वाणिज्य बैंकले मुद्दाती खातामा १२ प्रतिशत व्याज दिए, निक्षेपको व्याजदर पाँच वर्षयताको उच्चतम विन्दुमा, विकास बैंक, वित्त कम्पनी, लघुवित्त तथा सहकारीलाई व्याज बढाउन दवाव

काठमाडौं, ११ माघ । वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव बढ्दै जाँदा वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप संकलन गर्न थालेका छन् । मंगलबार एनआईसी एशिया बैंकले एक वर्ष मुद्दती खातामा १२ प्रतिशत व्याज दिने बचत योजना सार्वजनिक गरेको छ । त्यस्तै एनसीसी बैंकले चार महिना अवधिको लागि १२ व्याजदरको मुद्दती योजना सार्वजनिक गरेको छ । पछिल्लो पाँच वर्षयता वाणिज्य बैंकले निक्षेपकर्तालाई दिएको यो उच्चतम दर हो । वाणिज्य बैंकहरुले नै निक्षेपमा १२ प्रतिशत व्याज दिन थालेपछि विकास बैंक, वित्त कम्पनी, लघुवित्त तथा सहकारीहरुको लागि निक्षेपमा व्याज बढाउनु पर्ने दवाव सिर्जना भएको छ । एनआईसी एशियाले १ लाख न्यूनतम बचत गर्ने व्यक्तिगत निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिने र व्याज मासिक भुक्तानी गर्ने योजना ल्याएको हो । एक वर्षे मुद्दती खातामा राखेको पैसामा आवश्यक पर्दा ८० प्रतिशत सम्म कर्जा लिन मिल्ने सुुविधा पनि बैंकले दिएको छ । त्यस्तै, एनसीसी बैंकले मुद्दती खातामा १२ प्रतिशत व्याज दिएको छ । केही समय अघि सिभिल बैंकले ११.१ प्रतिशत व्याजमा १११ दिने मद्दती बचत माग गरेको थियो । एनसीसी बैंकले न्यूनतम एक लाख बचत गर्नेलाई वार्षिक १२ प्रतिशत व्याज दिने गरी छोटो अवधिका निक्षेप माग गरेको छ । बैंकले १२० दिने (चार महिना) अवधिको लागि उच्च व्याजदरको निक्षेप संकलन गर्न लागेको हो । बैंकले देशभरका ९६ वटै शाखामा उक्त निक्षेप सुविधा दिने जनाएको छ । सो मुद्दतीमा ९० प्रतिशत कर्जा सुविधा हुने र त्रैमासिक व्याज भुक्तानी दिने जनाएको छ ।

सानिमा बैंकले कमायो ६२ करोड रुपैयाँ, ५२ प्रतिशतले नाफा बृद्धि

काठमाडौं ११, माघ । सानिमा बैंकले ६२ करोड २४ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा चालू आर्थिक वर्षको ६ महिनामा अघिल्लो वर्षको सोेही अवधिको तुलनामा २१ करोड ४३ लाख रुपैयाँले बढेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गर्दा ५२ प्रतिशतले बढेको हो । बैंकको गएको पुस मसान्तसम्मको निक्षेप संकलन ५१ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । यो बैैकले यस अवधिमा ४६ अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले यस अवधिसम्ममा गरेको लगानी भने ९ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको सीडी रेसियो ७८ दशमलव ६२ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा शून्य दशमलव ०१ प्रतिशतमात्रै रहेको । बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ६५ पैसा रहेको छ । बैंकको प्रतिसेयर सोमबार ५ सय २० रुपैयाँमा कारोबार भएको छ ।

घरजग्गा कारोबार घट्ने निश्चित, ‘क्रेडिट क्रन्च’ रितिएपछि कर्जा दिनेभन्दा ऋण असुलीलाई प्राथमिकता

काठमाडौं ११, माघ । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन नसक्ने अवस्था आएको छ । बैंकमा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ रितिएपछि बैंकले कर्जा दिनेभन्दा पनि ऋण असुलीलाई प्राथमिकता दिने भएका छन् । यसबाट घरजग्गाको कारोबार घट्ने निश्चित भएको छ । लगानीयोग्य रकम सकिएपछि उच्च ब्याजदर ‘अफर’ गर्दा पनि निक्षेप नबढ्दा बैंक तथा वित्तीय संस्था ऋण असुलीतर्फ केन्द्रित भएका हुन् । बैंकहरूले घरजग्गामा लगानी नगरे कारोबारमा सिथिलता आउने सरोकारवालाले बताएका छन् । बैंकको सस्तो ब्याजमा कर्जा लिएर घरजग्गा खरिदबिक्रीमा लागेका यस्ता कारोबारीलाई बैंकले ऋण दिन नसक्ने भएपछि व्यवसाय ओरालो लाग्ने देखिएको हो । बैंकमा अब थप लगानी गर्न नसक्ने बताइसकेका छन् । बैंकको लगानी नथपिने र लिएको कर्जासमेत चर्को ब्याज तिर्नुपर्ने भएपछि यसको प्रत्यक्ष असर घरजग्गाको कारोबारमा पर्ने देखिएको हो । बढ्दो मूल्य र चर्को ब्याज तिरेर लगानी गर्न नसक्ने भएपछि जग्गाको कारोबार घट्ने भएको हो । रियल स्टेट र सेयर बजार भनेका कनेक्टिभिटी साइकल हुन् । यो बजारमा उतारचढाब आइनै रहन्छ । त्यसैले यो बजारलाई जोखिमपूर्ण मानिन्छ । अर्थ विज्ञ डा।शंकर शर्माले घरजग्गामा बैंकले ऋण उपलब्ध गराउन नसक्ने भएपछि घरजग्ग्गाको कारोबार र मूल्य घट्ने बताए । ‘ऋण नपाएपछि कारोबार कम हुन्छ,’ उनले भने, ‘लगानी नभएपछि कारोबार घट्ने नै भयो ।’ राष्ट्रबैंकले पनि घरजग्गाको कारोबारमा कडाइ गर्ने संकेत गरिसकेको छ । राष्ट्रबैंकले घरजग्गाको लगानीलाई अनुत्पादक र जोखिम भनिसकेको छ । ब जार सँधै उकालोमात्र नलागेर निश्चित विन्दु पारगरेपछि ओरालो लाग्ने प्रवृत्तिका कारण पनि अबको केही समयमा घरजग्गा कारोबार घट्ने अनुमान विज्ञहरूले गरेका छन् । अब विस्तारै बैंकले तरलता अभाव भएको भन्दै पुरानो कर्जामा समेत बैंकहरूले ब्याज बढाउन थाल्नेछन् । अहिले बैंकले कर्जामा १५ देखि १६ प्रतिशतसम्म ब्याज लिन थालिसकेका छन् । नयाँ कर्जा दिएर कारोबार गर्न सकिने अवस्था छैन । अहिले बढी नाफा कमाउने सजिलो माध्यमका रूपमा घरजग्गालाई लिइएको थियो । तर, बैंकको ब्याज महँगो भएपछि घरजग्गामा लगानी गर्न कर्जा लिएर फाइदा हुँदैन । अर्थ विज्ञ रामेश्वर खनालले बैंकबाट ऋण लिएर घर किन्ने अनि भाडा उठाएर तिर्ने अवस्था अब नरहेको बताए । अन्नपूर्ण पोस्ट दैनिकबाट ।