काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको थियो ।
अमेरिकी डलरमा भने साउनमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ । राष्ट्र बैंकका अनुसार साउनमा खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४६६ रहेको थियो ।
पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेर २७ हजार ७४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।