स्ट्याण्डर्ड चाटर्ड बैंकले कमायो ३५ करोड नाफा

काठमाडौं, ३० कात्तिक । स्ट्याण्डर्ड चाटर्ड बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३४ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको भन्दा जम्मा ४२ लाखले मात्रै बढि हो । गत आवको पहिलो त्रैमासिकमा बैंकले ३४ करोड ५२ लाख नाफा कमाउन सफल भएको थियो । स्ट्याण्र्ड चाटर्ड बैंकले  पहिलो तीन महिनामा ५७ अर्ब ४१ करोड निक्षेप संकलन गरेर ३२ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको देखिन्छ । बैैंकले ६३ करोड ब्याज आम्दानी गरेर १३ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ४९ रुपैंयाँ ७० पैसा छ भने प्रति सेयर नेटवर्थ २८१ रुपैंयाँ ७१ पैसा रहेको छ ।

नेपालमा प्रतिबन्धित भारु १५ अर्व रुपैयाँ, आधिकारीकता राष्ट्र बैंकसँग छैन

काठमाडौं ३०, कात्तिक । नेपाली बजारमा भारू ५०० र १००० का १५ अर्व रुपैयाँ बराबरको नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएका यी नोटहरु नेपाली बजारमा १५ अर्व रुपैयाँ बराबरको हुनसक्ने नेपाल राष्ट्रबैंकको प्रारम्भिक अनुमान रहेको छ। राष्ट्रबैंकको बिदेशी बिनिमय तथा अनुसन्धान बिभागका बहालवाला र अवकासप्राप्त कर्मचारीहरुले यस्तो अनुमान गरेका हुन् । उनीहरुका अनुसार भुक्तानीमा ठूलो मात्रामा भारु प्रयोग हुने गरेकाले १० देखि १५ अर्व रुपैयाँसम्मका भारु ५०० र १००० का नोटहरु नेपाली बजारमा छन् । राष्ट्रबैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने यो आधिकारीक तथ्यांक नभएको बताए ।

नेपालमा रहेका भारु नसाटिने, ५ सय र हजारका भारु नेपालमै पनि कागजको खोस्टोसरह

काठमाडौं ३०, कात्तिक । नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको खोस्टासरह हुने भएको छ । भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो । आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो । राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिदैं नेपालसँग रहेको भारुको सटही सुविधा दिने–नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको छ । नागरिक दैनिकबाट।