबका दिनमा हामी संसारस‘ग कसरी सूचना तथा सन्देश आदानप्रदान गर्छौ भनेर एआई, पाइभ जी, ब्लकचेन, एआर, भिआर, क्यान्टम कम्प्युटिङ र लटजस्ता प्रविधिले निर्धारण गर्ने छन् । जोन म्याक् कार्थीलाई हामीले कृत्रिम बौद्धिकताको जननी भन्न सक्छौँ । कृत्रिम बौद्धिकताको अन्वेषण अलेन टुरिङ, मार्भिन मिस्काई, अलेन नेवेल र हर्बट ए समेतको संलग्नतामा भएको हो । स्मार्ट भन्ने शब्दको मेसिन प्रयोग गर्दै हुनुहुन्छ भने तपाई एआई प्रयोगकर्ता हो । घण्टी लाग्ने घडी आज परिस्कृत भएर निन्द्राबाट ब्युँझाउँदै गर्दा बाहिर पानी परिरहेको छ र तपाईं सधैँजसो अफिस जाने बाटोमा पुल भत्किएको छ, तपाईंले वैकल्पिक मार्ग प्रयोग गरी जाँदा एक घण्टा थप समय लाग्छ भनेर सन्देश प्रवाह गर्न थालिसकेको छ । त्यो स्मार्ट अर्लाम भनेको एआई हो । तपाईंले नाडीमा बाधेको घडीले प्रेसर उच्च भएको छ औषधि खानुभयो भनेर एकाएक बाटोमा हिंड्दै गर्दा तपाईंको मार्ट घडीले सन्देश प्रवाह गर्दै गर्यो भने एआई तपाईंले प्रयोग गरेका कारण तपाईंको स्वास्थ्यप्रति चिन्ता देखाइरहेको छ भन्ने मेसिनको सामथ्र्य हो र त्यो नै आजको विकसित मेसिन हो । अनलाइन सपिङका लागि ब्राउजिङ गर्दैगर्दा ब्राउजिङ र यसअघिको सामान खरिदको सूचीको आधारमा तपाईलाई मन परेका र छनोट गर्दै गरेका सामानहरु नै लगातार तपाईंलाई देखाइरहन्छ, त्यो पनि एआई हो । यसबाट तपाईकोे समय सदुपयोग भएको छ । हामीलाई मेसिनले आर्थिक कारोबार, स्वास्थ्य सेवा यहाँसम्म कि चलाउने मोटरगाडी समेत एआई प्रविधिबाट नै प्रत्येक क्षण सघाइरहेका हुन्छन् । कुन कम्पनीको शेयर किन्ने वा शरिरको तौल दुरुस्त राख्ने, डाक्टरले दिएको निर्देशनअनुसार विभिन्न पद्घतिमध्ये कुन समयमा के गर्नु ठीक होलासम्म भन्ने कुरा एआईले नै मार्गदर्शन गरिरहेको अवस्था छ । हामीले जति परिस्कृत एआई प्रयोग गर्दै जान्छौँ, त्यति नै थप सेवा तथा सुविधा दिन मेसिन सबल हुनेछ । यसरी निर्माण गरिने मेसिनलाई मानिसकै विभिन्न रुपमा निर्माण गरी अहिले मोडेल, समाचार प्रस्तोता समेत बनाइसकेको अवस्था छ । सुरुका दिनमा सिन्हवा समाचार समिति र सोगोउ अफ चाइनाले समाचार रिपोर्टिङ उद्देश्यका लागि एआई विकास गरेका थिए । छिमेकी देश भारतमा “सना” नामको एआई समाचार बाचिका प्रख्यात कार्यक्रम प्रस्तोता रोबर्ट हो । एआईले आफूलाई मन पर्ने मानिसका लागि कविता लेखिदेउ भन्दा लेखिदिने अवस्थामा हामी पुगेका छौँ भने फिडब्याकका आधारमा एआई आफैँ परिस्कृत समेत बन्दै जान्छ, पत्रकार, कवि, लेखक, कलाकार सबैलाई एआईले सहयोग पुर्याइरहेको छ । समय परिवर्तन गतिशील छ, गतिलाई प्राविधिक पाटोबाट नियाल्दा काल, गुरुत्वाकर्षण र स्पेस जस्ता आयामबाट बुझ्न सहज हुन्छ । सामाजिक परिवेशमा परिवर्तन प्रायःजसो सकारात्मक हुन्छन् र त्यसबाट प्रलय वा अनिष्टको अवस्थामा बाहेकमा सिर्जनशीलता समेतको विकास हुँदै जान्छ । ढुङ्गे युगको सूचना तथा सञ्चारको आदानप्रदान अत्यन्तै सीमित कोडहरूवाट हुन्थ्यो भने सङ्केत विकास हुँदै जाँदा लिपिवद्वताले लेखन कला विकास भएको थियो । यस क्रमबाट नै भाषा र भाषिकाहरूले सङ्ग्रहित हुन पाए । तर हरेक परिवर्तनमा प्रविधि नङ्ग र मासु जस्तै अन्तनिहित रहे । मानव जीवनशैलीमा विज्ञान र प्रविधिकै कारण यो स्थानसम्म आइपुगेको हो । हामीले अडियो, भिडियोमार्फत सूचना आदानप्रदानको एक युग पार गरिसकका छौँ । हरेक कुराको विकास भनेको सूचना तथा सञ्चारमा समृद्ध समाज हो । कुनै पनि परिवर्तन सूचना सञ्चारको यथेस्ट प्राप्तिबाट हुने गर्छ । सञ्चार जगत्को मूल्यमान्यता मर्यादित बनाउन सकेनौँ भने यसवाट समाजको विकास हुन सक्दैन । त्यसैले सञ्चार उद्यमी, सञ्चारकर्मी, मूलधारका सञ्चार उद्योगहरू जिम्मेवार छन् रहन्छन् र रहनु पनि पर्दछ । पर्चा छरेर, भित्तेलेखन गरेर त्यसपछि माईकिङ गर्दै सन्देश प्रवाह गरेर विश्वभरि राजनीतिक परिवर्तन भएका छन् । सूचना नै शक्ति हो भन्ने आज स्थापित भइसकेको छ । अहिले हामी विभिन्न कला, पम्पलेट, पोष्टर, पत्रपत्रिका, हुँदै रेडियो प्रसारण, दूरदर्शन प्रसारण र इन्टरनेटको विकासक्रम सम्म पुगिसकेका छौँ । आउँदो दशक हामी इन्टनेट ब्रोडकास्टिङ्गमा नै केन्द्रित हुनेछौँ । हामी आन्तरिक सञ्चारलाई प्रविधिमार्फत विश्वव्यापीकरण गरिसकेका हुनेछौँ । एलन मस्कको न्युरालिङ्कले विकास गर्दै गरेको विसिआई प्रविधिलाई मानव हितको मूल्य मान्यतामा प्रयोग गर्दा संसारका सबै मानिस एउटै सर्भरमा गासिने निश्चित छ । मानव शरिर पनि अनगिन्ति ट्रान्समिटर र रिसिमर भएको वायलोजिक संयन्त्र हो । यो संयन्त्रमा विसिआई प्रयोग गरेपछि हाम्रो मस्तिष्कको हरेक गतिविधि रेकर्ड गर्ने र त्यसलाई प्रयोग गर्ने क्रमको सुरुआत हुनेछ । यी नयाँ सूचना तथा सन्देशहरू यदि इन्टरनेटमार्फत हामीले लिङ्क र शेयरको अधिकार सुनिश्चित गर्ने विश्वव्यापी कानुनको निर्माण गर्न सक्यौँ भने सूचना तथा सञ्चारका अहिले हामीले उपयोग गरिरहेका प्रविधिमा विश्वका करिब आठ अर्ब मानिसको बौद्धिकता एकापसमा सङ्गठित हुनेछ । यो अनौठो र अद्वीतिय नेटवर्किङले आउँदो दशकमा सूचना तथा सञ्चार आदान प्रदानको उच्चतम बाटो खाल्ने छ भने सुचना संकुचन गर्ने अबस्था रहने छैन । रासस (लेखक ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय अध्यक्ष हुन्)